-भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा लगानीकर्तालाई चलाउन दिने मितिको घोषणा बिहीबार गर्ने भएको छ ।

हालसम्म ब्रोकरमार्फत मात्र लगानीकर्ताको पूर्ण अनलाइन कारोबार प्रणालीमा सहभागिता रहँदै आएको छ । यहीकारण लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणालीको अनुभव गर्न पाएका छैनन् । 

लगानीकर्ताहरुले ब्रोकरहरुको असहयोगका कारण पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा चाहेजस्तो सहभागिता जनाउन नपाइएको भन्दै आरोप लगाइरहेको बेला नेप्सेका सीइओ चन्द्रसिंह साउदले पूर्ण स्वचालित अनलाइन आम लगानीकर्ताको हातमा पूर्ण रुपमा पुग्ने मिति बिहीबार घोषणा गरिने बताएका हुन् । 

मंगलबार नेप्सेमा ज्ञापनपत्र बुझाउन पुगेका नेपाल पूँजीबजार लगानीकर्ता संघ नेतृत्वको लगानीकर्ताको समूह समक्ष उनले यस्तो जानकारी दिएका हुन् । 
साउदका अनुसार सुरुमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन लगानीकर्ता संघका नेताहरुलाई ट्रायल गराइनेछ । लगानीकर्ताका नेताहरु पूर्ण रुपमा जान्ने भएपछि आम लगानीकर्ताहरुलाई समेत यो सुविधा दिइनेछ । 

लगानीकर्ताको हातमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पुग्दा दुर्घटना नहोस् भन्ने उद्देश्यले नेप्सेले सो बिषयमा लगानीकर्तालाई तालिम समेत दिने अन्तिम तयारी गरिरहेको छ । लगानीकर्ताहरुलाई तालिमसँगै सबै बैंकहरुलाई अनलाइन ट्रेडिङसँग जोड्ने काम पनि जारी राखिने साउदले सो क्रममा बताएका छन् । 

साउदले हाल युजर नेम र पासवर्ड ब्रोकरले विश्वास गरेका लगानीकर्ताहरुलाई दिइरहेको उल्लेख गर्दै भने–‘मानवीय त्रूटिले  पनि बीचमा केही समस्या आएको हो । तर, नेप्सेको वेबसाइटमा राखिएको भिडियो पनि हेर्दा ८० प्रतिशत समस्या समाधान हुनेछ, लगानीकर्ता पनि उत्सुक भइदिन पर्यो ।’

नेप्सेको आइटी प्रमुख निराञ्जनसिंह नायकले लगानीकर्ताहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा दोस्रो दिनसम्म युसीसी सिर्जना हुने र हरेक दिन डाटा भेरिफाई गरेर  क्लाइन्ट इन्फरमेसन युसीसीका लागि सिर्जना भइरहेको अवस्था रहेको जानकारी दिए । अनलाइन कारोबारका लागि लगानीकर्ताहरुले तीव्र गतिको इन्टरनेट आवश्यक रहेको नायकको भनाइ छ ।

ब्रोकरप्रति लगानीकर्ताको आक्रोश
नेप्सेमा ज्ञापनपत्र बुझाउने क्रममा कतिपय लगानीकर्ताहरुले ब्रोकरहरुमाथि पनि आक्रोश पोखेका थिए । लगानीकर्ता विष्णु बस्यालले ब्रोकरले गम्भीर भएर काम नगरेको र युसीसी माग्न जाँदा ‘अनलाइन आएको छैन’ भन्दै आफूहरुलाई फर्काउने काम भएको गुनासो गरेका थिए । 

यसरी नै किन्न जाँदा आफ्नो नाम नभेटिएको र इण्डेक्स र कारोबारमा गडबडी आएको र यसले आम लगानीकर्ताहरुलाई सेयर बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न भएकोप्रति अर्जुन तिमिल्सिनालेसजग भइदिन सुझाव दिएका थिए ।