-सुमन पोखरेल(सीइओ)-आइएमई
बुबा दुर्गाप्रसाद उपाध्याय पोखरेल र आमा इन्दिरा पोखरेलबाट २०३५ सालमा जन्मिएका सुमन पोखरेल हाल नेपालकै नम्बर एक रेमिटान्स कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस(आइएमई)को प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा कार्यरत छन् । नेपालमा औपचारिक क्षेत्रबाट भित्रिने रेमिटान्समध्ये करिब ५० प्रतिशत हिस्सा आइएमईबाटै आउने गर्छ । यति ठूलो रेमिटान्स कम्पनीलाई कुशलतापूर्वक संचालन गरिरहेका पोखरेलले सन् २००३ देखि बैकिङ करिअर सुरु गरेका हुन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेपछि उनले एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरु गरेका थिए । त्यहाँ चार वर्ष काम गरेपछि उनी ग्लोबल बैंकमा मेनेजर लेभलमा ४ वर्ष काम गरे । त्यसपछि विगत ६ वर्षदेखि आइएमईमा कार्यरत छन् । पहिला जनरल मेनेजरको रुपमा यो कम्पनीमा प्रवेश गरेका पोखरेल विगत ४ वर्षदेखि चाहि सीइओको जिम्मेवारीमा छन् । पोखरेलसँग रेमिटान्स व्यवसायको अवस्था, चुनौति लगायतका बिषयमा केन्द्रीत रही
६ महिनाअघि गरिएको कुराकानी अझै सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ । 

समग्रमा देशको रेमिटान्स व्यवसायको अवस्था कस्तो छ ?
रेमिटान्सले नै मुलुक धानिएको छ । विजिनेश राम्रो छ । सधैं यस्तै भइरहला भन्ने नहुनसक्छ । भोलिका दिनमा अन्तर्राष्ट्रिय बजारमा आइरहेका परिवर्तनका कारण यो व्यवसाय धरापमा पर्न पनि सक्छ । मुख्य कुरा माइग्रेसन हो । माइग्रेसनले रेमिटान्स प्रभावित हुनसक्छ, त्यो भविष्यले देखाउला । मलेशिया लगायतका देशमा देखिएको समस्याले पनि केही असर पार्न सक्छ । फ्रि भिसा, फ्रि टिकटको कन्फ्यूजन लगायतका कारण बाहिर जाने मान्छेहरु नै घटिरहेका छन् । अघिल्लो वर्ष भन्दा २५ प्रतिशतले मान्छेहरु घटिसके, त्यो हिसाबले आउँदा दिनमा नेपालमा भित्रिने रेमिटान्स पनि घट्छ कि भन्ने डर छ।

नेपालमा कानूनी बाटोबाट भित्रिने रेमिटान्स तपाईहरुको जस्तो कम्पनीबाट आउला । तर विदेशबाट आउने पैसामध्ये ४५ प्रतिशतको हाराहारीमा चाहि गैरकानूनी रुपमा हुण्डीबाट भित्रिने गरेको तथ्यांक बाहिर आउने गरेको छ । हुण्डीका कारण तपाईहरुलाई कस्तो असर परिरहेको छ ? सबै रेमिटान्सलाई कानूनी बाटोबाट भित्र्याउन कस्ले के गर्नुपर्ला ?
अनौपचारिक क्षेत्रबाट आइरहेको छ रेमिटान्स, यो गम्भीर कुरा हो । ठ्याक्कै कति प्रतिशत आउँछ भन्ने तथ्यांक त छैन, तर तपाईंले भनेजस्तो हाम्रो अनुमानमा पनि ३५ देखि ४० प्रतिशतको हाराहारीमा रेमिटान्स हुण्डीतर्फ भित्रन्छ होला । यो सबै कुरा अन्ततः हाम्रा लागि ठूलो थ्रेट हो । हामीजस्ता औपचारिक क्षेत्रबाट रेमिटान्स भित्र्याउनेलाई यो थ्रेट हो नि । हामी रेमिटान्स ल्याउन भनेर आफ्नो पूँजी, आफ्नो प्रयास लगाएर काम गरिरहेका छौ । अनौपचारिक क्षेत्रबाट रेमिटान्स भित्रँदा सबैभन्दा ठूलो प्रभाव नै हामीलाई पर्छ र परिरहेको छ । यसलाई नरोकी हुँदैन । हामी रेमिटान्स कम्पनीलाई मात्र होइन, देशकै अर्थतन्त्रलाई समेत यसले असर गरिरहेको छ । आज रेमिटान्सको जीडीपीमा २९ प्रतिशत योगदान छ भने यो भोल्यूम बढेर आउने हो भने योगदान ठूलो हुन्छ । देशको अर्थतन्त्र संकटमा फस्दा समेत रेमिटान्सले नै मुलुक धानेको यथार्थ भूल्नु हुन्न । यसलाई नियन्त्रण गर्न सकिए राम्रो हो । नियन्त्रणमा सबै निकायको पहल हुनुपर्छ । केन्द्रीय बैंक, गृहमन्त्रालय, राजश्व अनुसन्धान लगायत सबै सरकारी निकाय मिलेर हुण्डी नियन्त्रण गरिन आवश्यक भइसक्यो । जीरो नै गर्न नसकिएला, तर अनौपचारिक क्षेत्र(हुण्डी)मार्फत आइरहेको अहिलेको ठूलो साइजलाई कम गर्न सकिए रेमिटान्समा ठूलो सहयोग हुन्छ । 

हुण्डी कारोबार नियन्त्रणमा अहिलेसम्म सम्बद्ध सरकारी निकायको इफोर्ट कस्तो पाउनुभएको छ ?
उहाँहरुले इफोर्ट त लगाइरहनु भएकै छ । विभिन्न ठाउँबाट छापा मारिएको, समातिएको भन्ने कुरा पनि आइरहेको छ । यो राम्रो प्रयास हो, यस्तो कार्यलाई निरन्तर गर्नुपर्छ । रेगुलेसन अझ कडा हुनुपर्छ, पोलिसीहरु कडा बनाउनुपर्छ, लाइसेन्सिङ पोलिसीमा पनि कडाई गर्नुपर्छ । सबै चिजहरु गर्न सकियो भने व्यवस्थित र राम्रो होला । 

नेपाल राष्ट्रबैंकको तथ्यांक अनुसार एकदर्जन बढी रेमिटान्स कम्पनी निस्क्रिय अवस्थामा रहेका छन् । कतिपयले तिनै कम्पनीहरुको हुण्डी विजिनेशमा संलग्नता छ भन्दा रहेछन् । तपाईंलाई के लाग्छ ?
आधारबिना मात्र कुरा गर्नु भएन । तर पोलिसीमा कडाई गरिनुपर्यो, रेगुलेसन हुनुपर्यो । लाइसेन्स दिंदा नै उसले के के काम गरिरहेको छ, प्रोफाइलदेखि सबै कुरा हेरिन आवश्यक छ । टाइम्ली रिभ्यू आवश्यक हुन्छ । उसको परफरमेसन कस्तो छ, डलर किन ल्याइरहेको छैन ? जस्ता सबै कुरा हेर्न आवश्यक छ । नियमनकारी निकाय चनाखो हुनुपर्यो । 

रेमिटान्स कम्पनी हुँदा–हुँदै मान्छेहरु किन हुण्डीमार्फत नै पैसा पठाउन खोज्छन ? के हुनसक्छ कारण ??
मान्छेले नबुझेर हो । त्यसमा थ्रेट छ, रिस्क छ, डकूमेन्ट हुन्न । पठाएको पैसाको प्रूफ हुँदैन । विश्वास र सम्बन्धका आधारमा पैसा पठाइरहनुभएको छ । मलेशिया, जापान, कोरिया जस्ता अधिकांश देशमा हुण्डीको नाममा पैसा उठाएर खाएर भाग्ने मानिसहरु पनि धेरै छन् । आज सानो कमिसनको लोभले गलत सिस्टमबाट पैसा पठाउँछौ । डूब्यो भने कहाँ कम्प्लेन गर्ने ? कुनै ठाउँमा सोर्स देखाउँदा हुँदैन । हुण्डीमार्फत आएको पैसा बैंकमा राख्दा समेत स्रोत देखाउनुपर्ने कडा व्यवस्था छ । यो कुरा मान्छेले बुझिरहेको छैन । थोरै पैसाको लोभमा हुण्डी फस्टाइरहेको छ । 

किन बुझाउन नसकेको ?
हामीले बुझाउन नसकेको होइन नि, हामीले नै बुझाएर आज रेमिटान्सको यत्रो ठूलो भोल्यूम बैकिङ सेक्टरबाट आइरहेको हो । नभए हिजोको दिनमा के थियो र ? आइएमई जस्तो कम्पनीले मलेशियामा गएर सुरु नगरेको भए आज यस्तो अवस्था हुन्थेन नि । प्राइभेट सेक्टरको प्रयासबाटै आजको अवस्था आएको छ । तर अझै पनि हाम्रो इफोर्ट पुगेको रहेनछ भन्ने चाहि देखिन्छ । कतिपय कुरामा हामीले चाहेर पनि गर्न सक्दैनौं । कोरियामा प्राइभेट सेक्टरको रेमिटान्स सुुरु गर्छु भनेर कसरी गर्ने ? त्यहाँ रेगुलेसन नै छैन । कि त सरकारले हामीलाई समन्वय गरिदिनुपनर्यो, त्यहाँ सरकारले कुरा गरिदिनुपर्यो रेमिटान्सका लागि लाइसेन्स देऊ भनेर । हङकङमा पनि त्यस्तै होला । अस्ट्रेलियामा त्यस्तै होला । 

जोखिम छ भन्ने पनि थाहा छ, डूबे पैसा कहाँ खोज्ने भन्ने अवस्था पनि छ भन्ने छ, तर पनि मानिसले हुण्डी नै किन रोजिरहेको छ ?
थोरै पैसाको लोभमा यो सबै भइरहेको छ । गैरकानूनी गतिविधि गर्ने मानिसले दिने फ्यासिलिटी बढी नै हुन्छ नि । उसले न कर तिर्नुपर्यो, न केही र कोहीप्रति जिम्मेवार हुनुपर्यो । औपचारिक क्षेत्रका हामीले गैरकानूनी काम गर्नेहरुसँग कहिल्यै पनि कम्पिटिसन गर्नै सक्दैनौ । यसकारण कडा नियमन र सचेतना नै गैरकानूनी ढंगले हुने रेमिटान्स कारोबार न्यूनिकरणको उपाय हुन् । 

यो प्रसंगलाई यही छाडौं । नेपालका बंैक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धिको योजना कार्यान्वयनको चरणमा छ । रेमिटान्स कम्पनीको पनि पूँजी वृद्धि गर्नुपर्छ भन्ने कुरा आइरहेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?
सुरुमा लाइसेन्स लिन पैसा लाग्छ, बिजिनेश भोल्यूम बढाउँदै जाँदा, ब्राञ्च बढाउँदै जाँदा उसले क्यापिटल बढाउँदै जानुपर्छ, विदेशमा  यस्तै सिस्टम छ । किनभने यो त पब्लिकको पैसा हो नि । हामी आज अरबौं रुपैयाँ कारोबार गरिरहेका छौ भनेपछि काम गर्ने स्कोप र उसको इक्विटीसँग जोड्नुपर्छ जस्तो लाग्छ । कति जोड्नुपर्छ, कुन लेभलमा हुनुपर्छ, कति पूँजी हुनुपर्छ भन्ने कुरा रेगुलेटरले सोच्ने कुुरा हो । यस्तो प्राक्टिस अन्तर्राष्ट्रिय जगतमा चाहि छ । पूँजीवृद्धिको नाममा यो व्यवसायलाई डिस्करेज गर्ने हिसाबले पनि गर्नु भएन । भोलिका दिनमा यो सेक्टरमा आइरहेको रेमिटान्स डिस्करेज भएर फेरि अनौपचारिक क्षेत्रमा जाने गरी पनि रेगुलेसन हुनु भएन । न्यायोचित हिसाबले हुनुपर्छ । 

रेमिटान्सको कारोबार गर्ने तपाईहरुजस्तो कम्पनी र रेमिटान्सकै कारोबार गर्ने नेपालका बैंकहरुबीच किन द्वन्द्व भइरहेको ?
निश्चित रुपमा द्वन्द्व छ र हुन्छ । हामी रेमिटान्स कम्पनीको प्राइमरी काम नै रेमिटान्स भित्र्याउने हो । हामीले विदेशी मुद्रा(डलर) ल्याउँछौ । हामीले वाणिज्य बंैकलाई दिनुपर्छ । अनि  बैंकले हामीसँग डलर किनेर आफ्नो मार्जिन राखेर कस्टमरलाई दिन्छ । राष्ट्रबैंकलाई बेच्छ आफ्नो मार्जिन राख्छ । उसँग आफ्नो डलरको सोर्स  पनि छ र बेच्न पनि सक्छ । उसको स्कोप ठूलो छ । बैंकहरुसँग आफ्नो रेभेन्यूलाई ठूलो बनाउन धेरै बाटोहरु छन्, धेरै विकल्पहरु छन् । तर हामीसँग त केही पनि छैन । हामी त सिधैं ल्याउने हो, वाणिज्य बैंकहरुलाई दिने हो, यसले राष्ट्रबैंकलाई दिन्छ वा कस्टमरलाई । अनि त्यति ठूला इन्स्टिच्यूसनसँग हामीले फेरि फाइट पनि गर्नुपर्ने ?

भनेपछि रेमिटान्स व्यवसाय तपाईंहरुले मात्र गर्न पाउनुपर्यो ?
निश्चित रुपमा । संसारभर के छ भने रेमिटान्स कम्पनीहरुले रिटेल रेमिटान्सको कारोबार गर्छन, बैंकहरुले होलसेलको गर्छन । बैंकहरुले त अकाउण्ट टु अकाउण्ट कारोबार गर्ने हो नि । क्यासमा त हामीले गर्ने हो । आफ्नो नेटवर्क, एजेन्ट बेस बनाएर काम गर्छौ, हाम्रो नेचर नै त्यही हो, काम नै त्यही हो । बैंकले पनि सानो सानो एजेन्ट बनाएर काम गरेर हिँडेर हुन्न । अकाउण्ट टु अकाउण्टबाट गर, रिटेल रेमिटान्स रेमिटेन्स कम्पनीको हो, अनि होलसेल रेमिटान्स मात्रै कमर्सियल बैंकहरुको हो । यो कुरा क्लियर हुने हो भने रेमिटान्स पनि आइरहन्छ, इण्डष्ट्री पनि बाँच्छ, बैंकलाई पनि फाइदै हुन्छ । सबैलाई मिक्सअप गरिदिने हो भने त रेमिटान्स कम्पनीले कम्पिटिसन नै गर्न सक्दैन नि । 

अहिलेसम्म यो एंगलबाट नियमनकारी निकायलाई घचघच्याउनु भएन ?
घचघच्यायौं । उहाँहरुलाई यो कुरा थाहा पनि छ । केही परिवर्तन गर्न खोजिरहनुभएको छ, हेरौं केही परिवर्तन होला । त्यो दिन आउला भन्ने आशा छ । नियमन निकायका अधिकारी समेत यो विषयमा सिरियस हुनुहुन्छ होला । हाम्रो कुरा स्पष्ट छ, बैंकको नेचर अनुसारको काम उसले गर्नुपर्यो । गाउँ गाउँमा एजेन्ट बनाएर २० देखि २५ हजार पेमेन्ट गराउने काम बैंकले गर्ने होइन, त्यो काम त हाम्रो हो । उहाँहरुको काम त बल्कमा हामीबाट डलर लिने हो, अकाउण्ट टु अकाउण्ट कारोबार गर्ने हो । 

प्रसंग बदलौं, आइएमईको सेवा अहिले कतिवटा देशमा छ ?
हामी संसारभरि छौ । जहाँ–जहाँ नेपाली छन्, त्यहाँ–त्यहाँ आइएमईको सेवा छ । मलेशिया, यूएईमा त्यहाँका कम्पनीसँग हाम्रो डाइरेक्ट अरेजमेन्ट छ । यूरोप, अमेरिका लगायतका ठाउँमा चाहि हामी अन्तर्राष्ट्रिय कम्पनीहरु, जस्तो मनिग्रामसँग काम गर्छौ, एक्सप्रेस मनिसँग काम गर्छौ । कुनै पनि देशमा रहेर नेपालीले आइएमईमार्फत पैसा पठाउन सक्नुहुन्छ । 

आइएमईका प्रोडक्टहरु के–के छन् ? स्कीम के–के छन् ? 
हाम्रो फोकस नै रेमिटान्स हो । ग्राहकलाई कसरी राम्रो सुविधा दिनसकिन्छ भन्नेमै हाम्रो ध्यान केन्द्रीत छ । हाम्रो सेफ छ, सेक्यूर छ  र फास्ट पनि छ । हाम्रोमार्फत पैसा पठाउँदा ०.००५  प्रतिशत पनि कम्प्लेन छैन । हाम्रो स्टेण्ड नै यही हो । हामीलाई मान्छेले विश्वास गरेको कारण पनि यही हो । हामीले कुनै दिन कुनै  स्किम दिएर यो बिजिनेश जमेको होइन । हामी दुई तीन वर्षदेखि सबैभन्दा बेस्ट रेमिटेन्स कम्पनीको रुपमा छौ, सबैभन्दा बढी ट्याक्स तिर्छौ । सबैभन्दा बढी रेमिटान्स भित्र्याउँछौ, सबै देशमा छ हाम्रो सेवा । ‘रेमिटान्स भनेकै आइएमई हो’ भन्ने स्तरमा हाम्रो ब्राण्ड स्थापित छ । यो सबै उपलब्धिको कारण कस्टमरको विश्वास र भरोसा नै हो । यो कुनै स्कीम दिएर भएको होइन, हामीले गुणस्तरीय र भरपर्दो सेवा दिएर हो यस्तो संभव भएको हो ।

तर सामान्य स्कीमहरु चलिरहेकै हुन्छन् । अहिले हामीले केही देशमा प्रत्येक कारोबारमा टिसर्ट दिन्छौ । जापानमा एउटा स्कीम चलिरहेको छ, प्रत्येक हप्ता हामी लक्की ड्रमार्फत एकजनालाई नेपाल आउने/जाने टिकट दिइरहेका छौ । त्यस्ता खालका स्कीमहरु चलिरहेकै हुन्छ । तर हाम्रो मूल मन्त्र भनेकै छिटो, भरपर्दो र विश्वसानीय सेवा नै हो । 

आगामी योजना के छन् ?
च्यालेञ्जहरु धेरै छन् । मान्छे विदेश जानेहरु घटिरहेका छन् । इन्फरमल सेक्टरबाट पैसा आउने क्रम बढिरहेको छ । हाम्रा मार्जिनहरु पनि कम भइरहेको छ । अस्वस्थ प्रतिस्पर्धा बढ्दै गइरहेको छ । यी चुनौतिका बीचमा पनि हाम्रो ब्राण्डलाई कसरी स्थापित गराइराख्ने, ग्राहकलाई बढी भन्दा बढी स्तरीय सेवा कसरी दिने भन्नेमा हामी केन्द्रीत हुनेछौ । कस्टमरले राम्रो सुविधा पाओस्, हाम्रो सधैंभरिको योजना वा सोंच भनेकै कस्टमरमा आइएमईमार्फत पैसा पठाउँदा कुनै अप्ठ्यारो पर्दैन भन्ने विश्वास कायम रहने गरी गुणस्तरीय सेवा दिने भन्ने नै हो । हामीले क्वालिटीलाई ध्यान दिइरहेका छौ । अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित कम्पनीहरुबाट सिकेर हामीले त्यस्ता सुधार आफूमा गरिरहेका छौ । 

अन्तमा एउटा रमाइलो प्रसंग । जति विदेश जाने बढ्छन, उति रेमिटान्सको बिजिनेश बढ्छ । तर पछिल्लो समय नेपालमा विदेशिरहेका युवाहरुलाई स्वदेशमै रोक्ने चर्का कुरा पोलिसी मेकरबाट उठ्ने गर्छ । कुनै दिन विदेशी युवाहरुको संख्या निकै न्यून भएर कतै रेमिटान्स बिजिनेश नै निकै तल पुग्ने हो कि भन्ने कुरा कहिलेकाही मनमा आउँछ ?
माइग्रेसनको कुरा सामान्य हो । आज एउटा देशमा जन्मेको मान्छे अर्को देशमा पढ्ने, अर्को देशमा काम गर्ने गर्छ, यो चलिरहन्छ । अहिले भारतकै उदाहरण हेरौं न, निकै तीव्र गतिमा विकास भइरहेको भारत जस्तो मुलुकबाट समेत युवाहरु विदेशिन त कहाँ कम भएको छ ? संसारमा सबैभन्दा बढी रेमिटान्स भित्र्याउने देश नै इण्डिया हो । यसकारण, देशको जति ग्रोथ हुँदै जान्छ, त्यसपछि पनि योग्य र क्षमतावान जनशक्ति अवसरको खोजीमा विदेशमा जान्छ जान्छ । कसैले नियन्त्रण गर्न सक्दैन । यहाँ पाइरहेको भन्दा बाहिर ठूलो अवसर पाउँछ । तपाईं आज हेर्नुहोस्, माइक्रोसफ्टको सीइओ, गुगलको सीइओ सबै इण्डियन नै छन् । विदेशमा अनपढ मात्र होइन, पढेलेखेका पनि जान्छन । माइग्रेसनलाई कसैले रोक्नै सक्दैन । अर्कोतर्फ हामी जस्ता रेमिटान्स कम्पनीलाई देश जति डेभलप भयो, उति फाइदा हो । आज एउटा अनपढ नेपाली गएर १ हजार रियाल कमाउला । भोलि पढेर, योग्य भएर जान्छ, ५–७ हजार रियाल कमाउँछ, हामीलाई त झन फाइदा भो नि । आइडिएल्ली सबै मानिसलाई देशभित्र राखेर काम दिन्छु भन्नु गुड हो । तर उत्तर कोरिया जस्तो सबैतिर हुन्न नि आजकालको जमानामा । मान्छेहरु संसारभरि जहाँ अवसर पाउँछ, त्यहाँ जान्छ नि । हामीलाई त्यस्तोबाट केही थ्रेट हुँदैन । देश डेभलप भयो भने हाम्रो रेमिटान्स झनै बढ्छ ।