काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सोमबार बैंक तथा वित्तीय संस्थाहरुका लागि संसोधन र परिमार्जनसहित जारी गरिएको एकीकृत निर्देशनका कतिपय व्यवस्थाले बैंकिङ क्षेत्रमा स्थायीत्व ल्याउने र राम्रो गर्ने दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकको अनुसन्धान विभाग प्रमुख भएर लामो समय काम गरेका थापाले यस्तो दाबी गरेका हुन् । 

‘पहिला पहिला मौद्रिक नीतिमा घोषणा गरिएका कुराहरुसँग सम्बन्धित सर्कुलर डेढ दुई वर्षमा पनि आउने अवस्था हुँदैन थियो, अहिले कमसेकम त्यो अवस्था छैन ।’ उनले भने–‘राष्ट्रबैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थालाई सर्कुलरको रुपमा ल्याएर कमजोर संस्थाहरुलाई मर्जरका लागि बाध्य बनाउने व्यवस्था गरेको छ, यसले बैंकिङ उद्योगलाई राम्रै गर्छ ।’ 

विगतमा भन्ने एउटा, तर गर्ने चाहि अर्कै कामको प्रवृतिबाट धेरै क्षेत्र ग्रस्त रहेको उल्लेख गर्दै उनले केन्द्रीय बैंकबाट परिपत्र जारी भइसकेको र यसले अब निश्कर्ष निकाल्नेमा आफू आशावादी रहेको समेत प्रष्ट्याए । ‘अब पनि लबी ग्रुपले पे गर्ने, अनि नियामकले चाहि उसकै फेबरमा काम गर्ने भन्ने पनि हुन्छ ?’ प्रश्न गर्दै उनले थपे–‘बजारमा टिक्न सक्ने टिक्छन्, नसक्ने मर्जरमा जान्छन् । मलाई लाग्छ राष्ट्रबैंकले गर्न चाहेको पनि यही हो ।’ 

उनले नेपाल बैंकर्स संघले लामो समयदेखिको गरेको ब्याजदरको भद्र सहमतिको समेत घुमाउरो ढंगले आलोचना गरे । एनबिएलाई भद्र सहमति कायम गराउन नेपाल राष्ट्रबैंकले नै समन्वय गरेको थियो । सो सहमतिलाई इंगित गर्दै थापाले भने–‘हाम्रो बैंकिङको लाइफस्टाइल र अर्थतन्त्रको फिलोसोफी के हो ? सिण्डिेकेट गर्ने हो कि प्रतिस्पर्धी बनाउने हो ? यो विषयमा बेलैमा प्रष्ट हुनुपर्छ ।’ 

देशमा उपलब्ध वित्तीय स्रोत तथा साधनमा केही व्यक्तिहरुले जथाभावी गरिरहेका आरोप लगाउँदै उनले भने–‘ब्याजदरमा राष्ट्रबैंकले हस्तक्षेप गर्नेछैन भन्ने विषय लामो समयदेखि ग्यारेण्टी गरिएको विषय हो, ब्याजदरले एउटा बाटो लिन्छ र गन्तव्यमा पुग्छ पनि भनियो । ठूलो ड्याममा कति दिनसम्म पानी रोकेर राख्नुहुन्छ ? धेरै दिनसम्म त रोकिन्न नि । फुट्यो भने त ठूलो खतरा हुनसक्छ । एकातिर राष्ट्रबैंकले ब्याजदर नियन्त्रण गर्ने होइन, हामी नै समाधान दिन्छौ पनि भन्ने, अनि सोहीअनुसार काम पनि नगर्ने, यो त भएन नि ! प्रतिस्पर्धी बनाउने हो भने ब्याजदरमा भद्र सहमति गर्नुहुँदैन, भएको सहमति खारेज गर्नुपर्छ । टिक्ने टिक्छन्, नटिक्ने मर्जरमा जान्छन् । तपाईले स्थगित गरेर राख्ने, रोकेर राख्ने ? बजारलाई यसले काम गरेको छैन, बजार खत्तम छ भन्ने, रोडम्याप पनि नदिने अनि थुनेर पनि राख्ने भन्ने कुरा पनि हुन्छ ?’