काठमाण्डौ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता दवाब समूहले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई धितोपत्र बोर्डले गैरव्यवसायिक र अबाञ्छित कार्यक्रमको संज्ञा दिंदै संयमित हुन आग्रह गरेको छ । 

लामो समय घरविदामा बसेर काममा फर्किएका धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको निर्देशनमा तयार भएको विज्ञप्तिमा लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरिएको छ । 

लगानीकर्ता दवाब समूहले बजार सुधारका आफ्ना ३२ बुँदे माग पूरा नभएको भन्दै चैत ९ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ८ दिने आन्दोलनका क्रममा चैत १५ र १६ गते काठमाण्डौमा हुन लागेको लगानी सम्मेलनलाई समेत लक्षित गरिएको छ । 

बोर्डले राष्टको प्रगतिसँग गाँसिएको लगानी सम्मेलनलाई प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहितको नाममा गैरव्यवसायिक कार्यक्रम घोषणा गरिएको आक्षेप समेत लगाएको छ । 

बोर्डको विज्ञप्तिमा नियमनकारी निकायको पदाधिकारीको घर घेराउ गर्ने लगानीकर्ताको आन्दोलनको कार्यक्रमको एउटा बुँदालाई विशेष प्राथमिकता दिइएको छ । 

लगानीकर्ताहरुले आफ्नो आन्दोलनका कार्यक्रम अन्तरगत धितोपत्र बोर्डका अध्यक्ष तथा कार्यकारी निर्देशक, नेप्सेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको घर घेराउ गरी विरोध प्रदर्शन गर्ने कार्यक्रम समेत राखेका छन् । बोर्डले यसरी घेराउ गर्दा नियामक निकाय कमजोर हुने र बजार विकासको कार्यमा बाधा पुग्ने, बजार सुसंचालन तथा लगानीकर्ताको हित संरक्षणमा समेत नकारात्मक प्रभाव पर्ने तर्क समेत पेश गरेको छ । 

बोर्डले समग्र धितोपत्र बजार र लगानीकर्ताको हितका लागि उल्लेखनीय सुधार र विकास कार्यहरु गर्दै आइरहेको दाबी समेत विज्ञप्तिमा गरिएको छ। 

बोर्डबाट बजारको विकास र सुधारका लागि भएका कामहरुको फेहरिस्त समेत प्रस्तुत भएको छ । जहाँ नेपालको धितोपत्र बजारको विकास तथा धितोपत्र बजारलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन बोर्डले केही समय अगाडि देखि धितोपत्रबजार सुधार र विकासका लागि विशेष रुपमा कार्य गर्दै आइरहेको दाबी समेत गरिएको छ । 

बोर्डले प्राथमिक र दोश्रो बजारमा भएका सुधारका बुँदाहरु प्रस्तुत गर्दै आफूहरु बजारको विकास विरोधी नरहेको दाबी गरेको छ । 

दवाब समूहले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुमा चैत ९ गते अर्थमन्त्रीको बर्खास्तीका लागि प्रधानमन्त्री अनुरोध गर्ने कार्यक्रम राखिएको छ ।  यस्तै, चैत १० गते धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते धितोपत्र बोर्डमा तालाबन्दी गर्ने कार्यक्रम राखिएको छ । 

यस्तै, चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजीबजार बारे अवगत गराउन विवरणपत्र बुझाउने, चैत १५ गते विदेशी पाहुनाहरुसँग छलफल गर्ने र चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने भनिएको छ ।