►रविन्द्रकुमार रिजाल ‘शशी’–अध्यक्ष नेपाल विज्ञापन संघ(आन)

यसपटकको कृति अवार्ड कहिले र कसरी वितरण हुँदैछ ?
-यो पटक कृति अवार्डको १० औं संस्करण आयोजना गर्न लागेका छौ । यो कार्यक्रम २०७५ साल भाद्र ७ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।

तपाईहरुले विगत लामो समयदेखि अवार्ड वितरण गर्दै आउनुभएको छ, यसको उद्देश्य चाहि के हो ?
-कृति अवार्ड भनेको कम्पिटिसन अवार्ड हैन, हामीले सम्मान गर्ने किसिमले अवार्ड दिन्छौं । हाम्रा जति पनि कामहरु छन्, ती कामहरुको सम्मान दिने कार्यक्रम हो । यहीकारण यसलाई अवार्डको नाम दिएर आयोजना गर्ने गरिएको हो, किनभने त्यसमा केही ट्रफी पनि दिइन्छ । त्यसलाई अवार्ड सेरमोनी(उत्सव)को रुपमा पनि हामीले लिने गरेका छौ । समग्रमा यो अवार्ड कामको सम्मान गर्ने माध्यम पनि हो । त्यसमा हामी विज्ञापन एजेन्सीहरुले जुन जुन विधामा काम गर्छौ, ती सबैलाई समेटेर २५ विधामा अवार्ड वितरण गर्ने गरेका छौ ।

यो अवार्डले विज्ञापन व्यवसायमा कस्तो प्रभाव पार्छ ?
-यसले मिडियाकर्मी साथीहरुलाई, कर्पोरेट सेक्टर, इन्डस्ट्री र अरुको जति विज्ञापन सम्बन्धी हेर्नु हुन्छ, वा त्योसँग सम्बन्धित भएर सोच बनाउनुहुन्छ, उहाँहरुलाई कृति अवार्डले उर्जा थप्छ ।

एउट फरक प्रसंग, राज्यले विज्ञापन व्यवसायलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ ?
-विगतमा अस्थायी सरकारहरु हुन्थे । यहीकारणले पनि होला विगतमा हाम्रो क्षेत्र सरकारको आँखामा परेन । विशेष गरी मिडिया र पत्रकारिताको बारेमा सरकारले बढी सोच्थ्यो, नीतिमा समटेथ्यो भने हामीलाई विगतमा कम प्राथमिकता दिइएको महसुस गरेका छौ । तर, यसो भनेर राज्यले वास्तै गरेन भन्ने कुरा पनि होइन, कहीँ न कहीँ सम्बोधन पक्कै गरेकै हो, जुन पर्याप्त भएन । अब भने स्थायी सरकार बनेको छ, यसले हामीलाई समेत उत्साहित तुल्याएको छ। सरकारले समेत हामीलाई प्राथमिकतामा राखेर विज्ञापन व्यवसायको अलग्गै नियामक निकाय र बोर्ड नै बनाएर सहयोग गर्ने वचन दिएको छ । यसले हामीलाई थप आशावादी बनाएको छ । 

नेपालको अहिलेको विज्ञापन बजार कत्रो छ र सम्भावना कस्तो छ ?
-अहिले झण्डै ६–७ अर्बको बजार हो। अहिले बीचमा विभिन्न तहका निर्वाचन तथा अन्य संक्रमणकालीन परिस्थितिले गर्दा थोरै घटेको हो कि भन्ने महसुस भएको छ । तर, अब फेरि दशैं अगाडिदेखि विज्ञापन व्यवसायले पुरानो गतिको भन्दा राम्रो पिकअप लिने विश्वास गरेका छौ । या हिसाबले हेर्दा यो वर्ष पनि ७ अर्बको व्यापार पुग्ला भने अर्को वर्षसम्म ८ अर्बसम्म पुग्नसक्ने अवस्था आउनसक्छ । 

काठमाण्डौमा जस्तो विज्ञापन व्यवसाय मोफसलमा फस्टाउन सकेको छैन, यसको कारण के हो ? र, के भयो भने फस्टाउन सक्छ ?
-हालसम्म राज्यको संरचना नै केन्द्रीतकृत भयो र हाम्रो व्यवसाय पनि त्यही संरचना अन्तगरत संचालित भएका कारण मोफसल छायाँमा परेको हो कि जस्तो लाग्छ । तपाईले हरेक क्षेत्रमा व्यक्तिलाई हेर्नुभयो भने संभावनाकै कारण मानिसहरु गाउँ छाडेर वा जिल्ला छाडेर काठमाण्डौ आएका छन् र यहाँ राम्रो प्रगति पनि गरेका छन् । यसकारण सबैभन्दा महत्वपूर्ण कुरा अवसरहरुको विकेन्द्रीकरण पनि हो । यो भयो भने बिस्तारै काठमाण्डौमा जस्तै मोफसलमा पनि विज्ञापन व्यवसायका बग्रेल्ती अवसरहरु सिर्जना हुन्छन् र त्यहाँ पनि हाम्रो फस्टाउने वातावरण बन्न सक्ला ।  

यसकारण तत्कालको अवस्थामा मोफसलमा व्यापार नै हुँदैन, अनि विज्ञापन एजेन्सी खोलेर के गर्ने ?तर, पछिल्लो समय विभिन्न क्षेत्रमा केही साथीहरुले एजेन्सी खोल्नुभएको छ । राम्रै पनि गरिरहनुभएको छ । मोफसलमा दुःखजिलो गरेर विज्ञापन व्यवसाय धानिरहेका साथीहरुकै लागि आनले पनि निकट भविष्यमै आफ्नो संगठनात्मक संरचनालाई राज्यको संघीय संरचना अनुसार रुपान्तरण गरी प्रदेशहरुमा क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना बनाएको छ । संगठन नै मोफसलसम्म बिस्तार भएपछि यसले विज्ञापन व्यवसाय पनि बढाउने हाम्रो अपेक्षा छ ।
प्रस्तुती: गृष्मा केसी(गौरी)