काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र आज सोमबारदेखि बिक्री खुला गरेको छ ।

बैंकले ‘१०.२५% कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाएको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ ।

कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन गरिएको छ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस १७ गते र ढिलामा माघ १४ गतेसम्म रहेको छ ।

चालु आर्थिक वर्षमा ऋणपत्र निश्कासनको अनुमति पाउने कुमारी बैंक पाँचौ संस्था हो । यसअघि सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, प्रभू बैंकले १ अर्ब र सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निश्कासन अनुमति पाएसँगै बिक्री गरिसकेका छन् ।

अनुमति पाएकामध्ये लक्ष्मी बैंक र कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । अन्यको ऋणपत्र भने ७ वर्षे अवधिको हो ।

कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो ।

पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु। १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो ।

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् ।

कुमारीले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ ।

कुमारी बैंकको हालको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।