काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको चलखेल र गडबडीका कारण शिवम सिमेन्ट र युनिभर्सल पावरको बिहीबार दोश्रो बजारमा सेयर कारोबार हुन सकेन । 

शिवम र युनिभर्सल पावरको दोश्रो बजारमा सुरु हुने कारोबारसँगै नेप्सेले स्पेशल प्रि–ओपन सेसनको नयाँ व्यवस्था गरे पनि सो विषयमा लगानीकर्तालाई बेलैमा सूचना नदिइँदा दुवै कम्पनीको सेयर कारोबार हुन नसकेको हो । 

कारोबारका लागि तमतयार भएर बसेका लगानीकर्ताहरुले स्पेशल प्रि–ओपन सेसनका लागि गरिएको विशेष(नयाँ) व्यवस्थाको विषयमा किन बेलैमा जानकारी गराइएन भन्ने विषयमा शंका उब्जिएको छ । 

यसअघि आइपीओ जारी गरी बाँडफाँडपछि दोश्रो बजारमा सूचिकृत हुने कम्पनीको पहिलो दिनको कारोबार बजारको नियमित समय अनुसार ११ बजेदेखि नै हुन्थ्यो । त्यसैको सेरोफेरोमा ओपन रेञ्ज(सुरुवाती कारोबार मूल्य) पनि तोकिन्थ्यो । तर, शिवम र युनिभर्सलको पालादेखि भने विशेष व्यवस्था गरिएपछि यसले अन्यौल सिर्जना गरी लगानीकर्ताको कारोबार गर्न पाउने हकमाथि पनि प्रहार भएको देखिएको छ । 

यी दुवै कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको थियो । 

बिहीबारदेखि  नै कारोबार रेञ्ज पाएका यी दुई कम्पनीहरुको सुरुवाती  कारोबार स्पेसल प्रि ओपन सेसन भनी १०ः३० देखि १०ः४५ मा हुने भनेर नेप्सेले टीएमएसमार्फत ब्रोकरहरुलाई सूचना पठाएको थियो । तर, यो सूचना बिहीबार १० बजेर १८ मिनेटमा ब्रोकरहरुलाई पठाइए पनि सबै लगानीकर्तामा नपुग्दा(नपुर्याइँदा) यो दिन कारोबार नै भएन । 

बजार खुलेपछि शिवमले पाएको स्टक सिम्बोलको नाममा १६२ रुपैयाँ प्रतिकित्ताको दरले बिक्रीमा राखिएको थियो । प्रतिकित्ता ३०० रुपैयाँ मूल्य हालेर किनेको सेयरको मूल्य घटाउने उद्देश्यले १६२ रुपैयाँको दरले १० कित्ता सेयर बिक्रीमा राखिएको आशंका गरिएको छ । ठूला कारोबारी शिवम्को सेयरलाई प्रतिकित्ता रु. ५०० सम्म पुर्याउन चाहन्छन् । यसले समेत बिहीबार लगानीकर्तालाई बेलैमा जानकारी नदिई गुपचुप कारोबार नहुने अवस्था बनाइएको हुनसक्ने स्रोतहरु दाबी गर्छन । 

नेप्सेले बिहीबारदेखि नै सुरु गरेको स्पेश प्रि ओपन सेसनको व्यवस्थाअनुसार कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबार गर्दा स्पेसल प्रि ओपन सेसन विहान १० बजेर ३० मिनेटदेखि १० बजेर ४५ मिनेटसम्ममा खुल्ला गरिन्छ । यदि यो सेसनमा पहिलो म्याचिङ हुन नसकेमा त्यस दिनमा कारोबार गर्न नपाइने र पहिलो कारोबार म्याचिङ भएपछि त्यसैका आधारमा नियम अनुसार घटबढ गरेर कारोबार गर्न पाइने व्यवस्था गरिएको छ । 

नेप्सेले नियमित कारोबारमा कुनै पनि समस्या नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको दाबी गरे पनि यति महत्वपूर्ण व्यवस्थाको विषयमा लगानीकर्तालाई बेलैदेखि किन जानकारी गराइएन वा यो विषय किन गुपचुप राखियो र बिहीबारको कारोबार म्याचिङ नभएर कारोबार नहुने अवस्था आएपछि मात्र किन बाहिर ल्याइयो भन्ने बिषयमा समेत संशय पैदा भएको छ । 

अनलाइन कारोबार प्रणालीको सफ्टवेयर निर्माता कम्पनी वाइको प्रालिका सीइओ दिपेश प्रधानले यस्तो व्यवस्थाको बारेमा एकहप्ताअघि नै ब्रोकरलाई जानकारी गराईएको र नेप्सेले यो विषयमा लगानीकर्तालाई सुसूचित गर्नुपर्ने बताए । तर, ब्रोकरहरुलाई १०ः१८ मा मात्र यस्तो सूचना आएको देखिन्छ ।  

यस्ता किसिमका नयाँ व्यवस्था हुँदा नयाँ लगानीकर्ताहरुलाई केही समयअघि सूचना प्रवाह गरिदिएको खण्डमा लगानीकर्ताहरुले खरिदबिक्री गर्नबाट बञ्चित हुन नपर्ने भए पनि नेप्सेले गम्भीर लापरबाही गरेको लगानीकर्ताको भनाई छ । नयाँ व्यवस्थाप्रति गुपचुप नीति अवलम्बन गरिनुले शिवमको सेयर मूल्य बढाउन राम्रै चलखेल भइरहेको छ कि भन्ने आशंकालाई जन्म दिन्छ । आक्रोशित लगानीकर्ताहरुले भनेका छन् । 

यस विषयमा बुझ्न खोज्दा नेप्सेका सीइओ चन्द्रसिह साउद र आईटी प्रमुख निराञ्जनसिंह नायक सम्पर्कमा आउन चाहेनन् ।

नेप्सेले शिवम् सिमेन्टको पहिलो कारोबारको लागि १६१.६० रुपैयाँदेखि अधिकतम ४८४.८० रुपैयाँको रेञ्ज तोकिदिएको थियो भने युनिभर्सल पावरका लागि १११.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको सुरुवाती रेञ्ज तोकिएको थियो ।