काठमाण्डौ । राष्ट्रबैंकको निर्देशन र समन्वयमा वाणिज्य बैंकहरुबीच कायम ब्याजदरको भद्र सहमति तोडिएको विषयमा नेपाल बैंकर्स संघले नियामकसँग छलफल गर्ने भएको छ । 

सनराइज बैंक र एनसीसी बैंकले भद्र सहमतिविपरीत ९.६५ प्रतिशत ब्याज दिएर नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब बढी निक्षेप फुत्काएपछि यसले बैंकिङ उद्योग तरगिंत भएको हो । 

ब्याजदरको भद्र सहमति कायम भएको एक महिनामै तोडिने अवस्था आएपछि यो विषयले नेपाल बैंकर्स एशोसिएसनको समेत टाउको दुखाएको छ ।

तर, यसपटक नेपाल राष्ट्रबैंककै निर्देशन र प्रत्यक्ष निगरानीमा ब्याजदरको भद्र सहमति कायम भएकोले एशोसिएसन नेतृत्वलाई पहिला भन्दा काम गर्न केही सहज छ । 

सनराइज र एनसीसी बैंकले भद्र सहमतिविपरीत निक्षेप उठाएको समाचार बिजशालामा प्रकाशित भएपछि यसैलाई आधार बनाई आफूले राष्ट्रबैंकसँग छलफल गर्न लागेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘म यो विषयलाई लिएर राष्ट्रबैंक जाँदैछु ।’ बिजशालासँग उनले भने–‘भद्र सहमति विपरीत ती बैंकले अफर गरेको ब्याजदर फिर्ता हुनुपर्छ, होइन भने अरुले पनि भद्र सहमति तोडे हुन्छ ।’

करिब २ महिनाअघि बैंकर्स संघले कायम गरेको ब्याजदरको सहमति तोड्दै वाणिज्य बैंकहरु ब्याजदर वृद्धिको लिगलिगे दौडमा लागेका थिए । सो क्रममा निक्षेपतर्फको ब्याज बढाएर १४ प्रतिशतसम्म पुर्याएका थिए । 

ब्याजदर अचाक्ली बढ्दै गएपछि बैंकहरुबीच व्यक्तिगत मुद्धतीको ब्याजदर ९.२५ प्रतिशत बनाउने सहमति भएको थियो । यसमा ०.५ प्रतिशत थपिँदा समेत व्यक्तिगत मुद्धतीको ब्याज ९.७५ प्रतिशतभन्दा माथि जाने छैन ।

नेपाल बैंकर्स संघले आह्वान गरेको बैठकमा सहभागी २८ वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधिबीच यस्तो सहमति भएको थियो । 

बैंकरहरुबीच बचतको ब्याजदर ६.५ प्रतिशतभन्दा माथि नजाने सहमति समेत बनेको थियो । 

यसैगरी, संस्थागत निक्षेपतर्फको ब्याजदर अधिकतम ८.५ प्रतिशत कायम गर्ने सहमति बनेको थियो । यसमा १ प्रतिशत बिन्दुसम्म ब्याज बढाउन पाइने सहमति थियो ।