काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीलाई धितोपत्र बोर्डले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीले तीन चरणमा गरी २ अर्ब ९४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने योजना बनाएको छ, जसअनुसार पहिलो चरणमा भने १ अर्ब ४४ करोडको आइपीओ निश्कासन गर्नेछ । 

यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि आइपीओ निश्कासन गर्नेछ । 

दोश्रो चरणमा आयोजना प्रभावित जिल्ला सिन्धुपाल्चोकका बासिन्दाका लागि ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ ।

तेश्रो चरणमा भने सर्वसाधारण लगानीकर्ता र आफ्ना कर्मचारीका लागि गरी कुल ९० करोड बराबरको ९० लाख कित्ता आइपीओ निश्कासन गर्ने  योजना बनाएको छ । 

यो आयोजना पहिलो चरणको आइपीओ निश्कासनको माग गर्दै असार १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट स्वीकृति आएसँगै यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड ४४ लाख कित्ता आइपीओ निश्कासन गर्नेछ। 

कम्पनीका अनुसार कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका लागि कुल एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने बताइएको छ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल, लक्ष्मी क्यापिटल, प्रभू क्यापिटल, सीआईबिएल क्यापिटल, एनआईबिएल एस क्यापिटल, सिभिल क्यापिटल रहेका छन् । 

एकसय २ मेगावाट क्षमताको यो आयोजनामा चिलिमे हाइड्रोपावर कम्पनीको ३८ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत लगानी छ ।

यस्तै, नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक एक प्रतिशत लगानी रहनेछ । आइपीओमार्फत सर्वसाधारण लगानीकर्ताको सेयर स्वामित्व १५ प्रतिशत कायम गरिनेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, कर्मचारी सञ्चयकोषको १९.५ प्रतिशत र आयोजनाका कर्मचारीको ३.५ प्रतिशत सेयर स्वामित्व रहनेछ । आयोजनाका लागि कर्मचारी सञ्यचकोषले मात्रै ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ । 

सिन्धुपाल्चोक जिल्लाकै ठूलो आयोजनाको रुपमा रहेको यसको बाँध मार्मिङ–९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । 

यो आयोजनाको सुरुवाती लागत १५ अर्ब रुपैयाँ रहेको छ । यो आयोजनाको निर्माण सन् २०१९ को जून महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रारम्भिक आँकडा अनुसार आयोजना पूर्ण रुपमा संचालन भएको खण्डमा वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । उसले विद्यूत बिक्रीबाट मात्रै वार्षिक २ अर्ब ९० करोड बढी आम्दानी गर्नसक्ने अनुमान गरिएको छ ।