काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका छन् । 

अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका चारवटा संगठनले एकैपटक आन्दोलनमा उत्रिने निर्णय गरेका हुन् । 

नेप्से तथा धितोपत्र बोर्डको लापरबाही, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा भएको हेलचेक्र्याईविरुद्ध लगानीकर्ताका संगठनले पहिलो चरणमा दवाबमूलक कार्यक्रम गर्न लागेका छन् । जसअनुसार सोमबार बिहान १० बजे नेप्से परिसरमा भेला भई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको चारैवटा संगठनले जारी गरेका संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघका अध्यक्षहरुबाट हस्ताक्षरित वक्तव्यमा नियमनकारी निकायको उदासीनताले पूँजीबजारमा गम्भीर समस्या उत्पन्न भएको भन्दै आफ्नो सम्पत्ति सुरक्षाका लागि सबै लगानीकर्तालाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

लगानीकर्ताका संघ संगठनले पूँजीबजारका १५ लाख बढी लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौति देखा परेको भन्दै आन्दोलनको विकल्प नरहेको प्रष्ट्याएका छन् ।