-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले ‘मेरो सेयर’ पोर्टलमा नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने लाभांश तथा हकप्रद सेयर दाखिलाको विस्तृत जानकारी दिन आवश्यक पर्ने फिचर थप्न नसक्ने भएको छ । 

लगानीकर्ताले व्यग्र प्रतिक्षा गरिरहेका यी फिचर थप्ने प्रयास गरे पनि बजेट अभावलाई कारण देखाउँदै यी विषय मेरो सेयरमा थप नहुने भएको हो। 

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले २ वटा फाइबर खरीदका गर्दा करिब ८० लाख रुपैयाँ पर्ने र यससँग सम्बन्धित अन्य हार्डवेयर र सफ्टवेयर बनाउन आफ्नो संस्था सक्षम रहे पनि बजेट अभावले यी दुई फिचर थप्ने काम रोकिएको जानकारी दिएका हुन् ।

यसका लागि सिडिएससीमा थप मानवस्रोत समेत परिचालन गर्नुपर्ने र छुट्टै बजेट आवश्यक भए पनि त्यो प्राप्त हुने अवस्था नआएपछि  थप्ने भनिएको फिचरबाट पछाडि हट्नुपनर्ने अवस्था सिर्जना भएको हो । उनले भने–‘मेरो सेयर’मा थप्न मिल्ने सो सुविधाका लागि आवश्यक बजेट हामीले लगानीकर्ताबाटै उठाउने योजना बनाएका थियौं, तर, संभव भएन  ।’

सिस्टम बनाउन आवश्यक लगानी गरिएमा र लगानीकर्ताहरुबाट थप शुल्क लिन सकेमा लाभांश र हकप्रदको वितरणको विस्तृत विवरणको सुविधा ‘मेरो सेयर’मा दिनसक्ने संभावना अझै रहेको भने उनले प्रष्ट संकेत गरे । 

‘हामीले यो सेवा निःशुल्क दिन सक्दैनौं, यसका लागि लगानीकर्ताले नै सहयोग गर्नुपर्छ ।’ उनले भने–‘हामी फिचर थप्न तयार छौं, तर बजेट अभावका कारण काम अड्किएको हो ।’

लगानीकर्ताहरुको कार्यव्यस्ततालाई मध्यनजर गरी बजारसँग सम्बन्धित सेवाहरु सहज बनाउँदै लैजानुपर्ने र सिडिएससीले थप गर्न लागेको नयाँ फिचरमा बजेट अभाव हुन नदिन सम्बद्ध पक्षले सहयोग गर्नुपर्ने जानकारहरुको भनाई छ ।