काठमाण्डौ । पछिल्लो समय निकै चर्चापरिचर्चा र आलोचना खेपिरहेका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्याल सन् २००८ देखि सन् २०१८ सम्म भारतमा रिसर्च एनालिष्ट र एडभाइजरी सर्भिसको कार्यानुभव भएका व्यक्ति हुन् । सन् २०१८ मे महिनामा नेपाल आएर फाइनान्सियल मार्केट एनालिष्टका रुपमा बस्याल सक्रिय छन् ।

गत सोमबार लगानीकर्ताको प्रदर्शनको क्रममा उनीमाथि नेप्से परिसूचक ९०० मा झर्छ भनी टिप्पणी गरेको भन्दै कुटपिट भयो, प्रहरीले बेलैमा सुरक्षा दिएका कारण थप अप्रिय घटना हुन पाएन । नेप्से परिसरमा धर्के भनेर उनीमाथि हमला भएको र प्रहरीसमक्ष पनि उजुरी गरिसकेका बस्यालले आफू माथि मात्र हैन आफ्नो प्राविधिक ज्ञानमाथि नै हमला भएको टिप्पणी गरेका छन् । 

उनले गरेको विश्लेषण र उनीमाथि भएको कुटपिटमा केन्द्रीत रही बिजशालाका भक्तराज रसाइलीले बस्यालसँग संक्षिप्त वार्ता गरेका छन्:

के साँच्चै मार्केट ९ सयकै बिन्दूमा आउँछ त ?
-मैले इलियट वेबका आधारमा विश्लेषण गर्ने गरेको छु । मार्केटको एक किसिमको साइकल हुन्छ, जुन ४/४ वर्षको हुने गर्दछ । २ पटक दोहोरिसकेको नेपाली सेयर बजारमा सोही साइकलानुसार नै मैले पनि दाबी प्रस्तुत गरेको हुँ । मैले डेढ वर्षअघि ५० प्रतिशतसम्म क्र्यास हुने र १८ सयको बिन्दू ९ सयकै बिन्दूमा झर्छ भनेर बोलेको हँु । यो एउटा सम्भावनाको पाटो हो । यो विषयमा म कतैबाट पनि प्रभावित छैन । लेखेर राख्नुस् २०१
डिसेम्बरअघि मार्केट फर्किदैन । मूल्य समय करेक्सन अनुसार नै अहिलेको खसाइ हो । यद्यपि यो खसाइ अन्तिम खसाइ नै हो । ११३० को रेञ्जबाट ५० वा बाउन्स दिनसक्ने, यदि दिएमा ११ सयको बटन पनि छुन सक्छ । नरोकी १ हजार ५० को रेञ्जमा आए हजार ५० बाट पनि १ हजार आउने आँकलन गर्न सकिन्छ । अहिले यो समयमा मार्जिन लोनमा लिएर कारोबार गर्ने समय नै हैन । दीर्घकालीन समयका लागि किन्ने उपयुक्त समय हो । अब ४ वर्षको अन्तरलामा यो बटमको ५/६ गुणा बढ्ने म ठोकुवासाथ भन्छु ।

तपाई अझै ९०० मा बजार झर्छ भनिरहनुभएको छ । यही इस्यू उठाउँदै तपाईमाथि नेप्से परिसरमा कुटपिटसम्म भयो ?
-हेनुर्स म माथि भएको घटनाको विषयमा ३वटा लगानीकर्ताका संगठनले घटनापछि भत्र्सना गरे । मैले हाल ब्रोकरका समस्यालाई मात्र समाधान गरेर त्यसपछि लगानीकर्तालाई अनलाइन दिन भनिरहँदा सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले निरुत्साहित गरेको आरोप ममाथि खन्याई मासलाई भड्काउने काम गरेकाले शंका गर्ने वातावरण मेरो फूल्लेलजीप्रति छ । कतै उहाँद्धारा परिचालित भीडबाट त भएन ? ममा शंका छ ।

नेप्सेले लागू गरेको पूर्ण स्वचालित अनलाइनप्रति चाहि तपाईको धारणा के हो ? 
-अनलाइन प्रणाली १८ करोड बिडिङ्ग भ्यालू बराबरको सिस्टम नै छैन । विश्वस्तरको प्रविधि भारतमा ५/६ करोडमा नै किन्न पाइन्छ । अझ यो भन्दा अत्याधुकि फिचर भएको हुन्छ । यो त केबल ब्राउजिङ्ग बेस भयो, सम्पूर्णतामा यो सफ्टवेयर नै मानिदैन ।

अन्तर्राष्ट्रिय बिड माग्नुपर्ने थियो । बिड सार्वजनिक गरिनु पनि पर्ने हो । बिडमा कतिजनाले भाग लिए भन्ने कुरा पनि सार्वजनिक गरिएन । जानकारी नै नदिई बिडिङ्ग गरिएको छ भने अनलाइन सम्बन्धी कार्य गरेको वा यस्तो अनलाइन सफ्टवेयर बनाएको इतिहास नै छैन वाइकोको । यसकारण अनलाइनको नाममा निकै ठूलो आर्थिक घोटाला भएको छ, नेप्से र अन्यले यसमा निकै ठूलो चलखेल र गडबडी गरेका छन् ।

लगानीकर्ताका सांगठनिक गतिविधिलाई कसरी नियाल्नु भएको छ ?
-लगानीकर्ता संगठनका पदाधिकारीहरुका आफ्ना इच्छा अनुसार र अनुकुललाई प्राथमिकता दिएको जस्तो लाग्छ । कमाएको बेला सेयर बजारको विकासमा ध्यान नदिने नेप्से तल आएर लगानी डुब्न लाग्दा विकास गर्नुपर्ने दोहोरो चरित्र पटक्कै सुहाएन । उहाँहरु सम्पूर्ण लगानीकर्ताहरुको लगानी सुरक्षामा केन्द्रित हुनुपर्नेमा त्यो देखिन्न । नियामक र सरकारसमक्ष जेन्यून आवाज नउठाउने समस्या विद्यमान छ । पूँजी बजारमा भएको कुप्रवृत्ति र विसङ्गतिलाई कारवाही गर्ने अधिकारप्राप्त नियामक सेबोनलाई झक्झक्याउने काम नै भएको छैन ।

पूर्ण स्वचालित अनलाइन फेल खायो भन्छन्, यस किसिमको भद्रगोलको स्थितिमा दोषी को हो ?
-शतप्रतिशत नेप्से र वाइको नै हो । समयमा नै सफ्टवेयर डेलिभरी गर्नुपर्ने,त्यो खै ? युएटीको प्रतिवेदन खै ? १६ मोड्युलमध्ये १० मोड्यूल तयारी अवस्थामा रहेको दाबी गर्ने वाइकोले सन्२०१७ डिसेम्बरमा प्रेस रिलिज गरेको थियो । नेप्सेले वित्तीय सजाय गरेको छैन वाइकोलाई । वाइकोलाई किन कारवाही गरिएन ? यसमा दोष नेप्सेकै पनि छ । वाइकोले बैंगलोरस्थित इण्डियन कम्पनी इन्फिनिटिलाई ठेक्का दिएको र मेरो जानकारीमा आए अनुसार इन्फिनिटिले पनि अर्कै बिदेशी कम्पनीलाई सफ्टवेयर सम्बन्धी कामको जिम्मा दिएको रहेछ ।

अनलाइनमा व्यापक घोटाला भएको हल्ला बजारमा छ, तपाईँलाई कस्तो लाग्छ ?
-लागत नै महङ्गो भएकाले चलखेल र घोटाला त प्रष्टै देखिन्छ । कोबाट भयो भन्ने बिषय खोज्ने काम सम्बन्धित निकायको हो । यस विषयमा इन्भेष्टिङ्ग एजेन्सीले थाहा पाउने कुरा हो । केही न केही घोटाला भएको त प्रष्टै छ नि । 

अन्तमा तपाईँमाथि भएको आक्रमणको बिषयमा हामीमार्फत कसैलाई केही भन्नु छ ?
-आक्रमण गर्ने हमलाकारीको पहिचानका लागि बिजशालाले युट्युबमा राखेको भिडियो नै प्रहरीलाई बुझाएको छु ।  उचित कानूनी कारबाही र छिटोभन्दा छिटो गर्न अनुरोध गर्दछु ।

मेरो प्राविधिक विज्ञतालाई निरन्तरता दिइनै रहनेछु । पुँजीबजार र सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको विश्वस्त तुल्याउँदछु ।

*यसअघिको समाचारमा २०१८ को डिसेम्बर हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । र, यो त्रुटिप्रति हामी क्षमाप्रार्थी छौ । 
-सम्पादक