काठमाण्डौ । सेयर बजारका समस्या र बैंकहरुको अनियन्त्रित ब्याजदर वृद्धिको दौडको बिषयमा समाधान निकाल्न अर्थमन्त्रालयमा सरोकारवालाहरुको बैठक भएको र अर्थमन्त्री नै सेयर बजारको समस्याप्रति गम्भीर रहेको समाचारले लगानीकर्ताको मनोबल बढेको छ । 

बिहीबार कारोबार सुरु भएको डेढघण्टासम्म गिरावट मार खेपिरहेको बजारले लगानीकर्ताको माग सम्बोेधन गर्न अर्थमन्त्रालयमा सरोकारवालाहरुको बैठक बस्ने र आजै केही हुने खबरले यूटर्न ल्याइदियो । यो खबर भाइरल भएसँगै लगानीकर्ताको मनोबल बढ्दा नेप्से परिसूचक २.७ अंकले बढेको छ । 

जलविद्युत र उत्पादनमूलक समूहमा झिनो गिरावट आए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । यो दिन जलविद्युत समूह ९.८१ अंक र उत्पादनमूलक २.६२ अंकले घटेका छन् । 

बैंकिङ समूह २.५५ अंकले बढेको यो दिन विकास बैंक समूहमा ३.३१ अंक, होटल समूहमा ०.६५ अंक, बित्त समूहमा ०.७९ अंक, निर्जीवन बिमा समूहमा ३५.५९ अंक, जीवन बिमा समूहमा ४४.०७ अंक, माइक्रोफाइनान्समा ०.५४ र अन्य समूहमा ०.८७ अंकको बढोत्तरी भयो । 

यो दिन ३७ करोड भन्दा बढीको सेयर किनबेच भयो । एनएमबी बैंकले सबैभन्दा बढी ४ करोड ४६ लाख बढीको कारोबार गर्यो भने नेपाल बैंकले ३ करोड ३२ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ७७ लाख बढीको कारोबार गरेका छन् । 

माछापुच्छे बैंकको १ करोड ६७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले १ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख, सानिमा बैंकले १ करोड ३ लाख, एनसीसी बैंकले ९९ लाख, सिद्धार्थ बैंकले ९५ लाख र कुमारी बैंकले ८४ लाख बढीको कारोबार गरे । 

यो दिन आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयर मूल्यमा ७.३० प्रतिशतको बढोत्तरी भयो । 

कालिका लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.४२ प्रतिशतले घट्यो । 

के भइरहेको छ अर्थमन्त्रालयमा ?
यसैबीच, बिहीबार बजार बढाउन कारक मानिएको अर्थमन्त्रालयमा भइरहेको बैठकमा बैंकहरुबीच बढेको ब्याज बढाबढको श्रृंखला र सेयर बजारको समस्याको बिषयमा कुराकानी भइरहेको छ । 

उच्च स्रोतका अनुसार आजको बैठकले बैंकहरुको ब्याज बढाबढको श्रृंखला रोक्ने गरी कुनै निर्देशन जारी गर्ने र सेयर बजारको समस्याको अध्ययन गर्न एक समिति बनाई अगाडि बढ्ने लगायतको निर्णय हुनसक्ने संभावना छ ।