अञ्जन श्रेष्ठ, अध्यक्षनेपाल अटोमोवाइल डिलर्स एशोसिएसन
तथा 
सभापति : उद्योग समिति– उद्योग वाणिज्य महासंघ

 

हरेक वर्ष आयोजना हुने नाडा अटो शोको सबै तयारी सकियो ?
तयारी लगभग पूरा भएको छ । भोलि(मंगलबार) नाडा अटो शोको बिहान १० बजे औपचारिक उद्घाटनको कार्यक्रम राखिएको छ । आज राति अबेरसम्म काम गरेर बाँकी रहेका स्टल, प्रदर्शनीस्थल तयारीको काम पनि सक्नेछौ ।

लामो समयदेखि ‘नाडा आटो शो’ हुँदै आएको छ, यसपटकको संस्करणमा नयाँ के हुन्छ ?
‘नाडा आटो शो’ भनेको अटोमोवाइल उद्योगलाई उपभोक्तासँग अन्तरक्रिया गराउने एउटा राम्रो प्लेटफर्म हो र त्यही रुपमा स्थापित पनि छ । यो उद्योगमा विकास के छ ? नयाँ के के कुरा आएको छ ? भन्ने देखाउने नै यसको मुख्य उद्देश्य हो । अर्को कुरा, सबै कम्पनीलाई एउटै थलोमा भेला पारी ग्राहकहरुलाई मनपरेको प्रोडक्टबीच पनि दाजेर खरीद गर्नसक्ने अवसर दिने राम्रो ठाउँ पनि हो । यहाँ स्पेयर पार्टसहरुको स्टल हुन्छ, बैंक तथा बिमाको सुविधा पनि हुन्छ । ‘अन द स्पट अटो लोन’ पाउने व्यवस्था समेत छ । निश्कर्षमा भन्दा एकैथलोबाट थोरै समयमा सबै अटोमोवाइल व्यवसायी र तिनका प्रोडक्ट उपलब्ध गराई ग्राहकलाई उपयुक्त निर्णय लिने तथा अटोमोवाइल क्षेत्रको विविध जानकारी लिने अवसर दिने प्लेटफर्म हो । 

यसअघिका शोहरुमा झै यो पटक पनि विभिन्न अटोमोवाइल कम्पनीहरुले आफ्ना नयाँ प्रोडक्टहरुको लञ्च गर्नेछन् । कुन–कुन कम्पनीले के–के लञ्च गर्दैछन् भन्ने कुरा डिस्क्लोज गरेका छैनन् । 

ग्राहक तथा अवलोकनकर्ताहरुले मन पराएकै कारण नाडा अटो शो प्रत्येक वर्ष बिस्तार र परिस्कृत भई भव्य र सभ्य बन्दै गएको छ । पहिलाको भन्दा सहभागी बढेका छन् । पहिलाको तुलनामा स्टलहरुको संख्या, आकार तथा डिजाइन भव्य भएको छ । यो पटक नयाँ कुरा, मदनकृष्ण र हरिवंशलाई नाडा अटो शोको ब्राण्ड एम्बेस्डर बनाएका छौ । धेरै नयाँपन छ मेलामा ।

मह जोडीको दैनिक प्रस्तुती पनि राखिएको हो ?
होइन, उहाँहरु ब्राण्ड एम्बेस्डर मात्र हो, दैनिक प्रस्तुतीको कुनै कार्यक्रम राखिएको छैन । 

अरुबेला पनि चाहेको ठाउँमा अटोमोवाइलका शोरुमहरु छन् । सोरुमबाटै बैंक तथा बिमाको सुविधा समेत सहज उपलब्ध हुन्छ । ‘नाडा आटो शो’मै ग्राहक किन जाने ? 
नेपालको अटोमोवाइल सेक्टरको विकास हेर्न आउने, नयाँ के छ भन्ने कुरा जान्न आउने । अर्को कुरा, अटो शोमा विभिन्न बिक्री प्रवद्र्धनात्मक कार्यक्रम हुन्छ, जुन स्पेशल हुन्छ । शोको अवसरमा छुट तथा स्कीमको बहार आउँछ, जुन अरुबेला नहुन पनि सक्छ । एकैठाउँमा धेरै कम्पनीका गाडीको छानी–छानी अवलोकन गरी निर्णय गर्न पाइन्छ । बैंक र बिमाका लागि समेत चारैतर्फ कुदिरहनुु परेन । 

मेलामा कतिवटा स्टल रहन्छन् ?
कुल १ सय ३० वटा स्टल रहन्छन् । ९१ कम्पनीहरुको सहभागिता हुन्छ । 

कतिपय यस्तै शोको अवसर पारेर सम्बन्धित बिषयमा विज्ञ तथा व्यवसायीबीच बसेर अन्तरक्रिया गर्ने, समस्या र चुनौतिको पहिचान गरी आगामी रणनीति तय गर्ने लगायतका कार्यक्रम राखिएका हुन्छन् । तपाईहरुको पनि त्यस्तो कुनै योजना छ ?
छैन, अटो शोको क्रममा हामी साह्रै व्यस्त हुन्छौ । आफैं उपस्थित भएर ग्राहकसँग जोडिनुपर्ने हुन्छ । त्यही भएर अन्य कार्यक्रम राखेका छैनौ । यो नेपालमा हुने सबैभन्दा ठूलो शो पनि हो । यसको भिजिटर पनि अन्य मेलाको भन्दा अधिक हुन्छ । यो पटक ८० हजार भन्दा माथि भिजिटर हुने अपेक्षा छ । त्यति ठूलो संख्याका भिजिटरहरुलाई व्यवस्थापन गर्नु नै निकै चुनौतिपूर्ण हुन्छ । यहीकारण, अन्य कार्यक्रम राखेनौ ।

अहिलेसम्मका सबै अटो शो काठमाण्डौ केन्द्रीत छन् । शोलाई मोफसलमा समेत बिस्तार गर्ने कुरा गत वर्ष गर्नुभएको थियो, कहिलेदेखि मोफसलमा जानुहुन्छ ?
हामीले २–३ वर्षअघिदेखि नै मोफसलमा जाने सोंच बनाएका हौ । हामीसँग पूर्वाधारको समस्या छ । नाडाका क्षेत्रगत सदस्यहरुलाई पूर्वाधार विकासमा लाग्न हामीले भनिरहेका छौ । पूर्वाधारबिना यस्तो शो आयोजना गर्न सकिन्न । अबको केही समयपछि चाहि मोफसलमा यस्तो मेला गर्न सकिएला । तर, यही आर्थिक वर्षभित्र नै चाहि नहोला । मन भएर पनि पूर्वाधार अभावकै कारण हामी मोफसलमा जान नसकेका हौ । 

तपाई नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको समेत नेतृत्वमा हुनुहुन्छ । नेपालमा अटोमोवाइल व्यवसायको संभावना र चुनौतिहरु के–के देख्नुुहुन्छ ?
म त प्रचूर संभावना देख्छु। किनभने कुल जनसंख्याको ७ प्रतिशतले मात्र मोटरसाइकल प्रयोग गर्छन् । चारपाङ्ग्रे प्रयोगकर्ता त १ प्रतिशत भन्दा कम छन् । त्यसैले यो क्षेत्रको विकास र बिस्तारको प्रचूर संभावना छ । अटोमोवाइल क्षेत्र भनेको विकासको संवाहक पनि हो । तर, चुनौतिहरु पनि छन्, सबैभन्दा ठूलो चुनौति यो व्यवसायलाई हेर्ने सरकारको त्रुटिपूर्ण नजर हो । पछिल्लो समय राष्ट्रबैंकले उत्पादनशील क्षेत्रको रुपमा स्वीकार गरेर अटोलोनलाई ५० बाट बढाएर ६५ प्रतिशतको सीमासम्म पुर्याएको छ । तर, सरकारले अझै पनि यो क्षेत्रलाई बिलासी वस्तुुसँग जोडेर हेरिदिंदा हामी खिन्न छौ । सरकारकै  कतिपय प्रतिनिधिले अटोमोवाइल क्षेत्रलाई अनुुत्पादनशील क्षेत्र पनि भन्ने गरेका छन् । कतिपय अधिकारीले राजश्वसँग मात्र जोडेर यो क्षेत्रलाई हेर्छन, यी सबै दोषी नजर हुन् । सरकारले सार्वजनिक व्यक्तिको यो क्षेत्रमा पहुँच बढाउने नीति ल्याउनुपर्छ । कि त राज्यले उचित र भरपर्दो र सुरक्षित सार्वजनिक सवारी साधनको व्यवस्था गर्नुपर्यो, होइन भने व्यक्तिगत रुपमा गाडी किन्नलाई भन्सार दरमा परिमार्जन गरिदिनुपर्यो । हरेक व्यक्तिको यो क्षेत्रसम्म पहुँच बनाइदिनुपर्छ ।

बाहिर एसेम्बल भएर भित्र्याइएका गाडीहरु तपाईहरुले बेच्नुुहुन्छ। स्वदेशमै एसेम्बल उद्योग स्थापनाको बिषयमा चाहि सरकारले के गर्नुपर्छ ?
राज्यको तर्फबाट एसेम्बल उद्योग स्थापनाका लागि प्रेरित गरिनुपर्छ । किनभने यसले सहायक उद्योगहरु जन्माउँछ । जस्तै, कुनै एउटा चारपाङ्ग्रे गाडी झण्डै ८ हजार कम्पोनेन्ट जोडिएर बनेको हुन्छ, त्यस्ता कम्पोनेन्ट उत्पादन गर्ने उद्योग स्वदेशमै खोल्न सकिन्छ । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच बनाएर एसेम्बल उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई प्रेरित गर्नुपर्छ । अल्पकालमा धेरै छुट र सुविधा दिनुपर्यो, मध्यकालमा केही घटाउनुपर्यो, दीर्घकालमा जीरो बनाइदिए हुन्छ । 

त्यसपछि हाम्रो जिम्मेवारी आउँछ । हामीले सुरुमा लोकल कम्पोनेन्ट उत्पादन गर्न नसकौला, तर मध्यकालमा गएर हाम्रा एसेम्बल उद्योगलाई चाहिने कम्पोनेन्टमध्ये ३०–४० प्रतिशत उत्पादन गर्न सकौला । दीर्घकालमा हामीले सबै सतप्रतिशत त्यस्ता वस्तुहरु उत्पादन गरी आत्मनिर्भर बन्न सकौला । 

यदि १५ वर्षे योजना बनाएर अगाडि बढ्ने हो भने देशको अटोमोवाइल क्षेत्रको कायापलट हुन्छ । यस्तै इतिहास जापानको छ, कोरियाको छ, इण्डियाको छ । इण्डियाले पनि जब मारुती गाडी बनायो, उसले एउटा सिट मात्र प्रयोग गरेको थियो, ती बाहेक सबै चिज बाहिरबाट आयात हुन्थे । तर, आजको दिनमा सबै कुरा स्थानीय रुपमै उत्पादन हुन थालेको छ । यस्तो क्रान्तिका लागि हामी तयार छौं, सरकारले उत्साहित बनाइदिनुपर्छ । 

यो उद्योगमा लगानी धेरै हुन्छ । यो लगानी प्रोत्साहित गर्न सरकारले सहुलियत धेरै दिनुपर्छ । यो उद्योग जडान उद्योग नै हो, जोडेर नै बनाउने हो । बिडम्बना, जोड्न समेत सकेनौ हामीले, सरकारले जोड्न समेत हौसाएन । यही जोड्ने उद्योग नै सुरु भयो भने सहायक उद्योग जन्मिन्छ, व्यापार विविधिकरण हुन्छ, औद्योगिकरणले नयाँ दिशा पाउँछ, रोजगारी प्रवद्र्धन हुन्छ, अन्ततः राजश्वमा सरकारलाई निकै ठूलो टेवा मिल्छ । 

नेपाल राष्ट्रबैंकले अटोलोनलाई ६५ प्रतिशतको सीमामा पुर्याएपछि यो क्षेत्रमा के सुधार आएको छ ?
नयाँ परिस्थितिपछि गाडीको बिक्रीमा सुधार भएको छ । हिजोको दिनमा आहात थियौं हामी, अहिले राहात पाएको महसुुस भएको छ । 

प्रसंग बदलौ, सरकारले केही वर्षअघिदेखि सडक मर्मत तथा सम्भार दस्तुुर भनेर सवारी साधनहरुबाट कर असूूल्दै आएको छ । तर, शहरी सडकहरुको अवस्था ठीटलाग्दो छ । उठाएको करको सदुपयोगको बिषयमा अटोमोवाइल व्यवसायीले पनि आवाज उठाएनन् भन्ने आरोप छ नि ? 
हामीले सधैं नै आवाज उठाएका छौ । हाम्रै सुुझावका आधारमा सरकारले सडक मर्मत तथा सम्भार दस्तुुर कर उठाउन थाल्यो । तर, करको सदुपयोगको बिषयमा कमजोरी भएकै हो । हामीले सरकारी एजेन्सीहरुलाई भनिरहेका छौ, घचघच्याइरहेका छौ । 

अन्तमा, चाडपर्वको मुखमा ‘नाडा आटो शोे आयोजना हुन लागेको छ । यो बेला गाडी खरीदको सिजन पनि हो । गाडी खरीदको योजना बनाएका वा गाडीप्रेमी अन्य ग्राहकहरुलाई समेत केही सन्देश छ ?
‘नाडा आटो शो’ भदौ १३ गतेबाट सुरु हुँदैछ । सबै ग्राहक महानुुभाव, दाजुुभाई दिदीबहिनीलाई अटो शो अवलोकनका लागि अनुरोध गर्छु । अटोमोवाइल क्षेत्रको पछिल्लो परिवर्तन तथा विकासको बिषयमा जानकारी लिइदिन समेत मेरो आग्रह छ । गाडी खरीद गर्ने सोंच बनाइरहेका ग्राहक महानुुभावहरुलाई त झनै ठूलो निम्ता छ, कारण यहाँ तपाईले रोजी–रोजी चाहेको गाडी किन्ने अवसर पाउनुहुन्छ । समग्रमा सबै अवलोकनकर्ता महानुुभाव तथा सर्वसाधारणमा समेत अटो मोवाइल क्षेत्रलाई सहयोग गरिदिन आग्रह गर्छु ।