काठमाण्डौ । पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले आन्दोलनमा उत्रिएका लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । 

बोर्डले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका मागहरु तथा दोश्रो बजार कारोबार रोक्ने सम्बन्धमा अबाञ्छित स्थिति देखिएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो । 

मुद्रा तथा पूँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकाले उच्चस्तरीय समिति गठन भई सो समितिले चाँडै नै आफ्नो प्रतिवेदन बुझाउने क्रममा रहेको अवस्थामा लगानीकर्ताहरु संयमित हुनुपर्नेमा बोर्डको जोड छ । 

बोर्डले अध्ययन समितिको प्रतिवेदनमा समेटिएका लगानीकर्ताको माग सम्बोधन हुने विश्वास समेत व्यक्त गरेको छ । 

‘सो समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको परिप्रेक्ष्यमा दोस्रो बजार कारोवार सुसंचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शीरुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको लागि बोर्ड अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।