काठमाण्डौ । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त हुने आशा पलाएसँगै एशियाका अधिकांश सेयर बजारमा शुक्रबार हरियाली छाएको छ । 

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको थियो । यो खबरले सेयर बजारका लगानीकर्ताको मनोबल बढाइदिएको हो। 

सिएनएनका अनुसार हङकङको ह्याङसेङ इण्डेक्स ४ प्रतिशतले बढेको छ भने चीनको संघाई कम्पोजिट तथा जापानको निक्केई इण्डेक्स २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

बिहीबार अमेरिकी राष्टपति डोनाल्ड टम्पले चीनसँग संवाद सुरु भएको र त्यसले सकारात्मक मोड लिएको भन्दै एक ट्वीट गरेका थिए । उनको त्यो ट्वीटले लगानीकर्तामा उत्साह जगाउँदा बजार हराभरा भएको हो । 

ब्लुमबर्गले अमेरिकी राष्टपति टम्पले आफ्ना क्याबिनेटका अधिकारीहरुलाई चीनसँग हुनसक्ने संभावित व्यापार डिलको बिषयमो डाफ्ट तयार गर्न निर्देशन दिएका खबर प्रकाशित गरेको थियो । सोही खबरको आधारमा लगानीकर्ता उत्साहित बनेका सिएनएनले दाबी गरेको छ । 

टम्प र चिनियाँ राष्टपति सि जिन पिंगबीच जी ट्वान्टी सम्मेलनको क्रममा भेटवार्ता हुनसक्ने संभावनाहरु व्यक्त भएका छन् । 

अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धका कारण अक्टोबरमा एशियाका सेयर बजारका लगानीकर्ताले धेरै गुमाएका थिए । शुक्रबारको बढोत्तरीले बजारका लगानीकर्ताले राहात महसुस गरेका रिपोर्टमा उल्लेख छ । 

यसैबीच, एशियाका अन्य बजार झै भारतको सेयर बजार समेत शुक्रबार बढेको छ । यो दिन सेन्सेक्स ६६५ अंकले बढेको छ । यस्तै, निफ्टीको सबै इण्डेक्समा समेत बढोत्तरी भएको छ । 

विश्व बजारमा देखिएको तीव्रता, रुपैयाँमा देखिएको मजबुती र कच्चा तेलको मूल्यमा देखिएको सामान्य गिरावटले भारतीय सेयर बजार हराभरा भएको विश्लेषण गरिएको छ ।