काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत आयोजनाले दुई चरणमा निश्कासन गरेको आइपीओको बाँडफाँड एकैपटक बुधबार दिउँसो गर्ने भएको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट प्रेसित जानकारी अनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफे एण्ड ब्यांक्वेटमा आइपीओ बाँडफाँड गरिनेछ । 

यो आयोजनाले दुई चरणमा गरी १ करोड ४४ लाख आइपीओ निश्कासन गरेको थियो । 

पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता र दोस्रो चरणमा मंसिर १९ गतेदेखि २६ गतेसम्म संगठित संस्थापक संस्थाका कर्मचारीलाई २१ लाख तथा सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता  आइपीओ निश्कासन गरिएको थियो।

पहिलो चरणको आइपीओमा मागभन्दा ३.११ गुणा बढी आवेदन परेको छ । कर्मचारी सञ्चय कोषका १ लाख ३५ हजार ९ सय ८६ सञ्चयकर्ताहरुबाट ३ अर्ब ६३ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको खरीद आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार पहिलो चरणतर्फका सबै आवेदकले न्यूनतम ८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

यस्तै, कम्पनीले दोस्रो चरणमा निश्कासन गरेको आइपीओमा मागभन्दा १.६८ गुणा बढी आवेदन परेको थियो । संगठित संस्थापक संस्थाका ९ हजार ५३ कर्मचारीले ४५ लाख ३५ हजार ९५० कित्ताका लागि माग आवेदन दिएका छन् । 

यो आयोजनाको आइपीओ अझै आउन बाँकी छ । कम्पनीका अनुसार तेस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र अन्तिम तथा चौथो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निश्कासन हुनेछ ।