काठमाण्डौ । सेयर बजारको हटकेक नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड रुपैंया छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्तापूँजी १२ अर्ब ५६ करोड माथि पुग्नेछ ।

प्रस्तावित बम्पर लाभांश नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। 

गत वर्ष यो बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष टाइप मिस्टेक प्रकरणमा फसेको यो बैंकले नगद लाभांश तुलनामा बोनस सेयर कम दिएको भन्दै लगानीकर्ता आक्रोशित भएका थिए । त्यसलाई मध्यनजर गर्दै यसपटक लाभांश ४० प्रतिशत नै घोषणा गरिए पनि बोनस सेयर केही बढाइएको छ भने नगद लाभांशको दरतर्फ केही कटौति गरिएको छ ।