काठमाण्डौ । केही दिनअघिदेखिको संकेतलाई यथार्थमा परिणत गर्दै बजारले बुर्कुसी मारेको छ । 

साताको दोश्रो कारोबार दिन सोमबार माइक्रोफाइनान्स, बिमा, व्यापार लगायतका समूहमा उछालको अवस्था देखिएसँगै कारोबारमा पनि बढोत्तरी भएको छ । 

कारोबार अवधिभरि झण्डै २० अंकले बढेको बजार बन्द हुँदा १३.५१ अंकको बढोत्तरीमा सीमित भए पनि बजारका अधिकांश समूहको उपसूचक हराभरा भएका छन् । 

यो दिन नेप्से परिसूचक ११४८.८९ को विन्दूमा पुग्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १ अंकको बढोत्तरी देखियो । बलिया तथा राम्रा कम्पनीमा समेत खरीद चाप देखिएकोले सेन्सेटिभ इण्डेक्स २.६५ अंकले बढ्यो । 

बजारमा कारोबार रकम(टर्नओभर) र परिसूचक(इण्डेक्स) समानान्तर ढंगले बढ्दै जानुलाई ‘सुखद भविष्यको संकेत’ मान्नुपर्ने विश्लेषकहरुले बताउने गर्छन । केही दिनअघिदेखि यही प्रवृति देखिइएको थियो । यो प्रवृतिलाई थप बलियो बनाउँदै सोमबारको बजार हराभरा भएको हो । 

बजार हराभरा भएसँगै ब्रोकर कम्पनीहरुमा लगानीकर्ताको खचाखच भीड देखिएको छ । लामो समयसम्म बजार नबढेर निरश उनीहरुमा अभूतपूर्व उत्साह देखिएको बिजशाला संवाददाताहरुले जनाएका छन् । 

लगानीकर्ताहरुले माइक्रोफाइनान्स समूहका सस्ता सेयर मूल्य भएका कम्पनीहरुमा खरीद चाप बढाएका छन् । यस्तै, निर्जीवन बिमा समूहका कम्पनीमा समेत छानी–छानी लगानी बढाएका छन् । जीवन बिमा कम्पनी, बैंकिङ समूहमा पनि उस्तै आकर्षण बढेको देखिएको छ । 

ब्रोकरहरुका अनुसार बजार बढ्ने संकेतसँगै संस्थागत र ठूला लगानीकर्ता समेत बजारमा छिर्न थालेका छन् । यसले समेत बजारलाई बलियो टेवा दिएको छ । ठूला लगानीकर्ताको सक्रियता र बलियो बनेको मनोबल जारी रहेको खण्डमा बजारको बढोत्तरी यात्रा यत्तिकैमा सीमित नहुने कतिपयको दाबी छ । 

यो दिन अन्य र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिए पनि बाँकी सबै समूहको उपसूचकमा हरियाली छायो । 

बैंकिङ समूह ७.९१ अंकले बढ्यो भने व्यापार समूहमा १६.६३ अंक, होटल समूहमा १३.०६, विकास बैंक समूहमा २८.१५, जलविद्युत समूहमा १६.८, वित्त समूहमा ७, निर्जीवन बिमा समूहमा १५६.३४, उत्पादन तथा प्रशोधन समूहमा २९.७३, माइक्रोफाइनान्स समूहमा ५०.४३ र जीवन बिमा समूहमा ६०.९८ अंकको बढोत्तरी भयो । 

प्रतिशतका हिसाबले व्यापार, निर्जीवन बिमा र माइक्रोफाइनान्स समूहको सूचकमा उछाल आएको देखिएको छ । यी तीनवटै समूहको परिसूचकमा ३ प्रतिशत भन्दा बढीको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीइका १४ लाख ५९ हजार ७०० कित्ता सेयर ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल बैंकले २ करोड २८ लाख बढीको कारोबार गरेको छ । 

यस्तै, एनएमबी बैंकले १ करोड ८६लाख, डिप्रोक्स लघुवित्तले १ करोड ७० लाख, स्वाबलम्बन लघुवित्तले १ करोड ६६ लाख, हिमालयन डिस्टीलरीले १ करोड २२ लाख, प्रभू बैंकले १ करोड १७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १७ लाख, बुटवल पावर कम्पनीले १ करोड ६लाख, स्वरोजगार लघुवित्तले ९१ लाख र निर्धन उत्थान लघुवित्तले ८४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । 

यसैगरी, नेपाल सेवा लघुवित्त, समीट माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, अरुण काबेली पावर लिमीटेड र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 
यो दिन आँधीखोला लघुवित्त, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ९ प्रतिशतको हाराहारी तथा सपोर्ट माइक्रोफाइन्सका लागि लगानीकर्ताले ८ प्रतिशत तथा विजय लघुवित्तका लगानीकर्ताले ७ प्रतिशत भन्दा माथिले सम्पत्ति बढाए । 

यो दिन बजारमा कारोबार भएका १७३ कम्पनीमध्ये १७ कम्पनीले मात्र गुमाए भने बाँकी १५६ कम्पनीमा सेयरधनीले कमाए । 

गुमाउने कम्पनीको सूचिमा सिभिल बैंक र लक्ष्मी बैंक समेत समेटिए ।