काठमाण्डौ । आइपीओले लगानीकर्तालाई कसरी मालामाल बनाइदिनसक्छ भन्ने कुरा अपर तामाकोशीले पुष्टि गर्न थालेको छ । यो कम्पनीको आइपीओले लगानीकर्ताहरुलाई ३ दिनको अन्तरालमा १९ अर्ब ३७ करोड रिटर्न दिएको छ । जुन झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ । 

अपर तामाकोशी हाइड्रोपावर प्रोजेक्टको आइपीओले कारोबारमा आएको ३ दिनमै लगानीकर्तालाई १८३ प्रतिशतको रिटर्न दिएको हो । 

यो कम्पनीले सर्वसाधारणका लागि खुलाएको १० करोड ५९ लाख कित्ता आइपीओमा अचाक्ली आवेदन परेको थियो । कम्पनीले आइपीओ बाँडफाँड गरी नेप्सेमा सूचिकृत हुन र कारोबारमा ल्याउन केही समय लागेको थियो । 

तीन दिनअघिदेखि अपर तामाकोशीको सेयर दोश्रो बजारमा कारोबार सुरु भएको थियो । तामाकोशीको सेयरको सुरुवाती कारोबार रेञ्ज ७४.८९ देखि २२४.६७ रुपैयाँ तोकिएको थियो । 

सुरुवाती रेञ्जबाटै छलाङ मारेको यो कम्पनीको सेयर मूल्य त्यसपछि हरेक दिनजसो उच्च अंकले बढिरहेको छ । 

पछिल्ला २ दिनमा अपर तामाकोशीको सेयरमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजिटिभ सर्किट नै लगाउनु परेको छ । 

बुधबार पनि कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो दिन कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २८३ रुपैयाँ रहेको छ । 

यसको अर्थ प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ पार्ने भाग्यमानीहरुले कारोबार सुरु भएको ३ दिनको अवधिमा १८३ रुपैयाँको चोखो रिटर्न पाएका छन् ।

यसरी हेर्दा रु. १०० को दरले आइपीओ खरीदमा लगानीकर्ताको १० अर्ब ५९ करोड लगानी भएको देखिन्छ । यसले बुधबारसम्म दिएको रिटर्नको हिसाब गर्दा १९ अर्ब ३७ करोड हुन पुगेको हो । अर्थात १० अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी ३ दिनमै बढेर २९ अर्ब ९६ करोड ९७ लाखको उचाईमा पुगेको छ ।

‘यो कम्पनीको आइपीओ निश्कासन हुँदा नै यसलाई सुनको अण्डा दिने कम्पनी भनिएको थियो, जुन वास्तविकता बन्दैछ ।’ एक लगानीकर्ताले भने–‘लगानीकर्ताका लागि राम्रो कम्पनीको आइपीओ कतिसम्म फलिफापसिद्ध हुन्छ भन्ने कुरा पनि अपर तामाकोशीले देखाएको छ ।’ 

विगत २ दिनदेखि नेप्सेको मार्केट डेप्थ हेर्दा अपर तामाकोशीमा निकै ठूलो खरीद आदेश देखिन्छ । तर, त्यो आदेशसँग म्याच हुने गरी बिक्री आदेश नआउँदा त्यसको सेटल हुनसकेको छैन । 

बुधबारसम्म मात्रै अपर तामाकोशीको ११ लाख ९ हजार १ सय ६७ कित्ताको खरीद आदेश आएको छ, बिक्री गर्नेहरु नहुँदा यसको कार्यान्वयन हुन नसकेको देखिएको छ । यसले आगामी दिनमा कम्पनीको सेयर मूल्य अझै माथि पुग्छ भन्ने स्पष्ट संकेत गर्दछ । 

बजार विश्लेषकहरुले अपर तामाकोशीको सेयर केही दिनसम्म अझै बढ्ने दाबी गरेका छन् । ‘यही हिसाब हो भने त ५०० रुपैयाँ सजिलै कट्ने देखियो ।’ एक सक्रिय लगानीकर्ताले भने–‘अपर तामाकोशीले सबैलाई मालामाल बनाइदियो ।’