►केशवराज केसी
नायब महाप्रबन्धक-सानिमा लाइफ इन्स्योरेन्स कम्पनी

सानिमा ग्रुप विशुद्ध नेपालीहरुको लगानी रहेको व्यवसायिक समूह हो। बीमा समितिले पछिल्लोपटक स्वीकृति दिएका ९ कम्पनीमध्येको एक, सानिमा लाइफ इन्स्योरेन्सको औपचारिक उद्घाटन २०७४ साल मंसिर २२ गतेका दिन भएको हो । 

पछिल्लो पटक स्वीकृति पाएका ९ नयाँ कम्पनीमध्ये व्यवसायिक हिसाबले हामी ८ औं नम्बरमा पर्छौ ।

सानिमा ग्रुपको बजारमा राम्रो इमेज भएका कारण भने फ्रन्टलाइनमा  छ । ओरिजिनिल नेपाली ग्रुपबाट सञ्चालित यस इन्स्योरेन्स कम्पनी पनि शुद्ध स्वदेशी कम्पनी हो । अन्य बीमा कम्पनीबाट प्राप्त प्रतिफल विदेश जानसक्ने सम्भावना रहन्छ, तर लगानीकर्ताले गरेको आयआर्जन स्वदेशमै रिटेन हुने हुँदा सानिमा लाइफमै बीमा गर्नुपर्छ ।

सानिमा लाइफका ५ वटा प्रडक्टमध्ये ४ वटा प्रडक्ट अरुसँग मिल्दाजुल्दा छन् । एउटा भने अलिक पृथक छ—सानिमा बालसौगात । नेपालीका लागि निकै आकर्षक यो पोलिसीमा बीमा गरेको पहिलो ५ वर्ष प्रतिहजार बीमाङ्कमा ६५ रुपैयाँ बोनस ग्यारेन्टेड छ, जुन बीमा समितिबाट पनि स्वीकृत भइसकेको हो । यो स्किममा ३ महिनाको बच्चादेखि बीमा गर्न सकिने व्यवस्था छ । यसमा अर्को थप व्यवस्था अन्तर्गत १७ औं जन्मोत्सवमा २० प्रतिशत, १८ औंमा २० प्रतिशत, १९ औं मा २० प्रतिशत, २० औंमा २० प्रतिशत र २१ औंमा बाँकी २० प्रतिशत र बीमा अवधिभर आर्जित बोनस एकमुष्ट दिइन्छ ।

त्यसपछि ५ वर्ष कम्पनीका तर्फबाट निःशुल्क जोखिम बहन गरिदिने व्यवस्था हुन्छ । विदेश जाने युवायुवतीलाई विशेष फोकस गरी यो स्किम बनाएका हौं ।

हामी राष्ट्रवादी !


इन्स्योरेन्सको पुनर्बीमा नेपालमै नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडमा गरेबाट पनि हामीमा अथाह राष्ट्रवादी भावना रहेको पुष्टि हुन्छ ।

सानिमा ग्रुपले बैंक, लाइफ, ननलाइफ इन्स्योरेन्स कम्पनी, विभिन्न हाइड्रोपावर प्रोजेक्टमा लगानी गरेको छ भने निकट भविष्यमै यो समूहले धुम्बाराहीमा चारतारे होटल समेत संचालनमा ल्याउँदैछ । यी सबै लगानी राष्ट्रको विकास, रोजगारी सिर्जना र समग्र सरकारले लिएको समृद्धिको यात्रामा सघाउने खालका छन् । 

५ वर्षमा तेश्रो बन्ने लक्ष्य
अबको ५ वर्षपछि यस इन्स्योरेन्सलाई नयाँ कम्पनीहरुमध्ये तेस्रो पोजिसनमा उभ्याउने सोचले हाम्रो टिम  अगाडि बढिरहेको छ । 

सानिमा लाईफको बलियो पक्ष भनेकै हाईटेक सर्भिस(पेपरलेस सर्भिस) हो । पारदर्शी र उत्तरदायी सेवा यसका थप सकारात्मक पक्ष हुन् ।

सानिमाका १२ सय एजेन्सीबाट सेवाग्राहीले सेवा लिइरहेका छन् । पछिल्लो समय बैंकासुरेन्स गर्ने प्रचलन बढेसँगै सानिमा, माछापुच्छे, मेगा र सेञ्चुरी बैंकसँग हामीले सो सम्बन्धी सम्झौता गरेका छौं र पोलिसीहरु पनि राम्रै पाइरहेको अवस्था छ ।

स्वास्थ्य उपचारमा सहुलियतका लागि सामुदायिक नागरिक हस्पिटल, मेडिसिटी र मेडिकेयर हस्पिटलमा हाम्रा ग्राहकलाई १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाएका छौ । यो सेवा थप बिस्तार गर्दै लैजाने हाम्रो योजना छ ।

आजका मितिसम्म २२ वटा शाखाबाट सेवा प्रदान गरिरहेका हामीले आ.व. २०७५/०७६ मा थप ४५ वटा शाखा विस्तार गरी ६७ वटा शाखा सञ्जाल पुर्याउने योजना छ । अबका ४५ वटा शाखा प्रान्तीय आधारमा स्थापना हुनेछन् ।

आ.व.०७५/०७६को अन्त्यतिर एजिएम(वार्षिक साधारणसभा)बाट पास गरेपछि सर्वसाधारणका लागि प्राथमिक सेयर समेत निश्कासन गर्ने हाम्रो लक्ष्य छ । 

जसको आयस्रोत छैन, उसको मात्र घटिरहेको, तर आयस्रोत हुनेको आय मल्टिप्लाई भइरहेकाले बीमाको भविष्य उज्वल रहेको हाम्रो ठम्याई छ ।

बिमा: हिजो र आज
उहिले इन्स्योरेन्स औसतमा १२०००० हुन्थ्यो, ५ लाख गर्ने त दुर्लभ थिए । अहिले समयले कोल्टे फेरेको छ । अहिले ५ लाख भन्दा तल जोकोही चाहँदै चाहँदैनन् ।

६/७ महिनाको अवधिलाई हेर्दा हाम्रो कम्पनीबाट औसत ६/७ लाख प्रतिव्यक्ति बिमांक र औसत प्रिमियम ४८ हजार रुपैयाँ छ । १३ वर्षअघि औसत इन्स्योरेन्स १ लाख २० हजार रहेको थियो ।

३७ सालतिर  राजा महेन्द्रका भाइबुहारी हेलेन शाहले ३ लाखको बिमा गरेको बिषयले निकै ठूलो चर्चा पाएको थियो । तर, अहिले ३ लाखको बिमा त सबैभन्दा तल्लो तहको कर्मचारी(पियन)ले नै गर्न थालिसके । 

मलाई अझै सम्झना आउँछ, नेपाल विद्युत प्राधिकरणका तत्कालीन डिजीएम तारा बज्राचार्यले १५ हजारको बिमा गरेका थिए, सो बेला ५/१० हजारमै पनि सर्वसाधारणले बीमा गर्थे । त्रि.वि. का प्रोफेसर तुलसीप्रसाद भट्टराईले म बीमा संस्थानमा हुँदा महिनाको प्रिमियम २५ रुपैंया तिर्ने गरी ५ हजारको बीमाङ्क गरेका थिए ।

अथाह संभावना
राज्यले बीमा व्यवसाय विस्तारका लागि प्रचारप्रसार गर्नुपर्ने  र जनताको आर्थिक वृद्धिका उपाय रच्न सके नयाँ तथा पुराना १८ वटा जीवन बीमा कम्पनीहरुका लागि प्रशस्तै विजिनेश छ । 

सिङ्गापुरमा ५० लाख जनता छन्, तर पोलिसी ५६  लाख वटा बिक्री भएको तथ्यांक बाहिर आएको छ । यसको अर्थ त्यहाँ एकै व्यक्तिले १ भन्दा बढी पोलिसी लिएको देखिन्छ । हाम्रो देशमा पनि ५० प्रतिशत जनताले मात्र बिमा गरे भने पनि कम्पनीहरुलाई प्रशस्तै विजिनेश हुन्छ । तसर्थ नेपालमा बिमा अथाह संभावना छ । जति छिटो बिमा चेतना प्रभावकारी ढंगले फैलाउन सकिन्छ, त्यति छिटो व्यवसायको बिस्तार हुनेछ । 

हाल नेपाली बीमा व्यवसायको जीडीपीमा २ प्रतिशत मात्र योगदान रहेको छ । कतिपय देशहरुमा विमा क्षेत्रको जीडीपीमा २० प्रतिशतसम्म योगदान समेत रहेको देखिन्छ । बिमाको थप बजार विस्तार गर्न राज्य, सरोकारवाला निकाय लगायत बेलैमा सचेत भए बजारमा अथाहा संभावना छ ।

२४ घण्टाभित्र  दाबीभुक्तानी
बीमा दाबी भुक्तानीमा आवश्यक कागजी प्रक्रिया र बीमा समितिले प्रदान गरेको निर्देशिका बमोजिम गर्ने सिलसिलामा भुक्तानीका लागि ढिलाई र सेवाग्राहीका अलमलले गर्दा कम्पनीको बदनामी हुने गर्छ । अहिलेसम्म सानिमा लाइफले दाबी तिर्नु नपरे पनि सोही दिन वा भोलिपल्ट नै आवश्यक कागजात पूरा गरेको खण्डमा दाबी भुक्तानी दिन कम्पनीलाई समस्या छैन ।

हाम्रो कम्पनीले प्रिमियम बापत जम्मा भएको रकम बीमा समितिको गाइडलाइन अनुसार नै विभिन्न पोर्टफोलियो बनाएर लगानी गरिरहेको छ । हामी गाइडलाइन भन्दा बाहिर जाने त सोच्न पनि सकिँदैन,यस विषयमा हाम्रा लगानीकर्ता र सेवाग्राहीलाई ढुक्क हुन म आग्रह गर्दछु ।

यस कम्पनीमा अहिलेसम्म सबैभन्दा बढी बीमाङ्क १ करोड ४० लाख रहेको छ । उक्त रकम बराबरको बीमा गर्ने २ जना हुनुहुन्छ । औसतमा बीमाङ्क रकम ७ लाख र प्रिमियम बापतको रकम भने ४८ हजार रहेको छ ।

बिमा: मेरो जिन्दगी
४५ वर्षको इन्स्योरेन्सकै करियरमा रमाएको मैले बीमा संस्थानको असिस्टेन्ट पद २०३० साल फागुनबाट जोडिदैं नेशनल लाइफ  इन्स्योरेन्समा १४ वर्ष, नेपाल लाइफ इन्स्योरेन्समा ८ वर्ष र प्राइम लाइफ इन्स्योरेन्समा ४ वर्षको अनुभव सँगाले । केही समय घरमा आराम गरेपछि पुनः गत वर्षदेखि नवउत्साहका साथ सानिमा लाइफमा नायव महाप्रबन्धकका रुपमा काम गर्न थालेको छु ।
(केसीसँग बिजशालाकर्मी
भक्तराज रसाइलीले गरेको कुराकानीमा आधारित)