काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारदेखि सुरु भएको कतारको ४ दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि त्यसतर्फ प्रस्थान गरेको छ । 

राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा विमा, रेमिट्यान्स, पर्यटन, व्यावसायिक कृषि, उर्जा लगायत क्षेत्रको प्रतिनिधित्व रहेको छ।  

महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट रू. ४४ करोड ५३ लाखको वस्तु तथा सामान आयात गरेको र नेपालबाट रू. ९३ लाख ८७ हजार मुल्य बरावरको वस्तु तथा सामान निर्यात भएको छ । 

नेपालबाट पास्ता, कार्पेट, हस्ताकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिव १.४८ मिलियन अमेरिकी डलर वरावरको कतारी लगानी रहेको तथ्यांक छ । नेपालमा कतारबाट खासगरी कृषि, उर्जा, पर्यटन, उत्पादनमुलक, पूर्वाधार विकासमा लगानी गर्न सकिने बलियो सम्भावना रहेको देखिन्छ । उक्त औपचारिक भ्रमणका क्रममा महासंघका तर्फबाट नेपालमा कतारी लगानी आकर्षणका लागि विशेष पहल गरिने बताइएको छ । नेपालमा वैदेशिक लगानीका विषयमा मौजुदा कानूनका विषयमा पनि कतारी लगानीकर्ताहरूलाई जानकारी गराईने छ । 

नेपाल सरकारले कृषि तथा बनजन्य उद्योग, उत्पादनमुलक, सेवा क्षेत्र, पर्यटन, उर्जा, सूचना प्रविधि तथा खानीजन्य क्षेत्रलाई वैदेशिक लगानीका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेको छ । कतारमा करिव साढे ४ लाख नेपालीहरू कार्यरत छने भने त्यहाँबाट प्रत्येक महिना करिब १० अरव नेपाली रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रने गरेको छ  । 

राष्ट्रपति भण्डारीको यो भ्रमणबाट दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी आकर्षण तथा कतारमा रोजगारीको थप अवसर सृजना गर्न भ्रमणबाट महत्वपूर्ण उपलव्धी हासिल हुने विश्वास महासंघले व्यक्त गरेको छ । 

कतारमा रहँदा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै कतारका उद्योगी व्यवसायी र त्यहाँको गैरआवासीय नेपाली प्रतिनिधिहरुसँग पनि औपचारिक भेटवार्ता गर्ने बताइएको छ। 

राष्ट्रपतिका साथ कतार जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी रहेका छन् ।