काठमाण्डौ । लगानीकर्ताहरुले पूँजी र मुद्रा बजारको सुधारका लागि खोजेका अधिकांश बुँदाहरुलाई कार्यान्वयन गर्दै नेपाल राष्ट्रबैंकले बुधबार निर्देशन जारी गरेको छ । 

अर्थमन्त्रीबाट डेपुटी गभर्र्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन कार्यदलले पेश गरेको मुद्रा तथा पूँजीबजार सुधारका उपायहरुमध्ये नेपाल राष्ट्रबैंकको भागमा परेका अधिकांश बुँदालाई समेटेर निर्देशन जारी गरेको देखिएको छ । 

बुधबारको निर्देशन सेयर बजारसँग सम्बन्धित सुझावहरुको कार्यान्वयनमा केन्द्रीत देखिन्छ । 

कार्यदलको प्रतिवेदनमा उल्लेखित ब्याजदर घटाउने महत्वपूर्ण सुझावको कार्यान्वयन गर्दै नेपाल राष्ट्रबैंकले यसअघि नै बैंक तथा बित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन बाध्य पारिसकेको छ । 

ब्याजदर घटेसँगै सेयर बजारमा केही सुधार देखिएको छ । बजारका कतिपय लगानीकर्ता प्रतिवेदनमा समेटिएका बजार सुधारका बाँकी बुँदाको कार्यान्वयन कुरेर बसेका थिए । उनीहरुको प्रतिक्षाको घडी समाप्त पार्दै केन्द्रीय बैंकले बुधबार केही महत्वपूर्ण बुँदाहरुमा संसोधनसहित कार्यान्वयनका लागि सम्बद्ध निकायलाई निर्देशन जारी गरेको छ । 

केन्द्रीय बैंकले बुधबार दिएको निर्देशनलाई पूँजीबजारका लागि उपहारकै रुपमा हेर्न सकिन्छ । 

केन्द्रीय बैंकले लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएका अधिकांश विषयवस्तु समेटेर निर्देशन जारी गरेको छ । 

उसले स्प्रेड दर घटाएको छ भने आधार दर गणनाको विधि परिवर्तन गरी कर्जाको ब्याजदर अझै सस्तो बनाउने आधार तय गरिदिएको छ । 

वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकरेज सेवा दिनसक्ने बाटो खुल्ला गरिदिएको केन्द्रीय बैंकले सेयर कर्जाको रिस्क वेटेज समेत घटाएर १०० प्रतिशतमा झारिदिएको छ । यो व्यवस्थासँगै सेयर धितोमा प्रवाह हुने कर्जा अब उच्च जोखिमयुक्त क्षेत्रमा रहनेछैन । यस्तै, सेयर धितो कर्जाको सीमा मूल्यांकनको ५० बाट ६५ प्रतिशत पुर्याइएको छ । अब लगानीकर्ताले सेयरको मूल्यको ६५ प्रतिशतसम्म सेयर धितो कर्जा पाउनेछन् । 

यस्तै, कुनै पनि बित्तीय संस्थाले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म सेयर धितो कर्जा प्रवाह गर्न सक्नेछ । यसअघिको २५ प्रतिशतसम्म भन्ने व्यवस्था खारेज गरिएको छ । 

यसैगरी, राष्ट्रबैंकले मार्जिन कलको विषयमा समेत केही खुकुलो नीति लिएको छ । जसअनुसार अब मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचिकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा  गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्ता व्यवस्थाबाट पूँजीबजारमा आमूल सुधार हुने आधार तयार भएको विश्लेषकहरुले बताएका छन् । 

राष्ट्रबैंकले बुधबार जारी गरेको निर्देशनको पूर्ण पाठ हेर्नुहोस्: