-भक्तराज रसाइली

काठमाण्डौ । कर्मचारी सञ्चय कोष धितोपत्रको दोस्रो बजारमा मार्केट डिलरका रुपमा आउने भएको छ ।

कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले दोस्रो बजारमा कोेष मार्केट डिलरका रुपमा आउने जानकारी दिएका हुन् । 

ऐनमा कोषले छुट्टै कम्पनी दर्ता गरी स्टक डिलरका रुपमा काम गर्न पाउने प्रावधान नभएता पनि ऐनमै संसोधन गरी मार्केट डिलरको रुपमा बजार प्रवेश गर्ने तयारी थालिएको उनले जानकारी दिए । 

‘हामीले स्टक डिलरको कार्य गर्ने प्रयोजनार्थ ऐन संसोधन गर्ने प्रक्रिया अघि बढाइसकेका छौं।’ प्रशासक गौतमले बिजशालासँग भने–‘हामी बढीमा एक वर्षभित्र स्टक डिलरको रुपमा बजार प्रवेश गरिसक्नेछौ ।’

उनले सेयर बजारमा ५ प्रतिशतको लगानी सीमालाई समेत नहेरी सेयरमा लगानी बढाइराखिएको उल्लेख गर्दै हाल बजारले कर्मचारी सञ्चयकोषजस्ता ठूला र बलिया संस्थालाई खोजिरहेको दाबी समेत गरे । ‘हामी बजारको अवस्था हेरेर दोश्रो बजारमा समेत राम्रै पैसा खन्याउने तयारीमा छौ ।’ उनले थपे । 

अहिले पनि कोषले दोस्रो बजारमा समेत लगानी गर्दै आइरहेको छ ।  सरकारी निकाय तथा संगठित संस्थाहरुमा कार्यरत ६ लाख सञ्चयकर्ताहरुको करिब रु. ३५० अर्ब वित्तीय स्रोतलाई परिचालन गर्दै मुलुकको आर्थिक तथा पूर्वाधार क्षेत्रमा समेत कोषले निकै ठूलो योगदान गरिरहेको छ । सामाजिक स परिचालन गर्नुका साथै सामाजिक सुरक्षाका कार्यक्रममा समेत कोषको निकै ठूलो र लामो योगदान छ।

सेयर बजारको सन्तुलन कायम गर्दै बजारलाई थप चलायमान बनाउन मार्केट डिलरको महत्वपूर्ण भूमिका रहन्छ । नेपालको सेयर बजारमा हाल ठूला र संस्थागत लगानीकर्ताहरुको अभाव खट्किरहेका बेला कोषले मार्केट डिलरका रुपमा प्रवेश गरे बजारले थप गति लिनुका साथै  सेयर लगानीकर्ताहरुको मनोबल समेत माथि उकासिने जानकार बताउँछन् ।

स्टक डिलरकै रुपमा नागरिक लगानीकोष समेत प्रवेश गर्न खोजे पनि पछिल्लो समय उसको यो कार्ययोजना अन्यौलमा छ । सीआइटीले स्टक डिलरको रुपमा नजान खोजेपछि पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाले उसलाई स्टक डिलरको रुपमा जान तीव्र दवाब दिइरहेका छन् ।

सीआइटी स्टक डिलरको रुपमा बजार प्रवेश गर्ने विषयमा अन्यौलग्रस्त बनिरहेको बेला र सामाजिक सुरक्षाका कार्यक्रममा सामाजिक सुरक्षाकोष तीव्र रुपमा सक्रिय भइरहेको बेला सञ्चयकोषको मार्केट डिलरको रुपमा आउने प्रष्ट कार्ययोजना र तयारी ‘अर्थपूर्ण’ हुनसक्छ ।