-भक्तराज रसाइली 
काठमाण्डौं । मुद्रा तथा पूँजी बजारका समस्याहरुलाई सम्बोधन गर्न अर्थमन्त्रीद्वारा गठित कार्यदलबाट प्राप्त सुझावको कार्यान्वयन हुने क्रम सुरु भएसँगै पूँजीबजारमा उछालको अवस्था देखिएको छ । 

आफ्नो कार्यकालको सुरुवातमा पूँजीबजारप्रति खासै सकारात्मक नदेखिएका अर्थमन्त्री डा. खतिवडाले मुद्रा तथा पूँजीबजारको समस्या खोजी गर्न तथा समाधानको उपाय समेत सुझाउने गरी डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा कार्यदल नै बनाएपछि धेरैलाई आश्चर्य समेत भएको थियो । 

कार्यदल नै बने पनि अर्थमन्त्रीले झारा टार्ने र लगानीकर्ताको आक्रोश तोडमोड गर्ने उद्देश्यले समिति बनाएका भन्दै यो समितिको प्रतिवेदन कार्यान्वयन नहुने आशंका समेत थुप्रै जन्मिएका थिए । 

अर्थमन्त्रीलाई ‘पूँजीबजारविरोधी’ भन्दै कतिपय लगानीकर्ता आन्दोलनमा होमिएका कारण समेत आम लगानीकर्तामा कार्यदलबाट सही सुझाव आउलान् र त्यसको कार्यान्वयन होला भन्ने बिषयमा संशय थियो । 

तर, उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको केही घण्टामै अर्थमन्त्रीले उच्चस्तरीय वित्त आयोगको बैठक बसाई प्रतिवेदनमा समेटिएका मुद्रा तथा पूँजीबजार सुधारका अजेण्डाहरु कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । अर्थमन्त्रीबाट यति चाँडो आएको निर्देशनले लगानीकर्तामा आशाको मुना पलायो । 

तर, फेरि पनि कतिपय लगानीकर्ता कार्यान्वयनको अवस्था नहेरी हौसिन नहुने निश्कर्षमा थिए । अर्थमन्त्रीबाट निर्देशन प्राप्त भएलगत्तै नेपाल राष्ट्रबैंकले दवाब सिर्जना गरेर बैंक तथा बित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन बाध्य बनाएपछि त्यसले लगानीकर्तामा सिर्जित आशाको मुना थप हुर्कियो, बढ्यो । 

त्यसपछि फेरि पनि एकखाले लगानीकर्ता बाँकी बुँदाको कार्यान्वयन हेरेर मात्र अगाडि बढ्ने मूडमा थिए । विशेष गरी पूँजीबजार सुधारका लागि प्रतिवेदनमा समेटिएका बुँदाहरु राष्ट्रबैंकले कार्यान्वयन गर्नेमा केहीमा अझै आशंका थियो । तर, ती आशंकालाई समेत चिर्दै राष्ट्रबैंकले पूँजीबजारको विकासका लागि बुधबार प्रतिवेदनमा समेटिएका बुँदाहरुको कार्यान्वयन गर्दै निर्देशन जारी गरेपछि बजारमा एकाएक उछालको अवस्था देखियो । 

लगानीकर्ताले अब चाहि अर्थमन्त्री तथा सरकार पूँजीबजारका बिषयमा गम्भीर छ भन्ने आभास पाएर होला, बजारमा खरिदारी एकाएक बढाउने निश्कर्षमा पुगेका छन् । 

हामीले यही सन्दर्भमा केही विज्ञ, अगुवा लगानीकर्ताहरुलाई सोधेका थियौ–‘कार्यदलको सुझाव कार्यान्वयन हुन थाल्यो, के अब बजार बढ्ने क्रम रोकिन्न ? के यसले लगानीकर्ताको मनोबल बलियो बनाएको छ ? सुझावको कार्यान्वयनले बजारमा के प्रभाव पार्छ ?’ 

पढौं उनीहरुको उत्तर, उनीहरुकै शब्दमा:

मनोहरकृष्ण श्रेष्ठ-सेयर विज्ञ
बैंकलाई ब्रोकर लाइसेन्स दिने सवालमा सरकारले दोहोरो र विवादास्पद कुरा गरेको भेटेको छु । समग्रमा भन्नुपर्दा ब्याजदरको सम्बोधन पनि भएकाले बजारलाई सकारात्मक प्रभाव पर्छ ।

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन 

हामीले बैंकको निर्देशक चाहि हुन नपाउने भन्ने व्यवस्था छ, तर बैंकलाई ब्रोकर लाइसेन्स किन दिइयो ?हामी अचम्मित छौ । यसअघि इन्साइडर ट्रेडिङ्ग हुने भन्ने भयले हामीलाई बैंकको डाइरेक्टर हुन बन्देज लगाइयो, तर अहिले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विवादास्पद काम भयो । ७५ प्रतिशत बढी बैंकका प्रमोटरहरु नै सेयर बजारमा लगानीकर्ताका रुपमा हुनु के जायज हो त ?यो निकै विवादास्पद भयो ।

अन्य कुरामा भने धेरै पहिले आउनुपर्ने निर्देशन ढिलै भए पनि आयो र यसले मार्केटलाई राम्रै गर्छ । यसको प्रभाव बजारका लागि समग्रमा सकारात्मक नै पर्ला ।

अम्बिकाप्रसाद पौडेल(अध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम
हाम्रो फोरमले उठाएका आवाजहरु राष्ट्र बैंकले सम्बोधन गरेको छ । यसबाट परिवर्तन सम्भव हुने रहेछ भन्ने प्रमाणिात समेत भएको छ । यसप्रति हाम्रो फोरम राष्ट्र बैंकप्रति कृतज्ञ छ र म धन्यवाद समेत दिन चाहन्छु । भोलिका दिनमा पूँजीबजार आम लगानीकर्ताहरुका लागि सबैभन्दा सुखी र सुरक्षित ठाउँ हुने यसले देखाएको छ । 

ताराप्रसाद फूल्लेल(उपाध्यक्ष)- सेयर लगानीकर्ता संघ
आजको निर्देशनलाई सकारात्मक रुपमा लिएका छौं । हाम्रा मागहरु पनि सम्बोधन भए । यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्दछ भन्ने मेरो बुझाइ हो । राष्ट्र बैंकका तर्फबाट एक कदम चाहिँ अघि बढेको जस्तो लाग्यो । प्यासी लगानीकर्ताहरुका निम्ति थोरै मुखमा पानी भए पनि छर्कने कार्य भएको छ, यो सकारात्मक कदम हो ।

राधा पोख्रेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ
आज राष्ट्र बैंकद्वारा जारी निर्देशन लगानीकर्ताहरुकै पक्षमा आएको छ । बैंकलाई ब्रोकर लाइसेन्सको व्यवस्थाले झनै राम्रो हुनेछ । समग्रमा भन्नुपर्दा अर्थतन्त्र र पँुजीबजारमा सकारात्मक प्रभाव पर्नेछ । जनवरी १ देखि बजारमा उछाल आउने अवस्था देखेकी छु । समग्र बजारलाई यसले राम्रै गर्ला ।

नयन बास्तोला(महासचिव)-नेपाल पूँजीबजार संघ
आखिर काम गराएर नै छाडियो । राष्ट्र बैंकको आजको निर्देशन सराहनीय रहेको छ । यद्यपि सेबोन र नेप्सेले गर्ने कार्यमा भने निरन्तर खबरदारी र दबाब आवश्यक छ । अहिलेको अवस्था प्यानिक सेलिङ्गको अन्त र अफ सिजनको अवस्था हो, यस्तो बेलामा सोचेअनुसार त बजार नघट्ला । तर, पनि आम लगानीकर्ता साथीहरुलाई दीर्घकालीन लगानीमा जोड दिन चाहन्छु ।

हरि ढकाल- स्वतन्त्र सेयर लगानीकर्ता दबाब समूह
पूँजीबजारमा यो सञ्जीवनी बूटी हो । पूँजी बजारको विकास र विस्तारका लागि निर्देशन कार्यान्वयन भएको खण्डमा प्राकृतिक शैलीमा बजारले दिशा लिन्छ । आजको निर्देशनले बजारमा शतप्रतिशत उत्साह छाउँछ ।