काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिइए सेयर बजार डामाडोल हुने एक ब्रोकरले दाबी गरेका छन् । 

स्टक ब्रोकर मेघनाथ उपाध्यायले यस्तो दाबी गरेका हुन् । उनले ब्रोकर शाखा विस्तार गर्न नियामक निकायहरुले वास्ता नगर्दा ब्रोकरहरुले काम गरेनन् भन्ने अपजस खेप्नु परिरहेको जिकिर समेत गरे । 

स्टक ब्रोकर नम्बर नम्बर १६ प्राइमो सेक्युरिटीज प्रालिका सीइओ मेघनाथ उपाध्यायले बैंकहरुको मुख्य काम बचत र ऋण प्रवाह मात्र भएको उल्लेख गर्दै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिइएको खण्डमा बैंकान्स्योरेन्स बन्द भएकै जस्तै अवस्था आउने दाबी गरे । बैंकहरुले आफ्नो स्वार्थ हेर्दै छोटो समयावधि १० वर्षको इन्स्योरेन्स गर्दा बीमितले पाउने प्रतिफल केबल ५० प्रतिशत मात्र पाउने तर, छोटो अवधिको बीमा पोलिसी गर्दा बैंकलाई फाइदा हुने उदाहरण दिँदै सीइओ उपाध्यायले बैंकान्स्योरेन्स बन्द भएजस्तै अवस्था आउने बताए । 

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिए गाउँ गाउँमा सेयर कारोबार पुग्ने भन्ने धारणा नै गलत भएको उपाध्याय सुनाउँछन् । ‘सेयर सहरको धन्दा हो।’उपाध्याय भन्छन्–‘बैंकहरुका शाखा ५०० मिटरको दूरीमा विस्तार हुनु, आइएमई मनी ट्रान्सफरजस्ता सेवाप्रदायक कम्पनीहरु १०÷१० मिटरको दूरीमा शाखा खोलिँदा हामी सम्पूर्ण ब्रोकरहरु भने देशभरिमा केबल ४९ स्थानमा मात्र संकुचित हुनु परिरहेको छ । अनि हामीलाई नै अपजस आउँदछ कि ब्रोकरले काम गरेनन् भनेर ।’

इतिहास हेर्दा बैंकहरु घोटाला काण्डमा परेका भेटिएका छन् तर आजका मितिसम्म पनि ब्रोकरहरु कुनै गैरकानूनी काममा संलग्न नरहेका उनले दाबी गरे  भने–‘हामीलाई सूचीकृत कम्पनीहरुमा डाइरेक्टर वा कर्मचारीहरु हुन बञ्चित गराइएको छ, कारण सूचनामा चुहावट र स्वार्थको द्वन्द्व हुनसक्छ भन्न हो । यदि बैंकलाई ब्रोकर लाइसेन्स दिइए सूचना चुहावट हुन्न भनेर कसरी विश्वास गर्ने ?कसले ग्यारेण्टी गर्छ यसको ?’

छिमेकी मुलुक भारतमा बैंकहरुले उत्पादन , हाइड्रो समूह लगायतमा मात्र लगानी गर्ने व्यवस्था गरिएको उदाहरण दिंद्यै उनले बजारका करिब ८० प्रतिशत हिस्सा बैंकहरुको सेयरले ओगटेकाले भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुुने उनको बुझाइ छ । नेपालका ब्रोकरहरु स्वतन्त्र भएर पारदर्शी रुपमा ब्रोकरेज सेवा दिइरहेका र सेवा बिस्तारमा उनीहरुलाई नै प्रोत्साहित गर्नुपर्नेमा उनको जोड छ ।

यता, धितोपत्रको दोस्रो बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा प्रभू र लक्ष्मी बैंकको ५ प्रतिशत, तत्कालीन एनआइडीसी(हाल राष्ट्रिय वाणिज्य बैंक)को ६.१२ प्रतिशत सेयर हिस्सा ओगटेको छ । पुराना २७ स्टक ब्रोकरहरुको पनि नेप्सेमा ०.६२ प्रतिशत लगानी हिस्सेदार भएकाले आफूहरु पनि सञ्चालक हुनुपर्ने गत पुस २९ गते भएको वार्षिक साधारणसभामा माग राख्दा नेप्सेका सीइओ चन्द्रसिंह साउदले सूचना चुहावट हुने कारण जनाउँदै ठाडै अस्वीकार गरेको आरोप समेत लगाए ।