मुम्बई । चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका छन् । 

शनिबार भारतको मुम्बईमा आयोजित विशेष समारोहमा पाण्डेलाई नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका तर्फबाट गोल्डेन क्यामरा अवार्ड– २०१६ बाट सम्मान गरिएको हो । 

गत फागुनमा नाशिक सहरमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरु’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको थियो । अवार्ड बुझ्दै पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए । साथै, निर्देशक पाण्डेले सिंगमसहित सयौँ बलिउड फिल्ममा अभिनय गरेका गोविन्द नामदेव लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए । 

नाशिक चलचित्र महोत्सवका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली चलचित्रलाई प्राथमिकता दिने बताए । समारोहमा भारतसहित बेलायत, इरानका चलचित्रकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । 

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । साथै, ३२ वटाभन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । ‘आगामी महिना स्वीट्जरल्याण्ड र इटलीमा हुने चलचित्र महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ ।’– निर्देशक पाण्डेले भने । 

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस वृत्तचित्रको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । बृत्तचित्रको सम्राट मुभीजले पोष्टप्रोडक्सन गरेको हो ।