-अम्बिकाप्रसाद पौडेल(अध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम
पूँजीबजारको इस्यू देशको हट इस्यू भइरहेको छ । मुद्रा तथा पूँजी बजारको समस्या अध्ययन गर्न भन्दै अर्थमन्त्रीबाट गठित उच्चस्तरीय समितिमा तपाईको पनि सहभागिता छ । पूँजीबजार र सेयर लगानीकर्ताको समस्याका बिषयमा तपाई त्यो समितिमा कसरी प्रस्तुत भइरहनु भएको छ ?
-मैले नेपालको पूँजीबजारको वर्तमान अवस्था, हिजोको अवस्था र हिजोबाट आजसम्म आउँदा सरकारका, राष्ट्रबैंकका, नियामक निकायका के–के कमी कमजोरीका कारणले गर्दा आज पूँजीबजार यो अवस्थामा आयो, हामीले कहाँ–कहाँ ध्यान पुर्याउन सकेनौ, विगतमा नीति निर्माण गर्दा कुन–कुन कुरामा ध्यान पुर्याउनु पथ्र्यो भन्ने बिषयमा बुझाउने काम गरेको छु । विगतमा धेरै कुरामा ध्यान नपुर्याएका कारणले पूँजीबजारको यो अवस्था आएको भनेर प्रष्ट पार्ने काम गरेको छु । 

र, पूँजीबजारमा समस्या आउने कारण के–के हुन् ? ती समस्या समाधानका उपाय के–के हुन् । के के गर्यो भने पूँजीबजारको दिगो विकास हुन्छ, पूँजीबजार स्थिर हुन्छ ? पूँँजी बजारमा सबै लगानीकर्ताको प्रतिनिधित्व कसरी सुनिश्चित हुन्छ ? लगायतका कुराहरु अहिलेको कमिटीमा मैले प्रष्ट रुपमा राखेको छु । 

ठ्याक्कै भन्नुपर्दा पूँजीबजारमा अहिले देखिएका समस्या समाधानका के–के उपाय सुझाउनुभएको छ ?
-नेपालको पूँजीबजारलाई सरकारले ल्याउने नीति तथा कार्यक्रम वा मौद्रिक नीतिले असर गर्दै आएको छ । यस्ता कार्यक्रम आउँदा मैले हिजोको दिनमा यी–यी कुराले नेपालको पूँजीबजारको विकास हुन सक्दैन र पूँजीबजार अब चाहि घट्ने दिन सुरु भयो भनिरहँदा अम्बिकाप्रसाद पौडेल मौद्रिक नीतिको  विरुद्धमा गयो, आर्थिक नीतिको विरुद्धमा गयो र बजार निरन्तर घटाउन लाग्यो भन्ने आक्षेप लगाइयो । सो बेला लगानीकर्ताले तत् समयमा आएका पोलिसीले कस्तो किसिमको असर गर्छ भन्ने कुरा बुझ्नु भएको थिएन । नेपालको पूँजीबजारमा गरिने लगानी के  कति कारणले महंगो छ ? पूँजीबजारमा बैंक तथा बित्तीय संस्थाहरुले किन लगानी गर्न चाहदैनन् ? आम लगानीकर्तालाई पूँजीबजारमा किन प्रोत्साहित गरिएको छैन ? भन्ने बिषय तत्समयको नीतिको कारणले झनै अन्यौलग्रस्त बनेको थियो । यो बिषय मैले उठान गरेको थिएँ । त्यो कुरा उहाँहरुले बुझ्नुभएन । ती कुरालाई उजागर गर्दा म पूँजीबजार विरोधी भएँ । 

र, हाल नेपालको पूँजीबजार घट्नुको प्रमुख कारण चाहि विगतमा सरकारले लिएको केही नीति हो भन्ने मेरो बुझाई हो । त्यस्ता नीति यी–यी हुन् र यसको समाधान यसरी निकाल्न सकिन्छ भनेर मैले समितिमा सुझाएको छु । पूँजीबजारलाई सबैको लागि लगानीको योग्य क्षेत्र बनाउन सकिन्छ भनेर म अहिले लागिरहेको छु । 

पूँजीबजारको विकासमा अवरोध हुने गरी सरकारले लिएका गलत नीति के–के हुन् ? अवरोध के हुन् ?
-पूँजीबजारमा प्रवाह हुने कर्जालाई अनुत्पादक होइन भनिए पनि अनुत्पादक क्षेत्र सरहको कर्जामा वर्गीकरण गर्ने महाभूल भएको छ । बैंक तथा बित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको जोखिम, त्यसको प्राथमिकता र सुरक्षणको आधारमा जोखिम निर्धारण गरिएको छ । पूँजीबजारमा लगानी गर्ने कर्जालाई उच्च जोखिममा राखिएको छ । उच्च जोखिममा राखिएको हुनाले बैंक तथा बित्तीय संस्थाहरु पूँजीबजारमा कर्जा प्रवाह गर्न कञ्जुस्याई गरिरहेका छन् । त्यसले गर्दा जब–जब तरलता सहज हुन्छ, त्यसबेला मात्र कर्जा प्रवाह गर्ने प्रवृतिको विकास भयो । सहज तरलता हुँदा बोलाएर दिने र अलिकति असहज अवस्था हुनेबित्तिकै हामीबाट तत्काल कर्जा खिच्ने प्रवृतिले गर्दा बाध्य भएर हामीले सेयर बिक्री गर्नु परिरहेको छ । तसर्थ, पूँजीबजारमा प्रवाह हुने कर्जालाई छुट्याइदिनुपर्छ । पूँजीबजारमा प्रवाह हुने सेयर धितोकर्जालाई फरक रुपमा स्थापित गरिनुपर्छ । मैले यो कुरा उठाएको धेरै लामो समय भयो । 

मार्जिन लेण्डिङ कर्जा र सेयर धितो कर्जा फरक हुन् भन्ने कुरा मैले पहिलादेखि नै उठाइरहेको छु । यसको वर्गीकरण नगरिनु पनि पूँजीबजारको एउटा समस्या हो ।

अर्को, सेयर धितो कर्जाको सीमा सरकारले पटक–पटक घटाउँदै लगेको छ। पहिला कोर क्यापिटलको १०० प्रतिशत थियो, त्यसपछि आएर ४० प्रतिशत बनाइयो । पूँजीबजारमा लगानीकर्ताको मनोविज्ञानले डरलाग्दो असर गरेको हुन्छ । यो सरकारले सेयर धितो कर्जा किन घटाइरहेको छ ? अन्य क्षेत्रको कर्जामा बढाउनुपर्छ भनिरहँदा पूँजीबजारमा प्रवाह हुने कर्जालाई किन घटाइँदैछ ? सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा पूँजीबजार छैन र सरकारले कुनै पनि बेला अप्ठ्यारो पार्न सक्छ भन्ने कुरा यसले देखाउँछ । मैले यो कुरालाई उठाएको छु । कर्जालाई घटाउनु हुँदैन र यसलाई पोर्टफोलियोको आधारमा निश्चित प्रतिशितमा जानुपर्छ भनेर अडान लिएको छु, त्यो कार्यान्वयन हुन्छ भन्ने पनि विश्वास लिएको छु । 

त्यसैगरी, मार्जिन लेण्डिङको विषय पनि मैले उठाएको छु । हामीले विगतदेखि नै सेयर धितोकर्जा र मार्जिन लेण्डिङ एउटै भनिरहेका छौ, यो गलत हो । मार्जिन लेण्डिङ भनेको ब्रोकरमार्फत दिने हो भने बैंक तथा बित्तीय संस्थामा तपाईको स्वामित्वमा भएको सेयर धितो राखेर लिने कर्जा फरक हो । यो विषयलाई स्थापित गराउन लागेको छु । 

नेपालको पूँजीबजारमा लामो समयदेखि एनआरएनहरुलाई ल्याउँछौ भनेर कुरा गरियो, खोई त कार्यान्वयनमा ल्याएको ? नीति तथा कार्यक्रममा सरकारले बोलिसकेपछि ती कुरालाई तत्काल कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन भएको छैन, यो शीघ्र होस् भन्ने कुरा मैले उठाएको छु । 

यसैगरी, स्वदेशी संस्थागत लगानीकर्तालाई अनिवार्य रुपमा पूँजीबजारमा लगानी गर्नका लागि सिलिङ तोकिदिनुपर्छ । पूँजीबजारमा उनीहरुले किन लगानी नगर्ने ? निश्चित प्रतिफल प्राप्त हुने गरी निश्चित क्राइटेरिया मापन गरेर पूँजीबजारमा कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, बिमा कम्पनीहरु, बैंक, स्वरोजगार लगानीकोष लगायतका निकायलाई लगानी गराउनुपर्छ भन्ने कुरालाई स्थापित गराउन म लागिपरेको छु । 

अनलाइन कारोबार जसरी भइरहेको छ, यसलाई व्यवस्थित गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक छ भन्ने पनि मेरो मुद्धा हो । झिनामसिना कुरामा अल्झिनु हुँदैन । 

वास्तविक क्षेत्रका कम्पनीहरुलाई पर्याप्त मात्रामा पूँजीबजारमा ल्याउने वातावरण बनाउने बिषयमा समेत मैले कुरा राखेको छु । हाइड्रो सेक्टरका कम्पनीहरु आएका छन्, तर नियामक छैनन् । यस्ता कम्पनी आउने क्रम केही समय रोकेर बलियो नियमनकारी निकाय बनाउनुपर्छ । 

ग्रेड फोर र फाइभको रेटिङ पाएका कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउनुपर्छ भन्ने पनि अर्को माग छ । आइपीओमा पैसा हालेपछि फलिहाल्छ भन्ने धारणा व्याप्त बन्दैछ । रेटिङ मिलेर तल आउँछ भने आऊ, होइन भने फोर र फाइभ रेटिङका कम्पनीलाई पूँजीबजारमा ल्याउनुहुन्न भनेर म लागिपरेको छु । 

यसैगरी, व्यक्तिगत कर्जाको सीमा घटाउनु हुन्न । ७५ लाखको सीमा थियो, ५० लाख बनाइएको छ । सेयर धितो कर्जा राखेर लिइने व्यक्तिगत कर्जाको सीमालाई घटाइदिनुहुन्न । यो घटाउँदा सेयर राखेर लिएको लोन तिर्न ऋणिले सेयर नै बेच्नुपर्यो, यसले सप्लाई क्रिएट भयो । त्यसै पनि घटिरहेको बजारमा सप्लाई बढ्दा अझ समस्या निम्तिन्छ । यो कुरालाई पनि सशक्त रुपमा राखेको छु । 

बैंकलाई ब्रोकरेज लाइसेन्स दिने कुरा पटक–पटक उठे पनि यो विषय स्मूथ रुपमा अगाडि बढ्न सकेको छैन । संभवत धेरै छिटो यो बिषयमा राष्ट्रबंैकले गाँठो फुकाएर धितोपत्र बोर्डलाई जिम्मा दिंदैछ । संभवत यो हप्ताभरि वा अर्को हप्ताको सुरुवातमै यो व्यवस्था कार्यान्वयनको बाटो खुल्ने मैले बुझेको छु । 

संस्थागत लगानीकर्तालाई करमा छुट दिने कुरा समेत हामीले उठाइरहेका छौ । 

यस्तै, ऋणपत्रहरुको बजारको विषयमा पनि हामीले कुरा उठाएका छौ । हामीकहाँ निक्षेप १–२ वर्षे अवधिका भए, ऋण चाहि १०–१५–२० वर्षे भए । त्यसो हुँदा बण्ड र डिवेञ्चरमा जानुपर्ने आवश्यता छ, जसले गर्दा दीर्घकालीन निक्षेप(पूँजी) प्राप्त हुन्छ । यसले कम्पनीको रिजर्ब बेस बढाउँदै जाने भयो । 

नेपालको अर्को समस्या भनेकै रिजर्बबेस्ड कम्पनी नहुनु हो । रिजर्ब बेस्ड कम्पनी चाहिन्छ, इक्वीटी बेस्ड कम्पनी भएर मात्र हुँदैन । यसकारण क्यापिटल वा उसले उठाएको डिपोजिटको आधारमा निश्चित प्रतिशत नै तोकर डिवेञ्चरलाई अनिवार्य बनाउनुपर्छ । यसलाई स्थापित गराउन समेत म लागि परेको छु । 

यसैगरी, हकप्रद र बोनस सेयरको मूल्य समायोजन लगत्तै हुने मार्जिन कलको समस्या पनि मैले उठाएको छु । उदाहरणका लागि स्ट्याण्डर्ड चार्टर्डले बोनस दियो, १२०० रुपैयाँको मूल्य ६ सय रुपैयाँमा आयो । बैंकले त त्यही दिन मार्जिन कल गर्ने भयो नि । हो, यहीकारण यदि हकप्रद र बोनस सेयरको कारणले प्राइस घट्छ भने बजारमा भएको मूल्यका कारणले होइन, खरिदबिक्रीको कारणले पनि होइन । हकप्रद र बोनस सेयरका कारण प्राइस घटेको छ भने बुक क्लोज हुने दिनको मूल्यलाई सूचिकृत नभएसम्मका लागि मान्यता दिइनुपर्छ भन्ने हाम्रो माग हो । यो गरियो भने लगानीकर्तालाई मूल्य समायोजनको पीडा हुँदैन ।  यो मूल्यलाई त्यही अनुसार समायोजन गर्नुपर्छ । यो कुरा अहिलेसम्म कसैले उठाएको छैन । मैले उठाएको रिस्कवेटेजको कुरा पनि कसैले उठाएका छैनन् । 

धेरै पहिलादेखि मैले यी कुराहरु भन्दै आएको छु । नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष भएर आएपछि यो बिषय मैले सबै निकायमा पुर्याएको छु । 

अर्को, न्यून चुक्तापूँजी भएका कम्पनी नदेऊ भनेको हुँ । मैले १० कित्ता नदेऊ भनेको हुँ । भयंकर समावेशिताको कुरा गरेर अर्थ छैन । जे फिल्ड हो, त्यसलाई त्यही अनुसार चल्न दिनुपर्छ । अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार चल्न दिनुपर्छ । जति–जति १० कित्ताको दरले सेयर बाँडियो, ती कम्पनीको सेयर बजारमा अभाव सिर्जना गरेर १० कित्ताले माथि माथि लगेर सबै म्युचुअल फण्डले बेचे । अर्को मान्छे त फस्यो नि त । आज अधिकांश कम्पनीमा १०० कित्ता सेयर नभएका कारणले संचालक नियुक्ति भएको छैन । त्यो समस्या होइन ? त्यो हेर्नुपर्ने विषय होइन ? 

यी सबै कुरालाई मैले सशक्त रुपले उठाएको छु । 

तपाई समितिमा हुनुहुन्छ । अरु बेला पनि यस्ता समिति बन्थे, हराउँथे, त्यसैको आडमा लगानीकर्तालाई भुल्याउने काम पनि हुन्थ्यो । यो पटक चाहि अर्थमन्त्री, अर्थका प्रतिनिधि, नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्डका प्रतिनिधि कत्तिको गम्भीर पाउनुभएको छ ?
-मैले जुन किसिमले त्यहाँ माग राखेको छु । सबै निकायका प्रतिनिधि हुनुहुन्छ एकैठाउँमा । हामीले प्रतिवेदन बनाउनेछौ र यो एक निकै राम्रो दस्तावेज हुनेछ । उहाँहरु पनि असाध्यै गम्भीर हुनुहुन्छ र गहिराईमा पुग्नुहुन्छ । 

कतिपय अवस्थामा राजनीतिक नेतृत्वमा काम गर्दा त्यो खालको दक्षता हुँदैन, उहाँ(अर्थमन्त्री) त त्यही फिल्डको मान्छे हो । तपाईले भनेको कतिपय कुराले मलाई कहिलेकाही क्लिक गर्न सक्छ, यसपटक म क्लिक भएको छु र उहाँहरु पनि क्लिक हुनुहुन्छ भन्ने लागेको छ । उहाँलाई क्लिक गर्ने काम हामीबाट भएको छ । सबै सदस्य गम्भीर हुनुहुन्छ । पूँजीबजारको अहिलेको समस्याप्रति सबै गम्भीर हुनुहुन्छ । अर्थमन्त्रीले पनि भनिरहनुभएको छ कि हामी ३ वर्षदेखि इकोनोमी ग्रोथमा छौ । राजनीतिक स्थायीत्व छ, स्थिर सरकार छ । सबै क्षेत्रमा डिमाण्ड क्रिएट भएको छ, यस्तो अवस्थामा पूँजीबजार मात्र किन घटिरहेको छ ? भनेर अर्थमन्त्री पनि गम्भीर देखिनुभएको छ । उहाँ पनि संशयमा हुनुहुन्छ । 

त्यसकारण यो कमिटीले क्यापिटल मार्केट घट्नाका अन्तरनिहीत कारणहरु केलाउनेछ र ती कारण सम्बोधन भए क्यापिटल मार्केट स्थिर हुन्छ र वृद्धि हुन्छ, सबैको विश्वास र भरोसायोग्य हुन्छ, अनावश्यक स्पेकुलेसन हुँदैन । स्पेकुलेसन चाहि हुनै हुँदैन बजारमा । क्यापिटल मार्केट भनेकै एउटाले कमाउने र अर्कोले गुमाउने हो । ७ खर्ब गुमिरहँदा कसै न कसैले बेचेकै हो नि । कसैको गुमेर, कसैले कमाएको हो नि । 

कमिटीको कार्यतालिका के छ ?
-हामी शुक्रबारसम्म प्रतिवेदन पेश गर्छौ । 

पूँजीबजारका समस्या कारण नीतिगत कमीकमजोरी मुख्य देखियो । तर, बजार यति धेरै चौपट हुनु पछाडिको कारण नीतिगत कमजोरी मात्र हुन् ? लगानीकर्ताहरुको पनि केही कमजोरी छ कि ?
-पक्कै छ । सरसर्ती हेर्दा पूँजीबजार र वस्तु बजारमा जहिले पनि आरोह अवरोह हुन्छ । यसको निश्चित विन्दू हुन्छ । हामीभन्दा परिपक्व बजारमा पनि उस्तै उतारचढाव हुन्छ । बजारमा चक्रीय प्रभाव र बाह्य प्रभावले काम गर्छ । सेयर बजार घटबढ हुनु सामान्य कुरा हो, सेयर मार्केट क्र्यास हुनु चाहि असामान्य कुरा हो । घटबढ चक्रीय हिसाबले हुन्छ, समयको कारणले हुन्छ, डिमाण्ड र सप्लाईको कारणले हुन्छ, मनोविज्ञानको कारणले हुन्छ । सेयर मार्केट यदि ३० प्रतिशतभन्दा तल गयो भने त्यसलाई क्र्यासउन्मुख मान्नुपर्छ । 

यसबाहेक सरकारले पूँजीबजारको बिषयमा लिएको नीति, बैंक तथा बित्तीय संस्थाको ब्याजदर, वैकल्पिक क्षेत्रमा लगानीको आकर्षणले पनि बजारलाई असर पारेको हुन्छ । र, सेयर बजारको चक्रीय प्रभाव पनि विगतमा सेयर बजार घट्नुमा केही हदसम्म कारक हो । ब्याजदर पनि कारक हो । सेयर बजार र ब्याजदरको विपरीत सम्बन्ध हुन्छ । 

सेयर बजारको चक्र सामान्य रुपमा साढे २ वर्षको हुन्छ । त्यो पूरा हुने क्रममा छौ।

सरकार, सरकारको नीतिगत स्थिरता र आर्थिक क्षेत्र समेत अहिले स्थिर छ । साच्चै भन्ने हो भने स्थिरता छ । ५ वर्षका लागि दुईतिहाईको सरकार छ । बुझेका सक्षम अर्थमन्त्री हुनुहुन्छ । सबै कुराहरु सकारात्मक छन् । तथापि, सेयर बजार घटिरहेको छ । यसको कारण के होला भनेर सरकारले पनि पहिचान गर्न खोजेको देखिन्छ । यही विषयमा र यस्तै बेलामा हामीले हाम्रा समस्याहरु, कारणहरुको बिषयमा मन्थन गर्नुपर्छ र आफ्ना कुरा राख्नुपर्छ । 

विगतमा सेयर बजारमा खेल्ने काम पनि भयो । धमिलो पानीमा माछा मार्ने गिरोहहरु पनि सक्रिय भए भनिन्छ नि ?
-हिजोको अवस्थामा सेयरको संख्या थोरै थियो, बजारमा बुझेका लगानीकर्ताको संख्या कम थियो । यो कारणले केही लगानीकर्ताले छोटो समयमा खेल्ने प्रयास गर्थे । तर, अहिले करिब ३ अर्ब ६८ करोड कित्ता सेयर सूचिकृत भएको छ । १५ लाख लगानीकर्ताहरु छन् । ५० वटा ब्रोकर छन्, अब चाहि खेल्ने संभावना छैन । यो मानसिकता र मनोविज्ञान मात्र हो । विभिन्न प्रशासनिक, आर्थिक कारणले र अगाडि भनिएका कारणले बजार घटेको हो । अहिलेको अवस्थामा कुनै व्यक्तिले पूँजीबजारलाई घटाउँछु वा बढाउँुछ भनेर हिम्मत राख्न सक्दैन र राख्दैन पनि ।

हिजो(मंगलबार) अर्थसमितिमा धितोपत्र बोर्ड र केन्द्रीय बैंक एकअर्काविरुद्ध प्रस्तुत भए । नियामकको भूमिकाप्रति तपाईको विश्लेषण र धारणा के हो ?
-विगतमा सरकारले पूँजीबजारमा एनआरएनलाई ल्याउन भन्यो । उसले कानून बनेको छैन भन्छ, अर्कोले पनि त्यही कुरा भन्छ । कसले बनाउने भन्ने जस्तो अन्यौल देखियो । मार्जिन लेण्डिङको समस्या विगत लामो समयदेखि यस्तै भइरहेको छ । धितोपत्र बोर्ड र राष्ट्रबैंकबीच यही विषयमा अन्तरविरोध देखियो । कमिटी गठन भएकै कारण नियामक निकायहरुबीचका अन्तरविरोध समेत स्पष्ट भइरहेका छन् । सायद यो कमिटी गठन हुने सन्दर्भमा त्यसलाई पनि मनन गरिएको हुनुपर्छ । बिमतिहरुलाई एउटै ठाउँमा राखेर समाधान निकाल्न खोजिँदैछ । साच्चिकै भन्नुु पर्दा यस्ता समितिहरु बेला बेलामा चाहिने रहेछ, आफ्ना कुरा भन्न सकिने रहेछ, समस्याको बिषयमा बुझाउन सकिने रहेछ । 

अनलाइन कारोबार प्रणालीको बिषयमा धेरै अन्यौल पनि आए । केही अन्यौल अझै बाँकी छन् । अनलाइनले पनि अन्यौल सिर्जना गरेको हो ? नेप्सेको भूमिका सन्तोषजनक नभएको हो ?
-अनलाइनमा अनभिज्ञता भएकै हो । जुन किसिमले लगानीकर्ताले अपेक्षा गरेका थिए, नेप्सेले त्यो गुणस्तरको ल्याउनुपथ्र्यो समयमा, त्यो भएन । तर क्रमिक सुधार चाहि भएको छ । सिस्टम भन्ने कुरा एकैपटक सतप्रतिशत उत्कृष्ट नहुने रहेछ । तर, १५ लाख लगानीकर्ताको भावना र मनोविज्ञानसँग जोडिएको सिस्टम हो, भएका कमजोरी उहाँहरुलाई पनि महसुस भएको होला नै । आगामी दिनमा उहाँहरु पनि कमजोरी सुधारेर आउनुहुन्छ होला भन्ने आशा गरेको छु । 

अब जल्दोबल्दो बिषयतर्फ लागौं । एकातिर तपाईहरु सरकारले बनाएको उच्चस्तरीय समितिमा लगानीकर्ताको प्रतिनिधित्व गर्दै जानु भएको छ । तर, अर्काथरि लगानीकर्ता चाहि यो प्रतिनिधित्वलाई स्वीकार गर्दैनौ भन्दै अनसन बसिरहेका छन् । यो कस्तो परिस्थिति हो ?
-साथीहरु आन्दोलनमा हुनुहुन्छ, अनसनमा हुनुहुन्छ । उहाँहरुको माग र मैले राखेका मागहरुमा भिन्नता छैन । बजार सुधारका एजेण्डाहरुमा पनि भिन्नता छैन । त्यसकारण स्वभाविक रुपमा उहाँहरुले हामी स्वयम् उपस्थित भएर माग राख्न पाउनुपर्छ भन्ने उहाँहरुको चाहना र इच्छा होला । सरकारको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिको रुपमा मलाई बोलाइएको हुनाले सबै लगानीकर्ताको माग मैले राखेको छु । उहाँहरुका माग पनि पूर्ण रुपमा त्यस कमिटीमा राखेको छु । मैले समितिमा उहाँहरुले खटाएको वा दवाब समूहकै प्रतिनिधि भन्न मिलेन । तर, लगानीकर्ताको भावनाको, समस्याको, मागको प्रतिनिधि म पनि हुँ । 

माग एउटै, समस्या उही र सुधारका लागि प्रस्तुत अजेण्डा पनि उस्तै । तर, लगानीकर्ताले अम्बिका पौडेलको नेतृत्व स्वीकार नगर्नुको कारण चाहि के हो ? तपाईमाथि त बिचौलियासम्मको आरोप पनि लाग्यो ? तपाईले त्यसको प्रतिवाद समेत गर्नुभएको देखिएन ?

-मैले गरिँन । सबै बिषय र सबै कुराको प्रतिवाद गर्नुपर्छ भन्ने मलाई लाग्दैन । 

सार्वजनिक पद धारण गरेको व्यक्तिलाई बिचौलिया नै भनेपछि त चूप लाग्नु पनि त ठीक थिएन होला नि ?
-उहाँहरुको माझबाट गइँन, एउटा संगठनबाट मात्र गएको हुनाले उहाँहरुले मलाई बिचौलिया भन्नु भएछ । 

पूँजीबजारमा दर्ता भएको संगठन ३ वटा छन्, दवाब समूह अहिले सिर्जना भएको हो । 

हामी सबैको मागहरु एउटै छन्, तर विधि विधान र प्रक्रिया मात्र फरक हो । उपस्थित हुने विधि फरक हो । उहाँहरुले बाटो रोज्नुभयो आन्दोलनको, आफ्नो माग राख्नुभयो, अनसनबाट सरकारले सुन्छ भनेर । मैले बाटो रोजे हाम्रा मागहरु समितिबाट पास गर्छु र सर्लक्क लगेर मुखले बोल्छु र कागजले पनि देखाउँछु । विधि मात्र फरक भएको हो । त्यसो भएको हुनाले म त्यो बिषयमा त्यति धेरै गहिरिँन्न । त्यति धेरै बिग्रियो भनेर भन्न चाहँन्न ।

दवाब समूहको अनसन र आन्दोलनबाट अर्थमन्त्री उच्चस्तरीय समिति बनाउन बाध्य बनेका आन्दोलनरत लगानीकर्ताको बुझाई देखियो । उहाँहरुले ‘आन्दोलन गर्ने हामी, अनसन बस्ने हामी, अनि हाम्रो प्रतिनिधित्व भन्दै अरुलाई समितिमा लग्ने ?’ भन्दै आक्रोश पोखेको पनि देखियो ?
-त्यो विषयमा मेरो केही भन्नु छैन । मलाई कुनै राजनीतिक गर्नु पनि छैन, नेता बन्नु पनि छैन । पूँजीबजारको विकास र बिस्तारका लागि अहोरात्र काम गर्ने मान्छु हुँ म । मलाई कुनै रहर पनि छैन त्यस्तो समितिमा प्रतिनिधित्व गर्ने । मैले कुनै दवाब दिएर वा चाकडी गरेर समितिको सदस्य पद पाएको पनि होइन । म नभएर आकाशै खस्छ भन्ने पनि होइन । 

तर, म यसकारण खुशी छु कि, मैले हिजो उठाएका मागहरु सम्बोधन नभएका कारणले नेपालको पूँजीबजार अस्थिर भयो, यो कुरा सम्बद्ध पक्षलाई महसुस भएको छ । सबै कुरा राम्रो हुँदा हुँदै पनि पूँजीबजार घटिरहेको छ, यो अचम्म हो नि ! मैले उठाएका बिषयहरु स्थापित गर्ने मौका पाएको छु, यी–यी कारणले पूँजीबजार घटेको हो भन्ने बुझाउने मौका पाएको छु, यसैमा म खुशी छु । 

तपाई विगत लामो समयदेखि पूँजीबजारमा लागिरहनुभएको छ । तपाईको सक्रियता समेत लोभलाग्दो छ । तर, पूँजीबजारका धेरै मान्छेले अम्बिका पौडेललाई भिलेनको रुपमा लिन्छन् । किन यस्तो भएको  होला ? तपाईकै कमजोरीले पो यस्तो भइरहेको छ कि ?
-म पनि आठौं आश्चर्यमा छु । अचम्म लाग्छ मलाई । कहिलेकाही दिक्क पनि लाग्छ । किनभने जो–जो मान्छेसँग भेट हुन्छ, सम्पर्कमा आएर जाने मान्छेहरु अम्बिका पौडेलको विरुद्धमा कुरा गर्छन् जस्तो लाग्दैन । तर, सोसल मिडियामा, मलाई नचिनेको, मलाई भेट्दै नभेटेको, मलाई कहिल्यै पनि नदेखेको, मेरो भावना कहिले पनि नसुनेको व्यक्तिले मेरो बारेमा बनाउने दृष्टिकोण चाहि अलिक फरक पाएको छु । 

कहिलेकाही मलाई लाग्छ नेपालमा जसले जुन क्षेत्रमा जे राम्रो काम गर्न सक्छ, त्यसलाई जसरीतसरी तेजोबध गर्ने र त्यसलाई निरुत्साहित गर्ने प्रवृतिको कारणले नै नेपालीको अवस्था यो ठाउँमा पुगेको हो । आज नेपालको कुनै पनि क्षेत्रः राजनीतिक, प्रशासनिक, आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेको व्यक्तिलाई सामाजिक सञ्जालमा उत्कृष्ट र राम्रो भनेको कहीँ सुन्नु भएको छ ? मैले त सुनेको छैन । सायद मेरो सन्दर्भमा पनि त्यही भएको हुनुपर्छ । र, मैले सामाजिक सञ्जालमा आएका आलोचना, मेराविरुद्ध खर्चिएका नराम्रा शब्दहरुलाई भगवान कहीँ कतै मैले कहिल्यै पनि खराब काम गर्न नपरोस् । फेरि पनि यो कुरो चाहि सत्य नहोस् भनेर भगवान पुकार्ने गरेको छु ।

सामाजिक सञ्जालमा मविरुद्ध पोखिने असत्य कुरालाई सधैंभरि असत्य नै बनाइराख्ने प्रयास गर्छु । यस्ता कुराबाट म अलिकति पनि विचलित छैन । यो हुन्छ, भइरहन्छ र मसँग कसैले नि सिधैं अगाडि आएर मेरा विषयमा, मेरो चरित्रमा, मेरो आर्थिक क्रियाकलापमा आएर प्रश्न गर्न सक्दैन । सामाजिक सञ्जालमा मेरो पछाडि लुकी लुकी कसैले प्रहार गर्छ भने ती सबैलाई जवाफ दिनुपर्छ भन्ने म ठान्दिँन । 

हामी पनि बेला–बेला अचम्मित हुन्छौ । जस्तो: केही समयअघि नेप्सेमा भएको प्रदर्शनमा तपाईमाथि दुव्र्यवहार गरियो । आज पनि तपाई दवाब समूहको अनसनमा जान खोज्दा सक्नुभएन, माहौल ठीक  थिएन । अवस्था त निकै गम्भीर देखियो, लगानीकर्ता तपाईसँग निकै रिसाएका देखियो नि त?
-धेरै खराब मानिसको, धेरै खराब बिषयको पछि लागेर साध्य नहुने रहेछ । मेरो आत्मामा म पहिला स्पष्ट हुने हो । म खराब काम गर्दिँन, मेरो आचरण खराब छैन भनेर पहिला म आफैंसँग प्रष्ट हुने हो । म व्यक्तिपरक कहिले हुने होइन, यो मेरो सिद्धान्त हो । म भगवानलाई विश्वास गर्ने मान्छे हो । कस्ले के भन्छ भनेर म धेरै मतलब गर्दिँन । मैले के गर्नुपर्छ र के गर्ने हो भन्ने विषयमा सधैं लागिरहन्छु । त्यसो भएर यस्तो विषयमा समय खर्चिनु मलाई मन पनि पर्दैन र आवश्यक छैन पनि । 

बजारका कतिपयले पूँजीबजार ध्वस्तै हुन लाग्यो, यो क्रममा धेरै लगानीकर्ताको उठिबास भयो । तर, यही बेला अम्बिका पौडेलले चाहि कमाउनुभयो पनि भन्दा रहेछन् ?
-तपाईले हाथ्वे इन्भेष्टमेन्टको ब्यालेन्ससिट हेर्न सक्नुहुन्छ । अघिल्लो वर्ष हामीले करिब १३ करोड नोक्सानी व्यहोरेका छौ । त्यो कमाएको हो र ? आज कुनै पूँजीबजारको लगानीकर्ता वा संस्थागत लगानीकर्ता वा व्यक्तिगत लगानीकर्तामध्ये कसले १३ करोड रुपैयाँ घाटा खायो ? मलाई भिनदिनुपर्यो । मैले कहाँबाट नाफा कमाए ? नेपालको पूँजीबजार घटिरहेको हुँदा लगानीको अन्य प्रडक्ट नभएको हुनाले कसैले पनि कमाउन सकेन । पूँजीबजार घटिरहँदा कमाउन सक्ने मान्छे म होइन । होला, मैले प्रतिशतको हिसाबले अरुले घाटा खाएको भन्दा कम प्रतिशत घाटा खाएँ हुँला । भोल्युमको हिसाबले सबैभन्दा बढी नोक्सानी व्यहोरेको छु, तर प्रतिशतको हिसाबले हुनसक्छ कम घाटा खाएको ।

यस्तै यस्तै भ्रम सिर्जना गरेर ममाथि आक्षेप लगाइएको छ । म पनि अरुजस्तै सधैं पूँजीबजार बढिरहोस् भन्ने चाहना राख्छु । तर, अरु र ममा के फरक छ भने मैले यी यी कुरा पूँजीबजारका अवरोध हुन है, बाढी आउँदैछ, तर्न सकिन्न, बगाउन सक्छ भनेर प्रिकसन लिनसक्छु । तर, म खेतै बोकेर त हिँड्न सक्दिँन नि ? मैले बालीनाली उठाएर सक्नेजति लिएर हिँडौला, खेतै बोकेर त हिँड्न सक्दिँन नि । त्यसकारण मेरो खेतमा पनि बाढीले हान्छ, हानिरहेको छ । मान्छेले नबुझेको कुरा, कहिलेकाही मैले ठूलो बाढी आउँछ, खडेरी पर्छ भन्दा त्यहाँ भएको बिउलाई बचाउने प्रयास गर्छु । त्यो त सबैले गर्नुपर्यो नि । 

मैले विगतमा समेत १४८० मा बजार पुग्छ भनेर भालेश्वरमा गएर भन्यो, भनियो । मैले त्यहाँ पनि स्पष्ट रुपमा पूँजीबजारका यी यी कुरा अवरोध छन् है, अहिले बढे पनि बजारका यी अवरोध नहटाएसम्म माथि जाने छैन है भनेको हुँ । कुलोको साइज सानो छ, त्यो भन्दा बढी पानी आयो भने पोखिन्छ, हामीसँग मजबुत ठूलो कुलो बनेको छैन, भनेर भन्दा म चाहि नराम्रो हुने ? मैले हाम्रा पूर्वाधार, हाम्रो क्षमता, सरकारले दिनुपर्ने नीति नियम र कानून, पूँजीबजारलाई हेर्ने दृष्टिकोण कमजोर छ, पुगेको छैन, त्यसो भएको हुनाले पूँजीबजार माथि जाने बाटो छैन भनेको हुँ । यिनै कारण फेरि करेक्सन हुन्छ भनेको होइन र ? मैले पूँजीबजार घटोस् भन्ने कामना गरेको हो र ? नोक्सानी त मलाई पनि हुन्छ नि ? तर, त्यही कुरालाई तोडमोड गरियो । 

पूर्वाधार नबनी, नीति निर्माण नभई बजार माथि गइरहन्छ, बढिरहन्छ भनेर कसैले भनिदेओस् भन्ने चाहन्छ भने म त्यो चाहि भन्दिँन । 

तपाईले भनेजस्तो बजारमा आउनसक्ने बाढीपहिरोबाट बच्नका लागि र बाली नै सखाप नहोस् भन्नका लागि कुन ठाउँबाट कसले के गर्नुपर्छ ?
-कसले के गर्नुपर्छ भन्ने कुरा माथि धेरै भनिसकियो । तर, हामी लगानीकर्ताले पनि गम्भीर बन्नुपर्छ । हाम्रा धेरै संगठन भए । मैले पटक–पटक भन्ने गरेको छु, लगानीकर्ताको एउटै संगठन बनाऔं । एउटै आवाज बनाऔं । संगठनको मोहले धेरैतिर नजाऔं । आजै पनि उहाँ(दवाब समूहका साथी)हरु गए हून्छ, सरकारले उहाँहरुको प्रतिनिधित्व गराए मेरो कुनै गुनासो छैन, सरकारले उहाँहरुलाई बोलाए जानुहोस्, मैले त आफ्नो कुरा राखिसकेको छु, म त्यहाँ अनुपस्थित भए पनि हुन्छ अब । 

मैले भोलिका दिनमा तपाईजस्तो मिडियाकर्मीमार्फत मेरा धारणा राख्छु । मेरो धारणा सुन्छ समाजले । मेरो बिषयमा आएका धारणाहरु माथिल्लो वर्गले पनि सुन्छ । 

अर्को, आजै मात्र सरकारले उहाँहरुलाई वार्तामा ल्याउन खोजेकै हो । म नेप्सेमा इन्भेष्टर्स फोरमको प्रतिनिधिको हिसाबले भन्दा पनि उच्चस्तरीय सरकारी टोलीको प्रतिनिधिको हिसाबले जान खोजेको थिएँ । टोलीको म्याण्डेड लिएर जाँदै थिए । धितोपत्र बोर्डबाट निरज गिरी आउँदै हुनुहुन्थ्यो, तर त्यहाँ जानसक्ने वातावरण बनाइएन । 

म सबै लगानीकर्तालाई भन्छु, आउनुहोस् हामी एउटै संगठन बनाऔं । सबैका समस्या उही छन् । फाइदा हुँदा सबैलाई फाइदा हुने हो र नोक्सान हुँदा पनि सबैलाई नोक्सानी हुने हो । तसर्थ, पूँजीबजारको विकास र बिस्तारका लागि, बजारलाई मेचीकालीसम्म पुर्याउने अभियानमा एउटै आवाज र संगठनमार्फत जानुपर्छ भन्दै आएको छु । 

अन्तमा तपाईलाई पूँजीबजारको भिलेन देख्ने लगानीकर्ता र अनसनमा बसिरहेका लगानीकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
-अम्बिकाप्रसाद पौडेल हिजो, आज र भोलि पनि पूँजीबजारको विकास र बिस्तारका लागि, पूँजीबजारमा संस्थागत सुशासनका लागि, पूँजीबजारलाई प्रविधिमैत्री बनाउनका लागि, पूँजीबजारमा सबैको पहुँच पुर्याउनका लागि, पूँजीबजारबाट सबै मान्छे(लगानीकर्ता)हरु जे जति लगानी गरेको छ, त्यो लगानीमा उपयुक्त प्रतिफल प्राप्त गर्ने क्षेत्र बनाउका लागि खटिरहेको छ, खटिरहनेछ । 

र, म कुनै पार्टी, व्यक्तिका लागि राजनीति गर्ने व्यक्ति होइन । र, म विशुद्ध व्यवसायिक व्यक्ति हुँ । र, मेरो बारेमा तपाईले सुनेका, बुझेका, बनाएका नकारात्मक धारणाहरु कपोकल्पित छन् ।