-भक्तराज रसाइली
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको नेप्सेले सुरुवाती दिनमा निकै आलोचना खेप्नु परेको छ । प्रविधिका कुरा आम सर्वसाधारण र कर्मचारी तथा संस्थाबाहिरको पहुँच र स्वार्थमा टिक्दैन, तर केही अगुवा लगानीकर्ताहरुले भर्खरै जन्मेकोे अनलाइन प्रविधिलाई निरुत्साहित गर्न विभिन्न तिकडम पनि मच्याए, कतिपय मिडियाको भरपूर प्रयोग  भयो । पुरानाको अन्त र नयाँको सुरुवात हुँदा जहिले पनि केही आलोचना हुनु र केही त्रुटि हुनु स्वभाविक हो । अझ प्रविधिको कुरामा त यो नियम बढी नै लागू हुने जानकार बताउँछन् ।

अनलाइन कार्यान्वयनमा महत्वपूर्ण भूमिकामा रहने सेयर ब्रोकरहरुले नै पनि क्रमानुसार सिस्टममा सुधार भइरहेको बताइरहँदा केही मिडियाले ब्रोकरले नै नचाहेको आरोप समेत लगाए । केही लगानीकर्ता संघका नेताले त आन्दोलनको हवाला दिइरहँदा उनीहरुको चरित्र पनि यही बेला उदांगो नै भयो । लगानीकर्ताका एक नेताले त ब्रोकरले नै असहयोग गरेको भनेर बोले, तर अचम्म ती नेता बजारमा कुनै ब्रोकर कम्पनी किन्ने प्रयासमा लागेका रहेछन् ।

अनलाइन प्रणालीको बिषयमा बढी नै विवादास्पद कुरा आएपछि हामी वास्तविकता बुझ्न नेप्सेमा पुग्यौं । त्यहाँ जाँदा ब्रोकर, भेण्डर कम्पनी वाइको र नेप्से बीच अन्तरनिकाय सम्पर्क भइरहेको र कुनै त्रुटि वा गडबडी आउनासाथ भाइबर मेसेज तथा मेलबाट समाधानका मार्गहरु पहिल्याइरहेको भेटियो । के साँच्चै नेप्सेले करोडौं खर्चेर भित्राएको प्रविधिमा लगानीकर्तालाई बेवकुफ नै बनाइरहेको हो त भनेर हेर्न जाँदा नेप्से र वाइको कम्पनीका कर्मचारीहरु कोही फोनमा समस्या बुझिरहेका, कोही इमेल चेक गर्दै त कोही सिस्टम बनाउन सास न बास गर्दै खटिरहेका देखिए । 

नेप्से कार्यालयमा सेयर कारोबारलाई सहज अनलाइन बनाउन बिहानको ४ बजेसम्म र पुनः बिहान साढे ७ बजेदेखि नै अहोरात्र खटिएका रहेछन् । भेण्डर कम्पनी वाइकोका ५ कर्मचारी रेस्क्यूका लागि फोनमा नेप्से र वाइको कम्पनीको गरी २ वटा मेलमार्फत त्रुटि बुझ्न खोलिएको वाइकोका एक कर्मचारीले बिजशालालाई बताए । नेप्सेका तर्फबाट ७ जना  र बाँकी वाइकोका गरी जम्मा २० जना सोही कार्यालयमा अनलाइन कारोबारलाई सफल, सहज र लगानीकर्तामैत्री बनाउन खटिएका भेटिए । 

वाईको कम्पनीको मुख्य कार्यालयमा १५ जना र भारतमा पनि १० जनाको टोली निरन्तर खटिरहेको नेप्सेमा भेटिएका कर्मचारीले दाबी गर्न भ्याए ।
‘हिजोभन्दा आज समस्या छैन र त्रुटिहरु सुरुवातीताकामा आउँछन् यसलाई समाधान गरेर अघि बढ्न हामी खटिरहेका हौं ।’ वाइकोका एक कर्मचारीले भने–‘सिस्टममा समस्या देखिए इमेल ब्रोकरबाट आउने गरेको छ र त्यसलाई तत्काल समाधान पनि गरिरहेका छौ ।’

अहिलेको मुख्य समस्या नै युसीसीमा रहेको र मंगलबार बेलुकसम्म त्यो समाधान हुने र बुधबारदेखि स्थायी समाधान निस्किने ती कर्मचारीले दाबी गरे ।
हाल ब्रोकरका १५० वटा टीएमएस दिइँदा यस्ता साना समस्या आएका, तर भोलिका दिनमा यो सिस्टम ५० हजार बढी लगानीकर्ताहरुको हातमा पुग्दा केही समस्या आउने हो कि भनेर अहिलेदेखि नै आफूहरु गम्भीर रहेको वाइकोका कर्मचारी बताउँछन् । 

बजारमा हल्ला चलेजस्तो ब्रोकरको असहयोग नभएको, बरु उनीहरुको सहयोग भइरहेको तथा उनीहरुलाई कन्फिडेण्ट बनाउन वाइको हरदम जुटिरहेको ती कर्मचारीले हामीलाई बताए । ‘सिस्टममा हामीले एक क्लिक वा १ सेकेण्डमै कुनै लगानीकर्ताले चाहे तुरुन्त रद्द गर्न वा मोडिफाइ गर्नसक्ने पनि व्यवस्था पनि गरेका छौ ।’ वाइको कर्मचारीले भने ।

बैकिङ इन्टिग्रेसन इनेबल गर्न पनि वाइकोले थालनी गरिसकेको र अहिले नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडसँग टेष्टिङ गरेर तयार भइसकेको वाइकोका कर्मचारीले  खुलासा गरे । ३ वटा बैंकहरु सिद्धार्थ, ग्लोबल आइएमइ र प्रभु बैंकसँग काम अघि बढिसकेको पनि सो क्रममा खुलाए । 

अनलाइनबाट फण्ड ट्रान्सफरको लिमिटमा नेपाल राष्ट्र बैंकको थप निर्देशिका आवश्यक रहेको प्राविधिकहरुले बताएका छन् । ब्रोकर, बैंकहरु र नेप्सेले यस विषयमा छलफल अगाडि बढाइसकेको हुनाले अब छिट्टै बैकिङ प्रणाली पनि आरम्भ भई अन्तर्राष्ट्रिय स्तरको बन्ने वाइकोका कर्मचारीले खुलासा गरे ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदकाले पूर्ण स्वचालित अनलाइनमा सम्पूर्ण लगानीकर्ताहरुलाई धैर्यता अपनाइदिन र प्रविधिले नेप्सेको बिन्दूमा कायापलट हुने दाबी समेत गरे । १५ जना वा सोभन्दा बढीको टिम बनाएर लगानीकर्ताहरु आउन  र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका विषयमा जानकारी तथा तालिम दिन आफू हमेशा तयारी अवस्थामा बसेको साउदको भनाई छ ।

सानातिना त्रुटि सच्याउँदै लगिएको र अनलाइनको भरपूर सेवा लिन ढुक्क भई लगानी गर्न नेप्सेका आईटीप्रमुख निराञ्जनसिंह नायकको भनाई छ ।