काठमाण्डौ । नेपालको पूँजीबजारलाई डिजिटाइज्ड गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सीडीएससीले इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लीप(ईडीआईएस) सेवाको सुुरुवात बिहीबारदेखि गर्ने भएको छ । 

बिहीबार एक पत्रकार सम्मेलनमार्फत इडीआइएस सेवाको सुरुवात गर्न लागिएको सिडिएससीस्थित स्रोतले जनाएको छ । 

सिडिएससीले मेरो सेयरका ३ लाख १६ हजार सक्रिय लगानीकर्तालाई इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीपको थप सुविधा दिन लागेको हो ।

यो सिस्टमको कार्यान्वयनसँगै सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्सट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्त हुनेछ ।

डिआइएसको व्यवस्थापनका लागि ब्रोकरहरुले अहिले कम्तीमा २ जना कर्मचारी राख्दै आएका छन् । इडीआइएसको कार्यान्वयनसँगै ब्रोकरहरुले त्यसैका लागि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बाध्यता समेत हट्नेछ । 

भदौ महिनाभित्रै ईडीआईएस प्रणालीमार्फत सीडीएससीको मेरो सेयरमार्फत सेयरधनीहरुले इडीआईएस विकल्पको सुविधा पाउने छन् । मेरो सेयरको होमपेजको देब्रे साइडमा इडीआइएस सुविधाको अप्सन थपिनेछ ।

ईडीआईएस अप्सनमा गई आफूले कारोबार गरेको डिटेल आउँछ । त्यहाँ पूल एकाउन्ट ब्रोकरको हुनेछ । क्वान्टिटी टू बी ट्रान्सफर्ड भन्ने अप्सन पनि त्यहाँ हुन्छ । अनि आफूले बेचेको सेयर क्वान्टिटी अटोमेटिक आउँछ, त्यसपछि रिक्वेष्ट सेण्ड गर्दा ओके बटन थिचेपछि डीपीकोमा जानकारी जान्छ । डीपीकहाँ पठाउँदा  डीपीले डेबिट गर्ने प्रणालीको विकास गरिएको छ । सिस्टम चाहि टी प्लस टु नै भए पनि ब्रोकरकोमा नगई २ कार्यदिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिनेछ ।

बेच्ने लगानीकर्ताले रिक्वेष्ट पठाउँदा ईडीआईएसकै अर्को अप्सन ‘ट्रान्सफर रिक्वेष्ट’को स्टाटस पनि हेर्न मिल्ने सुविधा उपलब्ध छ ।  स्टाटसमा पेण्डिङ अप्सन वा एक्नलेज अप्सन आउनेछ । पेण्डिङको अर्थ डीपीले सेटलमेण्ट नभएको भन्ने हुनेछ र एक्नलेजमेण्टबाट डीपीले आवश्यक प्रक्रिया पूरा भएको बुझिनेछ । 

साउन १ गतेदेखि सेयर कारोबारमा पूर्ण स्वचालित अनलाईन प्रणालीको परीक्षण लागू भएसँगै फुल फेजको अनलाइन प्रणालीमा इडिएसको मुख्य भूमिका हुने बताइएको छ ।  यो सुविधाका कारण डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ । 

नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन ट्रेडिङसँगै सेयर हस्तान्तरण पनि अनलाईन नै हुने भएपछि सेयर बजारको विकासमा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ । 

यस प्रणालीबाट क्लोजआउटको समस्या पनि पूर्ण रुपमा निराकरण हुने बताइएको छ । 

हाल प्रचलनमा रहेको टी प्लस टू अन्तर्गत सेयर कारोबार राफसाफ गर्दा कहिले सेयरधनी आफैं ढिला भइदिने, कहिले सिग्नेचर(हस्ताक्षर) नमिल्दा त कहिले बेचेका कम्पनीका कोडमा सेयरधनी कन्फ्यूज हुँदा डीआइएसकै लफडाबाट हुने क्लोजआउट र कहिले डीपीको सिस्टमको खराबीले समस्या आउने गरेको ब्रोकरहरुको भनाई छ ।