काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले आफ्ना माग पूरा गराउने समय सीमा तोक्दै पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएको छ । 

समूहका संयोजक हरि ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै मंसिर २७ गतेभित्र आफ्ना १४ बुँदे माग पूरा नभए आगामी पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएका हुन् । 

लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहित पूँजीबजार विकास र बिस्तारसँग सम्बन्धित १० बुँदे माग र पछि थप भएका ४ बुँदासहित कुल १४ बुँदे मागसहित आइतबारदेखि रिले अनसन थालेका थिए । रिले अनसनको तेश्रो दिन आफ्ना माग मंसिर २७ गतेसम्म पनि पूरा नभए आमरण अनसन थाल्ने चेतावनी आएको हो । 

यसअघि सरकारले मुद्रा तथा पूँजी बजारका समस्याको पहिचान गर्न भन्दै डेपुटी गभर्नरको संयोजकत्वमा एक उच्चस्तरीय समिति बनाएको थियो । सो समितिमा लगानीकर्ताको प्रतिनिधित्व हुने गरी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललाई सहभागी गराइएको थियो । सोमबार पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेललाई समेत लगानीकर्ताको प्रतिनिधिको रुपमा सहभागी गराइएको छ । 

तर यो सहभागिताप्रति समेत दवाब समूहले आपत्ति जनाएको छ । दवाब समूहले पौडेल र पोखरेलप्रति लक्षित  गर्दै सो समितिमा ‘केही बिचौलियाहरुलाई सहभागिता गराइएको’ भन्दै विरोध गरेको छ । ‘कथित अध्ययन समितिमा प्रतिनिधित्व गरी आफ्नो स्वार्थ केन्द्रीत कुराहरु राखेको भन्ने जानकारी हुन आएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘हामीले कसैलाई प्रतिनिधिको रुपमा पठाएको छैनौ र कसैसँग वार्ता गरेका छैनौ ।  कोही लगानीकर्ताको प्रतिनिधि हुँ भन्दै सो समितिमा बसेर हामीमाथि घात गरिरहेको छ भने उसलाई तत्काल फिर्ता आउन चेतावनी दिन चाहन्छौ ।’ 

पोखरेल नेतृत्वको संघले सोमबार दवाब समूहको अर्थमन्त्रीको राजीनामा बाहेकको मागप्रति समर्थन जनाउँदै अनसनप्रति ऐक्यबद्धता जनाएको थियो । 

आफ्ना मागहरु स्पष्ट रहेकाले अध्ययन समितिको नाटक गरिरहन आवश्यक नरहेको दवाब समूहको भनाई छ । ‘यस्तो अवस्थामा हामीले कसैसँग वार्ता गर्नुपर्ने आवश्यकता नै छैन ।’ संयोजक ढकालले भनेका छन्–‘सरकार र नियमनकारी निकायहरुले नै वर्षौदेखि भन्दै आएका कुराहरु लागू गराउनु नै हाम्रो माग भएकोले त्यसका लागि कुनै अध्ययन र छलकपटको गुञ्जायस देख्दैनौ ।’ 

स्वदेशी पूँजी संकलन गरेर देशमा समृद्धि ल्याउँछु भन्ने सरकारका सामु लगानीकर्ताहरुले अनसन बसेर पूँजीबजार सुधार, बिस्तार र आफ्नो सम्पत्ति सुरक्षाको याचना गर्नुपर्ने कुरा लाजमर्दो रहेको उल्लेख गर्दै दवाब समूहले भनेको छ–‘स्वदेशी लगानीकर्तालाई नै रुवाबासीमा पारिँदा विश्वमा यसले के सन्देश दिइरहेको होला ?’