अजयकुमार मिश्र (प्रमुख कार्यकारी अधिकृत)-यूनाइटेड फाइनान्स लिमीटेड

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षभन्दा अलिक ढिलो गरी मौद्रिक नीति सार्वजनिक गर्यो । तपाई लामो समयदेखि बैंकिङ क्षेत्र र यहाँ आउने नीति तथा व्यवस्थाको विश्लेषण गरिरहनुभएको छ । तपाईको विश्लेषणमा यसपटकको मौद्रिक नीति कस्तो आयो ?
अपेक्षाको हिसाबले पहिला हेरौं । मौद्रिक नीति आउनुभन्दा झण्डै १ महिनाअघि राष्ट्रबैंकले विभिन्न अन्तरक्रियामार्फत निकै कडा रुपमा मर्जरको प्रक्रिया अगाडि बढाउने गरी धारणाहरु सार्वजनिक गर्यो । ‘बिग मर्जर’का कुरा आए, ‘फोर्सफूल मर्जर’का कुरा आए, संख्या घटाउने कुरा आए, ‘मौद्रिक नीतिअघि नै सम्झौता गर्नुहोस्’ भन्ने कुरा पनि आए । बजारमा एउटा तरङ्ग आयो । र, केही संस्थाहरु त्यो तरङ्गलाई आत्मासाथ गर्दै मर्जर प्रक्रियामा अगाडि पनि बढे । बजारमा अब चाहि मर्जर होला र बैंकको संख्या १५ देखि २० वटामा झर्छ भन्ने माहौल बनिसकेको अवस्था थियो । मौद्रिक नीति आयो, तर त्यहाँ ती विषय सान्दर्भिक रुपमा सम्बोधन भएनन् । र, मर्जरका लागि जुन इन्सेन्टिभ ल्याएको भनिएको छ, त्यो इन्सेन्टिभले मर्जर हुनेवाला छैन । मलाई मर्जर गर्नुछ, मलाई विजिनेशका लागि मर्जर गर्नुछ भने गर्छु, तर त्यो इन्सेन्टिभ पाइन्छ भनेर मात्रै मर्जर हुनेवाला छ जस्तो लाग्दैन, त्यसैको लोभमा कुनै संस्था अगाडि आउलान जस्तो पनि लाग्दैन । यसर्थ मर्जर गर्ने र बैंकको संख्या घटाउने सवालमा यो मनिटरी पोलिसी मूर्त रुपमा अगाडि आएको छैन । 

विगतका वर्षहरुदेखि नै तरलताका समस्याहरु छन् । क्रेडिट क्रञ्च(तरलता अभाव)का समस्याहरु छन् । त्यसलाई तात्विक रुपमा यो मौद्रिक नीतिले सम्बोधन गर्न सकेको छ जस्तो मलाई लाग्दैन । 

तेश्रो, व्यवसायीको लामो समयदेखिको माग ब्याजदर घट्नुपर्यो भन्ने थियो । कतिपयले यो मौद्रिक नीतिले ब्याजदर घटाउँछ भन्नेजस्ता कुरा पनि गरिरहेका छन्, तर त्यो तात्विक रुपमा घट्दैन । सामान्य उतारचढाव मात्रै हो । यसले व्यवसायीले उठाएका माग पनि सम्बोधन गर्दैन । 

ऋणपत्रको कुरा गत वर्ष पनि आएकै हो । २५ प्रतिशत ऋणपत्रको इस्यूले केही हदसम्म लोनेबल फण्ड चाहि बढ्ला, धेरै ठूलो तात्विक अन्तर यसले पनि ल्याउँदैन । 

यसरी समग्रमा हेर्दा अपेक्षा गरिएको तुलनामा मौद्रिक नीति सशक्त रुपमा आएन भन्ने मेरो बुझाई हो । 

यो पटकको मौद्रिक नीतिअघि ‘बिग मर्जर’ वा ‘फोर्स मर्जर’का कुराले माहौल निकै तताएको थियो । बैंक तथा वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष र सीइओहरु(तपाईहरु)लाई पनि बोलाइयो । क र ख वर्गका बैंकलाई त एकहप्ताभित्रमै मर्जर जोडी खोज्ने उर्दी समेत जारी भयो । त्यो जुन स्पिरिटमा अगाडि बढेको थियो, मौद्रिक नीतिमा त्यो कुराको सही सम्बोधन भएन । के हुनसक्छ यसको कारण ? एकैछिन यूनाइटेड फाइनान्सको सीइओभन्दा पनि विश्लेषकको रुपमा रहेर विश्लेषण गरौं न ?
यसमा दुईवटा कुरा हुन्छन् । एउटा, कुनै पनि पोलिसीहरु लागू गर्दा त्यसको दीर्घकालीन सोंच हुनु आवश्यक छ । अन्तरक्रिया हुन आवश्यक छ । अहिले पत्रपत्रिकामा आएको र बजारमा आएको कुरालाई आधार मान्ने हो भने राष्ट्रबैंक जुन अभियानमा अगाडि बढेको थियो, त्यसमा ठूलो व्यापक सहमति जुट्न नसकेको अवस्था हो कि भन्ने देखिएको छ । त्यो अवस्थामा एक स्टेप ब्याक भएको अवस्था छ। तर, राष्ट्रबैंक कडा रुपमा अगाडि बढिसकेको थियो । हामीलाई बोलाएर कडा निर्देशन समेत दिइसकिएको थियो, यस्तो अवस्थामा समेत ब्याक हुनुले केन्द्रीय बैंकको गरिमामा केही न केही प्रश्नचिन्ह पनि उठाइदिएको छ । 

यसमा धेरै स्टेक होल्डरको लविङले समेत काम गरेको हुनसक्छ । धेरै स्टेक होल्डरहरुले दवाब सिर्जना गरेका पनि हुनसक्लान् । यी विविध कारणहरु हुनसक्छन् ।

तर बेला उचित थियो । पटक–पटक उठेको विषय थियो–बैंकको संख्या धेरै भयो, घटाउनुपर्छ भन्ने कुरा । यसपालिको मौद्रिक नीतिले त्यो अडान कायम राखेको भए तात्विक रुपमा नम्बर घट्थ्यो । 

यो पटकको मौद्रिक नीतिमा मर्जरका लागि प्रोत्साहित गर्ने भनेर ल्याइएका इन्सेन्टिभ पर्याप्त छैनन् भन्ने कुरा अघि तपाईले नै संकेत गरिरहनुभएको थियो । के हुँदा चाहि ती पर्याप्त हुन्थे ? 
अहिले आएको इन्सेन्टिभलाई हेर्नुहोस् न । स्प्रेड रेटमा एकदम सामान्य अन्तर दियौं, एउटै चिज के दियौं भने शाखा खोल्न स्वीकृति लिनु नपर्ने भन्यौं । कार्यविधि आउन बाँकी नै छ, त्यसमा पनि के–के रेस्ट्रिक्सन छ वा छैन भन्ने कुरा नहेरी धेरै बोल्नसक्ने अवस्था हुँदैन । तर मैले काठमाण्डौमा धेरै शाखा खोल्न पाउँछु भनेर मात्रै मलाई त्यसले इन्सेन्टिफाई गर्छ त ? गर्दैन नि । सीइओ, डेपुटी सीइओ र संचालकको ‘कुलिङ पिरियड’ हटाउँदैमा मलाई मर्जरमा जान उत्प्रेरित गर्छ त ? लगानीकर्तालाई त्यो मतलबको विषय होइन । हो, कर्मचारीको लागि मतलबको विषय हुनसक्ला । तर, मर्जर गर्ने त लगानीकर्ताले हो । उनीहरुको इन्ट्रेस्ट केले फूलफील हुन्थ्यो त ? केही ट्याक्स बेनिफिट्सहरु र स्प्रेडमै पनि अलिक ठूलो भिन्नताले प्रोत्साहित गर्न सक्थ्यो । सीसीडीमा फ्लेक्सिबिलिटी दिइएको भए पनि केही न केही प्रभाव पाथ्र्यो । बैंकहरुले भनेकै थिए त–हामी मर्जरमा जान तयार छौं, हामीलाई सीसीडीमा केही फ्लेक्जीबिलिटी दिनुस न त, हामी मर्जरमा जान तयार छौ, हामीलाई ट्याक्स इन्सेन्टिभ्स दिनुस न त । मागेका चिज त यिनै हुन् नि । हामी मर्जरमा जान तयार छौ, हामीलाई ०.५ प्रतिशतको नेट इन्ट्रेस्ट स्प्रेडको एउटा रेञ्ज दिनुस न त पनि भनिएको थियो, यी चिजहरु आएनन् । सेयर होल्डरले मर्जरमा गएर मैले दुई पैसा रिटर्न पाउँछु भन्ने भयो भने न जाने हो । त्यो केबाट आउथ्यो ? कि ट्याक्स बेनिफिटबाट आउथ्यो, कि त सीसीडीको रेटबाट आउथ्यो, की इन्ट्रेन्स्ट स्प्रेडबाट आउथ्यो । त्यो तीनवटै एरियामा यो मौद्रिक नीतिले तात्विक रुपमा त केही पनि दिएको छैन । यसकारण यसले प्रेरित चाहि गर्दैन । तर, स्वस्फूर्त रुपमा जान भने कसैलाई रोकेको छैन । जस्तो यूनाइटेड फाइनान्सकै कुरा गर्दा, म मर्जरमा केही संस्था लिन तयार छु । मलाई इन्सेन्भिट चाहिन्न । यो नलिईकनै मैले २–४ वटा संस्थासँग कुरा गरिरहेको अवस्था पनि होला । त्यो स्वस्फूर्तमा जाने चलिरहन्छ, तर सुविधा पाइन्छ भनेरै चाहि मर्जर हुँदैन । 

भनेपछि मौद्रिक नीतिबाट मर्जरको विषय पहिला धेरै हल्ला भयो । यसकारण समेत मर्जरको इस्यू छाड्न सकिने अवस्था थिएन । अन्तिम अवस्थामा कर्मकाण्ड पूरा गर्न मात्रै यो विषय आएको जस्तो पो देखियो ? 
पहिला बजारमा दिएको इमेजलाई छोप्ने प्रयास मात्र हो । यसले मर्जरलाई तात्विक रुपमा ट्रिगर गर्दैन । 

देशमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भयो भनिन्छ । तपाईहरु पनि भन्नुहुन्छ । संख्या घटे राम्रो हुन्छ पनि भनिन्छ । तर मर्जरबाट संख्या घट्ने बेलामा चाहि यसरी खेल हुन्छ । किन यस्तो हुन्छ ? कसले खेल्छ यसरी ? कसले चाहदैन संख्या नघटोस् भनेर ?
यसका २–३ वटा कारक तत्वहरु छन् । सस्तो शब्द होला, म यसलाई ‘भिजिटिङ कार्ड टेन्डेन्सी’ भन्छु । म फलानो बैंकको संचालक, म फलानो बैंकको अध्यक्ष, म फलानो बैंकको सीइओ भन्ने प्रवृति । मर्जरमा गएपछि दुईवटा बैंक मिलेर पनि १४ वटा संचालक हुँदैनन् । ७ जनाले त छाड्नै पर्छ । भोलि दुईवटा बैंक मिसिँदा एउटा सीइओले छाड्नै पर्छ । भोलि दुईवटा बैंक मिसिँदा केही डेपुटी सीइओहरु, केही विभागीय प्रमुखहरु जागिरविहीन पनि बन्नु पर्ला । भनेपछि केही चिज त गुमाउनुपर्छ । त्यो गुमाउन तयार हुने जमात हामीकहाँ सानो छ । 

तपाईले याद गर्नुभयो र पत्रपत्रिकालाई आधार मान्ने हो भने हाम्रै केही बैंकर साथीभाईले मर्जर गर्ने हो भने संचालकको संख्या ११–१२ पुर्याइदिनुपर्योसम्म भने । त्यसले के संकेत गरिरहेको छ त ? मैले डाइरेक्टर पद नपाउने हो भने म मर्जरमा जान तयार छैन भन्ने स्पष्ट कुरा हो त्यो । होइन म सीइओ छाड्न चाहँन्न । ठूलै बैंकको पनि डेपुटी सीइओ छाड्न चाहँन्न । टेन्डेन्सी त यस्तै भयो नि । यी सबै चिजले मर्जर प्रक्रियालाई अगाडि बढ्न दिंदैन । व्यक्तिगत स्वार्थ हाबी भएर यस्तो भयो जस्तो लाग्छ । स्वार्थ त्याग्ने बित्तिकै मर्जर संभव छ भन्ने कुरा जनता र ग्लोबल आइएमई बैंकको मर्जर सम्झौताले देखाएको छ । यसलाई उदाहरणको रुपमा लिनुपर्छ, उनीहरुले न मौद्रिक नीति कुरे, न त इन्सेन्टिभको आशा गरेरै बसे । के त्यहाँ ५–७ जना संचालकले छाड्नुपर्ने अवस्था होइन र ? 

त्यसकारण जबसम्म हामी उदार चित्त लिएर संस्थाको हित हेर्दैनौ, तबसम्म मर्जरका यस्ता नीतिहरुले केही प्रभाव पार्दैनन् । व्यक्तिगत रुपमा पद त्याग गर्न नसक्ने, पकड त्याग गर्न नसक्ने, यो मेरो बैंक हो, यो मेरो नाम भन्ने तत्व जबसम्म रहन्छ, तबसम्म मर्जर सहज रुपमा अगाडि बढ्दैन । 

राष्ट्रबैंकले अडान नलिँदा, बलियो अडान नहुँदा मर्जरका लागि बनेको ऐतिहासिक वातावरण हामीबाट फुत्कियो उसो भए ? हामी चुक्यौ ?
हो, फुत्कियो । अहिले माहौल बनेको थियो । अहिले पोलिसी राम्रो बनाइदिनुपथ्र्यो, बेला यही थियो । मान्नुस–नमान्नुस बैंकको संख्या १५ देखि २० को बीचमा सीमित हुन्थ्यो । तर, बेला घर्कियो, हामी नराम्ररी चुक्यौं । 

मौद्रिक नीतिका अन्य विषयमा समीक्षा गर्दा बैंकहरुले राष्ट्रबैंकबाट लिने पुनरकर्जाको दरमा सामान्य कटौति भएको छ, यसकारण ब्याजदर घट्छ भन्नेहरु पनि देखिए । तपाई यो तर्कप्रति कतिको सहमत हुनुहुन्छ ?
टोटल्ल लेण्डिङ पोर्टफोलियो २५ खर्बको हाराहारीमा छ । पुनरकर्जाको आकार बढी नै भयो भने पनि १०० अर्ब भनिदिऊ । कति प्रभाव पर्ला त ? १०० अर्बको पुनरकर्जा कोष हामीले बनायौं भने त्यसमा १ प्रतिशत ब्याजदर घटाउन पायौं । टोटल लोन पोर्टफोलियोमा त्यसको प्रभाव के ? नेग्लिजेबल । १५ लाखभन्दा कम कर्जामा सर्भिस चार्ज नलिने भनिएको छ, त्यसको प्रभाव कति ? नेग्लिजेबल । स्प्रेडरेटमा प्वाइन्ट १ प्रतिशत, प्रभाव कति ? नेग्लिजेबल । भनेपछि सिग्नीफिकेन्ट इम्प्याक्ट त कहीँ पनि आएन नि । पुनरकर्जाका लागि योग्य हुने व्यक्तिले ६ महिनाको पुनरकर्जामा ब्याज सस्तो पाउने हो । ६ महिनापछि के फेरि ? भनेपछि लङटर्म ब्याज त्यतिबेला घट्थ्यो, जब हामीले लिक्वीडीटीलाई इज गथ्र्यौ । लिक्वीडिटी इज भएपछि कस्ट अफ फण्ड घट्थ्यो र बल्ल ब्याज घट्ने हो । जब हाम्रो बैंकिङ उद्योगकै औसत आधारदर १० प्रतिशत भन्दा माथि छ भने कसरी कर्जाको दर घट्न सक्छ ? त्यो घट्ने उपाय के त ? जतिले ऋणपत्र बेचिरहेका छन्, सबैले १० प्रतिशतभन्दा माथिको रेटमा बेचिरहेका छन् । लङटर्म बाध्यता कोर क्यापिटलको २५ प्रतिशत भनिएको छ, म १० प्रतिशत भन्दा माथि पुग्दैछु भने मेरो ब्याजदर कसरी घट्छ त ? कुनै पनि बैंकको एभरेज कस्ट अफ फण्ड ९ प्रतिशतभन्दा माथि छैन, तर म १० प्रतिशतभन्दा माथिको ऋणपत्र बोक्दैछु । भोलि त्यसकाकारण मेरो कस्ट अफ फण्ड अलिकति बढ्छ । एउटै चिज के हो भने ऋणपत्रको सतप्रतिशत मैले लगानी गर्न पाउँछु । त्यसलाई लिक्वीडिटीका लागि २० प्रतिशत छुट्याउनु परेन । तर, कस्ट अफ फण्ड त मेरो बढ्छ । १०.२५ प्रतिशतमा उठाएको पैसा मैले कतिमा लगानी गर्ने ? सिम्पल फण्डामेन्टल हेर्नुस । एभरेज बेस रेटभन्दा माथि मैले ऋणपत्र बेच्दैछु भने मेरो लगानीको रेट के हुन्छ ? मेरो सामान्य बुझाई चाहि यही हो । 

उसो भए ब्याजदर घटाउने विषयमा र हरेक वर्ष साइकलको रुपमा देखिने तरलता अभावको समस्या लगायतका इस्यूमा यो मौद्रिक नीतिले पनि उपचारको काम गर्छ जस्तो तपाईलाई लाग्दैन ? 
तात्विक रुपमा उपचारको काम गर्दैन । सामान्य उतारचढाव भनेको नर्मल फेनोमेना हो, तात्विक रुपमा यसले प्रभाव पार्दैन । 

मौद्रिक नीतिले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र निश्कासन गर्नुपर्ने भन्दै समयसीमा पनि तोकेको छ । ऋणपत्रको भूत देखाएर सेयर बजारमा पछिल्लो कालमा खेल्ने काम भएको छ । सेयर बजारमा यो इस्यूले प्रभाव पार्नसक्छ ? 
तात्विक रुपमा यो विषय मैले बुझेको छैन । नेपालको सेयर बजार मैले आजसम्म बुझेको छैन । सायद मेरो त्यो कोर विजिनेश नभएर पनि होला । मेरो बझुाई सरल छ, १० प्रतिशतभन्दा माथिको दरमा सबै बैंकले जसरी ऋणपत्र जारी गरिहेका छन्, रु. ६०–७० अर्बको ऋणपत्र बजारमा आउँछ, त्यसमा लगानी हुने पैसा निक्षेपबाटै घट्ने हो । ऋणपत्रमा ठूला संस्थागत लगानीकर्ताले लगानी गरिरहेको अवस्था छ, व्यक्तिगत लगानी निकै कम छ । र, विभिन्न अवस्थामा चाहि हामीले फोर्सफुल्ली, फकाएर, सम्पर्क सूत्र लगाएर ऋणपत्र बेचिरहनु परेको अवस्था छ । अन्ततः यो पैसा डिपोजिटबाटै मुभ हुने पैसा हो । खालि के हून्छ डिपोजिटमा यो पैसा भएको थियो भने म ८० प्रतिशत लेण्डिङ गर्थे भने ऋणपत्रमा कन्भर्ट हुँदा सतप्रतिशत नै लेण्डिङ गर्न पाइन्छ । यसले सिग्नीफिकेन्ट्ली कहीँ पनि इम्प्याक्ट बढाउँदैन । र, यसले सेयर बजारमा प्रभाव पार्छ कि पार्दैन भन्ने बिषयलाई कसरी हेर्नुपर्छ भने ऋणपत्रमा भएको पैसाले तरलतामा प्रभाव पार्छ, लगानीयोग्य रकममा प्रभाव पार्छ भने सेयर बजारमा प्रभाव पर्छ । किनभने लिक्वीडिटी जति सहज हुन्छ, सेयर बजार त्यति माथि गएको हाम्रो इतिहासले देखाउँछ । तरलता टाइट भए सेयर बजार तल आउने हाम्रो इतिहासले देखाएको छ । प्राविधिक रुपमा सेयर बजारको बिषयमा मलाई धेरै ज्ञान छैन । तर सामान्य रिलेसनसीपको रुपमा हेर्दा लिक्वीडिटीमा के प्रभाव पार्छ ऋणपत्रले, त्यो प्रभाव मात्रै बजारमा देखिनसक्ला । 

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा बासल थ्रीको नम्र्सको पूर्ण कार्यान्वयनको महत्वपूर्ण घोषणा पनि भएको छ । यसले नेपालको बैंकिङ उद्योगमा के परिवर्तन ल्याउँछ ?
बासल थ्रीको पूर्ण कार्यान्वयन गरी लोकल चिजहरु जुन हामीले थपघट गरेका छौ, त्यो हटाइदिने हो भने धेरै ठूलो प्रभाव आउँदैन । जस्तो भनौ न बासल थ्रीले क्यापिटल रिक्वायरमेन्ट र चार्जहरु बढाउला, रिस्क बेस्ड क्यापिटल रिक्वायरमेन्टहरु सबै बढ्छन् । सीसीडी त हट्छ नि त । दुईतिरबाट अंकुश लगाइरहनु पर्दैन । बासल थ्री भयो भने रिस्क कन्ट्रोल हुन्छ । यसले स्वस्थ प्रतिस्पर्धालाई टेवा पुर्याउँछ । बासल थ्री अहिले चाहि अपरिहार्य आवश्यकता हो । बासल थ्री नम्र्समा गयौं भने बैंकहरुमा देखिएको एग्रेसन, एग्रेसिभ ग्रोथ, अनैतिक अभ्यासका कुराहरुलाई मिनिमाइज गर्छ । त्यसकारण यो लागू हुनैपर्ने थियो, अब राम्रै गर्छ । 

प्रसंग बदलौं, तपाईले अघि नै दुई–चारवटा राम्रो कम्पनी पायौं भने हामी लिन्छौ भन्नु हुँदै थियो । तपाईहरुको रणनीति अरुलाई लिने, अरुतिर गएर नमिसिने भन्ने हो ?
हामी यसमा स्पष्ट छौ । भर्खर–भर्खर हाम्रोमा मुथुट फाइनान्स आएको छ । मुथुट फाइनान्स भनेको इण्डियाको निकै ठूलो फाइनान्स कम्पनीमध्येको एक हो । भारतमा ५ हजार शाखा भएको फाइनान्स कम्पनी हो । संसारकै सबैभन्दा ठूलो गोल्ड लोन प्रोभाइडर हो । र, वैदेशिक लगानीको रुपमा मुथुट फाइनान्स भर्खरै भित्रिएको अवस्थामा यो संस्था कहीँ गएर जाँदा त्यो इन्ट्रेस्ट डाइलुट हुन्छ । त्यसकारण हामी यही संस्थालाई ठूलो बनाउने लक्ष्यमा अगाडि बढेका छौ । साना र राम्रा संस्था पायौं भने हामी हाम्रो छातामुनि ल्याउन चाहि तयार छौ । र, त्यो विषयमा केही कुराकानीहरु पनि अगाडि बढिरहेका छन् । 

यही वर्ष मर्जरमा जाने संभावना चाहि छ कि छैन ? 
अनुकुल मिल्यो भने अचम्म नमान्दा हुन्छ । हामी ग्रोथमा अगाडि बढेका छौ । हामी हरेक किसिमको ग्रोथमा अगाडि बढ्न चाहन्छौ । 

पछिल्लो समय यूनाइटेड फाइनान्सको ग्रोथ तपाई व्यवस्थापनको नेतृत्व सम्हालेपछि बढेको छ । छोटो समयमै राम्रो ग्रोथ देखियो । कसरी संभव भयो यति चाँडै ? तेश्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ह्वात्तै नाफा बढेको छ । त्यस्तो के गर्नुभयो यहाँले ?
व्यवस्थापनमा एउटा सिद्धान्त छ । सर्टेन समय पार गरिसकेपछि अर्गनाइजेसन परिपक्व हुन्छ र स्याचुरेसनमा जान्छ । त्यसबाट डिक्लाइन सुरु हुन्छ । यसलाई इनरजाइज गर्ने बेला र झकझक्याउने बेला त्यही हो । यूनाइटेड फाइनान्स २५ वर्ष पुरानो संस्था हो । नेपालका बैंकिङमा यो अवधि लामै समय हो । र, एक किसिमको म्याचुअर्ड स्याचुरेसनमा पुगेको अवस्था थियो, मैले जमेको पानीमा ढुंगा हान्ने काम मात्र गरेको हुँ । एकजना मान्छे पनि बाहिरबाट ल्याएको होइन, बाहिरबाट आउने त म एक्लो हुँ । यही टिम हो । मैले झकझक्याउने काम गरेँ । झकझक्याउँदा उहाँहरुले ९ महिनामा नगरेको काम ३ महिनामा गरेर देखाउनुभयो । त्यसले के प्रमाणित गर्छ भने यूनाइटेड फाइनान्सको टिम निकै बलियो टिम छ । अलिकति उहाँहरुलाई उर्जाको अभाव भएको थियो, त्यो उर्जा मैले प्रदान गरेको हुँ । एउटा त्रैमासमा सतप्रतिशत भन्दा बढीको ग्रोथ हासिल भएको छ । ५ करोड  १२ लाख नेट प्रफिट चैतमा थियो, ११ करोड नेट प्रफिट असारमा भयो । फेरि रिकभरिबाट पनि धेरै होइन, अधिकांश संचालन आम्दानी नै हुन् । अलिकति झकझक्याउन आवश्यक थियो, त्यो गरेँ । यसले के संकेत गर्छ भने आउने वर्ष यी साथीहरुले यूनाइटेड फाइनान्सको ग्रोथलाई निकै ठूलो साइजमा पुर्याउँछन् । टिम सक्षम छ, प्रोसेस स्थापित छ । इनर्जीको खाँचो थियो, मैले त्यो उर्जा मात्र हालेको हुँ ।

यूनाइटेड फाइनान्सका आगामी योजना र यात्राको विषयमा बताइदिनुस न । कसरी अगाडि बढनुहुन्छ ? 
यूनाइटेड फाइनान्स अब बिस्तारमा अगाडि बढ्यो । केही समय सुतेको थियो, अब बिस्तारमा अगाडि बढेको छ । हामी यो आर्थिक वर्षको पहिलो ६ महिनामा १० वटा शाखा थप्दैछौ र पछिल्लो ६ महिनामा पनि ५ देखि १० वटा शाखा थप्छौ । त्यस मानेमा भइरहेको १५ वटा शाखालाई हामीले ३० देखि ३५ वटामा बिस्तार गर्नेछौ । 

मुथुट फाइनान्स आइसकेको छ । उसका दुईवटा बलिया पक्ष छन्: एउटा गोल्ड लोन र अर्को रेमिट्यान्स । मुथुट फाइनान्सले भारतबाट महिनामा औसतमा ४ लाख रेमिट्यान्सको ट्रान्सजेक्सन नेपाल पठाउँछ । जुन विभिन्न बैंकिङ च्यानलबाट आइरहेको छ । त्यो रेमिट्यान्सको सिग्नीफिकेन्ट पोर्सन हामीमार्फत आओस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि हामीले शाखा नेटवर्क बढाउनुपर्छ । 

गोल्ड लोनमा हामी अग्रेसिभ्ली जानुछ । हामी गोल्ड लोनमा अग्रणी हुने गरी अगाडि बढछौ । मुथुट फाइनान्स डिजीटल बैंकिङमा निकै अगाडि छ । त्यसबाट हामी डिजिीटल बैंकिङको प्लेटफर्ममा फड्को मार्ने प्रयास गर्छौै । 

सिस्टम, प्राक्टिस, रिस्कमा यूनाइटेड फाइनान्समा कहीँ प्रश्न छैन । नियामकले पनि हामीलाई हाइली निर्देशन पालना गर्ने, गभनरनेन्समा चलेको संस्था हो भनेर चिन्छन् । त्यसलाई हामीले निरन्तरता दिन्छौ । त्यसकारण हाम्रो एक मात्र उद्देश्य भनेको यूनाइटेड फाइनान्सलाई बजारमा अझ सवल बनाएर स्थापित गर्ने हो । 

भनेपछि यूनाइटेड फाइनान्सका प्रमोटरबाहेक सेयरधनीका समेत राम्रा दिन आउन लागेका हुन् भनेर बुझ्दा हुने भयो ?
अवश्य पनि । यी सबै कामले प्रतिफल दिन्छ । लगानीकर्ता मात्र होइन, सबै स्टेक होल्डरलाई यसले फाइदा गर्छ ।

यूनाइटेड फाइनान्स पृथक ढंगले अगाडि बढ्न खोजिरहेको छ भन्ने बुझ्दा पनि हुने भयो ?
अरुभन्दा फरक ढंगले नै हामी अगाडि बढ्छौ । मानव संसाधनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने सबैभन्दा सशक्त जनशक्ति भएको फाइनान्स कम्पनी हौं हामी  । यहाँ उपल्लो लेभलमा म्यानेजर भन्दा माथि हेर्दा नै १४–१५ जना कर्मचारी छन् । अरुमा यस्तो जनशक्ति नै छैन । ती साथी पनि सबै वाणिज्य बैंकको पृष्ठभूमिका छन् । त्यसअर्थमा यो बलियो संस्था हो । अब हामी नतिजाबाट समेत यो विषयलाई प्रमाणित गर्छौ । 

अन्तमा तपाईको व्यक्तिगत विषयमा एउटा प्रश्न सोध्न मन लाग्यो । तपाई पहिला फाइनान्स कम्पनीमा हुनुहुन्थ्यो, विकास बैंकमा जानुभयो, विकास बैंकलाई मर्ज गरेर वाणिज्य बैंकमा पुग्नुभयो । फेरि फर्किएर फाइनान्स कम्पनीमै आउनुभयो । फाइनान्स कम्पनीमा त्यस्तो आकर्षक पक्ष चाहि के हुन्छ ?
काम गर्नलाई वाणिज्य बैंकमा सजिलो छ । सहजताका हिसाबले वाणिज्य बैंक नै सहज हो । करिअर ग्रोथको सिलसिलामा मैले वाणिज्य बैंकबाट सुरु गरेँ । त्यसपछि फाइनान्स कम्पनी हुँदै विकास बैंकमा गएँ । त्यहाँबाट मर्जर भई वाणिज्य बैंकमा पुगेँ । फेरि म फाइनान्समा फर्किएको अवस्था छ । मुख्य कुरा जागिरको सन्तुष्टि नै हो । काम गर्दा कहाँ मज्जा आउँछ, कहाँ नतिजा देखाउन सकिन्छ भन्ने हेर्ने हो । संसारको एउटा परिपाटी कस्तो छ भने एक नम्बरलाई मात्र याद गर्छन्, दुई नम्बरलाई याद गर्दैनन् । चन्द्रमामा सबैभन्दा पहिला को पुग्यो, निकै महत्वपूर्ण हुन्छ, हवाईजहाज सबैभन्दा पहिला कसले बनायो, हामीले सामान्य ज्ञानमा पढ्छौ । त्यसपछि दोश्रो कसले बनायो, हामी सामान्य ज्ञानमा पढ्दैनौ र कुनै जाँचमा सोधिन्न । त्यस्तै हो यो कुरा पनि । हिजो वाणिज्य बैंकमा डेपुटी सीइओ थिएँ, जतिसुकै मेहेनेत गरेर काम गरे पनि, जतिसुकै योगदान पुर्याए पनि त्यसको जस वा अपजस प्राप्त हुन्न थियो । सीइओ भइसकेपछि  ती दुवै चिजमाथि तपाईको अधिकार हुन्छ । जस पनि तपाईको अधिकार हो भने अपजस पनि तपाईको अधिकार हो । तपाईले खुलेर आफ्नो क्षमता देखाउन पाउनुहुन्छ । त्यही सोंचले वाणिज्य बैंकको डेपुटी सीइओ छाडेर म फाइनान्स कम्पनीमा आएको अवस्था हो र म पूर्ण रुपले सन्तुष्ट छु । हेर्दै जानुहोला आउने २ वर्षमा यूनाइटेड फाइनान्सको पहिचान नै फरक भइसक्नेछ, रंग फेरिनेछ । त्यसले आनन्द दिन्छ । त्यसले सन्तुष्टि दिन्छ । 

अहिले जुन उमेरमा हामी छौ, अब दालभातको जोहो गर्ने भन्दा पनि सन्तुष्टिका लागि काम गर्ने हो । त्यो हिसाबले मेरो यो छनौट निकै उपयुक्त छनौट हो जस्तो लाग्छ । 

-सोमनाथ बास्तोला