-शकुन्तला कटुवाल(पाठक) 
‘जीवन कती लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ । नेपालको सिन्धुली जन्मथलो भएका कुमार श्रेष्ठको जीवनकथा खास जीवन बाँच्न चाहनेहरुका लागि अर्थपूर्ण र प्रेरणादायी बन्नसक्छ । 

सिन्धुली जिल्लाको ठूलो बनमा जन्मिएका श्रेष्ठ हाल पोर्चुगलमा उदाहरणीय जीवन बाँचिरहेका छन् । उनी पोर्चुगलमा पुग्ने पहिलो नेपाली नागरिक समेत हुन् । पछिल्लो समय धेरै नेपालीको रोजाईको गन्तव्य बनिरहेको पोर्चुगलमा उनले नेपालीहरुका लागि निरन्तर अभिभावकको भूमिका समेत निर्वाह गरिरहेका छन् । अहिले हेर्दा लोभलाग्दो जीवन बाँचिरहेका उनको संघर्षको कथा कुनै फिल्मीकथा भन्दा कम छैन । 
 
उनले ५ वर्षको उमेरमा आमा गुमाउनु परेको थियो । यति सानो उमेरमा मातृत्वबाट टाढा भएपछि उनले बिस्तारै जीवन संघर्षको अर्थ बुझे । 

तिहारको बेला भएको एक अविस्मरणीय क्षणलाई उनले अहिले पनि भुल्न सकेका छैनन् । एकदिन देउसीभैलो  खेल्न साथीभाईसँग गएका उनी तीन दिन पछि घर फर्किउ । त्यसबेला उनका बुबाले निकै मज्जाले झपारे । बाल मानसपटलमा बुबाको झपाराईले के प्रभाव पर्यो कुन्नि, देउसी भैलो खेलेर आर्जन गरेको १२ रुपैयाँ बोकेर उनी घरबाट निक्लिए । ८ ९ वर्षको बालकले अनायसै घर छाड्न गरेको निर्णय पक्कै सही थिएन, तर यो उनको जीवन संघर्षको सुरुवात थियो, सायद उनको भाग्यमै यही कोरिएको थियो । यही क्रममा उनी काठमाडौं आइपुगे । 

उनले गाउँमै छँदा काठमाण्डौ अवसरै अवसरको शहर हो भन्ने सुनेका थिए रे । यही बुझाइले काठमाडौं खाल्डोमा होमिएका कुमार श्रेष्ठको जीवन निकै पीडादायी बन्यो । कहिले उनको बास सडकमै हुन्थ्यो त कहिले ओत लाग्ने घरमा ।

शहरका गल्लीमा हिँड्दै गर्दा कहाँ जाने कता ओत लाग्ने दोधार हुँदै अनिश्चित  मार्गतिर बरालिन्थे । पकेटमा भएको १२ रुपैयाँ काठमाडौं आइपुग्ने बित्तिकै सकिएपछि उनीसँग भोक मेट्ने उपाय नै भएन । कति दिनसम्म भोकै प्यासै खुल्ला आकाशको घरमा चिसा रातहरु बिताए ।  

एउटा भनाई छ, ‘दुखीको कोही नभए पनि दैव हुन्छन्’ भने झै एकदिन एकजना मोटर साइकलमा सवार व्यत्तिmसँग उनको सम्पर्क भयो । उनी काठमाडौं गेस्ट हाउसका साहु रहेछन् । ती साहु श्रेष्ठका लागि भगवान भएर प्रकट भए ।  उनले श्रेष्ठलाई स्कूलसम्म जाने वातावरण मिलाइदिए । तर, गेस्टहाउस संचालकसँग उनी लामो समय बस्न पाएनन् किनकी गेस्ट हाउसका मालिक सपरिवार इग्ल्याण्ड प्रस्थान गरे । 

श्रेष्ठमाथि फेरि अर्को विपत आइलाग्यो । समस्या पहिले जस्तै आइलागे पनि उनी काठमाडौंको वातावरणमा विस्तारै घुलमिल भइसकेका थिए ।  मनदेखि नै हिम्मत नहार्ने अठोट गरेका श्रेष्ठ ठमेलमा लेबर काम गर्न तयार भए । 

यसपछि भने उनको जीवनले बिस्तारै कोल्ट फेर्दै गयो । राजधानीमा  रहँदा उनले मिसेज घटोज भन्ने एक महिलाको सहयोगले होटेल याक एण्ड यतिमा काम गर्ने अवसर पाए । 

त्यही कामले नै उनलाई जीवनको अर्थ खोज्न सिकायो । त्यो कामले नै उनको जीवनमा परिवर्तन ल्याइदियो।

होटेलको नोकरीले श्रेष्ठलाई १८ वर्षको उमेरमा  एभरेस्ट मम सेन्टर सुरु गर्न प्रेरण दियो । मम सेन्टरबाट मनग्य आम्दानी हुन थाले पनि उनमा सुरक्षाकर्मी बनेर देशको सेवा गर्ने हुटहुटी थियो, भर्ति हुने कोशिश गरे, तर उनको उचाई बाधक बन्यो । 

प्रहरीमा भर्ना हुन नसकेपछि बिरक्तिएका श्रेष्ठलाई त्यसपछि भने नेपाल नै बस्न मन लाग्न छाड्यो । त्यसैबेला विदेश जाने निर्णय गरे । ९ महिनाको छोरो छाडेर सन् १९९० मा उनी जर्मन पुगे । 

जीवन एक बग्ने खोला जस्तै हो भने झै उनको जीवनमा पनि उनी गाउँबाट शहर, शहरबाट जर्मनसम्म बग्दै आइपुगे । 

जर्मनमा उनी ४ जना साथीहरुको साथमा छिरेका थिए । कामको शिलशिलामा कहिले पाउ फ्याक्ट्रीमा, कहिले खेतीमा काम गर्दै उनले आफूलाई विस्तारै सन्तुलनमा ल्याए । 

दिनभरी बिरुवा रोप्ने र पाउरोटि बिक्री गर्ने कम्पनीको कामले थाकेर उनी बस्ने कोठासम्म आइपुग्दा खाना नखाई कति दिन भोकै सुत्थे । कामको शिलशिलामा छोटो समयमा उनले धेरै ठाउँमा अनुभव संगाले । 

सन् १९९३ ताका नेपालीलाई जर्मन फ्री भिसा थियो । सन् १९९३ मा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला जर्मन आए र कोइरालाले नेपालमा कुनै संकट छैन्, नेपालीलाई फर्काइदिए हुन्छ भन्ने सूचना जर्मनका सरकारी अधिकारीलाई दिए लगत्तै जर्मनमा रहेका नेपालीलाई तुरुन्त देश फर्काउने अभियान चल्न थाल्यो । जर्मनमा रहेका नेपाली कोही कता, कोही कता हिँडे । भिसा नभएकाहरुलाई विस्तारै कम्पनीले पनि काम दिन छोड्यो । श्रेष्ठसँग पनि कुनै विकल्प रहेन ।

जर्मनी सुरक्षाकर्मीले जहाँ भेट्यो त्यहि बाट घर फर्काइदिने बजारमा हल्ला आउन  थालेपछि श्रेष्ठले पनि जर्मन छाड्ने निधो गरे । उनीसँगै काम गर्ने अधिकांश साथीहरु आ–आफ्ना चिनेजानेका व्यक्तिको सहयोगमा छेउछाउका देशमा छिरे । तर, उनको युरोपमा चिनेको र सहारा दिने मान्छे कोही थिएन । तर उनलाई जर्मन छाड्नु थियो, त्यसैले उनले एउटा देश त रोज्नु नै थियो, त्यसैले उनले पोर्चुगल रोजे । सन् १९९४ को अप्रिल महिनामा उनले पहिलो पटक पोर्चुगलमा पाइला टेके ।

पोर्चुगल आउँदा पनि समस्या एकै, दुःख उस्तै थियो । नयाँ परिवेश, नौलो भाषा, बिरानो संसार, उनका लागि फेरी चुनौति थपियो । तर, जीवनदेखि हार नखान उनी बानी परिसकेका थिए । संघर्ष नै जीवन हो भन्ने कुरा उनले त्यसबेलासम्म बुझिसकेका थिए । पोर्चुगल आएपछि झन्डै ६ महिनासम्म कोही नेपालीलाई देख्न पाएनन् र नेपाली छन् भन्ने पनि सुनेनन् ।

धेरैपछि एकजना पाकिस्तानीमार्फत उनले एक नेपाली रेस्टुरेन्टमा काम गर्छन भन्ने सुने । उनको नाम यगु थापा अर्थात शिवबहादुर थापा थियो । उनी सन् १९९३ मा भारतीय पासपोर्टबाट पोर्चुगल आइपुगेका रहेछन । अहिलेको रोसियो नजिकै घर बनाउने कन्स कन्स्ट्रक्सनमा पहिलो पटक भेट भएको उनले बताए । 

‘झन्डै एक वर्षसम्म भाषाको ज्ञान नभएकोले कतै कामको मेलोमेसो मिलेन, जर्मनमा कमाएको पैसा नै उनले पोर्चुगलमा खर्च गरे । समय बित्दै जाँदा घर निर्माण गर्ने एक कम्पनीमा काम गर्न थाले । एक वर्षसम्म कामविहीन हुनुको हुटहुटिले ब्याकुल उनी ढुंगा बोक्नेदेखि रड रगड्ने तथा मेसिनरी सामानसँग खेल्दै ज्यानको जोखिम मोल्दै जब्बर काम गर्न जुटे । 

दुःख धेरै झेल्नुपर्ने भएता पनि कन्स्ट्रक्सनको काममा उनले आफूमा निखार ल्याए । फलस्वरुप केही समयपछि आफ्नो नियन्त्रणमा १८ जनासम्म काम लाउने व्यवस्थापन जिम्मेवारी पाउन सफल भए । 

कठीन काम भए पनि उनले यो कामबाट राम्रो कमाई गरे । विस्तारै पैसा साथमा भयो, तर परिवार साथमा भएन । जीवन स्थापित हुन उनीसँग उनको लालाबाला हुनु थियो । यो सम्भव त्यतिखेर मात्र थियो, जब उनीसँग पोर्चुगलको वैधानिक पेपर हात लाग्थ्यो । यही प्राप्तिका लागि उनका केही चिनेका पोर्चुगिज साथीले पोर्चुगलकै महिलासँग बिहे गर्न समेत सल्लाह दिन भ्याए । तर उनी यसमा बहकिएनन् तसर्थ अन्य कानुनी विकल्पको खोजी गरे ।

९ महिनाको छोरो छोड्दाको पीडाले उनी घरिघरि आकुल ब्याकुल नभएका होइनन् । एक मनले सबै त्यागेर घर फर्कन पनि चाहेका थिए । उनले कहीँ सुनेका थिए ः जीवनको यात्रामा बीचमा पुगेर पुनः फर्किन पनि त्यत्तिकै समय लाग्छ भनेर त्यसैले सम्हालिए । 

अंग्रेजीमा एउटा भनाई छ गलत मार्गबाट जे पनि हुनसक्छ, तर असल मार्गले ढिलो चाँडो गन्तव्यमा पुर्याउँछ । उनी पनि यस्तै सोंचमा दृढ थिए । धैर्य गरिरहे ।

बैधानिक कागज प्राप्तिका लागि उनले आफ्ना कान सदैब चनाखो पारिरहेका थिए । यही बीचमा त्यति बेलाको पोर्चुगिज एक दैनिक पत्रिकामा आप्रबासीका लागि नयाँ नियम आयो भन्ने सुने । र उनलाई पोर्चुगलको बैधानिकता पनि मिल्यो । 

सन् १९९५ मा नेपालमा आफ्नो परिवार भेटघाट गरी पोर्चुगल फर्के र आफ्नो पुरानै काम गर्न थाले ।

कामले खारिएका श्रेष्ठ अब व्यापार व्यवसायमा प्रत्यक्ष आफ्नो सहभागिता खोज्न सक्ने भइसकेका थिए । सन् १९९६ तिर विस्तारै पोर्चुगलमा नेपालीको आगमन सुरु भयो । सन् १९९६ मा पोर्चुगलमा आई रेसिडेन्सी बनाएका कुमारले परिवार मिलन प्रक्रियाबाट श्रीमती सरीता श्रेष्ठलाई सन् २००० मा पोर्चुगलमा ल्याउन सफल भए ।  यसरी पोर्चुगल प्रवेश गर्ने पहिलो महिला सरीता श्रेष्ठलाई मानिन्छ । श्रीमती श्रेष्ठका अनुसार नेपाली महिलाहरुको पोर्चुगलमा प्रवेश त्यसैताकाबाट सुरु भएको हो । श्रीमती श्रेष्ठपछि विस्तारै पोर्चुगलमा रहेका विवाहित नेपाली पुरुषहरुले आफ्ना श्रीमतीहरु बोलाउन थाले । 

श्रेष्ठका अनुसार वर्तमान कन्सुलर मकरबहादुर हमाल लगायत अन्य १३ जना सन् १९९६ को अन्तसम्म एकआपसमा भेट गदर्थे । त्यसपछि मकरबहादुर हमालसँगै रहेर उनले पहिलो एभरेस्ट नामको रेस्टुरेन्ट संचालनमा ल्याए । 

रेस्टुरेन्टले सोचेको भन्दा अधिक मुनाफा दियो । पछि उनले आफ्नो निजी रेस्टुरेन्ट व्यवसाय शुरु गरे र उल्लेख्य सफलता हात पारे । 

व्यवसायसँगै दमले थलिएका आफ्ना बुबालाई युरोपमा उपचारका लागि बोलाउने प्रक्रिया सुरु गरे पनि त्यसअघि नै उनको बुबाले संसार छाडे । पिताको मृत्युको पीडाले उनको अचम्मको छटपटी भयो । उनीसँग भएका व्यापार बिक्री गरी बिरक्तिदै बेल्जियम, अस्ट्रिया हानिए । तर जिन्दगीमा जति नै चोट र हण्डर खाए पनि बाँच्नैपर्ने यथार्थलाई आत्मसाथ गर्दै संघर्षको मार्गमा असन्तुलित जीवनको गाडीलाई पुनः सन्तुलनमा ल्याउने काम गरे । 

दश वर्षको दौरानमा उनको व्यवसाय यति चुलियो कि उनले लिस्बन्ममा ३ वटा इन्डियन रेस्टुरेन्ट संचालनमा ल्याए । आज उनी आफ्नो मनले मागेको हरेक कुरा पूरा गर्ने आर्थिक हैसियतमा पुगेका छन् । 

पोर्चुगलमा दुई दशकभन्दा लामो समयसम्म बसोबास गर्दै आएका श्रेष्ठ पोर्चुगलका सामाजिक गतिविधिमा समेत उत्तिकै सक्रिय छन् ।  नेवा पुचका संरक्षक तथा कला परिषदका अध्यक्ष श्रेष्ठ भन्छन्,– ‘बिशुद्ध सामाजिक कार्यमा मलाई सदैब चाख छ, तर समाज सेवाको नाममा हुने अनावश्यक राजनीतिको म विरोधी हुँ ।

श्रेष्ठकै नेतृत्वमा कला परिषद् मार्फत सन् २००९ मा तथा २०१० मा निरन्तर नेपाली ट्यालेन्ट हन्ट जस्ता लोकप्रिय कार्यक्रम सम्पन्न भएको थियो । 

एक छोरा र एक छोरी हुर्काइसकेका श्रेष्ठलाई अब भने जीवनमा त्यति ठूलो सपना केही छैन । रक्तचापले थलिएका श्रेष्ठलाई अब एउटै चिन्ता देशको छ । 

कतै आफ्नै देशको राजधानीलाई अर्के देश ठान्ने दिन अबको पुस्ताले भोग्न नपरोस् भन्ने उनको सोंच छ । 

आफ्नै देशमा सडकमा जीन्दगी कटाउनुपर्ने दिन विस्तारै टर्दै गएको उनलाई हेर्ने रहर छ । 

उनी देश समृद्धिको मार्गमा लागेको हेर्ने रहर पालेर बसेका छन् । सरकारको नेतृत्व गर्नेहरुले भनेजस्तो राजनीतिक र आर्थिक अवस्थामा सुधार भए नेपाल नै फर्किएर व्यवसाय गरेर आफ्नै माटोको सुगन्धमा रमाउने उनको धोको छ । 

उनी भन्छन्, – ‘हाम्रो पुस्ताले जे जस्तो दुख कष्ट झेल्नुपरे पनि अब आउने पुस्ताले आफ्नै देशमा रमाएर बस्ने वातावरण राज्यमा बन्न सकोस । ’ 

अब बाँकी जीवन नेपाली समाजका खातिर खर्च गर्ने उनले प्रण गरेका छन् । श्रेष्ठ भन्छन्,– ‘जीन्दगीमा कति इच्छा आकांक्षाहरु जन्मे होलान्, कति पूरा भए कति भएनन् होला । अब मेरो जीवनमा ठूला महत्वकांक्षा केही पनि छैनन् । नेपाल र नेपालीका लागि सकेको गर्न सक्नु नै मेरो सन्तुष्टि हुनेछ ।’ 

हाल कुमार श्रेष्ठ जस्तै २५ हजार भन्दा धेरै नेपाली सुन्दर भविष्यका लागि पोर्चुगलमा छन् ।  श्रेष्ठले आफूले सकेजति सबै नेपालीललाई सहयोग गर्छन् । र, सबैलाई व्यवसाय गर्न प्रेरणा दिन्छन् ।