►रवीन्द्र भट्टराई
सेयर बजार घटबढ हुनु यसको प्राकृतिक नियम हो । बजार बढेपछि घट्नु, घटेपछि बढ्नु यसको नियमित प्रक्रिया हो । तर, बजार हाम्रो चाहना र इच्छाअनुसार चल्दैन । बजारअनुसार लगानीकर्ताले चल्नुपर्छ । पछिल्लो एक साता बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा अलिक बढी अत्यासजस्तो देखियो ।

जसरी हामी दौडिन सक्छौं तर दौडिरहन सक्दैनौं त्यसरी नै बजार पनि दौडिरहन सक्दैन ।

हामी हिँड्दा खुट्टा उचाल्दै राख्दै गर्छाै तर उचालिराखेर हिँड्न सक्दैनौं, त्यसरी नै बजार पनि उचालिइरहन सक्दैन । समय–समयमा यसले खुट्टा तल राख्दै माथि उचाल्दै गर्छ । यो नै सेयर बजारको स्वभाव हो, जसलाई हामीले बुझ्न सक्नुपर्छ ।

तर, पछिल्लो समय सेयर बजारमा अलिक बढी अस्वाभाविक गतिविधिहरू देखिए, जुन बजारको मान्यताभित्र पर्दैन र पुँजीबजारको स्वच्छन्दताका लागि सह्य पनि हुन सक्दैन । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले आफ्नो परिधिलाई पार गर्दै लगानीकर्तालाई खुलेआम सेयर किन्न र बेच्नका लागि सल्लाह दिन थालेपछि बोर्ड नियामक हो वा लगानी सल्लाहकार कम्पनी हो भन्ने छुट्ट्याउन गाह्रो भएको छ ।

यदि लगानी सल्लाहकारको काम गर्ने हो भने धितोपत्र बोर्डले आफ्नो नाम परिवर्तन गर्दा हुन्छ । होइन भने धितोपत्र बोर्डलाई धितोपत्र ऐनले लगानी सल्लाहकारको काम गर्ने अधिकार दिएको छैन । धितोपत्र बोर्डका व्यवस्थापनले एकपटक ऐन पल्टाएर पढ्दा राम्रो हुन्छ ।

धितोपत्र बोर्डले बजारको विश्लेषण गरेर आवश्यकताअनुसार नीतिगत कदम चाल्न सक्ला, तर लगानी सल्लाहकारको भूमिकामा आफूलाई उभ्याउन सक्दैन र सेयर किन्ने समय, बेच्ने समय, अब सेयर किन, अब सेयर बेच, ठूला निस्के, साना छिरे भन्ने उसलाई नैतिक अधिकार छैन ।

बोर्डलाई मात्र नभई नेपाल स्टक एक्सचेन्जलाई पनि यो अधिकार कानुनले दिएको छैन । तर, हरेक दिन पत्रिकाका पानामा, अनलाइनमा, टेलिभिजनमा, रेडियोमा बोर्डका अध्यक्षलगायत यी संस्थाका प्रवक्ताहरू लगानी सल्लाहकारका रूपमा उपस्थित भएको पाइन्छ ।

धितोपत्र ऐनले बोर्डको काम–कर्तव्यमा लगानीकर्ताको हितको संरक्षण गर्ने स्पष्ट अधिकार दिएको छ । यसैले बोर्ड लगानीकर्ताको संरक्षक हो, अभिभावक हो तर नोक्सानीको क्षतिपूर्तिकर्ता होइन । बोर्ड बजारको रेफ्री हो तर खेलाडी होइन । रेफ्रीले नै यो टिमले खेल जित्छ र यसले हार्छ भनेर भन्न थालेपछि खेलको मर्यादा कसरी कायम हुन सक्छ ? अरूलाई सुशासनमा राख्ने संस्था आफू पनि अनुशासनमा बस्न सक्नुपर्छ ।

बोर्ड बजारको रेफ्री हो तर खेलाडी होइन । रेफ्रीले नै यो टिमले खेल जित्छ र यसले हार्छ भनेर भन्न थालेपछि खेलको मर्यादा कसरी कायम हुन सक्छ ? अरूलाई सुशासनमा राख्ने संस्था आफू पनि अनुशासनमा बस्न सक्नुपर्छ ।

धितोपत्र बोर्डले भन्यो, ठूला लगानीकर्ता बजारबाट निस्के । अब प्रश्न उब्जन्छ-कति रकमसम्म लगानी गर्नेलाई ठूला र कतिसम्मलाई साना भन्ने ? बोर्डको कुन ऐन, नियमावली वा निर्देशिकाले ठूलो र सानो लगानी भनी छुट्ट्याएको छ ? बोर्ड सेयर किन्ने र बेच्ने दुवैको हकको रक्षा र सम्मान गर्ने संस्था हो ।

बोर्डले सेयर बेच्ने बेला हो भनेर भनिरहँदा कसको हकको कुरा गरिरहेको छु भन्ने ख्याल गर्नुपर्छ । कसैले बेच्दा कसैले किन्नुपर्ने हुन्छ । कसैलाई बेच्न सल्लाह दिँदा किन्ने महँगोमा पर्ला । बोर्डलाई लगानीकर्ताको जोखिमको चिन्ता हो भने बेच्ने कुरा गर्दा महँगोमा किन्नेको अधिकारको पनि ख्याल गर्नुपर्छ ।

धितोपत्र बोर्डसँग सेयर किनबेच गर्ने हरेक लगानीकर्ताको तथ्यांक हुन्छ र यो राख्न पाउने अधिकार छ तर कसैको कारोबारको गोपनीयता भंग गर्ने र बजारलाई प्रभावित पार्ने अधिकार छैन । बजारबाट सेयर बेचेर को निस्क्यो र सेयर किन्न को छि¥यो भन्ने अधिकार पनि ऐनले बोर्डलाई दिएको छैन । बोर्डको यो प्रवृत्ति हेर्दा लगानीकर्ताका सूचनाको गोपनीयता छैन । यहाँबाट सूचनाको अनधिकृत चुहावट भएको हुन सक्छ, त्यसको छानबिन कसले गर्ने ?

बोर्डसँग आन्तरिक सुशासनका लागि कर्मचारीको आन्तरिक आचारसंहिता होला । तर, बजारबारेमा कर्मचारी आचारसंहिता बनेको देखिँदैन । बोर्डले बजारको पारदर्शिता, सुशासन र लगानीकर्ताको आत्मविश्वासका लागि काम गर्ने हो, तर आतंक सिर्जना गर्न होइन ।

तर, बोर्डले बजारमा आतंक फैलाउने काम गरिरहेको छ । विश्वास र भरोसा भएको नियामक नै सेयर बेच भन्छ भने अघिल्लो दिन सेयर किन्ने सर्वसाधारण कति आतंकित बन्छ ?

तर, बोर्डले बजारमा आतंक फैलाउने काम गरिरहेको छ । विश्वास र भरोसा भएको नियामक नै सेयर बेच भन्छ भने अघिल्लो दिन सेयर किन्ने सर्वसाधारण कति आतंकित बन्छ ?

 

बजारमा कालो वा सेतो कस्तो पैसा प्रवेश भइरहेको छ, त्यसको अनुगमन गर्ने काम नियामक निकायको हो, जसका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा निर्देशिका बनेका छन् । सोहीअनुसार बोर्डले समिति गठन गर्नु राम्रो कुरा हो । अनधिकृत पैसाको नियमित अनुगमन र नियन्त्रण हुन आवश्यक छ तर यसको अनुसन्धान गोप्य हुनुपर्छ ।

अनुसन्धान प्रतिवेदन आएपछि त्यसको परिणामअनुसार कारबाही अगाडि बढाउनु सही हुन्छ । तर, बोर्ड बजारमा आएको सबै पैसा तस्करको हो झैं गरेर लगानीकर्तालाई अपमानित गर्ने र सेयर बजार तस्करको खेल मैदान हो झैं गरेर प्रचार–प्रसार गरिरहेको छ । यसले सेयर बजारको सुन्दरतालाई कायम राख्न सक्दैन, बरु कुरूप बनाउनेछ । र, सर्वसाधारण र नयाँ पुस्ताले यसरी नै बुझ्न थाले भने सेयर बजार (पुँजीबजार) को भविष्य के हुन्छ ? भन्ने पनि सोच्नु आवश्यक छ ।

सेयर बजार बढ्दै जाँदा कारोबार रकम बढ्दै जानु स्वाभाविक हो । कारोबार रकम बढ्नु बजारप्रतिको लगानीकर्ताको विश्वास पनि हो । यहाँ कालो पैसाले नै कारोबार रकम बढेको भन्ने हुँदैन । बजार बढ्दा लगानीकर्ताले सस्तो ब्याजको फाइदा लिन ऋण पनि बढाउँदै जान्छन् । यो कुनै अस्वाभाविक होइन ।

अहिले सेयर धितो कर्जाअन्तर्गत दुई प्रकारका ऋण छन्-एउटा, भएको सेयर धितो राखेर लिने ऋण र अर्को, ब्रोकरको जमानतमा सेयर किन्न बैंकबाट लिने ऋण तथा किनेको सेयर धितो राख्ने । सेयर धितो राखेर लिने ऋण पुनः सेयर किन्नमै प्रयोग हुन्छ भन्ने छैन, तर ब्रोकरको जमानतमा बैंकबाट लिने ऋण भने सेयर किन्नमै प्रयोग हुन्छ ।

बजारमा आउने पैसामध्ये कति पैसा ऋणको छ भन्ने तथ्यांक बोर्डसँग छैन । अझ रमाइलो ब्रोकरको जमानतमा सेयर किन्न बैंकले प्रदान गरेको ऋणको अलग्गै विवरण राष्ट्र बैंकसँग पनि छैन । यसैले पार्टीका झन्डा बोकेर हिँड्ने नेताको जस्तो भाषण गरेर हिँड्नुभन्दा नियामक निकायले अनुसन्धानमा आधारित भएर बोल्नु उचित हुन्छ ।

पार्टीका झन्डा बोकेर हिँड्ने नेताको जस्तो भाषण गरेर हिँड्नुभन्दा नियामक निकायले अनुसन्धानमा आधारित भएर बोल्नु उचित हुन्छ ।

भाषण होइन, नीतिको प्रयोग

धितोपत्र बोर्डलाई बजार धेरै बढ्यो भन्ने लागेमा पत्रकार सम्मेलन गरेर भाषण गर्नु उचित हुँदैन । भाषण र वक्तव्यबाजी बजारको विश्वसनीय विकासको आधार हुन सक्दैन । यसका लागि नीतिगत औजारको प्रयोग गर्नुपर्छ र लगानीकर्तालाई विकल्प दिन सक्नुपर्छ, जसले बजार आफैं सन्तुलित बन्छ ।

जस्तो वित्तीय बजारमा स्थायित्व कायम गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न उपकरण (अनिवार्य नगद मौज्दात, खुलाबजार कारोबार, बैंक दर) को प्रयोग गर्छ । बोर्डले पनि त्यस्ता औजार प्रयोगमा ल्याउन सक्नुपर्छ । बोर्डले प्रयोग गर्ने यस्ता औजार भनेको लगानीकर्तालाई दिने पर्याप्त लगानीका विकल्प हुन् । जस्तो सेयर सापटी लिएर बिक्री (सर्टसेल) गर्न सक्ने व्यवस्था गरिनुपर्छ ।

तर, योसम्बन्धी कानुन बनेको छैन । सर्टसेलले बजारमा बिक्रीचाप बढाएर अस्वाभाविक वृद्धिमा ब्रेक लगाउँछ । तर, बोर्डले यससम्बन्धी सोचेको देखिँदैन । यसैगरी ब्रोकरबाट ऋण लिएर सेयर किन्न सक्ने (मार्जिन ट्रेडिङ) सम्बन्धी व्यवस्था गर्नुपर्छ । मार्जिन ट्रेडिङमा मार्जिनको प्रतिशत बढाएर र घटाएर बजारको अस्वभाविक उतारचढाव नियन्त्रण गर्न सकिन्छ ।

लामो समयदेखि मार्जिन ट्रेडिङका बारेमा माग हुँदै आए पनि यससम्बन्धी नियमन बनाएर बोर्ड आँखा चिम्लेर बसेको छ । अर्कातर्फ बजारमा हुने अधिक उतारचढावको जोखिम न्यूनीकरण गर्न अप्सन, फ्युचर कन्ट्र्याक्टजस्ता वित्तीय डेरिभेटिभको प्रयोग गरिन्छ, तर बोर्ड यो विकल्प पनि लगानीकर्तालाई नदिएर बजार धेरै बढ्यो भनेर भाषण गरिरहेको छ । सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाइरहेको छ । यो पूर्णतः गलत प्रवृत्ति हो ।

भट्टराईले सोमबारको एक आर्थिक दैनिकमार्फत सम्प्रेषित विचार ।