काठमाण्डौ । प्रद्युमन पोखरेल, देशकै टप विकास बैंक,मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) हुन् । 

टप विकास बैंकलाई नेतृत्व गरिरहेका उनको जीवन यात्रा निकै कठीन र संघर्षपूर्ण थियो । तर, उनको इच्छाशक्ति र आँटमा आमा पद्मादेवी पोखरेलको सधैं नै साथ, समर्थन, हौसला र प्रेरणा थियो । 

चार भाई छोरामध्ये आमाको कान्छो छोरा प्रद्युमन बैंकको उच्च तहमा रहेर अर्गनाइजेसन हाँकिरहँदा उनकी आमा भने यो संसारमा छैनन् । 

करिब ६ वर्षअघि आमा पद्मादेवी पोखरेलको ७१ वर्षको उमेरमा निधन भयो । ६८ वर्षको उमेरमा भारतको गुहावटीस्थित आफन्तमा गएको बेला ब्रेन ह्यामरेज भएर सिकिस्त पद्मादेवीलाई त्यहाँका चिकित्सकले ठीक पार्न नसक्ने भन्दै नेपाल पठाइदिए । 

नेपाल ल्याएर पोखरेलले वीर अस्पतालका एक चिकित्सकको निगरानीमा उपचार जारी राखे । ‘भारतमा ठीक हुँदैन’ भनेको बिराम वीर अस्पतालले ठीक गरेपछि पद्मादेवी हिँड्न डुल्न सक्ने भएकी थिइन् । 

ठीक भएको केही वर्षपछि पद्मादेवीलाई सामान्य रुघाखोकी लागेको थियो । तर, रुघाखोकीको त्यही निहुँ निधनको कारण बनेको उनका कान्छा छोरा गोपाल उर्फ प्रद्युमनले सुनाए । 

परलोक भए पनि आफ्नो सुखदुःखमा आफूलाई आमा सधैंभरि साथमै भएजस्तो लाग्ने पोखरेल बताउँछन् । 

बिजशालासँग आमासँगका स्वर्णिम पलहरु सेयर गर्दै उनले आफ्ना जीवनका धेरै रोचक पक्ष उजागर गरेका छन् । ६ महिनाको उमेरमै बुबाको देहान्त भएपछि आमाको साहस र स्नेहमा हुर्किएका उनले आमासँगको स्वर्णिम पललाई ‘जीवनमै फेरि प्राप्त नहुने क्षण’को रुपमा व्याख्या गरेका छन् । बाँकी उनकै शब्दमा:

मेरो बाल्यकाल भारतको बनारसमा बित्यो । म ६ महिना हुँदा नै मेरो पिता बित्नु भएको रे,त्यसपछि आमाले नै हामी चार भाई छोराहरुलाई दुःख र संघर्ष गरेर हुर्काउनुभयो । 

हामीलाई कठीन संघर्षका बीच यो ठाउँमा पुर्याउने आमाको भौतिक शरीर हामीसँग छैन । आमाजस्तो र उहाँको साथजस्तो मूल्यवान चिज यो संसारमा अरु के नै हुँदो रहेछ र ?

म मेरो आमालाई ‘मा’ भनेर बोलाउँथे, मेरो घरको नाम गोपाल हो, उहाँले मलाई ‘गोपाल’ नै भनेर बोलाउनु हुन्थ्यो ।

मलाई अहिले पनि केही कुरामा गाह्रो भयो भने मेरो मुखबाट ‘मा’ भन्ने शब्द निस्किन्छ । सायद अरु छोराहरुलाई पनि यस्तै हुन्छ होला । 

‘मा’को कुरा गर्दै गर्दा मलाई बनारसकै बढी याद आउँछ । त्यहाँ मेरो बुबा परलोक हुनु भएको केही वर्षपछिको कुरा सम्झन्छु । खेल्ने क्रममा साथीभाईले मलाई तिम्रो बुबा छैनन् भनेर जिस्क्याउँथे, सोध्थे । मैले यही कुरा ‘मा’लाई बारम्बार सोधिरहन्थेँ । ‘हाम्रो बुबा खोई’ भनेर सोधेपछि एक दिन उहाँले घरमै बनाएको मन्दिरमा लगेर देवतालाई साक्षी राखेर भन्नुभयो:
म्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्च सखा त्वमेव
त्वमेव विद्या द्रविनणं त्वमेव
त्वमेव सर्वं मम देव देव

उहाँले ‘मा’ भने पनि मै हुँ । बुबा भने पनि मै हुँ, बहिनी भने पनि मै हुँ, साथी भने पनि मै हुँ भन्दै आफ्नो नाकमा औंला राखेर मलाई सम्झाउनुहुन्थ्यो, त्यो पल अझै पनि झलझली याद आउँछ । म सानैदेखि नै ‘मा’सँग एकदमै नजिक थिएँ, सायद कान्छो भएर पनि बढी नजिक बने हुँला । 

बनारसमा केही वर्ष बसेपछि हामी वीरगञ्ज बसाई सरेर आयौं, त्यहाँ हाम्रो मामाघर थियो। त्यहाँ आइसकेपछि उपचारका लागि ‘मा’ फेरि इण्डिया जानुभयो । उहाँ उपचारका लागि भनी जानुभएको यो अवधि मेरा लागि चाहि निकै कठीन भएको थियो। उहाँ फेरि आउनुभयो  र सँगै बस्यौं। म २००१ मा काठमाण्डौ आएँ, ‘मा’ लाई पनि सँगै लिएर आएँ । त्यसबेला म नवील बैंकको हेड अफिसमा सरुवा भएर काठमाण्डौ आएको थिएँ । 

आमासँगको विशेष स्मरण
बनारसमा बस्दा म सानो थिएँ । हाम्रो जीवनशैली सामान्य थियो, संघर्षका दिन थिए ती । मेरो ‘मा’ले मलाई कुनै काम गर्नलाई सधैं प्रोत्साहित गर्नुहुन्थ्यो । मैले राम्रो काम गर्दा उहाँको अनुहारमा खुशी छल्किन्थ्यो । 

उहाँ आफैं पनि हिम्मतिली महिला हुनुहुन्थ्यो । एक्लो महिला, त्यो समयमा वीरगञ्जबाट रक्सौल गई मुजफ्फुरबाट सोनपुर हुँदै बनारसको रेल पक्रिनुपथ्र्यो, रेलमा यात्रा गरेको मलाई अझै सम्झना आउँछ । उहाँले यात्राको क्रममा मान्छेसँग आफूलाई डिफेन्ड गर्नुभएको जस्ता कुराहरु पनि अलि अलि याद आउँछ । 

आजको जमानामा समेत कलिलो उमेरमा जब कुनै महिलाको पति बित्नुहुन्छ, त्यो महिलामा के कुरा बित्छ होला ? त्यस्तो बेलामा उहाँले कतै बाटो नबिराई हाम्रो पालनपोषण गर्नुभयो, यो जत्तिको महान काम अरु के हुनसक्ला र ? हामीमा उहाँले खूबै आत्मविश्वास जगाइदिनुहुन्थ्यो ।

आमासँगको सबै पलहरु खुशीकै हुन्छन्,धेरै खुशीकै छन् । 

आमा जब वीरगञ्जबाट उपचारका लागि कोलकाता जानुभयो, त्यो २ वर्षको अवधि चाहि मेरा लागि अप्ठ्यारो अवस्था थियो । दाईहरुले मेरो टेककेयर त गर्नुभएको थियो, तर आमा हुनुहुन्थेन । संसारमा आमाको विकल्प नै केही छैन । 

पछि सँगै बसियो, तर, आमा बित्नुभयो । ७१ वर्षको उमेर मात्रै थियो, अझै बाँच्नुहुन्थ्यो जस्तो लागेको थियो, तर उहाँको लेखान्त नै त्यस्तै रहेछ । भनिन्छ नि आफ्नो समय आएपछि मान्छे जान्छ जान्छ, मेरी ‘मा’लाई पनि त्यही भयो । साधारण रुघाखोकी मात्र लागेको थियो, डाक्टरलाई देखाइराखिएको थियो, जानुभयो । 

आमाले मन पराएकीसँग विवाह
मेरो सानैदेखिको सोंच आमाले मन पराएको केटीसँग विवाह गर्ने भन्ने थियो । हाम्रो समाजमा भन्ने गरिन्छ कि छोराले आमाले मन पराएको केटीसँग विवाह गर्नुपर्छ भने छोरीले बुवाले मन पराएको केटासँग विवाह गर्नुपर्छ । मेरो जोसँग विवाह भयो, निकै चाखलाग्दो कथा छ । 

म त्यो बेला २२ वर्षको थिएँ, नवील बैंकमा काम गर्थेँ । कतैबाट केटीको कुरा आयो, हामीले गएर हेर्यौं, आमालाई केटी असाध्यै मन पर्यो, मलाई पनि औधी मन पर्यो । तर, एउटा सामान्य समस्या थियो, म त्यो बेला अफिसर भइसकेको थिइँन र मेरो आफ्नै घर पनि थिएन । पहिला घर हुनुपर्छ, अफिसर हुनुपर्छ, अनि बल्ल विवाह गर्नुपर्छ भन्ने सोंच थियो । त्यही भएर मैले आमालाई सम्झाएँ–अहिले विवाह नगरौं, २–३वर्षपछि मेरो प्रोमोसन भइहाल्छ, त्यसपछि गरौंला भनेर । 

त्यसपछि हामीले त्यो सम्बन्धलाई त्यत्तिकै थाँती राख्यौं । अहिले मेरी श्रीमतीले धेरै नराम्रो अनुभूति गरिन् होला उसबेला, उनको परिवारलाई पनि त्यस्तै भयो होला । 

पोखरेलका दिवंगत आमाबुबा । 

नभन्दै मेरो २–३ वर्षमै मेरो प्रोमोसन भयो, बैंकबाट लोन लिएर घर पनि बनाएँ । त्यसपछि आमाले त्यही केटीलाई सम्झिरहनुभएको रहेछ, फेरि कुरा अगाडि बढाउने निर्णय भयो । २ वर्षपछि उही केटी माग्न जाँदा मैले केटीको अनुहारसम्म हेरिँन, आमाले हेर्नुभयो र सबै कुरा अगाडि बढाउनुभयो । विवाहको कुरा छिन्ने दिन मात्र मैले उनलाई(पत्नीलाई) हेरेँ ।

मेरो पत्नी साह्रै दयालू र फराकिलो मन भएकी छिन् । उनले मेरो मालाई असाध्यै राम्रो टेककेयर पनि गर्थिन । यो विषयमा मलाई सधैं आनन्द लाग्छ। 
केटा मान्छेको दायीत्व दुईतिर हुँदो रहेछ । एउटा आमातिर र अर्को पत्नीतिर । यो कुरालाई सन्तुलित बनाएर लैजान सक्नुपर्छ। कतिपयले सन्तुलन मिलाउन सक्दैन र परिवारमा समस्या आउँछ । तर, मेरोमा त्यो इस्यू नै भएन, कारण मेरी जीवनसाथीले मभन्दा पनि बढी माया मेरो मालाई माया गरिन्, हेरचाह गरिन् ।

आमाबाट सिकेको जीवनमन्त्र
सबैजनासँग चाँडै घुलमिल हुनसक्ने मेरो ‘मा’ को राम्रो बानी थियो । त्यो गुण ममा पनि सरेको छ कि जस्तो लाग्छ । एक्ली महिला इण्डियामा बसेर संघर्ष गरेर, सबै इष्टमित्रलाई राखेर बस्नुभएको थियो । संघर्षका गुण ममा पनि सरेको छ कि जस्तो लाग्छ । मान्छेसँग नरिसाई बोल्ने, माया गर्ने जस्ता आमाले देखाउनुभएको बाटोमा हिँड्ने प्रयास गरिरहेको छु, सिक्दैछु ।

संघर्षशील बन्नुपर्छ, समस्या पर्यो भने आत्तिनुहुँदैन, सबैसँग मिलेर अगाडि बढनुपर्छ भन्ने कुरा नै आमाबाट सिकेको जीवनमन्त्र हो। 

आमाले मलाई सधैं भन्ने गर्नुहुन्थ्यो-'हेर बाबु विचार चाहि राम्रो लिएर हिँड्नुपर्छ  । विचारबाट कर्म बन्छ, कर्मबाट बानी बन्छ' भन्नुहुन्थ्यो। बानी रिपिट धेरै भएपछि त्यो स्वभाव बन्छ र स्वभाव गाढा भयो भने त्यही संस्कार बन्छ भन्नुहुन्थ्यो। तिमी राम्रो सोंचका साथ अगाडि बढ, तिमीलाई भगवानले हेर्नुहुन्छ भन्नुहुन्थ्यो। मेरो ‘मा’ एकदम आद्यात्मिक हुनुहुन्थ्यो, मेरो परिवार यसै पनि अद्यात्मिक थियो । बुबा ज्योतिष हुनुहुन्थ्यो रे, हजूरबुबा पनि राम्रो ज्योतिष हुनुहुन्थ्यो रे । 

अर्को जीवन मन्त्र भनेको उहाँको व्यवस्थापन कला पनि हो । एकल महिला हुँदा समेत उहाँले चार छोरा, छिमेकी, इष्टमित्र, घरव्यवहार सबैलाई राम्रो व्यवस्थापन गर्नुभएको थियो। 

कोहीबाट कुनै काम गराउनु पर्दा उसलाई फकाउने मात्र होइन, कहिलेकाही रिसाउनु पनि पर्ने हुन्छ। आमाले मलाई सधैं भन्ने गर्नुहुन्थ्यो–हेर बाबु रिसाउँदा कसैप्रति कटुता चाहि नलेऊ है, मनमा करुणा राखेस् ।

धेरै मान्छे रिसाउँछन्, त्यस्तो  बेलामा कटुता हुँदो रहेछ मनमा। रीससँग नराम्रो भावना हुँदो रहेछ। रिसाएर यसलाई राम्रो होस् भन्ने भावनाका साथ रिसाउने काम भयो भने त्यसले दबाईको काम गर्छ रे । तर, त्यही रीससँग कटुता मिसिएको छ भने त्यसले बिषको काम गर्छ, यो कुरा मेरो ‘मा’ले भन्नुहुन्थ्यो । यो त अर्गनाइजेसनमा धेरै काम लाग्ने मन्त्र हो । किनभने हामीले लामो समय एउटा टिमलाई लिड गर्नुपर्छ । टिमले तब विश्वास गर्छ, जब उसलाई लाग्छ कि: यो व्यक्तिको मनमा हामीप्रति करुणा छ है । यो मान्छेले हामीलाई धोका दिंदैन है ।

पूरा हुन नसकेको ‘डाक्टर सपना’
म साइन्स ब्याकग्राउण्डबाट आएको मान्छे हुँ। मेरो इच्छा डाक्टर बन्ने र ‘मा’को इच्छा पनि डक्टर बनोस् भन्ने नै थियो, तर परिस्थितिले दिएन । पैसा कमाउने भन्दा पनि राम्रो नाम रहोस्, खुशी र सुखी रहोस् भन्ने सोंच थियो मेरो ‘मा’को । 

बिएससी गर्दागर्दै म भाग्यवश बैंकिङमा आएको हुँ। त्यो बेलामा नेपाल अरब बैंक लिमीटेड भन्ने थियो। वीरगञ्जमा मलाई अपोइन्ट गरिएको थयो । त्यो बेलाको तलब निकै आकर्षक थियो, मेरो ‘मा’ त्यसबेला भने निकै खुशी हुनुभएको थियो ।

मेरो चिनो बुबाले बनाउनुभएको रे । यो केटो एकदम राम्रो हुन्छ भन्नुहुन्थ्यो रे, तँलाई यो छोराले हेर्छ भनेर ‘मा’ लाई भन्नु हुन्थ्यो रे । ‘मा’ ले सधैं ‘तँ धेरै माथि पुग्छस छोरा, इमानदार भएर काम गर्नू’ भन्नुहुन्थ्यो । 

‘मा’ हुँदै म नवीलबाट मेगाको सिनियर लेभलमा गएँ । आमा खुशी हुनुहुन्थ्यो, तर यो लेभल(सीइओको लेभल)मा पुगेको चाहि मेरो ‘मा’ले देख्न पाउनुभएन। यो कुरा जीवनभर खट्कीरहने विषय बन्यो ।  

पृथ्वीबाटै नदेखे पनि मलाई थाहा छैन, अर्को जीवन छ या छैन तर, आमाले सधैं मलाई आकाशबाट हेरिरहनुभएको छ जस्तो लाग्छ । उहाँ खुशी हुनुहुन्छ भन्ने अनुभूत हुन्छ  । 

‘मा’का लागि गर्न नपाएको काम
साच्चिकै भन्दा धेरै कुरा गर्नै सकिएन । उहाँबाट जन्म पाएँ, मैले केही गर्न सकिँन । उहाँ स्वस्थ हुन आवश्यक थियो, सँगै घुम्न जान पाइन्थ्यो होला । मेरो छोरा अहिले यूकेको स्कटल्याण्डमा पढ्दैछ, राम्रो गर्दैछ । ‘मा’ जिवित हुनुहुन्थ्यो भने कति खुशी हुनुहुन्थ्यो होला कि नातिले यसरी पढ्दैछ भनेको खबर सुनेर । त्यो कुरा उहाँले देख्न पाउनुहुन्थ्यो । 

आधुनिक समाज, आमाबुबा र सन्तान
म अद्यात्मिक हिसाबले बोल्छु । म दैनिक ३ घण्टा पति साधना गर्छु, माछामासु खाँन्न, रक्सी खाँन्न । मैले मेरो गुरुहरुबाट समेत सुनेको वा सिकेको कुरा भन्छु । कतिपय कुरा आफ्नो अनुभवबाट पनि आउँदो रहेछ ।

तपाईले जेनेरेसन टू जेनेरेसन हेर्न सक्नुहुन्छ । आमाको प्रेम छोरामाथि हुन्छ,छोराले विवाह गर्छ र उसको पनि छोरा जन्मिन्छ, वा छोरी जन्मिन्छ। छोराको प्रेम फरवार्डतिर जान्छ, अर्थात छोरा वा छोरीमा बढी जान्छ । ब्याकवार्ड अर्थात आमा र बुबाप्रति कम जान्छ । यो अस्तित्वको नेचुरल फिनोमेनन हो भन्छु म । यसमा कुनै संस्कृतिलाई, व्यक्तिलाई, जातिलाई वा समुदायलाई हामीले दोष दिनु हुँदैन । 

जो मान्छे जागरणको अवस्थामा पुगेको छ। जो मान्छेले अलिकति आफ्नो बारेमा जागरणको अवस्था हासिल गरेको छ, अवेयरनेस हासिल गरेको छ, जोसँग कन्सस लेभलको डिग्री अलिक बढी छ, त्यो मान्छेले त्यो ममता, प्रेम र मायालाई फिल गर्छ । फिल गरेर त्यो मान्छे ब्याकवार्डमा जान तयार हुन्छ र पछाडि फर्किएर आफ्नो अभिभावकलाई माया गर्छ । 

यसकारण यहाँ प्रश्न समुदाय, जाति, जेनेरेसन वा नेपालको मात्र होइन । फरवार्ड लुकिङको डिग्री क्षेत्र वा ठाउँ अनुसार फरक होला । तर,जागरुकको अवस्था मान्छेमा कम हुँदै गएको हो। 

डिग्री अफ अवेयरनेश र कन्ससनेश बढेपछि मान्छेले अरुलाई प्रेम गर्नथाल्छ, उसमा करुणा जाग्छ । यो आवश्यक छ । 

(कुराकानीमा आधारित)