काठमाण्डौ । बजारमा तीव्र सुधार हुन थालेको छ । मंगलबार देखिएको ‘बुल रन’को शुभ संकेतलाई बुधबारको बजारले थप मजबुत बनाइदिएको छ । यो दिन समेत नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । 

नेप्से परिसूचक ५.५५ अंकले बढेर १३२१ विन्दूमा पुग्दा कारोबार रकम बढेर १ अर्ब ३३ करोड माथि पुगेको छ । 

बजारको परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) यसरी समानान्तर ढंगले बढ्दै जानुले बजार मजबुत बन्दै गएको र लामो अवधिको बुल रन सुरु हुने संकेत गर्ने जानकार बताउँछन् । तर, बजारको यस्तो प्रवृति केही दिनसम्म कायमै रहनुपर्छ । 

यो दिन ट्रेडिङ, विकास बैंक, बैंकिङ समूह चम्किए । ट्रेडिङ समूहको सूचक ४.१८ प्रतिशतले बढेको यो दिन विकास बैंक समूहमा भने २५.९९ अंक(१.६६ प्रतिशत)को वृद्धि भयो । बैंकिङ समूह ९.८६ अंकले बढेको यो दिन बित्त समूहमा १.९५, माइक्रोफाइनान्स समूहमा ०.१३ र अन्य समूहमा ८.१२ अंकको बढोत्तरी देखियो । 

होटल समूह ३४.१९ अंकले घटेको यो दिन  निर्जीवन बिमा समूह ३८.४९ अंक, उत्पादनमूलक ५९.७४ अंक, जीवन बिमा समूह १७.८४ अंक र म्युचुअल फण्ड समूह ०.०४ अंकले घटे । 

राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.५१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५२ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता सेयर १ अर्ब ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी एनसीसी बैंकले कारोबार गर्यो । यो बैंकको लाभांश वितरणको बाटो खुल्ने गरी अदालतले ऊविरुद्ध परेका आधादर्जन जति मुद्धा खारेज गरेसँगै बैंकले राम्रो लाभांश वितरण गर्ने र आफूलाई अझ तीव्र सुधारको बाटोमा हिँडाउने आँकलनसहित लगानीकर्ताको आकर्षण देखियो । यहीकारण कम्पनीले १४ करोड ८२ लाख बढीको कारोबार गर्यो । 

नेपाल बैंकले १३ करोड २४ लाख बढीको कारोबार गरेको यो दिन शिवम् सिमेन्टले १३ करोड ९ लाख, कृषि विकास बैंकले ५ करोड ७६ लाख, नेपाल टेलिकमले ५ करोड १६ लाख, प्राइम कमर्सियल बैंकले ३ करोड ७२ लाख, हिमालयन बैंकले ३ करोड २६ लाख, एनएमबी बैंकले ३ करोड १८ लाख, राष्ट्रिय बिमा कम्पनीले २ करोड ७७ लाख र सिटिजन्स बैंक इन्टरनेशनलले २ करोड ६८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ७.९७ प्रतिशतले बढ्यो । यस्तै, विशाल बजार कम्पनी लिमीटेडको सेयर मूल्य पनि ७.७९ प्रतिशतले वृद्धि भयो । 

हिमालयन डिस्टीलरीले सबैभन्दा बढी ६ प्रतिशतको हाराहारीमा गुमायो । धेरै गुमाउनेको सूचिको तेश्रो नम्बरमा शिवम सिमेन्ट पर्यो, जसको सेयर मूल्य यो दिन ४.७६ प्रतिशतले घट्यो । शिवम्ले  विगत केही दिनदेखि लगातार पोजिटिभ सर्किट हानिरहे पनि बुधबार भने ब्रेक लागेको हो ।