-भक्तराज रसाइली 
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन सेयर ट्रेडिङ्गको व्यवस्था ल्याउन लागेको छ ।

नेप्सेले यसका लागि आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकिएको दाबी गरे पनि लगानीकर्ताको विश्वास भने जित्न नसकेको पाइएको छ । 

नेप्सेले पूर्ण कार्यान्वयन गर्न खोजेको अनलाइन कारोबार प्रणालीप्रति अधिकांश लगानीकर्ता र तिनको नेतृत्व गर्ने नेता समेत विश्वस्त हुन नसकेका पाइएको छ । 

यही सन्दर्भमा हामीले लगानीकर्ताका केही नेता र केही अगुवा लगानीकर्तालाई सोधेका छौ–‘तपाईले अनलाइन कारोबारका लागि लगइन लिइसक्नुभयो ? अनलाइन कारोबारका लागि कत्तिको तयार हुनुहुन्छ ?’ 

पढौं उनीहरुले दिएको जवाफको सार:

तुलसीराम ढकाल(उपाध्यक्ष)–नेपाल इन्भेष्टर्स फोरम
अनलाइन वास्तवमा हाउगुजी नै भयो । पूर्ण रुपमा कार्यान्वयन नभएसम्म विश्वासकै अभावका कारणले मैले अनलाइन लगइन लिएको छैन । यस विषयमा मैले चासो पनि लिएको छैन । अहिलेको अनलाइन बाँदरको हातमा नरिवलजस्तो हुने देखिन्छ । म जत्तिको मान्छेले अनलाइन लगइन नलिनु भन्नुको अर्थ आम लगानीकर्तामा यसले एक किसिमको वितृष्णा उत्पन्न गराइरहेको छ । अहिले पनि ब्रोकर अफिस नै धाउनु परिरहेको छ, नाममात्रको पूर्ण स्वचालित अनलाइन प्रणाली भयो, यसको काम छैन ।

ताराप्रसाद फूल्लेल(उपाध्यक्ष)–सेयर लगानीकर्ता संघ 
मैले अनलाइन लगइन लिइसकेको छु, यद्यपि सेयर कारोबार गर्न भने भ्याइएको छैन । व्यक्तिगत कारण र व्यस्तताले यस्तो भएको हो । भोलि नै क्लियरिङ्ग बैंकमा खाता खोल्ने योजना रहेको छ ।

राधा पोख्रेल(अध्यक्ष)–नेपाल पूँजीबजार लगानीकर्ता संघ
म अनलाइन लगइन लिन आज नै जान लागेको छु । फर्म भरेर तयारी अवस्थामा रहेको छ । नेप्सेले तोकेको ४ बैंकमध्ये मसँग पहिले नै ३ वटा बैंकमा मेरो खाता पनि भएकाले म उत्साहित छु ।

दीपेन्द्र अग्रवाल(वरिष्ठ उपाध्यक्ष)–सेयर लगानीकर्ता दबाब समूह
मैले अनलाइन लगइन हालसम्म लिएकै छैन । नेप्सेको अनलाइनमा विद्यमान असुरक्षाका कारणले मैले नलिएको हो । मेरो सम्पत्तिको जिम्मेवारी कसले लिने ? फूलफेजको अनलाइन आएपछि र नेप्सेले सबै सिस्टम त्रूटिरहित छ भनेपछि मात्र म लगइन लिने सोंचमा छु । ब्रोकर र लगानीकर्ता बीच गर्नुपर्ने सम्झौतामा प्राविधिक त्रूटि भएमा लगानीकर्ता नै स्वयम् दोषी हुने भन्ने वाक्यांशका कारणले समेत मैले अनलाइनमा चासो देखाएको छैन । म बरु फोनबाटै कारोबार गर्ने दृढतामा छु ।

निराञ्जनराज पाण्डे–अनुभवी सेयर लगानीकर्ता
म अनलाइन लगइन नलिने भनेर नै बसेको हुँ । हालसम्म पनि लिइएको छैन । अनलाइनको पूर्ण प्रयोग नभएको कारणले समेत मैले नलिएको हुँ । हालसम्म पनि ब्रोकर अफिस नै धाउनुपर्ने बाध्यता अनि लगइन लिनुभएका साथीभाइहरुका अनुसार काम नगरिरहेको भन्ने सुनेको छु ।

दीपक दाहाल–सक्रिय लगानीकर्ता
मैले अनलाइन लिइसकेको छु । तर, लिमिट राख्नुपर्ने बाध्यताले मैले कारोबार चाहि गरेको छैन ।