काठमाण्डौ । ‘मेरो सेयर’मा कुनै कम्पनीको सेयर मौज्दात देखाएतापनि टीएमएसमार्फत सेयर बिक्री नभइरहेको गुनासो लगानीकर्ताहरुले गरिरहेका छन् । 

अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खातामा सेयर भएतापनि सेयर बिक्री गर्न पाइएन भन्ने गुनासो गर्ने गरेका छन् । 

सिडिएससीको ‘मेरो सेयर’मा सेयर मौज्दात हँुदा वा सेयर किनेपछि ४–५ दिनपछि पनि सेयर बिक्री गर्न नमिलिरहेको लगानीकर्ताका गुनासाहरु सामाजिक सञ्जालमा भेटिन्छन् ।

सिडिएससीको राफसाफ तेस्रो कार्यदिनमा हुन्छ अर्थात् अस्ति आइतबार धितोपत्र खरिदबिक्रीको राफसाफ आज तेस्रो दिन बुधबार हुन्छ । आज १२ बजे नै सिडिएससीले आइतबारको धितोपत्र किनबेच राफसाफ गर्न सिस्टममा समाहित गरी ब्रोकरको पूल अकाउन्टमा पठाउने काम गर्दछ । अनि सम्भव भए आजै बेलुकी वा भोलिदेखि ब्रोकरले सेयर खरिद गरेका सम्बन्धित व्यक्तिको डिम्याट खातामा म्यानुअली प्रविष्ट गरी सेयर पठाइन्छ । यसको मतलब चौथो दिनमा चाहिँ ब्रोकरले खरिदकर्ताको डिम्याट खातामा सेयर पठाइदिन्छन्, अनि पाँचौ दिनमा मात्र सेयर बिक्री गर्न योग्य हुन्छ ।

धितोपत्रको राफसाफ ३ कार्य दिनमा हुने भए तापनि सामान्यतया पाँचौ दिनमा मात्र सेयर बिक्री गर्न योग्य हुने गरेको छ ।

किन पाइँदैन सेयर बिक्री गर्न ?
सेयर बिक्री गर्न नपाइनुका प्रमुख कारणमध्ये एक क्लोजआउटमा पर्नु पनि हो । अर्थात तपाईँले किनेको सेयर बिक्रीकर्ताले इडीआइएस वा डीआइएस नगर्दा सेयर क्लोजआउटमा पर्दछ र तपाईँको खातामा सेयर आउँदैन ।

अनि अर्को महत्वपूर्ण कारण चाहिँ तेस्रो दिन बेलुकी ८–९ बजे लगानीकर्ताको खातामा पठाउँदा र चौथो दिनमा सेयर खातामा पठाउँदा अर्को दिन अर्थात् छैठौं दिनमात्र सेयर बिक्रीका लागि योग्य हुन्छ । ब्रोकरले लगानीकर्ताको डिम्याट खातामा सेयर पठाइसकेपछि ‘मेरो सेयर’मा उक्त सेयर देखिन्छ तर, बिक्रीका लागि योग्य हुँदैन ।

सिडिएससीको सिस्टम र टीएमएसबीच रियलटाइम इन्टीग्रेसन भएको छैन । रियल टाइम इन्टीग्रेसन नभएका कारण पनि लगानीकर्ताले ‘मेरो सेयर’मा सेयर देखिने, तर टीएमएसबाट सेयर बेच्न नमिलेको हो । टीएमएसको सिस्टम भेण्डर कम्पनी वाइको प्रालिले प्रत्येक दिन साँझ ७ बजे सिडिएससीको तथ्याङ्क टीएमएसमा सिन्क्रोनाइज वा डेटा तान्ने काम गर्दछ र टीएमएसमा सो डेटा सेभ हुन्छ । ७ बजेअगावै ब्रोकरले खरिदकर्ताको खातामा सेयर पठाएको भए मात्र त्यसको भोलिपल्ट सेयर बिक्रीका लागि योग्य हुन्छm नत्र बिक्री गर्ने प्रयास गर्दा सिस्टमले सर्ट सेल भन्दछ । 

तेस्रो वा चौथो दिन ब्रोकरले लगानीकर्ताको खातामा साँझ ७ बजे पछाडि पठाउँदा टीएमएसमा सिडिएससीको डेटा समाहित नभएकै कारण सिस्टमले सेयर बिक्री गर्न नदिएको हो । कहिलेकाहीँ सेयर किनेपछि लगानीकर्ताले सेयर किनेबापत रकम ब्रोकरलाई भुक्तान नगर्दा सो सेयर ब्रोकरकै पूल अकाउन्टमा रहन्छ । वित्तीय जोखिमका कारण लगानीकर्ताको खातामा सेयर नपठाउने अधिकार भने ब्रोकरमा नै सुरक्षित हुने गर्दछ ।