-भक्तराज रसाइली
धरान । राष्ट्रिय चाडको महत्व पाएको दशैले नेपालीहरुमा सामाजिक सहिष्णुता  र सद्भाव वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली सेयर बजारमा सरोकारवाला निकायमध्ये  शेयर ब्रोकरहरुको छाता सङ्गठन नेपाल स्टक ब्रोकर एसोसिएशनका नवनिर्वाचित अध्यक्ष भरत रानाभाटले यो पटकको दशैं पोखरामा मनाए ।

३५ नम्बर ब्रोकर कूहिनूरमा सुरुमा एमडी हुँदै अहिले ईडी बनेका अध्यक्ष रानाभाट यसअघि एसोसिएसनमा उपाध्यक्षको भूमिकामा थिए । उनी पोखरा वार्ड नम्बर १३ का स्थायी बासिन्दा हुन् ।

परिवारका जेठा छोरा रानाभाट र उनका भाइ अनि दुई दिदीबहिनी र पिताका साथ पोखरामा नै दशै रमाइलो गरेर बिताइरहेका छन् । आफ्ना बुबा परिवारको माइला भाइ रहेको र जेठा ठूलोबुवा बितिसकेकाले बाँकी ६ दाजुभाइका ६० जना हाराहारीमा रहेका सम्पूर्ण परिवारका साथ आफ्नो पोखरामा रहेको मूलघरमै दशैको टीका लगाएको र निकै रमाइलो भएको उनले सुनाए । 

पिङ्ग खेलेर एकदिन धर्ती छाड्नुपर्ने परम्परामा सानैमा पनि खेल्ने गरेको र यसपाला पनि पिङ्ग खेलेर रमाइलो गरेको उनले सुनाए । 

अन्यत्र टीका ५ दिनसम्म लगाउने चलन भए पनि पोखरामा भने एकदिन मात्र दशमीका दिन टीका थाप्ने चलन भएको रानाभाटले बताए । 

दशैमा सबैतिर बिदा हुने भएकाले अफिसको कामबाट मुक्ति मिल्ने र धेरैजसो व्यक्तिहरूले आफ्ना परिवारका साथ विदेश भ्रमण  जाने लर्को देखिन्छ, तर यस विषयमा अध्यक्ष रानाभाटको फरक मत रहेको छ । उनले भने, हाम्रो संस्कृति र परम्परा भएकाले मेरो विचारमा बाहिर जान हुँदैन, यो समयमा गईयो भने त यहाँ मिस भइहालिन्छ नि । 

बाल्यकालमा दशैका बेला बिदा हुने अनि दशैको माहौलले रमाइलो लाग्ने गरेको उनले विगत कोट्याए । उनीहरू कहाँ छोरालाई दक्षिणा दिने चलन नभएको, यद्यपि चेलीबेटीलाई भने दिइने गरेको उनले बताए । 

मामाघरमा भने दक्षिणा पाउने गरेको उनले बताए । उनको मूलघरमा गाउँका अन्य व्यक्तिहरूलाई पनि टीका लगाउने प्रचलन रहेछ ।

करियरको चिन्ता र समय अभावमा साथीहरूसङ्ग भेटघाट गर्ने मौका यही दशै नै भएको र योजना तथा  कामलाई थाती राख्दै समय निकालेर नै साथीहरूलाई भेटेको उनले प्रशन्न मुद्रामा सुनाए । 

यससँगै आफ्ना परिवारका सदस्यसङ्ग पोखरा नजिकैको रिसोर्टमा एकदिन बाहिर बसेको समेत उनले खुलाए ।

चाडपर्व, परिवार, बालबच्चा र आफन्तसङ्ग भेटघाटको संयोग नै दशै हो भनी बुझेका रानाभाटलाई दशै भन्नसाथ पोखरा जानुपर्छ भन्ने दिमागमा क्लिक हुने गर्दो रहेछ । अनि साथीभाइका साथमा आनन्द र रमाइलो गरिने मौसम र वातावण त छ्दै छ नै ।  यश बेला अरु बेलाभन्दा उत्साह र रोचक हुने उनको भनाइ छ । अरुबेला भन्दा दशै आनन्द हुने उनले आफ्नो विचार राखे ।

परापूर्वकालदेखिको परम्परा दशै केही न केही रहस्य जोडिएको र खुशीयालीको चाड र जीवनको एक अभिन्न पाटो हो, रानाभाटले भने, दशैको समय सपिङ्गको लहर भए तापनि जहाँ जस्तोसुकै बेला सपिङ्ग गर्ने भएकाले सपिङ्ग ठ्याक्कै यही समयमा गर्ने बानी छैन ।

दशैमा मासुको परिकारले विशेष महत्व राख्ने भएकोमा उनको जम्बो परिवार लेकबाट ल्याईएको च्याङ्ग्राको मासुमा रमाएको उनले सुनाए । नर्मल खानाको परिकारमा लेकको जडीबुटी खाएको च्याङ्ग्रा नै प्राथमिकतामा पर्ने गरेको उनले सुनाए ।