-अनुपमा खुञ्जेली (प्रमुख कार्यकारी अधिकृत)-मेगा बैंक लिमीटेड

पछिल्लोकालमा वाणिज्य बैंकहरुको ब्याजदर वृद्धिको दौडले अर्थतन्त्रमै हलचल ल्याइदियो । यो अवस्थालाई कसरी हेर्नुभएको छ ?
-हाम्रो देशमा द्वन्द्वकालमा पनि बैंकिङ क्षेत्रले राम्रै गरेको हो । त्यसको अर्थ विजिनेश ग्रोथ निरन्तर छ र राम्रो छ भन्ने हो । अहिले त स्थायी सरकार आइसकेको छ । अहिले कर्जाको माग ह्वात्तै बढेको छ । एक–दुई वर्षदेखि नै बढिरहेको कर्जाको डिमाण्ड अहिले अझ राम्रोसँग बढ्यो । 

अर्कोतर्फ हेर्ने हो भने सबै वाणिज्य बैंक ८ अर्बको पूँजी भएको बैंक बने । हामीसँग ७ सय अर्ब जतिको कर्जा परिचालन गर्न सक्ने र स्रोत परिचालन गर्नसक्ने क्षमता छ । सबै बैंकको जोड्ने हो भने साच्चिकै ठूलो साइज बन्छ । यसरी हेर्दा डिमाण्ड छ, क्षमता छ, तर कमी छ स्रोत(रिसोर्सेज)को । रिसोर्सेज कसरी बढाउने भन्ने चुनौति समेत छ । 

नयाँ ढंगले रिसोर्सेज बढाउने बाटो भनेको, सरकारले गाउँ–गाउँमा हामीलाई पुर्याएको छ । ती नयाँ ठाउँबाट पनि सेभिङ डिपोजिट बैंकसम्म आइपुगेको छ । किनभने त्यो क्षेत्र यसअघि बैंकिङ सेक्टरमा आबद्ध थिएन । त्यस्ता ठाउँमा निक्षेपको ग्रोथ देखिएको छ । 

बजारमा विजिनेश गर्नलाई उत्साह जागेको छ, क्रेडिटको डिमाण्ड बढेको छ, स्थायी सरकार छ । त्यसकारण अहिलेको अवस्था भनेको रिसोर्सेज फूलफील गर्न गाह्रो परिरहेको अवस्था हो । 

लेण्डिङ गर्ने अवसर नै नहुँदो हो त बैंकिङ सेक्टरको डिमाण्ड नै बढ्दैन थियो र यो किसिमको रिसोर्सेज आवश्यक पनि पर्ने थिएन होला । सायद यही देखेर पनि होला राष्ट्रबैंकले ठूलो बैंक बन्नु पर्यो भनेको पनि ।

यसरी हेर्दा हामीले २–३ वटा काम गरिसकेका छौं । अबको बाँकी काम भनेको रिसोर्सेजको फूलफिलमेन्ट हो । नयाँ ठाउँमा गएर हुन्छ कि, अलि अलि रेट नै बढाएर हुन्छ कि अथवा विकास बजेटलाई हरेक त्रैमासमा राम्रोसँगले खर्च गरेर हुन्छ कि, यी सबै कुरामा अब हाम्रो सोंच जानुपर्छ । 

आन्तरिक रुपमा निक्षेप जेनेरेट हुने धेरै रिसोर्सेजहरु देखिएको छैन । यही बेला डिमाण्ड बढी भयो भन्दैमा भएकै निक्षेप एउटा बैंकले अर्को बैंकमा तान्ने दौड ठीक भयो त ? 
-डिमाण्ड भएको हुनाले प्रतिस्पर्धा भएको हो । हामी अनचार्टर्ड एरियामा पनि फोकस भइरहेका छांै । बैंकिङ जाँदै नगएको ठाउँमा शाखा खोलेर नयाँ रिसोर्सेजहरु ल्याउने कोशिश त भइरहेकै छ नि । यसैको अन्तरालमा अहिले रेटको होडबाजी जस्तो देखिएको छ । यो देशका लागि र सरकारले लिएको ८ प्रतिशत जीडीपी ग्रोथको लक्ष्यका निम्ति राम्रो होइन । हामी सबैले यो कुरा महसुस गरिरहेका पनि छांै । यहीकारण विगतका धेरै महिनासम्म ब्याजदर स्थिर पनि भयो । 

अब पनि ब्याजदरमा स्थायीत्व आउला कि भन्ने आशा बढेको छ । तर, यसलाई पनि कर्टेल गरेर लैजान सकिन्छ । मार्केटमा डिमाण्ड छ, बैंकहरुमा रिसोर्सेजको कमी आयो है भन्ने कुराको यो संकेत हो । हामीसँग यसका लागि धेरै टुल्सहरु छन्, ती कुरा अप्लाई गरेर हामीले रेट बढाउने बाटोतर्फ लाग्नुभन्दा रिसोर्सेज परिचालनको बाटोतर्फ जाने अवस्था पनि छ । सबैले आप्mनो रिसोर्सेज मोबिलाईजेसनलाई फोरकास्ट गरेर क्रेडिट मोविलाइजेसनमा वृद्धि गर्न अघि बढ्नु पर्छ ।

तपाईको धारणा भनेको बैंकहरुको यो दौड ठीक भएन भन्ने हो ? किनभने यसले अर्थतन्त्रलाई हिट गर्यो, अवस्था यस्तै रहे प्रक्षेपित जीडीपी ग्रोथलाई हिट गर्ने भयो ? उत्पादकत्व बढ्न सकेन, उद्योगधन्दा र व्यापार व्यवसाय गर्ने मर्ने भए ?
-हो, त्यसैले त मैले भन्दैछु नि यसलाई कर्टेल गर्नुपर्छ । हामीसँग अन्य धेरै उपायहरु छन्, जुन बजारमा ल्याएर वा परिचालन गरेर रिसोर्सेज बढाउन सकिन्छ । ती टूल्सहरुलाई निकालेर कार्यान्वयनमा ल्याउनुपर्छ र प्रोडक्टिभ् सेक्टरमा लगानी गर्नु पर्छ । 

तपाईले बारम्बार भनिरहनुभएको ती टूल्सहरु चाहि के–के हुन् त ?
-बैंकहरु संयमित हुनुपर्छ । हाम्रो गतिविधिले आर्थिक विकासमा सहयोग पुगिरहेको छैन भने हामीले गम्भीर हुन आवश्यक छ । ब्याजदर यसैगरी बढ्ने हो भने बैंकहरुको खराब कर्जाको अनुपात बढ्नसक्ला । अहिले हाम्रो बैंकिङ सेक्टरको एनपिए एशियाकै राम्रो छ, भोलि यसलाई बिथोल्ला । 

यी सबै कुरा जान्दा जान्दै पनि यो बाटोतर्फ धकेलिन हामी बाध्य छौं । तर, यसलाई कर्टेल गर्नुपर्छ । पहिला पनि गरेकै कुरा हो र अब पनि गर्न सकिन्छ । तर, यसका लागि सबै पक्षः सरकार, एनबिए, राष्ट्रबैंक बसेर, छलफल गरेर समस्या समाधानका विकल्पहरु निकाल्नुपर्छ । छलफलपछि धेरै विकल्पहरु निस्किन्छन् । बैंक, नेपाल राष्ट्रबैंक र सरकार बसेर ती टूल्सहरु निकाल्न सकिन्छ । यसलाई कसरी सौहाद्रपूर्ण वातावरणमार्फत अर्थतन्त्रलाई नबिथोली सहज ढंगले अवतरण गर्ने भन्ने बिषयमा छलफल हुन आवश्यक छ । 

ती टूल्स चाहि के हुन् त ? कुन पक्षले के गर्नुपर्छ ?
-आ–आफ्नो क्षेत्रमा हामी आफूले के गर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । त्यसकारण एकपटक टूल्सहरु के–के हुन् भनेर कसैले कसैको सेक्टरमा गएर औंल्याउनुको सट्टा एकपटक बसेर, डिस्कस गरेर निकालौं न त के के गर्न सकिने रहेछ भन्ने मेरो कुरा हो । सम्बद्ध सबै पक्षबीच मन्थन हुन आवश्यक छ । किनभने आज एकअर्कामाथि प्रश्न उठाउन थालिएको छ । एउटा क्षेत्रले अर्को क्षेत्रलाई ‘तिमीहरुले यो गर्नुपर्ने, भएन’ भन्ने विषय समेत उठ्न थालेका छन् । ती सबै कुरालाई राखौं, आफ्ना कुरा पनि राखौं, अरुबाट आएका अपेक्षा पनि टेबलमा राखौ । त्यहीबाट निचोड निस्किन्छ भन्ने मेरो कुरा हो । 

हामी विभिन्न उपायको विषयमा कुरा गर्छौं, तरलता व्यवस्थापन सम्बन्धी कहिले सीआरआरको कुरा गर्छौं, कहिले एसएलआरको कुरा गर्छौं भने लगानीयोग्य आवश्यक रकममो लागि सीसीडी रेसियोको कुरा गर्छौं । कोही साथी ४५ प्रतिशत संस्थागत निक्षेपको कुरा गर्नुहुन्छ, फेरि हामी राष्ट्रबैंकले सहुलियतमा ऋण दिने कुरा गरौंला, कसैले पुनरकर्जाको सीमा बढाउने कुरा गर्नुहोला, त्यसपछि ब्याजदर करिडरका कुरा गरौंला । यसको अर्थ हामीसँग छलफल गर्ने अनेकन विषयहरु छन् । यी सबै सम्भावित टूल्सहरु हुन र यसकारण पनि हामीले धेरै टूल्स प्रयोग गर्न सक्छौं । तर, त्यसका लागि सम्बद्ध पक्ष सँगै बस्न जरुरी छ । आउनुहोस्, सँगै बसौं, छलफल गरौं र समस्या समाधानको उपाय निकालौं । 

यहाँ ज्ञान भएको मान्छेको कमी छैन । सबैलाई थाहा छ समस्या के हो भन्ने कुरा । कसले के गर्नुपर्छ भन्ने कुराको पनि निकै राम्रो ज्ञान छ । त्यस्तो ज्ञान भएका मान्छे सबै एकैठाउँमा आएर निर्णय गरी एउटा बलियो विकल्प निकाल्न सकिन्छ । 

डिमाण्ड मात्र हाई भएर बैंकिङ क्षेत्रमा तरलता देखिएको हो कि यसमा अन्य कारणहरु पनि छन् ?
-सबै बैंकहरुको ८ अर्ब पूँजी पुगेको छ । सबैले आफ्ना सेयरहोल्डरलाई राम्रै रिटर्न दिन खोजेका छन् । सबैले राम्रो रिटर्नकै आशा गर्नुहुन्छ । यो दवाबले पनि यो समस्या निम्तिनुमा केही न केही भूमिका खेलेको छ । 

एकातिर यस्तो दवाब छ भने अर्कोतर्फ डिमाण्ड पनि छ । त्यसकारण कम्बीनेसनले यस्तो भएको हो, एउटा मात्र चिजले यो भएको होइन । 

यो कुरालाई हामीले राम्रो ढंगले हेर्नुपर्छ । किनभने आर्थिक वृद्धिलाई प्राथमिकता दिइरहेको देशमा नराम्रो कुरा होइन, यो । तर, यसलाई कसरी सहज बाटोमा लैजाने, रेटलाई नबिथोली कसरी प्रगतिको बाटोमा लागेर उत्पादनशील क्षेत्रमा लगानी बढाउने, देशको राम्रो आर्थिक विकासको रिजल्ट निकाल्न कसरी लाने भन्ने कुराको छलफल र मन्थन चाहिएको त हो नि । 

बैंकहरु अर्गानिक ग्रोथतर्फ नलागेका कारण पनि यस्तो समस्या आयो कि ?
-क्यापिटल ग्रोथ नै इनअर्गानिक छ भने तपाईले बैंकहरुलाई चाहि अर्गानिक ग्रोथ गर्नुपर्छ भनेर पनि कहीँ कुरा मिल्छ त ?

आजको भोलि ठूलो हुने होडले त बिगारेकै छ नि ?
-होइन, शाखा बिस्तार त गर्नै पर्यो नि । हामीले नै १८ वटा नयाँ ठाउँमा शाखा खोलेका छांै । यो गलत कुरा होइन । यी सबै राम्रै कुरा हुन् । लामो समयको द्वन्द्वकालमा त राम्रो गरिरहेको क्षेत्र बैंकिङ सेक्टर हो नि त । आज त सहज परिस्थितिमा पनि नफैलिएर अगाडि नबढेर कहिले अगाडि बढ्ने ? त्यसकारण यो क्षेत्र बिग्रिन्छ भनेर सोच्नु बेकार छ । हामी सही दिशामा गइरहेका छौं । हामीले पूँजी बढायौं, हामीले हाम्रो क्षमता बढायौं, जोखिम बहनको क्षमता बढायौं, हामी राम्रो अवस्थामा छौं । त्यसैले हामी हाम्रो क्षमता अनुसार फैलिन खोज्नु नराम्रो पक्कै होइन । रिसोर्सेज संकलन पछि कर्जा प्रवाह गर्ने प्रवृति बसाल्नु पर्यो ।

बैंकहरुले आफ्नो नाफा मात्र हेरे, आफूले हरेक वर्ष कमाए, कमाई पनि बढाएकै छन् । तर, जनताले चाहि सस्तो दरमा ऋण लिन पाएनन् ? बैंकहरुबाट बढी नै व्यापार भयो कि ? हामीले गरिरहेको बैंकिङ ठीक छ ?
-अहिलेसम्मको बैंकिङमा हामीले छिटो प्रक्षेपण
गर्छौं यस्ता कुराहरु । बैंकिङ सेक्टर स्टेबल सेक्टर हो, जसमा यी समस्याहरु आउनेबित्तिकै फोरकास्ट गरेर यसलाई ठेगान लगाउनुपर्छ भन्ने कुरा नै सोचेर सबैजनाले आफनो नलेजको उपयोग गर्छ । जस्तो पनि उथलपुथललाई यसले आनन्दसँग सेल गरिरहेको छ । अहिले भएकै यही हो । समस्या देख्नेबित्तिकै यसबाट जटिल अवस्था आउला भनेरै अहिलेबाट नै हामीले सोच्न सुरु गरिसक्यौं । 

तपाईले भनेजस्तो ब्याजदरले दुःख देला भन्ने कुरा महसुस गरेरै र यो बाटोमा अगाडि बढ्नुहुँदैन भनेरै हामीले अहिले यो विषयमा सचेत छौं र समाधानको उपायतर्फ हामी सबैको ध्यान केन्द्रीत छ । त्यसकारण लामो समयसम्म यो बाटोमा बैंकहरु जाँदैनन् । 

तपाई बैंकरहरुबीच अब चाहि ब्याजदरको दौड नगर्ने कुनै सहमति बनेको छ ?
-ओभरअल देशको इकोनोमीलाई असर नपार्ने हिसाबले बैंकिङ सेक्टरको ग्रोथ हुनुपर्छ भन्ने कुुरामा हामी सबै सचेत छौं । 

मैले अहिलेको जल्दोबल्दो समस्याको कुरा गरेको ?
-हामीसँग ऋण लिनेभन्दा निक्षेपकर्ताको संख्या धेरै गुणा बढी छ । कम्तीमा अहिले निक्षेपको ब्याज बढ्दा त्यो ठूलो संख्या निकै खुशी छ । देशको ग्रोथ ४ प्रतिशतभन्दा माथि हुँदा पनि उहाँहरु २ देखि साढे २ प्रतिशतसम्म लिएर, त्यसैमा खुशी भई कुनै आवाज नै नउठाएर पनि बसिरहनु भएको थियो त । आजको दिन धेरैपछि उहाँहरुले मुद्रास्फिति भन्दा माथिको रिटर्न पाइराख्नुभएको छ । 

हो, लोन लिएर, रिस्क लिएर, देशको उत्पादनशील क्षेत्रमा लगानी गरेर देशको आर्थिक उन्नतिमा सहयोग गर्ने जति पनि हाम्रा उद्यमी व्यवसायी हुनुहुन्छ, उहाँहरुलाई पनि हामीले सहयोग गर्नैपर्छ, यो अनिवार्य छ । यसैका निम्ति त ब्याजदरको चिन्ता सुरु भएको छ । अब माथि जान दिन हुँदैन भन्ने कुरामा हामी लगभग सहमत छांै । र, यो कुरामा पनि सबै पक्ष बसेर छलफल गरेर समाधानको उपाय निस्किन्छ । 

कहिलेसम्म होला ?
-सबैजना चिन्तित भएर आइसक्नुभएको छ । सकेसम्म छिटो सहमति भए राम्रो हो। 

हाम्रो बैंकिङ सेक्टरमा सर्टटर्मका लागि निक्षेप आउँछ, तर लङटर्म कर्जाका लागि त्यही निक्षेप ऋणको रुपमा परिचालन हुन्छ । मिसम्याच बढी भएर पनि धेरै समस्या भएको हो कि ?
-यसलाई हामी एसेट र लायवलिटिजको मिसम्याच भन्छौं । हाम्रो देशमा ब्याजदरको जोखिम छँदै थिएन । किनभने अस्तीसम्म हेर्ने हो भने ब्याजदर कुनै पनि समयमा रिप्राइसेबल थियो । बिस्तारै यी कुराहरु बुझ्न सक्नुपर्छ । सर्टटर्म फण्ड लिएर, कल डिपोजिटको नेचर पनि उस्तै छ । कल डिपोजिट नाम छ, तर लङटर्ममै बस्ने टाइपको डिपोजिट देख्छांै । सर्टटर्म डिपोजिट लिएर सर्टटर्म लेण्डिङ गर्नुपर्ने हो, लङटर्म डिपोजिट लिएर लङटर्म लेण्डिङ गर्नुपर्ने हो । अहिले केही बैंकहरुले ५ वर्षे निक्षेप लिने क्रम सुरु गरेका छन् । पहिला सजिलो थियो, कुनै पनि बेला रेट चेञ्ज गर्न सकिन्थ्यो, किन लङटर्म मिसम्याच गर्ने भन्ने कुरा पनि आउथ्यो । अब बिस्तारै बैंकहरुले यो कुरा बुझेका छन् । मिसम्याचलाई मिलाउन ५ वर्षे डिपोजिटमा जान थालिसके भने बाँकी कुरा पनि बिस्तारै विकास हुँदै आउने आशा गरौं । सबै बैंकहरुले आफ्नो एसेट एण्ड लायविलिटिज र ब्याजदरबीचको मिसम्याचलाई नजिकबाट नियाल्नै पर्छ । यो राष्ट्रबैंकको नियम पनि छ । यसलाई हामीले मिलाएर लैजानुपर्छ भन्ने कुरा बुझेका छौं । 

लङटर्म डिपोजिट बढाउने कुरामा डिवेञ्चर, बण्डतर्फ पनि बैंकहरु गइरहेका छन् । अन्य विकल्प के–के छन् ?
-बण्ड र डिवेञ्चर राम्रो विकल्प हो । भोलिका दिनमा बढी हेर्ने भनेको बैंकहरुले लङटर्मको फिक्स्ड डिपोजिटमा कतिसम्म निकाल्छन् भन्ने पनि हो । तर, अहिले बण्ड राम्रो विकल्प हो । हामीले अन्तर्राष्ट्रिय मार्केटमा जस्तो २०–३० वर्षे बण्ड निकालेकै छैनौ । किनभने हामीमा २० वर्षे दीर्घकालीन कर्जा एकाध बैंकले मात्र बल्ल शुरु गरेका छन् । 

तर, बण्डको ट्रेडिङको मार्केट(दोश्रो बजार) पनि विकास हुनुपर्छ । भोलिको दिनमा त्यो नभई सुख पनि छैन । 

नियामकले बण्ड र डिवेञ्चरमा कुनै बाध्यकारी प्रावधान ल्याइदिए यसले लङटर्म डिपोजिटमा सबै जान बाध्य हुन्थे कि ?
-आ-आफ्नो असेट र लायविलिटिजको बुक हेरेर बैंकहरुले बण्ड र डिवेञ्चर ल्याउन सक्छन् । त्यो त आफ्नो कस्ट पनि हेर्नुपर्यो, त्यो अनुसारको रिटर्न पनि हेर्न सक्नुपर्यो । आफ्नो ब्यालेन्ससिटले धान्नसक्ने पनि हुनुपर्यो, आफ्नो आवश्यकता अनुसारको काम त गरिहाल्छन नि ।

ब्याजदर वृद्धि र अन्य ग्रोथको मामलामा बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा देखेपछि कतिपयले बैंकहरुको संख्या धेरै भयो पनि भन्ने गर्छन् ? यसमा तपाईको धारणा के हो ?
-कुनै कुरा गर्नुअघि हामीले रोक्न सक्यौं भने त्योभन्दा राम्रो केही हुँदैन । तर, जे छ त्यसको रेजुलेसनमा जान सक्दैनौ भने त्यसमा किन टिकाटिप्पणी गर्ने ? हामीले क्यापिटल वृद्धिको कुरा पनि गरेकै हो, त्यहीबेला क्यापिटल बढाउँदा आफ्नो पूँजीले होइन, मर्जबाट हुनुपर्छ भनिदिएको भए बैंकहरु निकै कम भइहाल्थे । जब हामीले निर्णय लिन्छौं नै, त्यति नै बेला त्यो दीर्घकालीन टाइपको हुनुपर्छ, सबै कुरा सोचेर यस्ता बिषय आउनुपर्छ । अहिले मैले बैंकहरु धेरै भो भनौंला, तर यसको निचोड के त ? के उसो भए अब फोर्स मर्जरको नीति आउनुपर्ने हो ? के म त्यसका लागि तयार छु ? के बजारले यही खोजिरहेको हो ? के हामी यो कुरा गर्न सवल र सक्षम छौं
? कमेन्टै मात्र गरेर त के हुन सक्ला र ?

अहिलेको ८ अर्बवाला दुईवटा बैंक एक भएर डिमाण्ड कम हुने हो त ? कम लेण्ड गर्नुपर्ने त होइन होला । कम प्रफिट गर्नुपर्ने होइन होला, किनभने क्षमता सबैको बढिसकेको छ । 

यसको अर्थ यो विषय बेकारको हो ?
-त्यसोभन्दा पनि सबैलाई थाहा छ यति सानो अर्थतन्त्रमा २८ वटा वाणिज्य बैंकको संख्या बढी हो भन्ने कुरा । यसलाई कसरी कम गर्ने भन्ने कुरा सोच्न पनि सुरु भइसकेको छ सबै पक्षबाट । भोलिका दिनमा कस्तो किसिमको रेगुलेसन आउँछ भन्ने कुरा मात्र कुरिरहेको होला ।

प्रसंग बदलौं । केही समयअघि नेपाल बैंकर्स संघमा २ सदस्यको पद खालि थियो । तपाई वाणिज्य बैंकहरुमै एक मात्र महिला सीइओ, तर सदस्यको रुपमा त्यहाँ जान खासै रुचि देखाउनुभएको देखिएन नि ?
-सीइओको पहिलो कार्यकालमा छु म । मलाई कुनै पनि कुरामा एक्कासी हामफालिहाल्न मन लाग्दैन । तर, जब मलाई त्यहाँ जानुपर्छ भन्ने महसुस हुन्छ, त्यसबेला म आफ्ना कुरा राख्नेछु । अहिले चाँही म बैंकर्स संघ कसरी चलिरहेको छ भन्ने कुरा बुझिरहेको छु, हेरिरहेको छु । त्यहाँ बसेर गरिएका प्रयास र पहलहरुले कस्ता परिणाम ल्याउन सक्छन् भन्ने बिषय समेत अध्ययन गरिरहेकी छु । ती कुरा सबै हेरेर जब समय आउँछ, त्यसबेला म त्यहाँ पक्कै हुनेछु ।

अब मेगा बैंकतर्फ केन्द्रीत होऔं । बैंक स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’को नारा लिएर अगाडि बढिरहेको छ । पछिल्लो समय हाइड्रोतर्फको लगानी कम भएको हो कि भनेर पनि क्रिटिसिजम हुने गरेको छ नि ?
-पहिला चाँही हलोमा किन यो बैंकले लगानी नगरेको भनेर क्रिटिसिजम हुन्थ्यो । मेगा बैंकले संज्ञा दिएको हलो भित्र नेपाल राष्ट्र बैंकले तोकेको विपन्नवर्ग कर्जाहरु पर्दछन भने यसमा कूल कर्जाको ५ प्रतिशत लगानी गरे पुग्नेमा बैंकले ध्यान केन्द्रित गर्दै कूल कर्जाको लगभग ७ प्रतिशत लगानी गरिसकेको छ । साथै हाम्रो पञ्चवर्षीय योजनामा यसलाई १० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं । यो बाटोमा मेगा बैंक अगाडि बढेछ भनेर होला अब हाइड्रोको कुरा ल्याउन थालिएको छ । तर, हलोदेखि हाइड्रोसम्म भनेको हलो र हाइड्रो मात्र होइन, समग्रमा (लघु कर्जा देखि ठूला कर्पोरेट कर्जा) सबै क्षेत्र भन्ने हो । 

आर्थिक गतिविधि गर्नैका लागि हामी जन्मिएका छौं भने हामीले सबै क्षेत्रमा सहभागी हुनुपर्छ भन्ने कुरा हो । यसभित्र माइक्रो लेण्डिङ, एसएमई, रिटेल लेण्डिङ, मिडकर्पोेरेट लेण्डिङ, कर्पोरेट लेण्डिङ, हरेक प्रकारका डिपोजिट, ट्रेड फाइनान्सका कुराहरु । यी सबै चिजलाई समेटेर हामी होलसेलमा पूरापुर बैंकिङ प्रडक्ट तथा सेवाहरु जनमानसमा लैजान चाहन्छौं । र, हाम्रो भिजन पनि छ: बैंकिङ सेवा नपुगेका ठाउँमा सेवा बिस्तार गर्ने, वित्तीय साक्षरता बढाउने । नेपाली जनतालाई फाइनान्सियल प्रडक्ट र सेवा दिन खडा भएको बैंक हो मेगा । त्यसकारण हाइड्रोमा कम लगानी गर्ने भन्ने सवाल नै उठ्दैनन् । कमिटमेन्ट धेरैमा गइसकेको छ । भोलिका दिनमा हाइड्रोमा नगई कुनै पनि बैंक बस्नसक्छ जस्तो पनि लाग्दैन । यसमा मेगा बैंक पछाडि हट्छ भन्ने सवालै छैन । 

छिमेकी भारतमा जब बैंकहरुले ठूला र दीर्घकालीन टाइपका प्रोजेक्टमा लगानी गरे, त्यसपछि त्यहाँ कन्ट्रीकै एनपिए बढेर १० प्रतिशतको हाराहारीमा पुगेको छ । नेपालमा पनि हाइड्रो र त्यस्तै लङटर्ममा मात्र रिटर्न दिने प्रोजेक्टमा लगानी गर्न बैंकहरु दौडिरहेका छन्, यसले पनि भारतको जस्तै अवस्था आउनसक्छ भन्ने लाग्छ ?
-ठूला आयोजनामा लगानीबिना देशको आर्थिक विकासको हामी कल्पनासम्म गर्न सक्दैनौ र मिल्दैन पनि । किनभने हामीले भर्खरै सुरुवात मात्र गरिरहेका
छौं। त्यसकारण अहिले नै भारतमा भएजस्तो जोखिम होला भन्ने लाग्दैन । अहिले नै यो कुराको डरले ठूला आयोजनाहरुमा लगानी गर्नबाट पछाडि हट्न हुँदैन । हामीले पनि देशका लागि पनि सोच्ने बेला हो यो । ठूला र दीर्घकालीन टाइपका प्रोजेक्टको कुरा गर्दा मेरो विचारमा सम्बन्धित प्रोजेक्टका क्षेत्रहरुमा नियमन गर्ने निकायको ठूलो भूमिका हुने देख्छु । 

तपाईले मेगा बैंकको नेतृत्व हाँकेपछि भएका राम्रा कामहरु के हुन् ?
-म त बैंकिङ सेक्टरमा बोल्ने भन्दा पनि तथ्याङ्कबाट प्रमाणित गर्ने मान्छे हो । तपाईले के गर्नुहुन्छ, तथ्याङ्कले देखाउँछ भन्ने लाइनको मान्छे हुँ । हामी बैंकर्स हौं, नम्बरमै खेल्छौं, नम्बर नै हाम्रो रिजल्ट हो । 

मैले के गरेँ भन्ने कुरा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिजल्ट देखिइसकेको छ । मेरो पूरा टिम सक्षम छ, साथीहरु एकसा एक हुनुहुन्छ भन्ने कुरा रिजल्टले नै देखाउँछ । हामीले चार्टलाई टप गरेका छौं पहिलो त्रैमासमा र हाम्रो मर्जरले पनि राम्रो प्रभाव दिएको छ । 

र, आगामी दिनमा पनि मर्जरको सिनरजेस्टिक इफेक्ट लिएर हुयमान क्यापिटललाई प्रोमोट गरेर अगाडि बढ्न सकियो भने मेगा बैंकको ग्रोथ अझै लोभलाग्दो अवस्थामा पुग्नेमा म ढुक्क छु । स्काई इज द लिमिट भन्छु म त । पहिलो त्रैमासमा जे आयो, आगामी दिनमा समेत यस्तै सक्सेसफूल रिजल्ट मेगा टिमले निकाल्छ भन्ने कुरामा म विश्वस्त छु । 

तपाईको आगामी योजना के छन् ?
-हामीले पञ्चवर्षीय रणनीतिक योजना बनाइसकेका
छौं । १०२ शाखा अहिले नै छ । हाम्रा १८ वटा एक्सटेन्सन काउण्टर छन् । हामी विशेष रुपमा डिजिटाइजेसनमा केन्द्रीत भएका छौं । भोलिका दिनमा डिजिटाइजेसनले बैंकिङ सेक्टरलाई समेत प्रगतिको बाटोमा लैजान्छ । त्यस्ता प्रोजेक्टहरु पनि हामीले हेरिरहेका छौं । 

शाखारहित बैंकिङमा अझै हाम्रो प्यास छ । शाखा बिस्तार त हाम्रो योजनामै छ । 

आगामी ५ वर्षमा हामी टप ५ बैंक बनौला भन्दिँन । तर, हामीसँग सँगै आएका बैंकहरुको लेभलबाट माथि उठेर मिडक्याप बैंकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्नेछौं । पाँच वर्षमा अहिले भएको ब्यालेन्ससिटलाई डबल गर्ने भनेका छौं । 

सेयर लगानीकर्ताले तपाईको नेतृत्व छउञ्जेल मेगा बैंकबाट के आशा गर्ने ? 
-हाम्रा ५ वटा स्टेक होल्डरहरु हुनुहुन्छ । सबैभन्दा पहिला प्रोमोटर/सर्बसाधारण सेयरहोल्डरहरु, रेगुलेटर, कस्टमर, स्टाफ र सोसाइटी एट लार्ज भन्छौं हामी । त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै सेयर होल्डरको सम्पत्ति बढाउने भन्ने हो । निश्चित रुपमा लगानीकर्ताहरुले रिटर्नतर्फ नै ध्यान दिइरहेका हुन्छन् । एकैवर्षमा धेरै पूँजी वृद्धि तपाईले गरिरहनुभएको छ भने तत्कालै पहिलाको जस्तै रिटर्न आशा गर्नु तार्किक हुन्न । त्यति कुरा लगानीकर्ताले मनन गरिदिनुभयो भने विजिनेश ग्रोथलाई अझै तीव्र गतिमा अगाडि बढाउन सके र हाम्रो ग्रोथले गति लिएपछि लगानीकर्ताका लागि डबल डिजिटको रिटर्न दिने भन्ने कुरा त ठूलो कुरै भएन नि । उहाँहरुले त्यो आशा राख्नु भए हुन्छ । यस वर्ष त बैंकले पहिलो पटक एनएफआरएस बमोजिम वित्तीय विवरणहरु तयार गर्नु परेको कारणले वितरणयोग्य मुनाफाबाट केही रकम रेगुलेटरी रिजर्बमा जाने देखिन्छ, जसले गर्दा बैंकको खूद मुनाफामा उल्लेख्य वृद्धि हुँदाहुदै पनि वितरणयोग्य रकम त्यती आशातीत् नहुने देखिन्छ । यद्यपि भविष्यमा भने सो रकमलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रियलाइजेसन गरेर वितरण गर्न सकिने छ भने चालू वर्षमा समायोजन कम हुने देखिन्छ । 

तपाईहरुको सहायक कम्पनी निकट भविष्यमै आउँदैछ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले पनि ब्रोकरेज लाइसेन्स पाउने व्यवस्था गरिदिएको छ । यसतर्फ तपाईहरुको योजना के छ ?
-यो अजेण्डा हाम्रो एजीएमले पास गरिसकेको छ । हाम्रो मेगा क्यापिटल खुलिसकेकै छ । बिस्तारै ब्रोकरेज हाउस पनि खोल्नेछौं ।