-गणेशराज पोखरेल
कोभिड १९ को प्रकोप नियन्त्रणका लागि जारी गरिएको लकडाउनले बैंकिङ क्षेत्रलाई पनि अछुतो राखेको छैन । यो क्षेत्र सपोर्ट एजेन्सी भएका कारण अरु उद्योग वा व्यवसाय झै मार परेकै छ । किनभने अरु उद्योग वा व्यवसाय फाइदामा जाँदा यो क्षेत्र पनि फाइदामा जान्छ । अरु क्षेत्र दुःखी हुँदा बैंकहरु पनि दुःखी नै हुन्छन् । 

कोभिड १९ कै कुरा गर्दा नेपाल राष्ट्रबैंकले २ प्रतिशत विन्दूले ब्याज छुट दिने नीति लियो । यसले समेत बैंकहरुलाई निकै ठूलो घाटा पुर्यायो । जस्तो हाम्रो सिटिजन्स बैंकले यो नीतिका कारण एउटा त्रैमासमा ३३ करोड भन्दा बढी ब्याज छुट दिंदा अनपेक्षित आम्दानी गुमाउनुपर्ने अवस्था सिर्जना भयो । लकडाउनकै बेला साँवा तथा ब्याज तिर्दा १० प्रतिशत क्यासब्याक दिने नीतिले समेत बैंकहरु मारमा परे । यसरी हेर्दा कोभिड १९ का कारण अन्य क्षेत्रलाई मात्र होइन, बैंक र बैंकरहरुलाई पनि दुखेको छ । आम्दानी अनपेक्षित रुपमा गुमेको छ । यही बेला फि तथा कमिसनहरु आएका छैनन् । यसले समग्र रुपमा बैंकिङ उद्योगको वित्तीय स्वास्थ्य खराब बनाइदिएको छ । 

बैंकहरुले यो अवधिमा छुट दिएका कारण मात्र आम्दानी गुमाएनन् । हाम्रा ऋणिहरुको व्यापार व्यवसाय नचल्दा त्यसको मार पनि बैंकहरुलाई नै पर्यो । जस्तो धेरै क्षेत्रहरु अझै पनि संचालनमा आउन सकेका छैनन् । सार्वजनिक यातायात अझै पनि पूर्ण रुपमा चल्न सकेको छैन । व्यापार व्यवसाय नै नचलेको अवस्थामा बैंकबाट ऋण लिएर त्यस्ता व्यवसाय चलाउनेहरुले कहाँबाट ल्याएर किस्ता तिर्ने ? उहाँहरुले पैसा तिर्न नसकेको अवस्थामा हामीले के व्यवस्था गर्ने ? यो विषयमा अन्यौल भएकै छ, तर हामीले मौद्रिक नीतिबाट यसको केही समाधान आउला कि भन्ने आशा गरेका छौ । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ र त्यसले हाम्रो वासलातमा के प्रभाव पार्छ भन्ने कुरा पनि हामीले विश्लेषण गर्नुपर्नेछ । 

कतिपयले बैंकहरु अहिले नै डूब्न लागे पनि भनेको सुनिन्छ । तर, वास्तविकता यो होइन, किनभने सबै सेक्टर डूबेपछि मात्रै अन्तिममा डूब्ने सेक्टर हो बैंकिङ । अहिलेसम्म हाम्रो बैंकिङ क्षेत्र सुरक्षित नै छ । 

यी विषयमा विश्लेषण गरिरहँदा कोभिड १९ कै कारण बैंकिङ सेक्टरको विषयमा र यही क्षेत्रभित्र पनि नचाहिने कुरामा बढी हल्लाखल्ला हुने गरेको देखियो । जस्तो बैंकहरुले शाखा घटाउँदैछन्, स्टाफ हटाउँदैछन् लगायत । हो, बैंकहरुले यो विषम परिस्थितिमा खर्च कटौतिमा ध्यान दिनैपर्छ । तर, अहिले नै शाखा घटाइहाल्ने, कर्मचारी हटाइहाल्ने अवस्थामा यो उद्योग पुगिसकेको होइन । 

यहाँ भूल्न नहुने कुरा के हो भने चैत ११ गतेदेखि लकडाउन भए पनि बैंकहरु बन्द भएका छैनन् । सेवाग्राहीले सेवा पाइरहेकै छन् । अहिले त बैंकहरु पनि फूल रनमा चलेका छन् । चेन इफेक्ट यो उद्योगमा पर्ने नै छ, तर धेरै अत्तालिनुपर्ने अवस्था चाहि होइन । यत्ति हो, तिर्नसक्नेहरुले वा खुद्रा व्यापार, खाद्यान्नको व्यापार लगायत संचालनमै रहेका व्यापारबाट आम्दानी गर्ने व्यापारीहरुले इमानदारितापूर्वक बैंकको ऋण तिर्ने वातावरण हुनुपर्छ । तिर्न सक्नेले बैंकको साँवाब्याज तिरिदिए बैंकहरुलाई पनि राहात हुनेछ । 

ब्यालेन्ससिटमा पर्नसक्ने प्रभाव
गत आर्थिक वर्षको बैंकहरुको वासलातमा कोभिड १९ का कारण नाफा नै हिट हुने निश्चित छ । अधिकांश बैंकको नाफा घट्नेछ । देशको जीडीपीमै यत्रो हानिसक्यो, हामी ७–८ प्रतिशत ग्रोथको कुरा गरिरहेका थियौं, तर अहिले कोभिडका कारण २ प्रतिशत छेउछाउमा आएर कुरा गरिरहेका छौ । 

सिटिजन्स बैंककै कुरा गर्दा हाम्रो नाफामा करिब २५ देखि ३० प्रतिशतको गिरावट आउनसक्छ । ब्यालेन्ससिट उत्साहजनक रहँदैन।

कोभिडले बैंकहरुको वित्तीय पाटो मात्र होइन, गैरवित्तीय पाटोमा पनि नकारात्मक प्रभाव पारेको छ । मुख्य रुपमा यसका कारण संस्थाहरुको आत्माविश्वासमा गिरावट आउनेछ । नयाँ शाखा खोल्ने उत्साह र जाँगरमा कमी आउनेछ । 

कोभिडपछि उत्पन्न विषम परिस्थितिका कारण कतिपयले भीआरएस कार्यक्रम ल्याएर कर्मचारी कटौति गरे । बैंकिङ सेक्टरमा अहिले थोरै कर्मचारीबाट काम गराउने नीति लिने हो कि भन्ने चर्चा पनि चल्न थालेको छ । यसले कर्मचारीमै ठूलो कटौति भइहाल्छ भनिहाल्न त नमिल्ला, तर नयाँ कर्मचारी लिने अवस्था ठप्प हुनसक्छ । देशमा यति धेरै कलेजहरु छन्, त्यहाँबाट उत्पादित फ्रेस जनशक्तिले अवसर पाउनेछैन । यो पनि एक किसिमको घाटा नै हो । बैंकहरुले यसमा विचार गरेर रणनीति बनाउनुपर्ने देखिन्छ । 

तेश्रो त्रैमासकै वित्तीय विवरण हेर्दा ६ वटा बैंकको वितरणयोग्य मुनाफा नकारात्मक भएको थियो । असार अन्तसम्मको अवस्थापछि अधिकांश बैंकहरुको नाफा नकारात्मक बन्ने देखिन्छ । सबैको नाफा घट्ने त निश्चित नै भइगयो । यसका कारण बैंकहरुले सेयरधनीलाई बाँड्नसक्ने लाभांश क्षमतामा तीव्र गिरावट ल्याउनेछ र दुईचार पैसा नाफाको आशा गरेर बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेहरु मारमा पर्नेछन् । अझ बैंकको सेयरमा लगानी गरेर दालभात खाइरहेकाहरुलाई समेत यसले ठूलो प्रभाव पार्नेछ । यस्तो अवस्थामा केही बहसहरु भइरहेका छन् । रेगुलेटरी रिजर्बबाट भए पनि सेयरधनीलाई निराश नपार्ने गरी केही गर्ने हो कि भन्ने बारेमा पनि छलफलहरु भइरहेका छन् । यसका लागि समेत हामीले मौद्रिक नीति नै कुर्नुपर्ने हुन्छ । यस्तो बेलामा लगानीकर्ताको जोशलाई कायमै राख्ने खालका नीति आउनुपर्छ । यो लाइनबाट जान सकियो भने यसले सेयर बजारमा समेत नकारात्मक प्रभाव पर्न दिने छैन । आशा गरेर बसेका सेयर लगानीकर्ताहरुलाई निराश बनाउने काम गर्नुहुन्न । 

कोभिड १९ का कारण बेरोजगारीको संख्या धेरै बढ्ने देखिन्छ । विदेशबाट नेपाल फर्किने युवा शक्तिको संख्या समेत ठूलै छ । उनीहरुको क्षमतालाई उपयोग गर्दै उत्पादनशील काम वा उद्यममा लगाउन सकिए, यसले भविष्यमा देशको अर्थतन्त्रमा राम्रो टेवा दिनसक्छ । यस्ता युवाहरुलाई लक्षित गरेर ब्याजदर छुट जस्ता स्किममा बैंकहरुले पनि लगानी विविधिकरण गर्नतर्फ लाग्नुपर्छ । 

तर, समग्रमा हाम्रो ओभरअल पिक्चर चाहि सुरक्षित नै देखिन्छ । कोरोना महामारीलाई सन् १९३० पछिकै ठूलो क्राइसिस भनिँदो रहेछ । यसले विश्वकै अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको छ । हामी त अलिकति पनि भए पनि पोजिटिभ ग्रोथकै कुरा गरिरहेका छौ, यो सकारात्मक पक्ष हो । 

यस्तो अवस्थामा आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने विषयमा सबै क्षेत्र परिचालन हुनुपर्छ । हामीले बुद्धिमतापूर्वक काम गरिरहेका छौ र यसलाई निरन्तरता दिइनुपर्छ । 

साउनबाट ऋणको पनि ब्याजदर घट्न थालेको छ । ऋणिहरुलाई पनि ठूलो राहात हुने देखिएको छ । यो कोणबाट हेर्दा आशावादी बन्न सकिन्छ । 

अवसर पनि छ
कोरोना महामारीले समस्या मात्र होइन, अवसर पनि सँगै लिएर आएको छ । 

यसकै कारण नेपालीहरुमा देशप्रतिको प्रेम बढेको छ । विदेश गएर देश, आफन्त, घरगाउँ नसम्झिनेहरुले पनि देश, आफन्त र घरगाउँको माया के हुँदो रहेछ भन्ने कुरा राम्ररी बुझेका छन् । लुटिहालौं भन्ने भावना घटेको छ । आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने भावनाको निकै राम्रो विकास भएको छ । विदेश पलायन भएको जनशक्ति र शहरकेन्द्रीत मानिस समेत गाउँ फर्किएका छन् । यसले कृषिमा बहार आउने संभावना देखिन्छ । सरकारले भूमि बैंक लगायत कृषिलाई बुस्ट गर्ने राम्रो नीति ल्याएको छ । यसकारण कोभिडकै कारण कृषि क्षेत्रमा पुनरजागरण आउनसक्छ । यसलाई सपोर्ट गर्ने ढंगले बैंकहरुले पनि फाइनान्स गर्न सक्नुपर्छ । किनभने हाम्रो देशको कृषि उत्पादकत्व बढ्यो भने विदेशबाट हुने आयात घट्छ । यसले विदेशी मुद्राको सञ्चिती बढाउँछ भने व्यापार घाटा पनि कम हुनेछ । 

कोरोना महामारीले निकै ठूलो परिवर्तन र हलचल गराइदिएको सेक्टर चाहि डिजिटल दुनियाँ हो । डिजिटल दुनियाँमा आमूल परिवर्तन भइसकेको छ अहिले । पहिला डिजिटल मान्छेका लागि बाध्यता थियो भने अब आवश्यकता भइसकेको छ । सबै खालका सेवाहरु डिजीटाइज्ड हुँदै गएका छन् । अबको मानिस डिजीटलबाट टाढा जानै नसक्ने अवस्था सिर्जना हुँदैछ । यही वेभलाई बुझेर बैंकहरुले पनि नयाँ नयाँ प्रडक्टहरु ल्याइरहेका छन्, सबै बैंक डिजीटलतर्फ केन्द्रीत भएका छन् । बैंकको ढोकासम्म ग्राहक आउनै नपरोस् भनेर कतिपय बैंकहरु डिजीटल कारोबारमा आक्रामक बनिसकेका छन् । यसले नगदरहित समाज निर्माणमा निकै ठूलो योगदान पुग्नेछ । डिजीटल दुनियाँमा यति ठूलो अवसर सायदै आउला । यो वेभलाई चाहि बैंकहरुले पछ्याउन सक्नुपर्छ । 

कोरोना प्रभाव कहिलेसम्म ?
कोभिड १९ को खोपको विकास नभएसम्म यसको प्रभाव पूर्ण रुपमा निमिट्यान्न हुन कठीन छ । किनभने मानिसमा आत्मविश्वास जगाउने ठूलो अस्त्र नै खोप हो । यसकारण खोपको विकास नभएसम्म कोरोनाका कारण नेपालको बैंकिङ क्षेत्र समेत प्रभावित हुनेछ । 

जस्तो लकडाउनका कारण ४ महिनासम्म धेरै खालका व्यापार व्यवसाय चलेनन् । उनीहरुले पहिलाको गतिमा व्यवसाय चलाउनका लागि कोरोना त्रास कम हुनुपर्छ । खोप नआई त्यो त्रास पूर्ण रुपमा कम हुन्न । त्रास कम नभएसम्म उहाँहरुले बैंकबाट लिएको ऋण तिर्ने गरी कमाउन नसक्नुहोला । यस्तो अवस्थामा उहाँहरुले लिएको ऋण तिर्ने समय बढाइदिनुपर्छ । लोनको किस्ताको साइज पनि तलमाथि गरिदिनुपर्छ । पहिला ऋणिहरुको आम्दानी कुन रेञ्जमा जान्छ भन्ने कुरा हेरिन आवश्यक हुन्छ । यसरी प्रवाह भएका ऋण तिर्ने समय र किस्ताको साइजमा पनि मिलाउन सकियो भने धेरै ठूलै प्रभाव चाहि परिहाल्दैन । 

कोभिड १९ को यो प्रभाव नेपालका बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मै भोग्नुपर्ने पनि हुनसक्छ । तर, यो कुरा खोपमा निर्भर हुन्छ । खोपको विकास भई मानिसमा लगाउन थालिसकिएपछि गतिविधि सुरु हुन्छ र सबै क्षेत्रमा फेरि बहार आउनेछ । देशविदेशका समाचार हेर्दा सेप्टेम्बरसम्ममा खोप आउँछ कि जस्तो लाग्छ ।

नेपालको बजारमा भने अहिले नै कोभिड बिर्सिएर मोविलिटी सुरु भइसकेको छ । यसले जोखिम बढाइरहेको छ । निश्कर्षमा भन्नुपर्दा कोभिडमुक्त भएको ६ महिनापछिदेखि मात्र नेपालको बैंकिङ सेक्टर प्राकृतिक बाटोमा फर्किन संभव छ । 

यस्तो होस् मौद्रिक नीति
अहिलेको अवस्थामा बिस्तारकारी मौद्रिक नीति आउनुपर्छ । अहिले हामीसँग तरलता अधिक छ । पैसा थुप्रिएर प्रणालीमा बसेको छ । खर्च गर्न ठाउँ छैन । तर, यो अवस्था सधैं रहन्न । अब मान्छेलाई पैसा चाहिन थाल्छ । भदौ असोजदेखि मान्छेलाई पैसा चाहिन थाल्छ, त्यसपछि तरलतामा थोरै थोरै असजिलो हुन थाल्छ । यस्तो अवस्थामा हामीले पैसा बजारमा लगेर लगानी बिस्तारमा ध्यान दिनुपर्छ । लगानी बिस्तार नभई ग्रोथ हुनसक्दैन । 

नेपालको केन्द्रीय बैंकले यसअघि पनि बैंकहरुका लागि धेरै काम गरिसकेको छ । सीआरआर यसअघि नै ३ प्रतिशतमा आइसकेको छ । यस्ता अन्य नीति पनि आएका छन् । तर, यसपटक धेरै कराउने अवस्था छैन । 

पुनरकर्जाको विषय चाहि चाँडै लागू हुने अवस्था सिर्जना गरिनुपर्छ । पुनरकर्जामध्ये ७० प्रतिशत बैंकिङ सेक्टरबाट गर्ने भनिएको छ, यो चाँडो कार्यान्वयन भयो भने यसले एक किसिमको भाइब्रेसन ल्याउनेछ। 

मौद्रिक नीतिले मुख्य रुपमा उद्योगी तथा ऋणिहरुलाई बचाउने र राहात हुने कार्यक्रम समेट्नुपर्छ । ऋण तिर्ने समयतालिका केही फराकिलो बनाइदिनुपर्छ । अहिलेको मुख्य माग नै ऋणको पुनरतालिकीकरण गर्ने नै हो । ऋणिहरुलाई टाइम दिनुपर्छ र पुनरसंरचना गर्ने विधिहरुमा मौद्रिक नीतिले राम्रोसँग सम्बोधन गर्न सकेको खण्डमा धेरै संस्था बाँच्नेछन् । 

एसएमई र रिटेल कर्जाको क्षेत्रमा पनि गाह्रो अवस्था छ । उहाँहरुलाई पनि केही राहातको प्याकेज ल्याइनुपर्छ । अहिलेको अवस्थामा ऋणिहरुले छुट होइन, ऋण तिर्ने टाइम केही बढाइदिन मागिरहेका छन् । त्यसकारण ऋणको पुनरतालिकीकरण नै सबैभन्दा महत्वपूर्ण विषय हो ।

ऋणिको हितको कुरा गरिरहँदा निक्षेपकर्ताको हितलाई पनि भुल्नु हुँदैन । त्यसकारण ससाना डिपोजिटरले पाउने ब्याज पनि घटाउनतर्फ लाग्नु हुँदैन । ६.५ प्रतिशत मुद्रास्फिति रहेकोमा निक्षेपको न्यूनतम ब्याज योभन्दा तल झार्नुहुन्न, नभए पैसाको बहिर्गमन हुनसक्छ । यसमा बैंकहरु आफैंले पनि ध्यान दिनुपर्ने हुन्छ । 

कोभिड कारण बैंकहरुको एनपिए धेरै बढ्ने देखिन्छ । यस्तो अवस्थामा मान्छेहरुको बैंकप्रतिको विश्वास टुट्नसक्छ, यसलाई विचार गरेर मौद्रिक नीति आउनुपर्छ । अहिलेको अवस्थामा बच्ने र बाँच्न दिने खालको मौद्रिक नीति आउनुपर्छ । 

बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जर गरेर संख्या घटाउने विषय राष्ट्रबैंकको सधैंकै अजेण्डा हो, यसपटक पनि आउने देखिन्छ । तर, यसपटक यो विषय आउँदा बेनिफिट्सतर्फ पनि ध्यान दिनुपर्छ । मर्जर गर्दा धेरै बेनिफिट्स हुने अवस्था सिर्जना गरियो भने संस्थाहरु स्वस्फूर्त रुपमा मर्जरमा जानेछन् र राष्ट्रबैंकको मर्जर नीति पनि सफल हुनेछ । जस्तो, अहिले हामी नै पनि राम्रा खालका विकास बैंक वा फाइनान्स कम्पनी पायौं भने प्राप्ति गर्ने योजनामा छौ । हामीलाई प्रदेश १, ५, ७ लगायतका क्षेत्रका राम्रो संस्था चाहिएको छ । मर्जरका लागि लालायित भइरहेका हामीजस्ता संस्थाहरुलाई अझ बढी प्रोत्साहन हुने खालका प्याकेजहरु आएमा राम्रो हुन्छ । 
(सिटिजन्स बैंक इन्टरनेशनलका सीइओ पोखरेलसँग गरिएको कुराकानीमा आधारित)