काठमाण्डौ । काउण्टर साइक्लिक बफरलाई एक वर्षपछि मात्र १३ प्रतिशत पुर्याउने गरी आफ्नो परिपत्रमा परिमार्जन गर्ने विषयमा नेपाल राष्ट्रबैंक सकारात्मक देखिएको छ । 

नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसँगको भेटमा केन्द्रीय बैंकका अधिकारीहरुले त्यस्तो संकेत गरेका हुन् । 

‘हाल ११ प्रतिशतमा रहेको बफरलाई एकैपटक २ प्रतिशत बढाउने परिपत्र संसोधनको विषयमा उहाँहरु सकारात्मक देखिनुभयो ।’ भेटमा सहभागी एक बैंकरले बिजशालासँग भने–‘स्प्रेडको नयाँ गणना विधिको दायरालाई केही फराकिलो बनाउने विषयमा समेत उहाँहरु सकारात्मक देखिनुभएको छ ।’ 

नेपाल बैंकर्स संघको तर्फबाट मौद्रिक नीति र त्यसपछि भएको परिपत्रका केही महत्वपूर्ण बुँदामा पुनरविचारको लिखित माग गर्दै एक टोली बुधबार अपरान्ह ४ बजे राष्ट्रबैंक पुगेको थियो । सो क्रममा टोलीले गभर्नर डा. चिरञ्जिवी नेपाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठ र केही विभागीय प्रमुखहरु भेटेको थियो । 

सो क्रममा राष्ट्रबैंकका गभर्नर तथा उच्च अधिकारीहरु बफर र स्प्रेडको विषयमा केही लचक देखिए पनि उमेर हदको विषयमा भने निकै कडा रुपमा प्रस्तुत भएका थिए । ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालक तथा अध्यक्षको उमेर हदको विषयबाट पनि उहाँहरु पछाडि हट्ने देखिएन ।’ ती बैंकरले बिजशालासँग भने–‘तर, बैंकिङ उद्योगलाई नै थिलथिलो बनाउने गरी भएका केही व्यवस्थाको विषयमा भने अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने भन्दै उहाँहरुले सकारात्मक संकेत गर्नुभएको छ ।’ 

बैठकमा सहभागी एक बैंकरले अन्य देशमा यस्तो नभएको उल्लेख गर्दै राष्ट्रबैंकले हचुवाको भरमा स्प्रेड गणनाको नयाँ विधि कार्यान्वयन गर्न खोजेको दाबी गरेका थिए । तर, ती बैंकरलाई राष्ट्रबैंकका डेपुटी गभर्नरहरुले ‘केन्द्रीय बैंकले पूरा अध्ययनसहित ल्याएको व्यवस्थालाई हचुवाको भरमा आएको भन्ने ? हावाको भरमा राष्ट्रबैंकले यस्तो व्यवस्था ल्याउँछ ?’ भन्दै छलफलमै थर्काएका थिए । केन्द्रीय बैंकका अधिकारीले थर्काएपछि ती बैंकर चूप बनेका थिए । 

छलफलमा सहभागी केही बैंकरले निश्चित समय नै नदिई बैंकका सीइओ र संचालकको उमेर हद तोकिएको भन्दै हठात कार्यान्वयन गराउने निर्णय सही नभएको समेत बताएका थिए । उनीहरुले उमेरको हदमा अहिलेकै व्यवस्था ठीक भए पनि यसको कार्यान्वयनका लागि केही महिना दिने गरी व्यवस्था आउनुपर्नेमा सो हुन नसकेको गुनासो गरेका थिए । ‘आज अफिस आइरहेको मान्छेलाई परिपत्रले भोलिदेखि नै अफिस नआउने अवस्था बनाइदियो ।’ बैंकरहरुले गुनासो गर्दै भनेका थिए–‘यो त अति भयो नि । सबैको आफ्नो इज्जत हुन्छ । थोरै समय दिएको भए यसमा कुनै लफडा नै हुने थिएन ।’