काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु. २ अर्ब मूल्यबराबरको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ बाँडफाँड सम्पन्न भएको छ ।

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको यो ऋणपत्रमा सतप्रतिशत आवेदन प्राप्त भएको थियो । कुल निष्कासित २० लाख इकाइ ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ इकाइ र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ इकाइ ऋणपत्र जारी गरिएको हो । 

ऋणपत्रको आवेदन गत असोज २३ गतेबाट सुरु भई कात्तिक २२ गते सकिएको थियो । लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा आइतबार बिहान एक कार्यक्रमबीच ऋणपत्र बाँडफाँड सम्पन्न भएको हो ।

कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लक्ष्मी बैंक सन् २००२ मा स्थापना भएको ‘क’ वर्गको वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुका माध्यमबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका देशभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेका छन् ।