किरणकुमार श्रेष्ठ, सीइओ-राष्ट्रिय वाणिज्य बैंक

बैंक तथा बित्तीय संस्थाहरुबीच मर्जर र एक्वीजिसनको क्रम उत्कर्षमा छ । तपाईंहरुलाई चुक्तापूँजीको हिसाबले समस्या छैन । यहीबेला एनआइडीसी डेभलपमेन्ट बैंकसँगको मर्जरको काम पनि सुरु भएको छ, कहाँ पुुग्यो प्रक्रिया ?
एनआइसी डेभलपमेन्ट बैंकसँग एक्वीजिसनको प्रक्रिया निकै अगाडि बढेको छ । गत चैतमा मन्त्रीपरिषदले नै एनआइडीसीलाई हाम्रो बैंकसँग मर्जरको निर्णय गरेको थियो । निर्णय गरेपछि २ वटा कमिटी बनेका थिए । एउटा सीइओ लेभलको वर्किङको कमिटी पनि छ, त्यसमा हामी दुुई बैंकको सीइओ, नेपाल राष्ट्रबैंकको डाइरेक्टर छौ, यसलाई अर्थमन्त्रालयले संयोजन गरिरहेको छ । अर्को, बोर्ड लेभलको कमिटी पनि बनेको छ । त्यसमा दुुवै बैंकका २÷२ जना संचालक छन्, यो कमिटीलाई पनि अर्थमन्त्रालयले नै संयोजन गरिरहेको छ । दुवै कमिटीले काम सुरु गरेका छन् । दुवैको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भइसकेको छ । हाम्रोतर्फ नेटवर्थ निकाल्ने काम भइरहेको छ भने एनआइडीसी चाहि डिडिएको प्रक्रियामा छ । 

कहिलेसम्म एकीकृत बित्तीय कारोबार सुरु होला ?
हामीले असार मसान्तसम्म टेक्निकल काम सम्पन्न गर्ने भनेका छौ । मलाई लाग्छ, असोजदेखि हामी एकीकृत बित्तीय कारोबार सुुरु गरिसक्छौ । 

सेयर स्वाप रेसियोको बिषयमा केही टुंगो लाग्यो ?
दुवै बैंक सरकारको लगभग पूर्ण लगानीको बैंक हुन् । एनआइडीसीमा चाहि १ प्रतिशतभन्दा कमको पब्लिक सेयर पनि छ । डिडिए गरेपछि पब्लिक सेयरलाई के गर्ने भन्ने कुराको टुंगो लाग्छ, त्यसपछि मात्र सेयर स्वाप रेसियोको बिषय अगाडि बढ्ला । 

तपाईको नेतृत्वपछि राष्ट्रिय वाणिज्य बैंक प्रगतिपथमा लम्किरहेको देखिन्छ । एनआइडीसी समेत गाभिएपछि व्यवसाय, नाफा तथा अन्य सूचकमा कस्तो परिवर्तन आउला ?
निश्चित रुपले पूँजीको हिसाबले हामी बलियो बैंक हुन्छौ, किनभने अहिले नै हाम्रो ८ अर्ब ५८ करोड चुक्तापूँजी छ । एनआइडीसीको समेत थपिएपछि पूँजीमा ठूलो फड्को मारिन्छ । अर्को, नेटवर्थ पनि हाम्रो निकै ठूलो वृद्धि हुन्छ । क्यापिटल बेस र ग्राहक संख्या ठूलो हुने भएकोले हामी मर्जरपछि देशकै सबैभन्दा ठूलो विकास बैंक बन्नेछौ । 

राष्ट्रिय वाणिज्य बैंकमा नेतृत्व सम्हालेपछि नेगेटिभ देखिएका कतिपय सूचकमा समेत राम्रो सुधार भएको छ । यो आर्थिक वर्ष सकिँदासम्म बैंकको समग्र अवस्था कस्तो रहला ? 
९ महिनाको रिजल्ट आइसकेको छ, अन्य २ महिना पनि व्यतित भइसकेको छ । हाम्रो यसपटकको लक्ष्य, डिपोजिटमा १ खर्ब ५५ अर्ब र ऋणमा १ सय १ अर्ब ऋणको थियो । खूद नाफा ३ अर्ब माथि गर्छौ भन्ने थियो । एनपिएल २.५ भन्दा तल राख्छौ भनेका थियौं । अहिले डिपोजिटमा हामीलाई चुनौति छ, टार्गेट पूरा गर्नलाई । लोन हाम्रो १ सय २ अर्ब पुुगिसकेको छ । थर्ड क्वार्टरमा २ अर्ब ७ करोड खूद नाफा गरेका छौ, आर्थिक वर्ष सकिसक्दा हामी सजिलै ३ अर्ब नाफा कमाउने लक्ष्य प्राप्ति गर्न सक्छौ । पहिला हामीले हाम्रा लक्ष्यहरु सार्वजनिक गर्दा कतिपयले महत्वकांक्षा बढी भयो पनि भनेका थिए । तर, आजको दिनमा आएर हेर्दा हामी लक्ष्यको नजिक पुुगेका छौ । धेरै आर्थिक सूचकहरुमा व्यापक सुधार गरेका छौ । असार मसान्तसम्म पुुग्दा हामीले प्रक्षेपण गरेका धेरै लक्ष्य पूरा गर्छौ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकको जगेडाकोष ऋणात्मक थियो । तर, चालुआर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा २ अर्ब ९ करोड पोजिटिभ छ । यो कसरी संभव भयो ?
हामीमा आएको उल्लेखनीय र गुणात्मक परिवर्तन नै यही हो । मुनाफा जसरी वृद्धि भइरहेको छ, त्यही नै यसको प्रमुख कारण हो । नेटवर्थ हाम्रो पोजिटिभ छ, यो हिसाबले चालुु आर्थिक वर्ष सकिँदा जगेडा कोष ३ अर्ब माथि पुुग्ने अवस्था छ । यो वर्ष उल्लेखनीय ढंगले कर्जा वृद्धि गर्यौ, त्यसले दिएको प्रतिफल पनि हो नेटवर्थ नेगेटिभबाट पोजिटिभमा रुपान्तरण हुनु । 

मुनाफा कोर विजिनेशबाट मात्र बढिरहेको छ कि, सम्पत्ति पनि बिक्री गरिरहनुुभएको छ ?
हाम्रो कोर विजिनेश नै हो । अचल सम्पत्ति हामीले एउटा पनि बिक्री गरेका छैनौ । खराब ऋण अझ रिकभर भएको थियो भने मुनाफा ४ अर्ब माथि पुुग्थ्यो । 

बैंकको बित्तीय अवस्था हेर्दा खूद ब्याज आम्दानी भन्दा संचालन आम्दानी बढी देखिन्छ । ब्याज आम्दानी बढाउन सकिएन भने जोखिम व्यवस्थापन गर्न चुनौति होला नि ?
जुन चाहि कर्जाको भोल्युम छ, त्यसको भोल्युम दोश्रो क्वार्टरदेखि बढेको छ । त्यसको ब्याज अन्तिम क्वार्टरसम्म आउँछ । त्यसपछि यो फिगरमा तात्विक परिवर्तन आउँछ । तेश्रो त्रैमासको विवरण हेरेरै आत्तिनुपर्ने अवस्था छैन । 

सरकारी बैंक भएकोले रिटायर्ड कर्मचारीलाई पेन्सन खुवाउनुपर्ने । कर्मचारीको तलब, पेन्सन लगायतमा निकै ठूलो खर्च देखिन्छ । तेश्रो त्रैमाससम्मकै विवरण हेर्दा पनि कर्मचारी खर्चमा २ अर्ब ११ करोड खर्च भएको देखियो । अवकाश सुविधा बापत ६० करोड जगेडा गर्नुपर्यो । यसलाई व्यवस्था गर्ने, खर्च कम गर्ने बिषयमा केही सोच्नुुभएको छ ?
हाम्रा कर्मचारी २ प्रकारका छन् । २०५० सालअघि नियुक्त भएका कर्मचारीले पेन्सन पाउँछन्, २०५० पछिका कर्मचारीले उपदान मात्र पाउँछन् । पेन्सनको व्यवस्थापन अहिले हाम्रा लागि ठूलो चुनौति बनेको छ । पेन्सन लिनेहरुको संख्या बढ्दै जाँदा यो बिषयले धेरै जटिलता निम्त्याएको छ । तपाईले एकदम सही रुपमा इण्डिकेट गर्नुभएको छ । अन्य विकल्प भन्दा पनि पेन्सनलाई दीर्घकालीन दायीत्व भन्दा पनि कुन तरिकाले कर्मचारीहरुले पेन्सन भन्दा अन्य विकल्प रोज्छन् र पेन्सन लिइरहेका कर्मचारीहरुलाइ पनि कुन मोडालिटीबाट एकमुुष्ट रुपले पेमेन्ट गर्यो भने लामो समयको दायीत्वबाट संस्थालाई जोगाउन सक्ने र कर्मचारीले पनि पछिसम्मको प्रतिफल एकैपटक अहिले नै पाइयो भनेर अनुुभूत गराउने गरी विन–विनको पोजिशनमा केही काम गर्न सकिन्छ कि भनेर हामीले अध्ययन थालेका छौ । 

कर्जा १ खर्ब २ अर्ब भइसकेको छ भन्नुुभयो । पोहोरको यही अवधिको तुलनामा निस्क्रिय कर्जाको अनुपात त घटेको छ, तर अपेक्षित ढंगले ठूलो सुधार देखिएन नि, किन नि ?

हाम्रो ३ को हाराहारीमा थियो एनपिएल, त्यसबेला कर्जा ८४ अर्ब थियो । अब हाम्रो लक्ष्य एनपीएललाई अझ २.३ प्रतिशतमा झार्ने हो । कर्जा जुन अनुपातमा बढेको छ, त्यो अनुपातमा एनपिएल बढेको छैन । यसमा पनि आत्तिने अवस्था छैन, अहिलेसम्मको अवस्था नियन्त्रणमै छ । 

राष्ट्रिय वाणिज्य बैंक पुरानो सरकारी बैंक हो । यहाँका पुराना कर्मचारीहरु प्रविधिमैत्री छैनन् भन्ने बिषय पटक–पटक उठ्ने गर्छ । पछिल्लो समय नयाँ कर्मचारी भर्नाको प्रक्रिया पनि सुरु गर्नुभएको छ । सक्षम कर्मचारीबाट बैंकको सेवालाई समसामयिक बनाउने बिषयमा केही सोच्नुुभएको छ ?
हाम्रो बैंकको हकमा धेरैपटक भिआरएस(अनिवार्य अवकास कार्यक्रम) आइसकेको छ । अहिले स्वतः रुपमा रिटायर्ड हुने कर्मचारीको संख्या ठूलो छ । हामीले नयाँ कर्मचारी भर्नालाई समेत तीव्र पारेका छौ । अहिले पनि हामीले ४ सय ६० जना कर्मचारी भर्नाको विज्ञापन गरिसकेका छौ । त्योमध्ये १ सय ९५ जनाको लिखित परीक्षा भई रिजल्ट भइसकेको छ । बाँकीको असारभित्रै हुन्छ । यसरी हेर्दा ४ सय ६० कर्मचारी भदौभित्रमा आइसक्छन् । आगामी वर्षभित्र हामीले सहायक स्तरदेखि अधिकृतसम्म न्यूनतम थप ५ सय कर्मचारी भर्ना गर्दैछौ । यसरी हेर्यौं भने २ वर्षको अवधिमा हामीले ९ सय ६० कर्मचारी भर्ना गर्नेछौ । यसले पुरानोलाई प्रतिस्थापन गर्छ । पुराना धेरै अनिवार्य अवकाशमा जाँदैछन्, त्यसकारण अब हामीले भिआरएस ल्याएर कर्मचारीलाई बिदा गर्नुपर्ने अवस्था छैन । चुनौति यत्ति मात्र छ कि, अहिले लोकसेवा आयोगको फ्रेमवर्कभित्र रहेर नयाँ कर्मचारी भर्ना गर्नुपर्छ, कतिपय अवस्थामा समयका कारण त्यो हाम्रा लागि चुनौति बनिरहेको छ ।

बेला–बेला राष्ट्रिय वाणिज्य बैंकलाई पनि पब्लिकमा लैजाने भन्ने कुरा आउँछ । बेला–बेला प्रक्रिया नै सुरु भइसक्यो पनि भनिन्छ । तर फेरि यो बिषय एकाएक सामसुम भइदिन्छ ? यो बिषयमा तपाईसँग कुनै अपडेट छ ?
३० प्रतिशत सेयर पब्लिकमा जाने निर्णय पहिला नै भएको हो । यो बिषय तीव्र गतिमा अगाडि बढेको छैन । कुन समयमा गर्ने, कसरी गर्ने, कुन मोडालिटीमा गर्ने भन्ने छलफल भइरहे पनि प्रक्रियाले गति भने लिन सकेको छैन । 

सरकारी बैंक हाँकिरहनुुभएको छ, बैंकर एक विश्लेषक पनि हो । तपाईको निजी विचारमा मर्जर र एक्वीजिसनको लहर छ नि, यसपछाडिको नेपालको बैकिङ क्षेत्रको परिदृश्य कस्तो बन्ला ? 
मर्जरको जुन उद्देश्य थियो, त्यो सतप्रतिशत पूरा भएन । अहिलेको वाणिज्य बैंकको संख्या घट्ला भन्ने आशा गरिएको थियो । फाइनान्स कम्पनी र विकास बैंकमा धेरै मात्रामा त्यो कुरा लागूू भयो । ‘क’ वर्गका बैंकको सवालमा त्यो कुरा लागूू भएन, हकप्रदबाटै पूँजीवृद्धि गर्नतर्फ लागे । तर, क्यापिटल बेस बढेका कारण यसको सकारात्मक प्रभाव नै होला । यसले बैकिङ क्षेत्रलाई बलियो नै बनाउला । 

क्यापिटल बेस ठूलो भयो । नेपालजस्तो सानो बजारमा त्यो अनुसारको विजिनेश पाउन गाह्रो हुन्छ भन्नेहरु पनि देखिएका छन् ?
नेपालको कुल जनसंख्याको ६० प्रतिशत बैकिङ पहुँचभन्दा बाहिर नै छ । त्यसकारण, यहाँ बैंक धेरै भए भन्दा पनि जहाँ मुनाफा ज्यादा हुन्छ, जहाँ प्रोफिट सेन्टरहरु छन्, जहाँ सुुगम र शहर केन्द्रीत छ, त्यहाँ मात्र बैंक गए  । सरकारले अब ७ सय ४४ स्थानीय तहको केन्द्रमा बैंकहरुको शाखा पुर्याउन भनेको छ, यो काम भयो भने यसले आफ्नो क्यापिटल बेस अनुसार विजिनेश पाउँछन र यसले समग्र मुलुककै आर्थिक विकासमा ठूलो भूमिका समेत खेल्न सक्छ । 

७ सय ४४ स्थानमै बैंकको शाखा खोल्न पनि त चुनौति होला नि ?
बैंक गाउँमा पुर्याउनुपर्छ, यो बिषय निर्विवाद छ । यसका लागि हामीले स्पीडमा जानुपर्यो, हामी आफैंले कर्मचारी भर्ना गर्न पाउँदैनौ । यो प्रक्रियाबाट त्यो म्याचिङ भएन । हामी म्यानुुएल सिस्टममा छैनौ, टेक्नोलोजी बेसमा काम गर्छौ । कनेक्टिीभिटी नपुुगेको ठाउँमा कसरी जाने भन्ने अर्को चुनौति छ । बैंकको पैसा सुरक्षित ठाउँमा राख्नुुपर्छ । सुरक्षा कसरी गर्ने भन्ने अर्को चुनौति छ । हाम्रो कल्चर र काम गर्ने शैली, अभ्यस्त भएका ठाउँ चिरपरिचत ठाउँ नै हो । हामी ६८ जिल्लामा छौ, १ सय ७४ शाखा छन् । हाम्रा लागि भने चुनौतिपूर्ण छैन । तर, सबै बैंकका लागि भनेको बेलामा पूर्वाधार नै नभएको अवस्थामा ७ सय ४४ स्थानमा पुुग्ने भन्ने कुरा चाहि चुनौतिपूर्ण नै होला ।