काठमाण्डौ । पूँजीबजार र मुद्रा बजारमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री डा. युवराज खतिवडा तातेका छन् । 

उनले बिहीबार सरोकारवालाहरुको आकस्मिक बैठक डाँकेर दुवै बजारमा पछिल्लो समय देखिएका खराब प्रवृतिहरुको बिषयमा अध्ययन गरी समस्या समाधानको सुझाव दिने गरी एक उच्चस्तरीय समिति गठन गरेका हुन् । 

समितिको संयोजकमा नेपाल राष्टबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ रहेका छन् । समितिको सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव रहेका छन् । 

मुद्रा तथा पूँजीबजारमा देखिएको प्रवृतिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायीत्व कायम गर्न एवम् औद्योगिक तथा पूँजी बजार क्षेत्रमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गरी समस्या समाधानको उपायसहित समितिले ७ दिनभित्र सुझाव पेश गर्नुपर्नेछ ।

पछिल्लो समय पूँजीबजारमा बग्रेल्ती समस्या देखिएपछि अर्थमन्त्री डा. युवराज खतिवडा गम्भीर बनेका छन् । आफ्नो कार्यकालको सुरुवातमा पँुजीबजारप्रति अनुदार देखिएका अर्थमन्त्रीले बजारको समस्या समाधानका लागि देखिने गरी पहल थालेको यो पहिलो घटना हुनसक्छ । 

अर्थमन्त्रीको यही पहल सम्बन्धी समाचारकै कारण बिहीबारको सेयर बजार बढ्न पुगेको थियो । अर्थमन्त्री पूँजीबजारको समस्याप्रति संवेदनशील भएको समाचारले सेयर लगानीकर्ताहरुको मनोबल बढेको छ । 

विगत लामो समयदेखि अन्यौलग्रस्त अवस्थामा रहेको पूँजीबजारमा लगानी गर्नेहरुले करोडौं गुमाइसकेका छन् । गिरावटको यात्रा निरन्तर रहिरहेको र पूँजीबजारका कैयन समस्या ज्यूँका न्यूँ रहेको बेला बैंकर्स संघले ब्याजदरको भद्र सहमति भंगको निर्णयपछि अवस्था झनै जर्जर बनेको अर्थमन्त्रीको निश्कर्ष रहेको स्रोत बताउँछ । 

‘अर्थमन्त्री बैंकहरुको अनियन्त्रित दौडप्रति असन्तुष्ट हुनुहुन्छ ।’ अर्थमन्त्री निकट स्रोत भन्छ–‘अर्थमन्त्रीले आजै बैंकहरुलाई नियन्त्रणमा राख्न गभर्नर साबलाई निर्देशन दिइसक्नुभएको छ ।’ 

बैंकहरुले ब्याजदर वृद्धिको लिगलिगे दौड सुरु गरेपछि बिहीबारसम्ममा मुद्धती निक्षेपको ब्याजदर सर्वाधिक १३.५ प्रतिशत पुगिसकेको छ । ब्याजदरमा देखिएको अचाक्ली वृद्धिको दौडले सेयर बजारलाई झनै आक्रान्त तुल्याइदिएको थियो । ब्याजदर वृद्धिको दौडकै कारण बुधबार बजारमा दोहोरो अंकको पहिरो गएको थियो । त्यसै पनि समस्याबाट गुज्रिरहेका पूँजीबजारका लगानीकर्ताको घाउमा बैंकर्स संघको निर्णयले नूनचुक छर्किने अवस्था देखिएपछि अर्थमन्त्रीको पहलमा समिति गठन गरिएको हो । 

समितिमा सबै पक्षको प्रतिनिधित्व भएकोले मुद्रा तथा पूँजी बजारको समस्या समाधानका लागि ठोस कुरा आउने आशा गरिएको छ । 

यी समाचार पनि पढ्नुहोस् :