काठमाण्डौ ।  नेपालको चन्द्रागिरी हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । 

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

नयाँदिल्लीमा शुक्रबार आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री केजे अल्फोनले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गरे । 
पुरस्कार वितरण समरोहमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्ध अभिषेकविक्रम शाह र सेल्स विभाग प्रमुख विख्यातविक्रम राणाको पनि उपस्थिति रहेको थियो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी यो ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकोले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाण्डौमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौंको संख्यामा आउने भारतीय पर्यटकहरु चन्द्रागिरिमा भालेश्वरको दर्शनका लागि पनि जाने गरेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रमशाहले जानकारी दिए ।

सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले आफू निकै खुसी भएको प्रतिक्रिया दिए । उनले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको र यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको धारणा राखे । 

उनले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिका जस्ता अरु पनि कैयौं हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको पनि बताए ।