काठमाण्डौ । पुराना बैंकर पर्शुराम कुँवर क्षेत्रीले कम्तीमा पनि ५–७ महिना कर्जाको ब्याजदर नघट्ने दाबी गरेका छन् । 

बिजशालालाई विशेष अन्तर्वार्ता दिने क्रममा बैंकर क्षेत्रीले यस्तो दाबी गरेका हुन् । 

निक्षेपमा ब्याजदर घटाए पनि कर्जाको ब्याजदर किन नघटाउनुभएको ? भन्ने बिजशालाको प्रश्नमा जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने–‘विगतमा हामीले निकै महङ्गो रेटमा लामो समयका लागि डिपोजिट लिएका छौ । धेरैले ११ प्रतिशत ब्याजदरमा निकै लामो समयसम्म मुद्धती निक्षेप उठाए । छोटो अवधिका लागि भनेर बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिएर समेत निक्षेप संकलन गरी तरलता व्यवस्थापन गरेका छन् । अहिले आएर रेट घटायौं, यसलाई अझै तल झार्नुपर्ला । तर, घटेको रेट त फ्रेस डिपोजिटमा मात्र लागू हुन्छ । पहिला लिइसकेको डिपोजिटको रेट घटाउन पाइन्न । यसकारण पहिला महङ्गोमा लिएको डिपोजिट परिपक्व नभई ऋणको ब्याजदर घट्दैन ।’  

उनले महङ्गोमा लिएको डिपोजिट परिपक्व भई त्यसपछि घटेको रेटमा आउने डिपोजिटले त्यसलाई विस्थापन गरेपछि मात्र बैंकहरुको कस्ट कम हुने उल्लेख गर्दै भने–‘यही समयमा म मात्र होइन, सबै बैंक तथा बित्तीय संस्थाले ब्याजदर धेरै हाई हुनुहुँदैन, भयो भने उत्पादन लागत बढ्छ, उत्पादन लागत बढे हामीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्दैनौ, हाम्रो व्यापार घाटा अझै बढ्छ, अर्थतन्त्रलाई राम्रो गर्दैन भन्ने कुरा बुझेका छौ । उद्योग धन्दा नफस्टाए हाम्रो विजिनेश पनि फस्टाउँदैन भन्ने पनि थाहा छ । तर, योसँगै बैंकहरुको लागत घट्ने अवस्था हुनुपर्छ, यो नभई ब्याजदर तत्काल घट्दैन । मेरो विचारमा ५–७ महिना समय अझै लाग्नसक्छ ।’

उनले क्रेडिट डिमाण्ड ह्वात्तै बढेको दृष्टान्त पेश गर्दै बैंक ब्याजदरलाई यसको डिमाण्ड र सप्लाईले समेत प्रभावित पार्ने बताए । 

राष्ट्रबैंकले असार मसान्तसम्म बैंकहरुले साढे ४ प्रतिशतको स्प्रेड कायम गर्नुपर्ने सीमा तोकिदिएको र यसैलाई टार्गेट गरेर बैंकहरुले काम गरिरहेको प्रष्ट्याए । ‘राष्ट्रबैंकका नीति तथा निर्देशनहरुको हामीले अक्षरंश पालना गरिरहेका छौ । हामी बैंकहरु पारदर्शी छौ, प्रतिस्पर्धी पनि छौ । त्यसकारण यो विषयलाई धेरै उछाल्नुपर्छ जस्तो लाग्दैन ।’ उनले  थपे ।  

उनले विगतमा साढे १३ प्रतिशतसम्म पुगेको निक्षेपको ब्याजदरलाई आफूहरुले नियन्त्रणमा राख्ने सफलता पाएको उल्लेख गर्दै भने–‘कम्तीमा तत्कालका लागि ब्याजदर थप बढ्नबाट त रोक्यौं नि, यो सकारात्मक पक्ष हो ।’ 

अर्को एक प्रसंगमा बैंकर क्षेत्रीले नेपालको अर्थतन्त्रले अबको ५ वर्षमा छलाङ मार्ने दाबी गरे । ‘हामी विश्वका ठूला अर्थतन्त्र बन्ने दौडमा लागेकाको बीचमा छौ ।’ उदाहरण दिंदै उनले भने–‘दुईतर्फ तातोपानीको ग्लास छ र बीचमा चिसो पानीको ग्लास राखिएको छ भने त्यो तातोपानीको रापका कारण बीचको पानी कतिञ्जेलसम्म चीसो भइराख्छ र ? हामी पनि यही अवस्थामा छौ । फेरि हामीले पनि आफ्नै ढंगले अर्थतन्त्रको आमूल सुधारका धेरै प्रयास गरेका छौ । यसकारण अबको ५ वर्षभित्र नेपालको अर्थतन्त्रमा ड्यास्ट्रिक चेञ्ज हुन्छ भन्ने कुरामा म आशावादी छु ।’ 

(धेरै बैंकरका गुरु तथा एक राम्रो आर्थिक विश्लेषक समेत रहेका क्षेत्रीसँगको एक्सक्लूसिभ अन्तर्वार्ताका लागि बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला।)