काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कात्तिक २० गते मंगलबारदेखि बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सुरुवात गरेको छ ।

योसँगै कुनै बेला कागजको भरमा कारोबार हुने नेपालको सेयरबजार पूर्ण रुपले स्वचालित र अत्याधुनिक हुने अपेक्षा गरिएको छ । 

राजधानीमा आयोजित एक भव्य समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले सो प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । 

सो कार्यक्रममा डा. खतिवडाले आधुनिक प्रविधिको प्रयोगसँगै नेपालको पुँजीबजार नयाँ चरणमा प्रवेश गरेको बताए । ‘विकसित पुँजी बजारका लागि प्रविधि एउटा पक्ष हो, यससँगै नीतिगत सुधार, संस्थागत संरचनाहरुको विकास, कारोबारयोग्य बित्तीय उपकरणहरुको विकास तथा बजार सहभागीको दायरा फैलाउँदै लैजानुपर्छ।’ उनले भने । नेप्सेले अनलाईन प्रणाली सञ्चालनमा ल्याएर नयाँ थालनी गरेको बताउँदै उनले यसलाई थप परिमार्जित गर्दै लैजान निर्देशन दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेप्सेको संस्थापक सेयरधनी रहेको नेपाल राष्ट्रबैंकले आफ्नो नियमनकारी भूमिकालाई ध्यानमा राख्दै नेप्सेमा रहेको आफ्नो लगानी कम गर्दै लैजान लागेको जानकारी दिऐ । ‘नेप्सेको सेयर विनिवेश गरे पनि केन्द्रीय बैंकको रुपमा हामी पुँजी बजारको विकासमा सधैं सक्रिय सहभागी रहने छौं,’ उनले भने ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुँजी बजार नियामकको रुपमा नेप्सेको अनलाइन प्रणाली उद्घाटन कार्यक्रममा सहभागी हुने अवसर पाउँदा गौरवान्वित भएको बताए । उनले नेप्से र सेबोन दुवै पुँजी बजार सम्बन्धी अन्तर्राष्ट्रिय संगठनका सदस्य भएकाले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सञ्चालन गर्न थप कार्य गर्नुपर्ने धारणा राखे । 

नेप्सेलाई अनलाइन कारोबार प्रणाली थालनी गरेकोमा शुभकामना प्रदान गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आगामी दिनमा यो प्रणाली अझै परिमार्जित हुँदै जाने अपेक्षा व्यक्त गरे ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली जनअपेक्षा तथा प्राविधिक विकासलाई आत्मसात गर्दै अघि बढ्नु पर्ने क्रममा आएको बताए । ‘यो प्रणाली नेपालको पँुजी बजारमा नयाँ कोशेढुंगा हुनेछ।’ उनले भने ।