काठमाण्डौ । मर्जरको लहरले अहिले देशको बैंकिङ उद्योग तातेको छ । यो क्रममा विशेष गरी वाणिज्य बैंकहरुले बनाउने रणनीतिमा धेरैको ध्यान गइरहेको छ । हाल देशकै टप बैंकहरुको रुपमा स्थापित नेपाल इन्भेष्टमेन्ट बैंक र नवील बैंकले समेत मर्जरको विषयमा आफ्नो रणनीति बनाएका छन् । 

हालै जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीको आकार निकै मजबुत छ । यो बैंकका अन्य सूचक समेत बलिया छन् । बलियो बैंक भएकै कारण नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बिग मर्जर’मा खासै चासो दिएको छैन । 

यो बैंकको केही दिनअघि बसेको संचालक समितिको बैठकले ठूला बैंक(वाणिज्य) बैंकसँग मर्जर नगर्ने, बरु ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर पूँजीको आकार ठूलो बनाउने निर्णय गरेको छ ।‘हामी तत्काल वाणिज्य बैंकलाई प्राप्ति गर्ने वा मर्जरमा जाने पक्षमा छैनौ ।’ बैंकका एक संचालकले बिजशालासँग भने–‘बरु राम्रा र साना संस्था उठाएर बैंकलाई अझै मजबुत बनाउने विषयमा हामी सबै संचालक र उच्च व्यवस्थापन समेत सहमत छ ।’

यहीकारण यो बैंक राम्रो वित्तीय अवस्था भएका र शाखा सञ्जाल पनि राम्रो भएको क्षेत्रीय बैंकतर्फ आँखा दौडाइरहेको छ । प्राप्तिको माध्यमबाट समेत आफ्नो कमजोर शाखा सञ्जाललाई केही बलियो बनाउन सकिन्छ कि भन्ने दाउ यो बैंकले हेरिरहेको छ ।  

राम्रा साना संस्थालाई उठाउने रणनीति अनुसार यो बैंकले विभिन्न प्रदेशमा रहेका र बलियो पूँजीको आधार भएका बैंकहरुसँग प्राप्तिको छलफल अगाडि बढाएको छ । तर, यो बैंकले मौद्रिक नीतिअघि नै कुनै संस्था गाभ्ने सम्झौता गर्ने संभावना चाहि न्यून छ । नेपाल इन्भेष्टमेन्ट बैंकले असार २३ गते नेपाल राष्ट्रबैंकलाई मर्जरका लागि लिखित प्रतिबद्धता पठाएको छ । 

यसैबीच, मंगलबारसम्म पनि मर्जरका लागि लिखित प्रतिबद्धता केन्द्रीय बैंकमा नपठाएको नवील बैंकले अब लिने बाटो वा बनाउने रणनीतिप्रति समेत धेरैमा चासो देखिन्छ । 

नवील बैंकले अब के गर्ला ? कुन बाटो समाउला ? धेरैमा कौतुहुलता छ । आम कौतुहुलतालाई मेट्नका लागि केही दिनअघि मर्जरकै रणनीतिको विषयमा निर्णय लिन भन्दै बसेको संचालक समितिका बहुसंख्यक संचालकले मौद्रिक नीतिसम्म कुर्नुपर्ने सुझाव दिएका थिए । यही सुझाव अनुसार नवीलले मर्जर वा एक्वीजिसनको कुनै प्रयास नै सुरु गरेको छैन । बरु यो बैंकको उच्च व्यवस्थापन र बोर्ड मौद्रिक नीतिमार्फत मर्जरको विषय कुन रुपमा आउँछ र मर्जरका लागि के–के सुविधा आउँछ भन्ने कुरा कुरेर बसेको छ । ‘मौद्रिक नीतिपछि मात्रै हामी कुन बाटो हिँड्ने भन्ने बिषयमा प्रष्ट रणनीति बनाउँछौ ।’ नवीलका एक संचालकले भने–‘सिटिजन्स लगायतका केही बैंकसँग सामान्य र अनौपचारिक कुरा त भएका छन्, तर मौद्रिक नीतिअघि ठोस रणनीति बन्दैन ।’