किशोर प्रधान: नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष(सन्निकट निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार)

 

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी संग्राममा होमिनु भएको छ । कस्तो छ तयारी? 
हाम्रो टिमको तयारी राम्रो भइरहेको छ । यहीबेला देशको हालत खराब छ । अहिले देशमा जुन प्रकारले महामारीको प्रकोप बढेको छ, यसले निजी क्षेत्रको यति ठूलो संगठन निर्वाचन प्रक्रिया अन्यौलमा परेको छ । हाम्रो निर्वाचनको प्रक्रियामा १५ सयदेखि १६ सयजनाको जमघट हुन्छ । तसर्थ अहिले चुनाव गर्न सक्ने अवस्था छैन । 

काठमाण्डौको अवस्था पनि खराब बन्दै गइरहेको छ । सरकारले राम्रो टेस्ट गर्ने हो भने यहाँ मात्र १० हजारभन्दा बढी संक्रमित भेटिन सक्छन् । यस्तो अवस्थामा महासंघको साधारणसभाको मोडालिटी नै परिवर्तन गरेर जानसक्ने अवस्था हुन्छ कि भन्ने कुरामा विचारविमर्श चलिरहेको छ । यसअघिको बैठकले हाम्रो साधारणसभा सरकारले सभासम्मेलनमा लगाएको प्रतिबन्ध खोलेको १५ दिनभित्र गर्ने निर्णय गरेको थियो । महासंघको अर्को कार्यसमिति बैठक अगस्ट ५ मा बोलाइएको छ । त्यहाँबाट निर्वाचनको मोडालिटीको विषयमा निर्णय हुनसक्ला । हामी परिस्थितिलाई विचार गरेर अगाडि बढ्छौं । 

साधारणसभाको मिति सारिएको विषयमा विरोध पनि भयो नि ?

कसैले पनि सरकारको नियम मान्दिँन भन्न पाइन्न । मेरा प्रत्यासीहरुले पत्रकार सम्मेलन गर्नुभयो, उहाँहरुले सरकारको नियम मान्दिँन भनेको देखियो । देशमा यति ठूलो पेन्डामिक भएको बेला उहाँहरुले यस्तो गर्नु उचित हो कि होइन मान्छेले पनि बुझिरहेको छ । जुनप्रकारले मेरा मित्रहरुले पत्रकारसम्मेलन गरेर विरोध गर्नुभयो, मेरो विचारमा उहाँहरुले संस्थाप्रति उत्तरदायी काम गर्नु भएको छैन । संस्था र मुलुकप्रति जिम्मेवार बन्ने हो भने यस्तो खालको कुरा निकालेको उचित हुँदैन । 

तपाईको समूहले आफ्नो पक्षमा माहौल सिर्जना गर्न सुनियोजित ढंगले साधारणसभा सारेको भन्नेसम्मका आरोप पनि आए नि  ?
त्यो आरोप मैले पनि सुनेँ, पढेँ । कुनै व्यक्ति विशेषका लागि भन्दा पनि सम्पूर्ण देशका लागि राम्रो हुने गरी हामीले काम गर्नुपर्छ । देशभरका १५०० भन्दा बढी जिल्लानगरका, वस्तुगत र एशोसिएसटका साथीहरु भेला हुँदा कुनै पनि प्रकारले कोरोना फैलियो भने अवस्था भयावह बन्नसक्छ । यस्तो कुराको उहाँहरुले हेक्का राख्नु पर्छ कि पर्दैन ? हामी त यहाँको नागरिक हौं नि, हाम्रो दायीत्व भनेको पहिले जनस्वास्थ्य हो र त्यसपछि मात्र निर्वाचन हो । स्वास्थ्य नै छैन भने केको निर्वाचन ? केको प्रतिस्पर्धा ? हामीले नराम्रो निर्णय गरेका थिएनौं । पूर्वअध्यक्षहरुको सुझाव, वर्तमान पदाधिकारीको सुझावअनुसार नै त्यो निर्णय भएको थियो । केही साथीहरुलाई चित्त नबुझेको भए भित्रको कुरालाई पब्लिक गर्नुहुँदैन थियो । पब्लिक गरेर ठूलो काम गरेको भन्ने उहाँहरुले सोच्नुहुन्छ भने बुझ्नेले बुझिसकेको छ कि उहाँहरुले त्यो गलत काम गर्नुभयो भनेर । 

अबको निर्वाचनको मोडालिटी कस्तो हुन्छ ? अर्को समूहले अबैधानिक भइसकेको कार्यसमितिले साधारणसभा सार्ने निर्णय गरेको भनेर इस्यू समेत झिकेको देखियो । यस्तो अवस्थामा निर्वाचनको प्रक्रिया पनि सक्नुपर्ने अवस्था बनेको छ । कुनै मोडालिटीको विषयमा पनि छलफल भइरहेको हो ?  
विधानको कुरा उहाँहरुले बारम्बार गर्नुहुन्छ । विधान बनाउँदा त्यसको निर्माता त्यही समूहमा हुनुहुन्छ अहिले । उहाँले विधानलाई कतिपटक मिच्नु भयो भन्ने कुरा उहाँलाई मात्र होइन, देशभरका उद्योगी व्यवसायीलाई थाहा छ । विधानमा भएका कुराहरुलाई कसरी उलटफेर गर्नुभयो भन्ने कुरा पनि थाहा नै छ । जहाँसम्म विधानमा विशेष परिस्थिति हुन्छ भन्ने कुराको संभावनालाई ध्यानमा राखेर बाधाअड्काउ फुकाउको प्रावधान राखेका छौं । त्यो बाधा अड्काउफुकाउ भइसकेपछि हामीले त्यसको व्यवस्थापन गर्छौ भनेका छौ । यसमा विधानले कहीँ रोकटोक गरेको छैन । 

उहाँहरु अबैधानिक छ भन्ने कुरा गर्नुहुन्छ । त्यो अबैधानिक छ भने उहाँहरुले फेरि निवेदन दिएर किन कार्यसमिति बोलाउनु भन्नुभयो त ? डेटएक्सपायर छ भने किन जानुपर्यो त उहाँलाई त्यहीँ कार्यसमितिमा ? आफैं विरोधाभास कुरा गरेर हिँडिरहनुभएको छ उहाँहरु । 


 

आफैंले अबैधानिक काम गर्ने, अनि बैधानिक कामलाई गलत भन्ने धारणाबाट प्रेरित भएका मेरा मित्रहरुलाई मेरो विनम्रतापूर्वक के अनुरोध छ भने एक्सपायर औषधि हो भने खान किन आतुर हुनुपर्यो ? समय सकिइसकेको कार्यसमिति हो भने फेरि बैठक बोलाउन किन निवेदन दिनुपर्यो ? सम्पूर्ण कुराले उहाँहरुको अपरिपक्वता र अनुभवविहीनताको अवस्था देखाउँछ । काँचो आँप खायो भने अमिलो हुन्छ, जबसम्म त्यो पाक्दैन नि तबसम्म आँपको स्वाद थाहा पाइन्न । त्यसकारण काँचो आप खाने प्रयास जसले गर्छ, उसको मुख नमीठो हुन्छ । 

तपाईको भनाईको आशय, उहाँहरुले आत्तिएर अपरिपक्वता देखाउनुभयो ?
दुनियाँले बुझ्दा त्यही बुझ्छ । नेपालभरका बुद्धिजीवी, उद्योगी व्यवसायीले बुझ्दा त्यसरी नै बुझेको जस्तो लाग्यो मलाई । आफ्नो घरको झगडा घरैभित्र नसल्टाएर पब्लिकमा लग्नु बुद्धिमतापूर्ण काम होइन ।

मैले अगाडि सोधिरहेको थिएँ कि कोरोनाको प्रकोपकै बीच कुनै न कुनै मोडालिटी अपनाएर समेत नेतृत्व छान्न सकिन्छ होला नि ? त्यस्तो कुनै मोडालिटीको विषयमा छलफल भएको छ ? 
हामीले छलफल गरिरहेका छौं । एउटा, अनलाइन सिस्टमबाट पनि भोटिङ गर्न सकिने विषयमा वर्कआउट गर्न सकिन्छ । 

यस्तै, प्रदेशको मत प्रदेशमै बुथ राखेर बार एशोसिएसनको सहयोगमा, उनीहरुकै निर्वाचन अधिकृत नियुक्त गरी मतदानको प्रक्रिया मिलाउन सकिन्छ । अनलाइन भोटिङको कुरा पनि छ । प्रक्रिया बदलिएर अविलम्ब चुनाव गर्ने कि भनेर साथीहरु अगाडि बढ्नुभएको छ । अहिलेको अवस्था हेर्दा कात्तिक मंसिरसम्म यो अवस्था रहला जस्तो छ । भनेपछि ८–९ महिनासम्म आइडल हुनुपर्ने अवस्था छ । यो अवस्थालाई चिरेर अगाडि बढ्नुपर्छ । ५ तारिखको कार्यसमितिले यसमा पनि निर्णय दिने आशा गरेका छौ । 

जुनसुकै मोडलबाट पनि नेतृत्व छान्न बिलम्ब गर्नुहुँदैन भन्नेमा तपाईहरु पनि सहमत देखिनुभयो । तपाईले जित्नसक्ने आधारहरु चाहि के हुन् ? तपाई नेतृत्वमा आउनैपर्ने कारण र आधार के हो ?
थुप्रै आधार तथा कारणहरु छन् । मेरो २७ वर्षसम्मको संलग्नता छ यो संस्थामा, यो नै ठूलो कारण हो । मैले जे अनुभव बटुलेको छु, त्यसको एक चौथाई अनुभव पनि मेरो मित्र(चन्द्र ढकाल)सँग छैन । मैले २७ वर्षको अवधिमा जिल्लामा चारवटा पद महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको महासचिव, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै त्यही बेलादेखि महासंघमा संलग्न हुँ । त्यसकारण महासंघको रग रग मलाई थाहा छ । सरकारसँग कहाँ भिड्नुपर्ने अवस्था हुन्छ, कहाँ मेलमिलाप गर्नुपर्ने अवस्था आउँछ, कहाँ मेरा जिल्लानगर उवासंघका साथीहरुलाई समन्वय गर्नुपर्छ, कहाँ वस्तुगत र एशोसिएसटका साथीहरुको समस्या सम्बोधन गर्नुपर्छ भन्ने कुराको सम्पूर्ण ज्ञानलाई लिएर म बसेको छु । 

अर्काे कुरा, महासंघकै सातवटा समितिमा उपसभापति र सभापति भएर काम गरिसकेको छु । र, दुई दुई कार्यकाल जिल्लानगरकोे उपाध्यक्ष चलाइसकेको छु । 

जिल्लानगरको इतिहास हेर्नुभयो भने महासंघको ५४ वर्षको इतिहासमा जिल्लानगरबाट दुई व्यक्तिले मात्र अध्यक्ष बन्ने अवसर पाएँ । भनेपछि बाँकी ५० वर्षमा एशोसिएसट र वस्तुगतका साथीहरुले महासंघमा राज गर्नुभयो । मध्यम वर्ग तथा साना उद्योगी व्यवसायीले ५० वर्ष कुर्दा पनि नेतृत्व गर्ने अवसर नपाउने त ? भनेपछि कति अपहेलित र कति दर्दनाक अवस्था रहेछ त साना तथा मझौला उद्योगी व्यवसायीको । वस्तुगत र एशोसिएसटका साथीहरुले पनि जिल्लाबाट धेरै मेहेनत गरेर आएको व्यक्ति हो, यसलाई दिनुपर्छ यो पटक भनेर बुझ्नु भएको छ, यो पनि एउटा बलियो आधार हो । मैले जित्ने बलियो आधार बन्दै गएको छ । साथीहरुले मलाई मन पराउनु भएको छ । 

अहिले ७ वटा पूर्वअध्यक्षहरु, इनकमिङ आउटगोइङ प्रेसिडेन्ट, इमिडियट पास्ट प्रेसिडेन्टले पूर्ण रुपमा किशोर प्रधान आउनुपर्छ भन्नु भएको छ, यो नै ठूलो आधार होइन र ? नेपालभरका सबै व्यवसायीले बुझेकै छन् । केही कारण अवश्यक छ र नै सबैलाई छाडेर उहाँहरुले मेरो उम्मेद्वारीमा समर्थन गर्नुभएको छ । यसपटक सिंगो जिल्लाले आफ्नो प्रतिनिधित्व खोजेको अवस्था हो, यो सानो कुरा र अवसर होइन । 

तथापि, मैले मेरो प्रत्यासीलाई बारम्बार भनिरहेको छु, हामी मिलीजुली जानुपर्छ । कोरोनाको यस्तो भयावह अवस्था, संकटको अवस्थामा हाम्रो उद्योग वाणिज्य महासंघले एउटा इमेज बनाउनुपर्छ । विगतका केही वर्षहरुमा पत्रकारहरुले, राजनीतिक दलका मानिसहरुले, कर्मचारीहरुले र पब्लिकले महासंघको इमेज बिस्तारै कम हुँदै गएको टिप्पणी गरिरहेका छन् । किन कम हुँदैन, भइहाल्छ नि, यस्ता घरभित्र गर्नुपर्ने कुराहरुलाई पब्लिक गर्ने प्रवृति भएपछि इमेज खराब हुँदैन ? विधान बनाउँदा त्यसलाई तोडमोड गरी दुरुपयोग गर्ने काम गरिएपछि इमेज खराब नभएर के हुन्छ त ? व्यक्तिगत स्वार्थले अगाडि बढ्ने अवस्था भएपछि इमेज खत्तम हुन्न ? 

यो इमेजलाई पुनरस्थापित गर्नका लागि नै साथीहरुले यसपटक शेखर गोल्छाजीलाई ठूलो बल दिन मलाई पठाउन खोज्नुभएको हो । शेखर गोल्छाजीले पनि मेरो कार्यकालमा सफलतापूर्वक वरिष्ठ उपाध्यक्षको काम किशोरजीले गर्नुहुन्छ भनेर खुलेआम भन्नुको कारण पनि यही हो।

साथीहरुले अहिले पनि बुद्धिमतापूर्वक मेलमिलाप गरेर मलाई छाडिदिनुभयो भने उहाँहरुको प्रतिष्ठा अझै बढ्छ । एउटा कुर्वानी दिने प्रवृति त हुनुपर्यो नि कम्तीमा । मभन्दा धेरै पछि आएका साथीहरुलाई मैले नै कुर्वानी दिएर प्रेसिडेन्ट बन्ने वातावरण बनाएको छु । समयसापेक्षताअनुसार मान्छेले आफूलाई बुझेन भने त्यो मान्छेले पछि दुःख पाउँछ । त्यो बुझ्ने काम उहाँहरुले गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । हामीले जहिले पनि एउटै कुरा भनेका छौं, हामी एउटा परिवार हौं, मिलेर जाऔं । मिल्दा सबैको कल्याण छ । 

हामी हिजो नमिलेकै कारण विभिन्न संघसंस्था खुले, हामीबाट मान्छेहरु छुट्टिएर गए । हामीले सुधारवादी नीति बनाएर एफएनसीसीआईलाई अझ सुदृढ बनाउन एकअर्काको प्रतिद्वन्द्वी नबनौं, एकअर्काको सहयोगी बनौं । 

विगतको इतिहासलाई हेर्ने हो भने कतिपयलाई अध्यक्ष बनाउन तपाईले कुर्वानी गर्नुभएकै हो । तर, तपाईको त्यो कुर्वानीलाई बजारमा पैसाका लागि गरिएको सम्झौताको रुपमा चर्चा गर्ने गरिएको छ नि ? 
प्रतिद्वन्द्वीहरुले फैलाएको हल्ला हो यो । यसअघि पनि धेरै मित्रहरुले यो बारेमा प्रश्न गरिसकेका छन् । मैले पैसा लिएको पुरानो इतिहासले बताउनुपर्यो नि । पैसाको कुरा यहाँ आउनुपर्ने कारण किन ? उद्योगी व्यवसायी यहाँ भएकै कारण पैसाको कुरा उठाउनु राम्रो होइन । सबै साथीहरुलाई एउटै कुरा भन्ने गरेको छु, किशोर प्रधानको इतिहासमा पैसाको महत्व कहिल्यै पनि भएन । इज्जत र प्रतिष्ठाले महत्व पायो, प्रेम र प्रियमित्रको महत्व भयो । पैसाको महत्व हुने भएको भए धेरै यस्तो समय आएको थियो, मैले पैसा लिएर मेरो करिअर त्यहीँ बन्द गर्न सक्थेँ । नेपालमा त के संसारमै मलाई किन्नसक्ने कसैको क्षमता छैन । बिल गेट्सले पनि मलाई किन्न सक्दैन, यहाँका लारेलुरे त परै जाओस् । भनेपछि पैसाको कुरा कहाँ आयो ? यहाँको लारेलुरे र फास्सेफुस्सेले त के किन्छ मलाई ? पैसाको कुरा जहाँसम्म तपाईले भन्नुभयो, बद्नाम गर्न खोजिएको हो । 

खरीद र बिक्री गर्ने मान्छे नै त्यहीँ छ । जसले किनेको छ, त्यहीँ छ, जो बिक्री भएको छ, त्यो पनि त्यहीँ छ । मलाई खरीद गर्न इच्छा गर्ने व्यक्ति कोही जन्मेको छैन । बिल गेट्सले समेत गर्न सक्दैन भनेपछि यिनीहरुले के किन्छ मलाई ? जो बिक्री भयो, उसले अप्रोच गर्यो, जसले खरीद गर्यो उसको पनि राम्रै भयो । भनेपछि त्यहाँ बिक्ने भएको भए, तपाईकोमा म यसरी अन्तर्वार्ता दिने थिइँन, पैसा लिएर गएर घरमै सुतिरहन्थेँ । 

तपाईले यसो भनिरहँदा एफएनसीसीआईको चुनावमा पैसाको खेलोफड्को चाहि हुँदो रहेछ भन्ने बुझ्नुपर्यो ?
मैले तपाईलाई खरीदबिक्री चल्छ चल्दैन भन्दिँन, यो कुरा किन्ने र बिक्री हुनेलाई बढी थाहा होला । तपाईहामीलाई थाहा हुँदैन । 

अघि भन्नु हुँदै थियो नि किन्ने पनि त्यहीँ छ, बिक्री हुने पनि त्यहीँ छ भनेर ?
किन्ने बिक्री हुने मान्छे त्यहीँ होलान् । तर, कुनै पनि जिल्लाका साथीहरुलाई म किन्दिँन पनि, किन्ने प्रयास पनि गर्दिँन । यस्तो चुनावी अभियानमा चियाखाने, खाजा खाने, रक्सी खाने आफ्नो ठाउँमा छ । कसैलाई केहीको सिफारिस गरियो, कसैको करको समस्या हल गर्न समन्वय गरियो भने त्यसलाई खरीदबिक्रीको कसीमा राख्नुहुन्न ।  खरीदबिक्रीको हल्ला धेरै हुन्छ हाम्रो संस्थामा । तर वास्तविकता, मेरो दृष्टिकोणले कोही साथी त्यस्तो हुनुहुन्न, बिक्री हुने खालको । मेरो जानकारीबाहेक कति काम हुन्छ, त्यो चाहि म भन्न सक्दिँन । 

एफएनसिसीआईको चुनावमा जसले बढी खर्च गर्नसक्यो, उसले जित्छ भन्ने पनि हल्ला हुने गर्छ ?
जित्ने भएको भए विनोद चौधरीले जित्नुहुन्थेन ? किन हार्नुभयो ? चण्डी ढकालले किन हार्नुभयो ? खरीदबिक्रीको हल्ला उडाइन्छ । तर, वास्तवमा खरीदबिक्री हुँदैन । खरीदबिक्री हुने भएको भए जोसँग पैसा छ, त्यो बसे भइहाल्यो नि, किन चुनाव लडिरहनुपर्यो ? बढी पैसा हुनेलाई अध्यक्ष बनाइदिए भइहाल्यो नि । तर, भित्रभित्रै कसैले कुनै गेममा दुईचारजना साथीहरु बसेर साँठगाँठ भयो भने वा हुने भएको छ वा हुने रहेछ भने त्यो पनि मलाई थाहा छैन । तर, यस्तो किसिमको साँठगाँठको प्रवृति चाहि हामीजस्तो उद्योगी व्यवसायीको हितमा हुँदैन। 

पछिल्लो कालमा एफएनसिसीआईको ओज क्षयीकरण हुँदै गएको  कुरा तपाई आफैंले पनि स्वीकार्नुभयो । अबको तपाईको अजेण्डा एफएनसीसीआईको गिर्दो साख उठाउने पनि बन्ने देखियो । अन्य अजेण्डा चाहि के छन् ?
अब शेखर गोल्छा जीको नेतृत्व हुन्छ । उहाँको नेतृत्व ३ वर्षसम्म चल्छ । उहाँको अजेण्डा प्रवेश गर्छ । उहाँको अजेण्डा परिमार्जित गरेर पदाधिकारी बैठक र कार्यसमितिबाट अप्रूभ गरेर हामी काम गर्छौ । व्यक्तिगत मेरो अजेण्डा शेखर गोल्छापछि कार्यान्व्यन गर्छु । आधारभूत कुरा गर्दा मैले के भने भनेँ शेखर गोल्छाजीले शुद्धिकरण र सुदृढिकरण गर्नुभएको छ । शुद्धिकरणबाट महासंघको साखलाई उच्चस्तरमा पुर्याउने । सुदृढिकण भनेको बलियो बनाउने हो । दुवै कुरा उहाँले राखेको हुनाले हामी त्यसमा सहमत भएका छौं । हाम्रो टिमको साझा अजेण्डाहरु छन् । 

अर्थतन्त्रका विज्ञहरुलाई राखेर रोडम्याप बनाउँदै हुनुहुन्छ, त्यसलाई हामीले हुबहु अनुसरण गरेर, वा केही संसोधन गरेर भए पनि अगाडि बढ्ने हो । हामीले १० वर्षका लागि मास्टरप्लान बनाएका छौं । 

पण्डित नेहरुले भारत स्वतन्त्र भएपछि १०० वर्षको भिजन इण्डियालाई दिए । त्यो एकदमै परिपक्व भिजन भएर आजसम्म केही संसोधन गर्दै त्यो भिजनअनुसार नै देशको एउटा लाइन अफ ट्रयाक चलेको छ । 

यस्तो अवस्थामा हाम्रो हुनेवाला अध्यक्षले पनि १० वर्षका लागि एउटा भिजन दिने प्रयास गर्नुभएको छ । त्यो बनिरहेको छ । त्यो भिजनलाई उहाँले कुर्सीमा बसेपछि पदाधिकारी र कार्यसमितिबाट पास गराइनेछ । जिल्लानगर उवासंघसँग सरसल्लाह गरेर पास गर्ने योजना बनाउनुभएको छ । त्यसमा हाम्रो पनि इनपुट जान्छ । मेरो र उहाँको अजेण्डा अब ६ वर्षसम्मका लागि सेट भयो । 

यहाँ त प्रधानमन्त्री बदलियो, सिंगो देशको कानून नै बदलिन्छ । जसले गर्दा देशले स्थायी रुपमा काम गर्न पाउँदैन । गरीबीको रेखामुनि बस्नुपर्ने कारण यही हो । एउटा प्रमले बनाएको योजनालाई अर्कोले आएर तोड्ने नराम्रो चलन छ । पब्लिकले त्यसको क्षति भोग्नुपर्ने अवस्था बन्छ । 

उद्योग वाणिज्य महासंघमा निहीत व्यक्तिगत स्वार्थ लिने व्यक्तिले यो संस्थालाई रुल गर्न खोजिरहेको छ । जसको विरोधमा हाम्रो सत्यताको लक्ष्य लिएर खडा छौं । विगत केही वर्षमा असत्य हाबी भयो, सत्य गौढ भयो । सत्यको विजय हुनका लागि, सत्यको पथमा हिँड्नका लागि हाम्रो टिम लागेको छ । मेरो प्रत्यासी साथीलाई पनि हाम्रो अनुरोध छ, सत्यमा विश्वास भएर अगाडि बढौं, सत्यताका आधारमा उवासंघलाई अगाडि बढाऔं । 

हिजो असत्य हाबी थियो भन्ने कुरालाई अझ बढी व्याख्या गरिदिनुस् त । हिजोको महासंघको पदाधिकारीमध्येमा तपाई पनि हुनुहुन्थ्यो । असत्य हाबी हुँदा हिजो चाहि किन चूप लाग्नुभयो?
सत्य र असत्यको विषयमा मान्छेले हेर्ने दृष्टिकोणको परिभाषा मैले गरेको हुँ । पब्लिकले हामीलाई हेर्ने गरेको दृष्टिकोण विगत केही वर्षहरुमा यिनीहरु आउटअफ ट्रयाक भए भन्ने हो । भन्न खोजेको के हो भनेको असत्यको बाटोमा गए भन्ने व्यापक चर्चा भयो । विश्लेषण गर्ने म बहादुर व्यक्ति होइन, तर पब्लिकले भनेको कुुरालाई ध्यानपूर्वक सुनेर हामीले विश्लेषण गर्यौं भने हामी धेरै चुकेछौ भन्ने लागेको छ । जस्तो सरकारसँग डिल गर्ने कुरामा हामी चुक्यौं । 

हामीले जनताले जे भन्छ, त्यो कुरालाई फलो गर्ने हो । उवामहासंघ राइट ट्रयाकमा थिएन भन्ने कुराको आवाज जनताले उठाइरहेका छन्।

व्यवसायीहरुको रियल इस्यूजहरुलाई हामीले सम्बोधन गर्न सकेनौं । भनेपछि आउट अफ ट्रयाक भइएछ । हामीले समयसापेक्ष गृहकार्य नगरेर आफूलाई स्थापित गर्न सकेनौं, व्यवसायलाई अझ वृद्धि गर्न सकेनौं । 

उदारीकरण र उत्पादकीय क्रियाकलापमा महासंघले खेल्न सक्नुपर्ने भूमिका खेल्न सकेन । अन्तर्राष्ट्रिय क्षेत्रको व्यापार र लगानीमा हाम्रो रोल उत्कृष्ट हुन सकेन । एकअर्काप्रति विश्वास गर्ने क्षमताको वृद्धि गर्न सकेनौं । यो सबै ल्याक अफ कन्फिडेन्सले भयो । त्यो कन्फिडेन्सलाई बढाउने हो, पुल गर्ने हो । हिजोको अवस्थामा सबै मैले भनेका कारण यिनीहरु असत्य बाटोमा हिँडे भन्ने दोष लाग्यो । 

अब सरकारले हाम्रो कुरा मानेन् भने भिड्नसक्ने क्षमता राख्नुपर्यो । सत्य असत्यको कुरा लिएर हामीले सरकारसँग भएन भने हामी सडकमा उत्रिन समेत तयार हुनुपर्यो । उद्योग व्यवसायको साँचो बुझाउनसक्ने क्षमता राख्नुपर्छ अबको नेतृत्वले । 

भोलिका दिनमा हामीले कृषि क्षेत्रमा आन्दोलनकारी भूमिका निर्वाह गर्नसक्नुपर्छ । हामीले वनउद्यमलाई प्रवद्र्धन र निकासीमा लाग्नुपर्यो । हामीसँग भएका उर्जाहरुको अधिकतम प्रयोगमा लाग्नुपर्यो । हामीसँग पूर्वाधारको कमी छ, त्यसलाई सरकारसँग झगडा गरेर भए पनि अगाडि बढ्नुपर्नेछ । 

हामीले गरेका कमीकमजोरीलाई दूर गरेर महासंघको शिर ठाडो गर्ने अवस्था बन्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रेसिडेन्ट जाँदा भनोस् न सबैले एफएनसीसीआईको प्रेसिडेन्ट गइरहेको छ । झण्डा हल्लाउन पाउनुपर्यो हामीले । एउटा सहायकमन्त्री, जसलाई देशको बारेमा एबीसीडी थाहा हुँदैन, उसलाई चाहि राष्ट्रिय झण्डा हल्लाएर हिँड्न पाउने अधिकार हुने, देशको समग्र अर्थतन्त्रलाई कमाण्ड गरेर हिँडेको हाम्रो प्रतिष्ठित प्रेसिडेन्टले चाहि एउटा सरकारी झण्डा पनि हल्लाउन नपाउने ? हामीले यो अधिकारलाई दिन्छ भने सजिलैसँग लिने हो, होइन भने खोसेर लिने हो ।

हामीले अबको दिनमा सरकारसँग सहकार्य गरेर हाम्रा अधिकार लिन्छौ । दिंदैन भने हाम्रा अधिकार खोसेर पनि लिन्छौ । अब अवसरहरुबाट बञ्चित भएर, पछि पछि लागेर चाहि अब बस्दैनौं । 

मान्छेले यसो पनि भन्छन् नि हिजोको दिनमा पनि चन्द्र ढकाल, किशोर प्रधान सबै टिममै हुनुहुन्थ्यो । विगतमा तपाईहरुले निर्वाह गरेको भूमिकाको विषयमा पनि त प्रश्न उठ्ला नि ?
प्रेसिडेन्सियल रुल्स अफ अर्गनाइजेसन हो हाम्रो । जबसम्म हामी प्रेसिडेन्टको पावरमा पुग्दैनौं, हामीले केही गर्न सक्दैनौं । हामी भाइस प्रेसिडेन्ट हौं, तर भिजन प्रेसिडेन्टको हुन्छ । त्यही भिजनमा हामी हिँड्नुपर्ने बाध्यता हुन्छ, हाम्रो भिजन त्यहाँ लागू हुँदैन । 

अब हुने फ्रस्ट म्यान(शेखर जी) र मेरो भिजन मिलेको हुनाले हाम्रो मजबुत टिम बनेको हो । उहाँ र हाम्रो भिजनको फ्यूजनले देशको आर्थिक दिशालाई समग्र परिवर्तन गर्ने अवस्था बन्छ । कृषक, मजदूर, उद्योगी र व्यवसायीले मात्र होइन, समग्र देशका जनताले शिर उठाउने अवस्था बनाइदिन्छौं । 

अबको अध्यक्ष शेखर गोल्छा । चुनाव जित्नुभयो भने तपाई वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ । १० वर्षे रोडम्यापको कुरा गर्नुभएको छ ? कस्तो हुन्छ यो रोडम्याप ?
हेर्दै गर्नुहोला, अबको ६ वर्षपछि नै विनोद चौधरी, कुशकुमार जोशी, महेशलाल प्रधानले गर्नुभएको सबै राम्रो काम बिर्साउने गरी हाम्रो टिमले काम गर्नेछ । हाम्रा अजेण्डामा सरकारको सहयोग रह्यो भने देशको आर्थिक उन्नतिको दिशा नै परिवर्तन गरिदिन्छौं । जीडीपीलाई डबल डिजीटमा पुर्याउन हाम्रो सहयोग हुन्छ । कृषिलाई आत्मनिर्भर बनाउने कुरामा हाम्रो योगदान रहन्छ । आयातमुखी कृषिलाई ६ वर्षभित्र कमसेकम ९० प्रतिशत कम गरिदिन्छौं, १० प्रतिशत मात्र डिपेडेन्ट बनाइदिन्छौं । १० वर्षभित्र निर्यातमुखी बनाउँछौ कृषिलाई ।

अहिलेको हाम्रो जडीबुटी कौडीको भाउमा बिकिरहेको छ, यसलाई मूल्यवान बनाएर अन्तराष्ट्रिय बजारमा लग्छौ । हामीबाट लगेको जडीबुटीबाटै डाबरले अन्तर्राष्ट्रिय लेभलको ब्राण्ड बनायो, पतञ्जलीले ब्राण्ड बनायो । हामीले खोई गरेको ? 

जलविद्युतको क्षेत्र हेर्नुहोस्, अपार सम्भावना छ । विगत गएका केही वर्षमा निजी क्षेत्रको प्रयासले कमसेकम लोडसेडिङबाट हामी मुक्त भयौं । अब पनि यो क्षेत्रको विकासमा लाग्ने हो । 

अहिले विदेशबाट १०–१२ लाख मानिस फर्किने अवस्था छ । बाहिर जति कमाइरहेको छ, त्यति कमाई यही हुने वातावरण हामीले बनाउनुपर्छ । उस(श्रमिक)लाई एउटै कुरा मात्र हामीले बुझाउनुपर्छ, जुन इमानदारिताले तिमीले त्यहाँ काम गर्यौं, त्यही इमानदारिताले यहाँ काम गर, त्योभन्दा बढी पैसा लिएर जाऊँ । यो बुझाउने कुरामा कमी कमजोरी भयो । यहाँ त श्रमिकको नाममा राजनीति भयो, राजनीतिक गर्नेसँग मिलेर जूवा खेल्ने काम मात्र भयो । 

तपाईको प्रत्यासीले एउटा विषय उठाउनुभएको छ । महासंघका नेताहरु सहज उपलब्ध भएनन् भनेर । उहाँले आफू सहज उपलब्ध हुने र २४ सै घण्टा उद्योगी व्यवसायीको समस्या सुन्न र समाधानमा क्रियाशील हुने भन्नुभएको छ । यो विषयमा तपाईको कुनै प्रतिबद्धता ?
उहाँहरुले सरासर गलत बोल्नुभएको छ । उहाँ कसरी इजी एक्सेस हुनसक्ने मान्छे हो ? जुन मान्छेको ठूला ठूला उद्योग छन्, बैंक छ, व्यवसाय बढी छ, त्यो मान्छे इजी एक्सेस बन्छ भन्ने कुुरा मूर्खले मात्र मान्छ । व्यवसायले गर्दा ऊ व्यस्त हुनुपर्छ । त्यसमा उसलाई दोष दिनु पनि हुन्न । तर, त्यो मान्छेले म इजी एक्सेस हुन्छु भन्छ भने त्यो झूठो बोलेको हो । मान्छेलाई भ्रमित गरेको हो । उहाँ ठूलो उल्झनमा हुनुहून्छ, उहाँले फोन उठाउन सक्नुहुन्न, त्यो उहाँको बाध्यता हो । मैले दैनिक भेट्नसक्ने अवस्था इजी एक्सेस हो कि उहाँले सातामा एकपटक भेट्ने अवस्था ? साथीहरुले बुझ्नुभएको छ, को इजी एक्सेस हुन्छ भन्ने कुरा । 

हाम्रा भोटरहरुले इजी को छ या छैन बुझिसकेका छन् । यसको बहस धेरै नगरौं । 

शेखर जीले त्यही दुःख नहोस्, साथीहरुसँग डिसकनेक्ट नहोस् भनेर इजी एक्सेस भएकाले हामीलाई त्यो पदमा लग्न खोज्नुभएको हो । मेरो अनुपस्थितिमा पनि काम गर्छ भनेर उहाँले हामीलाई सपोर्ट गर्नुभएको हो । एउटासँग टाइम छैन, एउटासँग टाइम छ । राम्रो फ्यूजन छ हाम्रो टिममा । अहिले पनि महासंघका कर्मचारी र भोटरलाई सोध्नुहोला, विगत ६ वर्षमा सबैभन्दा इजी एक्सेस भएको भाइस प्रेसिडेन्ट को हो भनेर  । सबैले कुरा बुझिसकेका छन्, फूलबुट्टा लगाउन आवश्यक छैन । 

विधान संसोधनको विषयमा महासंघ धेरै समय रुमल्लियो । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था परिवर्तनका प्रयास पनि नभएका होइनन्, तर ती प्रयास सफल भएनन् । विधान संसोधनको त्यो कोर्स अब अन्त भएको हो ?
होइन । हाम्रो विधानमा धेरै त्रुटिहरु छन् । हिजोको दिनमा विधानलाई आफ्नो तरिकाले व्याख्या गरियो, केही व्यक्तिले आफ्नो सुविधाअनुसारको कुराहरु विधानमा हालेर समस्या सिर्जना गरे । विधानलाई रिराइट नै गर्नुपर्ने अवस्था आएको छ । हामीले धेरै त्रुटि गर्यौं, त्यसको दोषी म पनि हो, हामी सबै हौं । त्रुटि सच्याउनुपर्छ । 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रक्रियामा एउटा टर्म गइसक्यो । अहिलेको चुनाव पनि त्यही विधानअनुसार भएको छ । अर्को इलेक्सन हुनुुभन्दा अगाडि नै विधान संसोधन गरेर प्रत्यक्ष निर्वाचनमा जाने भनेर हामीले सोचेका छौं । म त्यो पक्षमा छु । म वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको विधान कायमै रहँदा म स्वतः अध्यक्ष हुन्छु । तर, मलाई त्यो लोभ छैन । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएर म भिडेरै अध्यक्ष बन्न चाहन्छु । साधारण सदस्यको मनको कुरा जे छ, त्यो गर्नुपर्छ । अहिलेकै विधान होस् वा संसोधन होस् हामीले मान्नुपर्छ । म जस्तोसुकै परिस्थिति स्वीकार गर्न तयार छु । 

म मात्र होइन, हाम्रो टिम नै त्यसका लागि तयार छ । हाम्रो टिममा सक्षम नेतृत्व लिनसक्ने व्यक्तिहरु हुनुहुन्छ । जिल्लानगरमा दिनेशजी आउनुभयो, उहाँको ज्ञानमा केही कमी छैन । वस्तुगतमा अञ्जन जी आउनुभयो, उहाँ आफैं वस्तुगतको ज्ञाता हुनुहुन्छ । एशोसिएसटमा सुरुदेखि नै एशोसिएट सदस्य भएर धेरै काम गरिसक्नुभएका निपुण व्यक्ति सौरभ ज्योति हुनुहुन्छ । अनुभवी र खारिएका व्यक्तिको रुपमा हामी छौं । जानकार, बुद्धिमान र युवा शक्तिको रुपमा उहाँहरु हुनुहुन्छ । हाम्रो साच्चिकै राम्रो टिम छ, शेखरजीलाई यति राम्रो टिम बनाउनुभएकोमा हामीले स्यालुट गर्नुपर्छ । 

अहिलेसम्मको अवस्थामा तपाईको चुनावी हिसाबकिताब चाहि के हो ?
आजको दिनमा ७० प्रतिशत मतदाता हाम्रो पक्षमा छन् । 

यो त चुनावी कुरा मात्रै होला !
होइन, सत्य यही हो । निर्वाचनको परिणाम के हुन्छ, त्यो त्यतिबेलै थाहा हुन्छ । तर, अहिले हाम्रो एकछत्रजस्तो अवस्था छ । आजको मितिमा ७० प्रतिशत मतदाता हाम्रो पक्षमा छन् । यहीकारण हाम्रा मित्रहरु बढी आत्तिनुभएको छ ।